ad ad

म्यागेजिन


काठमाडौँमा ‘हाइप्रोफाइल’ अमेरिकी राजदूतबीच विश्व तरंगित पार्ने बिहे, पर्साको झुपडीमा हनिमुन

काठमाडौँमा ‘हाइप्रोफाइल’ अमेरिकी राजदूतबीच विश्व तरंगित पार्ने बिहे, पर्साको झुपडीमा हनिमुन

बिहेपछि हनिमुन मनाउन पर्साको बिरुवागुठी पुगेका एल्सवर्थ बंकर र क्यारोल लेस


सीताराम बराल
बैशाख १०, २०७९ शनिबार १५:२९, काठमाडौँ

अघिल्ला वर्षझैँ १९६६ डिसेम्बर २५ (१० पुस २०२३) मा काठमाडौँस्थित अमेरिकी राजदूतावासले ‘क्रिसमस डे’ को उपलक्ष्यमा भोजको आयोजना गर्यो। तर, यसपटकको क्रिसमस डे कार्यक्रमका अतिथि चानचुने व्यक्ति थिएनन्।  

नेपालका लागि अमेरिकी राजदूतको जिम्मेवारी सम्हाल्न अमेरिकी विदेश सेवाकी वरिष्ठ अधिकारी क्यारोलाइन क्लेन्डेनिङ लेस (क्यारोल लेस) एक महिनाअघि (१ डिसेम्बर १९६६) काठमाडौँ आइपुगेकी थिइन्। नयाँ राजदूतको निम्तो स्वीकार गर्दै राजा महेन्द्र आफैँ ‘क्रिसमस डे’ मा उपस्थित थिए। 

कार्यक्रम सकिनै लागेको थियो, राजदूत क्यारोलले राजा महेन्द्रलाई एक छेउमा लगिन् र, सुटुक्क भनिन्, ‘योर म्याजेस्टी, आइ उड बी गेटिङ म्यारिड टु एल्सवर्थ बङ्कर अन द थर्ड अफ जनवरी (आगामी जनवरी ३ (१९६७) का दिन म एल्सवर्थ बङ्करसँग बिहे गर्दैछु।’)  

४९ वर्षीया अविवाहित राजदूत क्यारोलले सुनाएको यो सूचना राजा महेन्द्रका लागि अप्रत्यासित थियो। त्यसैले, उनले केही प्रत्युत्तर दिएनन्।    

अमेरिकाको ‘फरेन अफेयर्स ओरल हिस्ट्री प्रोजेक्ट’ का लागि ‘द एसोसिएसन फर डिप्लोम्याटिक स्टडिज एन्ड ट्रेनिङ’ का अन मिलर मोरिनले ८ मे १९८५ मा राजदूत क्यारोलको लामो अन्तर्वार्ता लिएका थिए। 

आफूले बिहे गर्न लागेको बताउँदा राजा महेन्द्रको प्रतिक्रिया कति चिसो थियो, राजदूत क्यारोलले अन्तर्वार्तामा उल्लेख गरेकी छन्। 

‘मेरो कुरा सुनेर उनी विस्मित देखिए। (त्यसैले) उनको सुरुवाती प्रतिक्रिया के थियो, मलाई जानकारी छैन,’ अन्तर्वार्तामा क्यारोल भन्छिन्, ‘बिहेका दिन भने उनी (राजा महेन्द्र) खुसी नै देखिन्थे।’ 

क्यारोलको बिहेको योजनाले राजा महेन्द्रलाई विस्मयमा पारेको होइन। क्यारोलका हुनेवाला पतिको ‘प्रोफाइल’ र त्यसले नेपालमा निम्त्याउन सक्ने भूराजनीतिक जटिलताका कारण राजा महेन्द्र विस्मयमा परेका थिए। 

दुवै ‘हाइप्रोफाइल’ कूटनीतिज्ञ 
क्यारोल लेस राजदूतका रुपमा नेपाल आउँदा विश्वका १ सय १० मुलुकसँग अमेरिकाको कूटनीतिक सम्बन्ध थियो। त्यसमध्ये राष्ट्रपति लिन्डन बी जोन्सनका पालामा ५ जना महिला मात्र राजदूतमा नियुक्त भएका थिए। क्यारोल ती पाँचमध्येकी एक थिइन्।

२० मंसिर २०२३ मा राजा महेन्द्रलाई ओहोदाको प्रमाणपत्र बुझाउँदै राजदूत क्यारोल लेस

सात वर्ष नेपालमा राजदूतको जिम्मेवारी सम्हालेर स्वदेश फर्केलगत्तै क्यारोललाई जोन्सनपछिका राष्ट्रपति रिचर्ड निक्सनको प्रशासनले विदेश सहायकमन्त्री (असिस्टेन्ट सेक्रेटरी अफ स्टेट डिपार्टमेन्ट) को जिम्मेवारी सुम्पेको थियो। नेपालबाट फर्केपछि उनले पाएको यो जिम्मेवारीबाट उनी उच्च दर्जाकी अमेरिकी कूटनीतिज्ञ थिइन् भन्ने बुझ्न सकिन्छ।      

क्यारोल सहायकमन्त्री बन्नुअघि अमेरिकी विदेश मन्त्रालयमा कुनै पनि महिलाले यति उच्च जिम्मेवारी प्राप्त गरेका थिएनन्। क्यारोलको दर्जा सहायक विदेशमन्त्री र जिम्मेवारी ‘पब्लिक अफेयर्स’ विभागको इन्चार्ज थियो।  

राजदूतको रुपमा नेपाल आउनुअघि उनी विदेश मन्त्रालयको दक्षिण एसियाली मामिला हेर्ने निर्देशक थिइन्। उनको कार्यक्षेत्रभित्र नेपाल, भारत, पाकिस्तान, श्रीलङ्का र अफगानिस्तान पर्थे।

‘सहायक विदेशमन्त्री’ को जिम्मेवारी पाएको अर्काे वर्ष (सन् १९७४) राष्ट्रपति निक्सनको प्रशासनले उनलाई विदेश सेवाको महानिर्देशकमा बढुवा गर्यो। ७४ वर्षको उमेरमा ९ साउन २०४८ मा क्यारोलको निधन भएपछि द न्यूयोर्क टाइम्समा प्रकाशित ‘अबिच्युरी’ मा उल्लेख गरिएअनुसार सन् १९७७ मा अवकाश प्राप्त गर्नुअघिसम्म क्यारोलले सम्हालेको यो जिम्मेवारी अमेरिकी विदेश सेवा अन्तर्गतको गैरराजनीतिक फाँटको सबैभन्दा उच्च पद थियो।  

राजदूत क्यारोल जोसँग बिहे गर्दै थिइन्, ती (एल्सवर्थ बंकर) पनि चानचुने व्यक्ति थिएनन्। उनी त्यो समयका शीर्षतम अमेरिकी कूटनीतिज्ञ थिए।   

एल्सवर्थ त्यो बेला ‘एम्ब्यासडर–एट–लार्ज’ को जिम्मेवारीमा थिए। कुनै विशेष कामका लागि अमेरिकी राष्ट्रपतिले विशिष्ट कूटनीतिक व्यक्तित्वलाई दिने जिम्मेवारी थियो यो। र, एल्सवर्थअघि यस्तो जिम्मेवारी उच्चस्तरका ६ जना अमेरिकी कूटनीतिज्ञले मात्र प्राप्त गरेका थिए। 

‘एम्ब्यासडर एट लार्ज’ जस्तो विशिष्ठ कूटनीतिक जिम्मेवारीअघि एल्सवर्थले अर्जेन्टिना (१३ मार्च १९५१– १२ मार्च १९५२), इटाली (७ मे १९५२–३ अप्रिल १९५३), भारत (२८ नोभेम्बर १९५६–२३ मार्च १९६१) मा राजदूतको जिम्मेवारी पाएका थिए। 

भारतका लागि अमेरिकी राजदूतको जिम्मेवारीमा रहेकै बेला उनी नेपालका लागि अमेरिकी राजदूत (८ मार्च १९५७–२५ नोभेम्बर १९५९) को जिम्मेवारीमा पनि थिए। 

‘कम्युनिस्ट चीन’ सँग शत्रुतापूर्ण सम्बन्ध रहेकाले चीनसँग सीमा जोडिएको भारत अमेरिकाका लागि त्यो बेला महत्वपूर्ण मुलुक थियो। यही महत्वका कारण तत्कालीन राष्ट्रपति ड्वाइट आइजनहावरले अर्जेन्टिना र इटालीमा राजदूतको जिम्मेवारी सम्हालिसकेका एल्सवर्थलाई भारत पठाएका थिए। 

जतिबेला क्यारोल नेपालका लागि राजदूत चयन भइन्, त्यतिबेला अमेरिकी विदेशनीतिको केन्द्रमा भियतनाम थियो, जहाँ अमेरिकाले आक्रमण गरेको थियो। क्यारोलसँग बिहे भएको पाँच महिनापछि नै एल्सवर्थलाई राष्ट्रपति जोन्सनले ‘दक्षिण भियतनाम’ का लागि अमेरिकी राजदूत नियुक्त गरे। 

त्यो बेला उत्तर भियतनाममा कम्युनिस्ट सरकार र दक्षिण भियतनाममा अमेरिका समर्थित सरकार थियो। भियतनाम युद्धको पक्षपोषण गरेकाले एल्सवर्थ अमेरिकीहरुमाझ ‘भियतनामका बाज’ का रुपमा चिनिन्थे। भियतनाम युद्धका पक्षधर भएकाले उनलाई दक्षिण भियतनामको राजदूत बनाएर पठाइएको थियो।

भारतमा राजदूत छँदा नेपालका लागि पनि (गैरआवासीय) राजदूत रहेकाले एल्सवर्थको राजा महेन्द्रसँग सुमधुर सम्बन्ध थियो।

भनिन्छ, कूटनीतिमा मुटु (हृदय) हुँदै हुँदैन, राष्ट्रिय स्वार्थ हुन्छ। त्यसैले, यति धेरै जान–पहिचान भएका एल्सवर्थसँग आफ्नो बिहे हुन लागेको कुरा राजदूत क्यारोलले बताउँदा राजा महेन्द्रले तत्काल खुसी प्रकट गरेनन्, उनी विस्मित पो देखिए! 

नेपाल अझ ठूलो भूराजनीतिक झमेलामा पर्ने हो कि भन्ने चिन्ता नै त्यो विस्मयको कारण थियो सम्भवतः।

किनकि, त्यो अमेरिका–सोभियत संघबीच शीतयुद्ध चरमोत्कर्षमा पुगेको बेला थियो। अमेरिका–चीनबीच पनि शत्रुतापूर्ण सम्बन्ध थियो। नेपालले असंलग्न परराष्ट्र नीति अपनाइरहेको भए पनि नेपाल सोभियतसंघसँग नजिकिएको भन्दै अमेरिकी नीति–निर्माताहरु चिन्तित थिए।   

राजा महेन्द्र पनि अमेरिकीहरुका कतिपय गतिविधिप्रति सन्तुष्ट थिएनन्।  

सोही अन्तर्वार्तामा क्यारोलले उल्लेख गरेअनुसार नेपालमा विभिन्न परियोजनामा कार्यरत अमेरिकी कर्मचारीहरु नेपालको नियम–कानुन मान्नुभन्दा फुक्काफाल हुन खोजेका र चीनविरुद्ध मुस्ताङमा क्याम्प खडा गरी बसेका सशस्त्र खम्पाहरुलाई अमेरिकाले गुप्तरुपमा सहयोग गरेको उल्लेख गर्दै नेपाल सरकारले अप्रत्यक्ष रुपमा पत्रमार्फत् अमेरिकी सरकारसमक्ष असन्तुष्टि पोख्दै आइरहेको थियो।  

एकातिर नेपालले अमेरिकासँग यसरी असन्तुष्टि पोखिरहेको थियो भने अर्काेतिर नेपालले भियतनाम युद्धको विरोधमा समेत आफूलाई उभ्याएको थियो। यस्तो बेला भियतनाम युद्धका प्रखर पक्षधर एल्सवर्थसँग नेपालका लागि अमेरिकी राजदूत क्यारोलको काठमाडौँमै बिहे हुने कुराले चीन र सोभियत संघ अझै बिच्किन सक्थे।  

क्यारोलसँग बिहे गरेको पाँच महिना पछि नै एल्सवर्थलाई राष्ट्रपति जोन्सनले दक्षिण भियतनामका लागि राजदूत नियुक्त गरेका थिए। त्यसैले, त्यो बिहेले नेपाल झन् ठूलो भूराजनीतिक झमेलामा पर्छ कि भन्ने राजा महेन्द्रको चिन्ता नाजायज थिएन।

सैन्य जहाजबाट काठमाडौँ–साइगन 
१९ पुस २०२३ (३ जनवरी १९६७) मा ‘एम्ब्यासडर एट लार्ज’ एल्सवर्थ र नेपालका लागि अमेरिकी राजदूत क्यारोलबीच काठमाडौँको कमलादीस्थित राजदूत निवासमा बिहे सम्पन्न भयो। त्यसपछि अमेरिकी वायुसेनाको ‘भीसी–११८ ए लिफ्टमास्टर’ जहाज प्रत्येक महिनाजसोत्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन थाल्यो।

राजा महेन्द्रको निधनपछि साइगनबाट क्यारोललाई लिएर आएको जहाज र चालकदलका सदस्य त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा 

कम्युनिस्ट नियन्त्रण रहेको उत्तर भियतनामविरुद्ध दक्षिण भियननामबाट अमेरिकाले छेडेको युद्धविरुद्ध काठमाडौँमा प्रदर्शन हुने गर्थे। यस्तो बेला आकाशै थर्काउने गरी काठमाडौँमा अमेरिकी वायुसेनाको जहाज नियमित रुपमा अवतरण हुन थालेपछि ‘नेपाल पनि अमेरिकाको युद्धमैदान हुने त होइन’ भनेर सन्त्रास बढ्ने नै भयो।

तर, काठमाडौँमा अवतरण हुने अमेरिकी वायुसेनाको ‘भीसी–११८ ए लिफ्टमास्टर’ जहाजको अन्तर्राष्ट्रिय राजनीति र भूराजनीतिसँग केही लेनादेना थिएन। त्यसको सम्बन्ध सिर्फ एल्सवर्थ–क्यारोलबीचको प्रणयसँग थियो।

‘एम्ब्यासडर एट लार्ज’ भएकै कारण एल्सवर्थ अमेरिकी सरकारले व्यवस्था गरेका उडानबाट आवश्यकता अनुसारका मुलुकमा पुग्न सक्थे। तर, दक्षिण भियतनामको जिम्मेवारी पाएपछि उनको ‘जिम्मेवारी क्षेत्र’ साँघुरियो। 

युद्ध चलिरहेको थियो। हवाई उडानहरु सीमित थिए। त्यसैले, एल्सवर्थ–क्यारोललाई नियमित उडानहरुबाट काठमाडौँ–साइगन (दक्षिण भियतनामको राजधानी) आवतजावत गर्न कठिन थियो। 

एल्सवर्थ भारतमा ४ वर्ष राजदूत छँदा क्यारोलको पनि दुई वर्षका लागि त्यहाँ पोस्टिङ भएको थियो। नयाँदिल्ली पोस्टिङमै रहेका बेला उनी एल्सवर्थकी पत्नी ह्यारेट बटलरसँग नजिकिएकी थिइन्। आफ्नो ‘बोस’ रहेकाले राजदूत एल्सवर्थसँग उनको निकटता हुने भइहाल्यो। 

सन् १९६४ मा पत्नी ह्यारेटको निधन भएपछि एल्सवर्थ क्यारोलसँग अरु नजिकिए। सम्भवतः एल्सवर्थ नयाँदिल्लीमै छँदा उनीहरुबीच प्रेम अंकुरण भएको थियो। त्यही कारण ह्यारेटको निधनको तीन वर्षपछि नै ७३ वर्षका ‘विधुर’ एल्सवर्थ र ४९ वर्षकी ‘कन्या’ क्यारोलले बिहेको निर्णय गरे।      

एक– यो बिहे खासमा अमेरिकाको कूटनीतिक इतिहासमा दुई राजदूतहरुबीच भएको पहिलो बिहे थियो। दुई– क्यारोल प्रौढावस्थाबाट उकालो लाग्दै थिइन्, एल्सवर्थ वृद्धावस्थामा थिए। तीन– एल्सवर्थको राष्ट्रपति जोन्सनसँग निकै निकट सम्बन्ध थियो। र, चार– यी दुई राजदूतहरु जिम्मेवारीमा रहेका मुलुकबीचको दुरी निकै लामो थियो। 

त्यसैले, राष्ट्रपति जोन्सनले व्यक्तिगत रुपमा प्रयोग गर्नेगरी अमेरिकी वायुसेनाको जहाज राजदूतलाई उपलब्ध गराए, ताकि चाहेका बेला क्यारोललाई भेट्न एल्सवर्थ सजिलै साइगनबाट काठमाडौँ आउजाउ गर्न सकून्।

दक्षिण भियतनामका लागि राजदूत बनाएर पठाउने आफ्नो योजना राष्ट्रपति जोन्सनले सुनाएपछि एल्सवर्थले यो नयाँ जिम्मेवारी स्वीकार गर्ने–नगर्ने भन्नेबारे काठमाडौँमा राजदूत रहेकी पत्नी क्यारोलसँग सल्लाह गर्ने जवाफ राष्ट्रपति जोन्सनलाई दिएका थिए। उनको संकेत आफू दक्षिण भियतनाममा राजदूत बनेर जाँदा पत्नी क्यारोलसँग भेटघाटमा अप्ठ्यारो पर्ने हो कि भन्ने थियो।   

एल्सवर्थलाई परेको अप्ठ्यारो राष्ट्रपति जोन्सनले बुझे। जस्तो कि, ‘ओरल हिस्ट्री’  का लागि मिखाइल एल. गिलेटसँग ९ डिसेम्बर १९८० मा भएको कुराकानीमा एल्सवर्थले भनेका छन्, ‘राष्ट्रपति जोन्सनले मलाई भने– क्यारोलसँग छलफल गर्ने कुरा ठीक छ। (तर, काठमाडौँ–साइगन) का लागि तिमीलाई म जहाज उपलब्ध गराउँला।’ 

राष्ट्रपतिको बचनअनुसार उनलाई छुट्टै जहाज प्राप्त भयो। त्यही जहाजमा क्यारोललाई भेट्न प्रत्येक महिना एल्सवर्थ काठमाडौँ आउन थाले। काठमाडौँ आएका बेला उनी दरबारमा निम्त्याइन्थे। २०२५ मा सम्पन्न युवराज वीरेन्द्रको तुलादान (शरीरको तौल बराबर सुनचाँदी, पैसा र लत्ताकपडा दान) कार्यक्रममा समेत एल्सवर्थ–क्यारोल दम्पती नारायणहिटी राजदरबारमा निम्त्याइएका थिए।

तुलादान कार्यक्रम सकिएपछि राजदूतद्वय एल्सवर्थ र क्यारोलसँग युवराज वीरेन्द्र

आफू बेफुर्सदिलो भएका बेला उनी क्यारोललाई साइगन नै बोलाउँथे। क्यारोललाई लैजान एल्सवर्थले प्रयोग गर्ने त्यही जहाज काठमाडौँ आइपुग्थ्यो। क्यारोल त्यसैमा साइगन पुग्थिन्। र, पतिसँग २–४ दिन बिताएर काठमाडौँ फर्कन्थिन्।

‘बंकर त्यो बेला सर्वाधिक शक्तिशाली अमेरिकी राजदूत थिए, चाहेका बेला क्यारोलसँग सहजै भेटघाट होस् भनेर राष्ट्रपति जोन्सनले उनलाई जहाज नै उपलब्ध गराएका थिए,’ परराष्ट्र मन्त्रालयका तत्कालीन अधिकृत एवं साउदी अरबका लागि पूर्व नेपाली राजदूत बद्रीप्रसाद खनाल भन्छन्, ‘त्यसबाहेक यो दम्पतीका लागि अमेरिकी सरकारले अन्य विशेष सुविधा प्रदान गरेको थियो।’  

उल्लेख गर्न लायक क्यारोललाई प्राप्त विशेष सुविधा दक्षिण भियतनामको राजधानी साइगन जाने विशेष अनुमति थियो। 

युद्ध चलिरहेकाले अमेरिकी महिलाहरुलाई साइगन जान निषेध थियो। यही कारण अमेरिकी कूटनीतिक र सैनिक अधिकारीहरुले आफ्ना श्रीमतिलाई दक्षिण भियतनाम लैजान पाउँदैनथे। तर, क्यारोल बेरोकतोक साइगन पुग्थिन्। 

‘मलाई लाग्छ, मेरा पति त्यहाँ राजदूत रहुन्जेल कुनैपनि सैनिक अधिकारीले दक्षिण भियतनाममा आफ्ना श्रीमती लगेनन्’ क्यारोलले भनेकी छन्, ‘त्यसैले, तिनका श्रीमतीहरु ब्याङ्कक (थाइल्यान्ड) वा फिलिपिन्समा रहन्थे।’ 

एल्सवर्थ र क्यारोलको साइगन–काठमाडौँ आवत–जावतका लागि अमेरिकी राष्ट्रपतिले विशेष जहाज उपलब्ध गराउनु र अमेरिकी महिलाहरुका लागि निषेध गरिएको साइगनमा क्यारोलको बेरोकतोक भइरहेको आवागमन साँच्चिकै रोचक विषय थियो।

सन् १९७१ मा काठमाडौँबाट सिङ्गापुर हुँदै दक्षिण भियतनाम जाँदै एल्सवर्थ र क्यारोल 

यो रोचक अवसर एल्सवर्थसँगको बिहेले जुराइदिएको थियो।  

उत्तिकै रोचक काठमाडौँमा सम्पन्न बिहे र पर्साको एक गरिब बस्तीमा उनीहरुले मनाएको ‘हनिमुन’ थियो। 

त्यो रोमाञ्चक बिहे   
क्यारोलका भनाइमा राजदूतको जिम्मेवारी सम्हाल्न नेपाल आइपुगेकै साँझ उनले कार्यवाहक राजदूत ह्यारी बार्नेसलाई आफ्नो बिहे एल्सवर्थ बंकरसँग हुन लागेको जानकारी गराइन्। र, निकै गोप्यताका साथ बिहेको तयारीका लागि अनुरोध गरिन्। 

तयारी अन्तर्गत क्रिश्चियन पुरोहित खोजिदिनुपर्थ्यो, बिहेको ‘सरप्राइज एनाउन्समेन्ट’  का लागि ‘रिसेप्सन’ को आयोजना पनि तयारीकै पक्ष थियो।

एल्सवर्थसँग बिहे गर्ने आफ्नो निर्णयबाट बार्नेस आश्चर्यचकित हुनेछन् भन्ने क्यारोलले सोचेकी थिइन्। त्यसैले, बिहेको ‘गोप्य निर्णय’ सुनाउनुअघि उनले बार्नेसलाई थोरै समय ‘सस्पेन्स’ मा राखिन्। 

भर्खर काठमाडौँ आइपुगेकी क्यारोललाई दूतावास र कूटनीतिक जिम्मेवारीसँग सम्बन्धित ब्रिफिङ सकेर बार्नेस आफ्नो निवास फर्कन लागेका थिए। तर, बार्नेसलाई उनले रोकिन्।  

‘बस्नोस्’, क्यारोलले बार्नेसलाई भनिन्, ‘म आज यहाँ एउटा बमको गोला (विस्फोटक समाचार) खसाल्दैछु।’ 

क्यारोलले प्रयोग गरेको शब्दावली सुनेपछि बार्नेसले लख काटे, उनले आफूलाई मन पराइरहेकी छैनन्। अब के–के पो हुने हो! 

‘ओरल हिस्ट्री’ कै लागि चार्ल्स स्टुअर्ट केनेडीसँगको कुराकानीमा बार्नेसले भनेका छन्, ‘त्यो बेला मेरो दिमागले गलत कुरा सोचेछ। मलाई लाग्यो– राजदूत क्यारोलले ‘म तिमीलाई डीसीएम (डेपुटी चिफ अफ मिसन अर्थात् राजदूतपछिको दोस्रो कूटनीतिक पद) का रुपमा राख्न चाहन्नँ’ वा यस्तै केही कुरा भन्न खोजेकी हुन्।’ 

तर, क्यारोल भने बार्नेसले सोचेभन्दा बिल्कुल फरक विषयमा कुराकानी गर्न चाहिरहेकी थिइन्। उनी आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण निर्णय बार्नेसलाई सुनाउँदै थिइन्, जुन साँच्चिकै विस्फोटक खालको थियो।  

क्यारोलले बार्नेसलाई भनिन्, ‘म काठमाडौँमा बिहे गर्न गइरहेकी छु। तर, यो कुरा बिहेका दिनसम्म गोप्य रहनुपर्छ। बिहेका लागि तिमीले पारङ्गत पुरोहित खोजिदिनुपर्छ। दोस्रो कुरा, मेरा हुनेवाला लोग्ने एल्सवर्थ बंकरको सम्मानमा राजदूतावासमा ‘रिसेप्सन’ पनि आयोजना गर्नुपर्छ। त्यो ‘रिसेप्सन’ का निम्तालुहरुलाई निम्तो दिँदा नेपालका लागि पूर्व अमेरिकी राजदूत बंकरको सम्मानमा आयोजना गरिएको कार्यक्रमका लागि भन्नुपर्छ। र तेस्रो कुरा, हाम्रो बिहेपछि ‘हनिमुन ट्रिप’ का लागि कहाँ जाने हो, त्यो ठाउँको बन्दोबस्त पनि तिमीले नै गरिदिनुपर्छ।’

यही योजनाअनुसार ३ जनवरी १९६७ (१९ पुस २०२३) मा कमलादीस्थित आफ्नो (राजदूत) निवासमा राजदूत क्यारोलका तर्फबाट ‘नेपालका लागि पूर्व अमेरिकी राजदूत एल्सवर्थ बंकरको सम्मानमा रिसेप्सन आयोजना भयो। यो ‘रिसेप्सन’ मा निम्त्याइएका अथितिहरुलाई भनिएको थियो– एल्सवर्थ नयाँदिल्लीमा राजदूत छँदा क्यारोल दूतावासकै कर्मचारी रहेकीले अहिले एल्सवर्थ नेपाल आएको मौका पारेर उनको सम्मानमा यो ‘रिसेप्सन’ आयोजना गरिएको हो।  

शीतयुद्धको उत्कर्षको समय भएकाले सारा विश्व भूराजनीतिक उथलपुथलबाट गुज्रिरहेको थियो। काठमाडौँमा थुप्रै विदेशी सञ्चारमाध्यमका प्रतिनिधिहरु थिए। यस्तो बेला ‘एम्ब्यासडर एट लार्ज’ को जिम्मेवारीमा रहेका एल्सवर्थजस्ता शीर्ष कूटनीतिज्ञ काठमाडौँ आउनुको रहस्य उनीहरुले खोज्न सक्थे। खोजीनीतिमार्फत् उनी आउनुको कारण पत्ता लगाउन सक्थे।  

आफूसँग बिहेका लागि एल्सवर्थ काठमाडौँ आएका हुन् भन्ने पूर्वजानकारी कसैलाई नहोस् भनेर निम्तालुहरुलाई राजदूतावासले चलाखीपूर्वक उपरोक्त प्रष्टीकरण दिएको थियो। त्यही कार्यक्रममा बिहेको घोषणा गर्ने र ‘रिसेप्सन’ लाई ‘बिहेभोज’ मा रुपान्तरण गर्ने क्यारोलको योजना थियो।   

एल्सवर्थ–क्यारोलको बिहेबारे राजा महेन्द्र, राष्ट्रपति जोन्सन, बार्नेस र उनको परिवारलाई मात्र जानकारी थियो। यसबाहेक अरुलाई बिहेबारीबारे पूर्व जानकारी नहोस् भन्नेमा क्यारोल निकै सचेत थिइन्। 

एल्सवर्थ भारत–नेपालका पूर्व अमेरिकी राजदूत रहेका र उनका छोरा नयाँदिल्लीस्थित ‘फोर्ड फाउन्डेसन’ मा कार्यरत रहेकाले उनको काठमाडौँ आगमनको उदेश्यलाई कसैले अस्वाभाविक रुपमा लिएनन्। झन् ‘एल्सवर्थको सम्मानमा आयोजित रिसेप्सन’ भनिएकाले अन्तर्राष्ट्रिय मिडियाकर्मीहरुले पनि ‘दुई हाइप्रोफाइल अमेरिकी राजदूतहरुको बिहे हुँदैछ’ भन्ने अनुमान समेत गर्न सकेनन्। 

त्यसदिनको ‘रिसेप्सन’ मा निम्त्याइएका सीमित नेपालीमध्ये पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा पनि एक थिए। 

‘त्यो बेला अमेरिकी राजदूतको निवास कमलादीस्थित कमलकुञ्जमा थियो, त्यहाँ आयोजना गरिएको रिसेप्सनमा एल्सवर्थ र क्यारोलबीच बिहे भएको घोषणा भएको थियो,’ डा. थापाले सम्झे, ‘रिसेप्सनमा निकै कम मानिसहरुलाई निम्तो दिइएको थियो।’  

‘रिसेप्सन’ अघि आफ्नो बिहेको विषय गोप्य राख्न उनी काठमाडौँमा त सफल भइन्। तर, अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले भने बिहेअघि नै यसबारे जानकारी पाइसकेका थिए। 

वासिङ्टनस्थित राष्ट्रपति कार्यालय (ह्वाइट हाउस) को बधाई तथा शुभकामना सन्देशका कारण बिहेअघि नै यो विषय सार्वजनिक भएको थियो।  

क्यारोलका भनाइमा काठमाडौँ प्रस्थान गर्नुअघि उनले राष्ट्रपति जोन्सनलाई आफ्नो बिहे २ जनवरी १९६७ (१८ पुस २०२३) का दिन हुने जानकारी गराएकी थिइन्। तर, १ जनवरी (१७ पुस) आइतबारका दिन पर्थ्यो। नयाँ वर्ष मनाउन बाहिर गएका कर्मचारीहरुलाई सोमबार (२ जनवरी) को रिसेप्सनमा उपस्थित हुन कठिन हुन्थ्यो। 

त्यसैले, उनले काठमाडौँ आएपछि बिहेको मिति एक दिन पर अर्थात् ३ जनवरी (१९ पुस) का लागि सारिन्। 

बिहेको मितिमा भएको यो परिवर्तनबारे ह्वाइट हाउस जानकार थिएन। त्यसैले, ह्वाइट हाउसले २ जनवरीकै दिन अन्तर्राष्ट्रिय सञ्चारमाध्यममार्फत् एल्सवर्थ र क्यारोल विवाह बन्धनमा गाँसिएको भन्दै बधाई र शुभकामना सन्देश जारी गर्यो। 

‘यस्तो समाचार सार्वजनिक भएपछि पत्रकारहरु सतर्क हुन अभ्यस्त भइसकेका थिए। त्यसैले, काठमाडौँमा के हुँदैछ भन्ने कुराको आभाष उनीहरुलाई भइसकेको थियो,’ क्यारोलले भनेकी छन्, ‘त्यसैले, बिहेको विषय थोरै समयअघि सार्वजनिक भयो। तैपनि केही मानिसहरु हाम्रो बिहेको कुराले आश्चर्यचकित भए।’

सञ्चारमाध्यममा पठाइएको राष्ट्रपति जोन्सनको बधाई सन्देशबाट बिहे सार्वजनिक भए पनि आधिकारिक रुपमा त्यही ‘रिसेप्सन’ कार्यक्रममार्फत् एल्सवर्थ–क्यारोलले आफ्नो तर्फबाट बिहेको घोषणा गरेका थिए। 

क्यारोलले भनेकी छन्, ‘राष्ट्रपति कार्यालयको बधाई सन्देश बाचन गरेर हामीले विवाह बन्धनमा बाँधिएको औपचारिक घोषणा गरेका थियौँ।’ 

सबैका लागि आफ्नो बिहे महत्वपूर्ण र स्मरणयोग्य हुन्छ नै। एल्सवर्थ–क्यारोलका लागि दुई कारणले यो बिहे अझ स्मरणयोग्य रह्यो। 

क्यारोल चाहन्थिन्, ‘हिन्दु अधिराज्य’ भए पनि नेपालमा हुने आफ्नो बिहे विशुद्ध क्रिश्चियन परम्परा अनुसार होस् र पुरोहित पनि कत्ति नबिराई परम्परा पछ्याउने खालका होऊन्।

शुद्धखालका क्रिश्चियन पुरोहित खोज्न हिँड्नु परेको भए निर्धारित मितिअघि नै बिहेबारे काठमाडौँमा गाइँगुइँ सुरु हुने थियो। तर, क्यारोलको सौभाग्य! न्युयोर्कस्थित एउटा गिर्जाघरका पूर्व पुरोहित रहेका बार्नेसका ससुरा रेभरेन्ड नोम्र्यान सिब्ले क्रिसमस (२८ डिसेम्बर) छोरी–ज्वाइँ र नाति–नातिनासँग मनाउने गरी काठमाडौँ आइपुगेका थिए। पुरोहितका रुपमा सम्पूर्ण रीत पुर्याएर उनैले एल्सवर्थ–क्यारोलको बिहे गराइदिए।

बिहेपछि राजदूत निवासमा पुरोहित रेभरेन्ड नोम्र्यान सिब्ले, एल्सवर्थ बंकर क्यारोल लेस (बायाँबाट पाचौँ, छैटौँ र सातौँ)  

‘ओरल हिस्ट्री’ का लागि आन मिलर मोरिनसँगको त्यो कुराकानीमा क्यारोलले दोहोर्याएर राजदूत निवासमा भएको आफ्नो बिहेलाई ‘सौभाग्यपूर्ण’ भनेकी छन्। राजदूत निवासभित्र बिहे भएकाले एउटा सम्भावित कानुनी झमेलाबाट उनी बचेकी थिइन्। दोहोर्याई–दोहोर्याई उनले ‘सौभाग्यपूर्ण’ भन्नुको कारण कारण यही हो। 

जस्तो कि तत्कालीन नेपाली कानुनअनुसार वैवाहिक सम्बन्धमा गाँसिन लागेका वर–बधुबीचको उमेर–अन्तरको सीमा २० वर्ष थियो। तर, क्यारोल ४९ वर्षकी थिइन्, एल्सवर्थ ७३ वर्ष पुगिसकेका थिए। 

अर्थात्, उनीहरुबीचको उमेरअन्तर २४ वर्ष थियो। 

कानुनले तोकेभन्दा बढी उमेर अन्तर भएकाले नेपाली भूमिमा बिहे गर्दा उनीहरु सजायको भागिदार बन्न सक्थे। तर, अन्तर्राष्ट्रिय कूटनीतिक–कानुनी प्रचलनका आधारमा राजदूत निवास नेपाली भूमिभित्र पर्दैनथ्यो। 

‘खासमा मेरो निवास अमेरिकी भूमि (स्वामित्व अमेरिकाको) हो भन्ने त्यो बेला मलाई जानकारी थिएन,’ त्यो कुराकानीमा क्यारोलले भनेकी छन्, ‘पछि मैले जानकारी पाएँ– एल्सवर्थ र मेरो उमेर अन्तर जति थियो, त्यो उमेरका व्यक्तिहरुले नेपाली भूमिमा बिहे गर्नु गैरकानुनी हुने रहेछ।’

जे होस्, दुईबीच बिहे सम्पन्न भयो र यो बिहेसम्बन्धी समाचार ‘धमाका’ सरी सार्वजनिक भयो। ‘द न्युयोर्क टाइम्स’ लगायत थुप्रै अमेरिकी अखबारहरुले त्यो बिहेलाई प्रथमपृष्ठमा स्थान दिए। 

नदिउन् पनि किन?

अमेरिकाको कूटनीतिक इतिहासमा त्यो नै दुई बहालवाला राजदूतहरुबीचको पहिलो बिहे थियो। बिहेमा राष्ट्रपति जोन्सनको तर्फबाट राष्ट्रपति कार्यालयले नै बधाई र शुभकामना सन्देश जारी गरेको थियो।  

झुपडीभित्र हनिमुन
बिहेका सम्बन्धमा क्यारोलले बार्नेसलाई दिएका तीन जिम्मेवारीमध्ये एक बिहेपछिको ‘हनिमुन ट्रिप’ को व्यवस्था पनि थियो। बिहे कसरी सम्पन्न गर्ने भन्नेबारे क्यारोलले स्पष्टसँग तरिकाहरु बताएकी थिइन्। त्यसैले, बार्नेसलाई बिहेको प्रबन्ध गर्न अप्ठेरो भएन। 

वृद्ध उमेरमा बिहे गरेको यो जोडीलाई हनिमुनका लागि कहाँ पठाउने भन्ने समस्या आइलाग्यो। हनिमुनस्थल छनोटका विषयमा बार्नेसले दूतावासका अन्य सहकर्मीहरुसँग छलफल गरे। सहकर्मीहरुबाट उनले नवविवाहित राजदूत जोडीलाई चितवनस्थित चारकोसे झाडीभित्र रहेको ‘टाइगर टप्स’ होटलमा पठाउने सल्लाह पाए।  

चारकोसे झाडीमा हात्तीमाथि चढेर, गैँडा, बाघ, मृग, गोहीजस्ता आकर्षक जनावर अवलोकन गर्न पाइन्थ्यो। त्यसैले, नेपाल आउने अधिकांश ‘हाइप्रोफाइल’ विदेशी पर्यटकहरु टाइगर टप्स पुग्थे। यो होटल जिम एडवार्ड र चक म्याकडोगन नामका दुई अमेरिकीहरुले सञ्चालन गरिरहेका थिए।

चारकोसे झाडी फैलिएको चितवन र पर्सा जिल्लामा केही अमेरिकी पिसकोर स्वयंसेवीहरु कार्यरत थिए। एल्सवर्थ–क्यारोलको जोडीलाई त्यता पठाइनुको एउटा कारण ‘हनिमुन ट्रिप’ का क्रममा पिसकोर स्वयंसेवीहरुबाट प्राप्त हुने सहयोग पनि थियो। 

३–४ जनवरी (१९६७) मा बिहे–रिसेप्सन सिध्याएपछि ५ जनवरीका दिन उनीहरु ‘टाइगर टप्स’ पुगे। ‘टाइगर टप्स’ बाट उनीहरु पर्साको बिरुवागुठी गाउँ पुगे, जहाँ कृषि क्षेत्रमा गाउँलेहरुलाई सघाइरहेका बब निकोलस र बिल बोर्सा नामका दुई युवा पिसकोर स्वयंसेवक थिए।  

सन् १९६० को दशकमा नेपालका कुना–कन्दरास्थित विभिन्न क्षेत्रमा सेवा गरेका अमेरिकी पिसकोर स्वयंसेवीहरुको अनुभव समेटेर प्रकाशन गरिएको एउटा पुस्तकमा बब निकोलसले उल्लेख गरे अनुसार एल्सवर्थ–क्यारोल एक रातमात्र ‘टाइगर टप्स’ मा बिताएर बिरुवागुठी पुगेका थिए।  

बिरुवागुठी पुग्दा क्यारोल कालो बिनी (टोपी), निलो ब्लेजर र स्कर्ट, सेतो सर्ट, कालो स्टकिङ्सका साथ त्यहाँ पुगेकी थिइन्। कालो सिसा भएको ‘क्याट आइ सनग्लास’ (बिरालोको आँखा आकारको ऐना भएको चस्मा) का कारण उनी तरुनी उमेरकै देखिन्थिन्।

एल्सवर्थ पुरानै टाइसुट र स्वेटर पहिरेर बिरुवागुठी पुगेका थिए। एल्सवर्थको सादगीपन उनको पहिरनले देखाउँथ्यो।   

बब निकोलस र बिल बोर्साले उतिबेला खिचेका तस्वीरहरुको एल्बम पल्टाउने हो भने बिरुवागुठी कति पिछडिएको र गरिबी झेलिरहेको गाउँ थियो भन्ने सहजै अनुमान गर्न सकिन्छ। गाउँमा पक्की घर थिएनन्। अलि हुनेखाने कोही छन् भने तिनले घर झिँगटीले छाएका थिए। गरिबहरुको वस्ती भएकाले अधिकांश घर खर र परालले छाइएको थियो। मोटरबाटोको सुविधा पनि थिएन। मोटरबाटो भन्नु नै गोरुगाडा चलाउने बाटो थियो। चर्पी कसैको घरमा थिएन।  

यति साह्रो पिछडिएको गाउँमा बिजुली पुग्नु त परको कुरा भयो।  

बिरुवागुठीवासीहरुले खेतमा फलेको धान काटिसकेका थिए। तर, झाँटेर परालबाट छुट्ट्याएको धान घरमा भित्र्याइसकेका थिएनन्। एल्सवर्थ र क्यारोलले गाउँलेहरुका खेत–खलियान घुमे, बब र बिलले सघाएका गाउँलेहरुसँग भलाकुसारी गरे। 

बब र बिलको डेरा स्थानीय पञ्चायतको कार्यालयमा थियो। कार्यालय भए पनि खासमा त्यो झिँगटीले छाएको झुप्रो थियो। झुप्रोभित्र एकातिरको कोठामा पञ्चायतको कार्यालय थियो, अर्काेतिरको कोठा उनीहरुको डेरा। सात समुद्रपारिबाट नेपालको सेवा गर्न आइपुगेका यी दुई अमेरिकी युवाहरुलाई खाना पकाउन सजिलो होस् भनेर झुप्रोसँगै जोडेर दाहिनेपट्टि खर–परालको छानोसहितको भान्सा निर्माण गरिएको थियो।

बिरुवागुठी गाउँ र एल्सवर्थ–क्यारोलले हनिमुन मनाएको मनाएको पञ्चायती घर (फोटो : बिल बोर्सा) 

सम्भवतः एल्सवर्थ र क्यारोलको जोडी ६ जनवरी (१९६७) का दिन बिरुवागुठी पुगेको थियो। त्यो रात उनीहरुले बब र बिलको डेरा रहेको त्यही झिँगटीको झुपडीमा बिताए। 

एल्सवर्थ भारतका लागि अमेरिकाका राजदूत भइसकेका कूटनीतिज्ञ थिए। संयोगवश यो जोडीले रात बिताएको त्यो कोठामा भारतीय प्रधानमन्त्री जवाहलाल नेहरु नोभेम्बर १९६१ मा अमेरिका भ्रमणमा जाँदा राष्ट्रपति जोन एफ केनेडीसँगैको फोटो थियो।   

बब र बिलले एल्सवर्थ र क्यारोललाई खानाको रुपमा भातसँगै ‘फ्राइ’ गरिएको कुखुराको मासु र आलु खुवाएका रहेछन् भन्ने कुरा उनीहरुको खाजासहितको तस्बिरबाट यकिन गर्न सकिन्छ।

खलियानमा स्थानीयहरुसँग क्यारोल र एल्सवर्थ 

एल्सवर्थ अमेरिकाको धनीमानी परिवार र व्यापारिक पृष्ठभूमिका कूटनीतिज्ञ थिए। मुलुकको हितमा प्रशस्त खर्च गर्नसक्ने आर्थिक क्षमता र बौद्धिकता समेत भएका व्यक्तिलाई राजदूतको जिम्मेवारी दिने अमेरिकी प्रचलन अनुरुप उनलाई आइजनहावरको पालादेखि नै महत्वपूर्ण मुलुकमा राजदूतको जिम्मेवारी दिन सुरु गरिएको थियो। 

राष्ट्रपति जोन्सनले उपलब्ध गराएको जहाज उनीसँग छँदै थियो, क्यारोलसँग बिहेपछि हनिमुनका लागि उनी संसारको जुनसुकै रमणीय सहर पुग्न सक्थे। तर, यो दम्पतीले हनिमुनका लागि बिरुवागुठी गाउँ रोज्यो। दाल–भात–तरकारी खाएर उनीहरुले झुपडीमा रात बिताए। 

भौतिक सुविधाका दृष्टिले एल्सवर्थ–क्यारोलको ‘बिरुवागुठी हनिमुन’ साँच्चिकै कष्टप्रद थियो। एक रात त्यहाँ बिताउँदा एल्सवर्थले कस्तो हविगत भोग्नु पर्यो, बबले सो पुस्तकमा समावेश भएको संस्मरणमा उल्लेख गरेका छन्।

बिरुवागुठीको डेरामा बब निकोलस र बिल बोर्साका साथ क्यारोल र एल्सवर्थ (बब निकोलस) 

बबका भनाइमा एल्सवर्थ ६.३ फिट अग्ला थिए। तर, उनी बस्ने ‘पञ्चायती घर’ नामको झुपडीभित्र प्रवेश गर्ने ढोका निकै होचो थियो। त्यसैले, कोठाबाट भित्र–बाहिर गर्दा उनी पटक–पटक ठोक्किन्थे। 

यही कारण, जब बिहेपछि एल्सवर्थ भियतनामका लागि अमेरिकी राजदूत नियुक्त भए, बबलाई लागेको थियो, यस्ता बेपर्वाह एल्सवर्थले भियतनामजस्तो संवेदनशील मुलुकमा कसरी जिम्मेवारी सम्हाल्लान्!

बब र बिलको डेरामा रात बिताउने भएपछि एल्सवर्थ र क्यारोलले शौचालयबारे जिज्ञासा राखेका थिए। बबबाट पाएको जवाफले राजदूतद्वयलाई साँच्चिकै आश्चर्यमा पार्यो। 

किनभने, नजिकैको उखुबारी देखाउँदै बबले जवाफ दिएका थिए, ‘यहाँ कहीँ पनि शौचालय बनेका छैनन्। दिसा–पिसाब गर्नुपर्यो भने ऊ त्यहाँ (उखुबारी) जानुपर्छ।’

‘र, पनि उनीहरु हाम्रा असल पाहुना थिए,’ बबले सम्झेका छन्, ‘राजदूत एल्सवर्थ र क्यारोलको आगमन हाम्रा लागि अविस्मरणीय क्षण थियो।’  

र, पनि त्यतिबेलाका तस्बिरमा एल्सवर्थ र क्यारोलको हँसिलो मुहारबाट जो–कसैले अनुमान लगाउन सक्छ– ‘हनिमुन’ का लागि बिरुवागुठी पुग्न पाउँदा उनीहरु साँच्चिकै हर्षित थिए। 

महेन्द्रको भ्रमणमा बिहेको चर्चा  
नेपाल र अमेरिकाबीच २५ अप्रिल १९४७ (१२ वैशाख २००४) मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो। यस हिसाबले सोमबार (१२ वैशाख २०७९) दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ वर्ष (हिरक जयन्ती) पुग्छ।  

नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको यो ७५ वर्षको अवधिका यस्ता थुप्रै ‘टाइमलाइन’ होलान्, जसले दुई मुलुकबीचको सम्बन्धलाई उचाइमा पुर्याउन भूमिका खेलेका छन्। 

निश्चय नै त्यो बिहे एल्सवर्थ र क्यारोलको व्यक्तिगत मामिला थियो। व्यक्तिगत मामिला भएपनि त्यो वैवाहिक सम्बन्धले नेपाल–अमेरिकाबीचको सम्बन्धलाई अझ उचाइमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्यो। 

राजा महेन्द्रले विसं २०२४ मा पाएको अमेरिकाको राजकीय भ्रमणको अवसरमा एल्सवर्थ–क्यारोलको बिहेको भूमिका थियो।   

पत्नी भएकाले राजदूत क्यारोलको कार्यकाल सफल पार्नु एल्सवर्थको कर्तव्य थियो। अमेरिकाबाट नेपालमा वा नेपालबाट अमेरिकामा शीर्षस्तरको भ्रमण गराउन सकेमा क्यारोल सफल राजदूतका रुपमा दरिने थिइन्।

त्यसअघि विसं २०१७ वैशाखमा तत्कालीन राष्ट्रपति आइजनआवरको निमन्त्रणामा राजा महेन्द्रले पहिलो पटक अमेरिकाको राजकीय भ्रमण गरेका थिए। त्यो भ्रमणको १० वर्ष नबित्दै राजदूत क्यारोलले राजा महेन्द्रको दोस्रो भ्रमणका लागि पहल थालिन्। राष्ट्रपति जोन्सनसँग व्यक्तिगत सम्बन्ध रहेका एल्सवर्थले यस मामिलामा पत्नी क्यारोललाई सघाए।

‘तत्कालीन अमेरिकी राष्ट्रपति जोन्सनसँग एल्सवर्थको निकट सम्बन्ध थियो, उनकै आग्रहमा राष्ट्रपति जोन्सनले राजा महेन्द्रलाई राजकीय भ्रमणको निम्तो दिए,’ नेपाल–अमेरिका सम्बन्धका जानकार अमेरिकाका लागि पूर्व नेपाली राजदूत एवं पूर्वपरराष्ट्रमन्त्री डा. भेषबहादुर थापा भन्छन्, ‘नेपालमा राजदूत रहेकी क्यारोलसँगको बिहेका कारण एल्सवर्थले राजा महेन्द्रको दोस्रो राजकीय भ्रमणका लागि पहल गरिदिएका हुन्।’ 

यही कारण होला सायद अमेरिकाको राजकीय भ्रमणमा रहेका राजा महेन्द्रको सम्मानमा १ नोभेम्बर १९६७ (१५ कात्तिक २०२४) मा ह्वाइट हाउसमा आयोजित रात्रिभोजको सम्बोधनमा राष्ट्रपति जोन्सनले क्यारोलसँगै एल्सवर्थलाई पनि नेपालका लागि ‘अमेरिकी राजदूत’ को रुपमा चिनाएका थिए। 

राजा महेन्द्रसमक्ष ‘टोस्ट प्रस्ताव’ गर्दै राष्ट्रपति जोन्सनले विश्वका १ सय १० मुलुकसँग अमेरिकाको कूटनीतिक सम्बन्ध रहे पनि नेपालसँगको सम्बन्ध भने अनौठो र विशिष्ट रहेको उल्लेख गरेका थिए। 

‘महाराजधिराज! यतिबेला विश्वका १ सय १० मुलुकसँग अमेरिकाको कूटनीतिक सम्बन्ध छ। तर, एक मात्र तपाईंको मुलुक नेपालमा चाहिँ यतिबेला अमेरिकाका दुई जना राजदूत छन्,’ राष्ट्रपति जोन्सनले भनेका थिए, ‘उनीहरु क्यारोल लेस र एल्सवर्थ बंकर हुन्। यसमध्ये क्यारोल लेस औपचारिक राजदूत हुन् भने एल्सवर्थ बंकर अनौपचारिक। एल्सवर्थले यसअघि पनि तपाईंको मुलुकमा राजदूतका रुपमा काम गरिसकेका छन्।’

दोस्रो पटक अमेरिकाको राजकीय भ्रमणमा राजा महेन्द्र राष्ट्रपति जोन्सन र राजदूत क्यारोल (पछिल्तिर, सेतो कपाल) 

दक्षिण भियतनामका लागि अमेरिकी राजदूतको जिम्मेवारीमा रहेका एल्सवर्थलाई नेपालका लागि अमेरिकाको अनौपचारिक राजदूतका रुपमा परिचय गराएपछि राष्ट्रपति जोन्सनले एल्सवर्थ–क्यारोलको काठमाडौँमा भएको बिहेको चर्चा मात्र गरेनन्, नेपाल–अमेरिका सम्बन्धमा यो बिहेको महत्व पनि सुनाए।

‘क्यारोल र एल्सवर्थले यसै वर्ष तपाईंको मुलुकको राजधानीमा बिहे गरे, उनीहरुबीचको यो विवाह तपाईं–हामी दुवैका लागि सौभाग्यको कुरा हो,’ राष्ट्रपति जोन्सनले थपे, ‘र, यो विवाह अमेरिकाको कूटनीतिक इतिहासका लागि अद्वितीय समेत छ किनकि हाम्रो विदेश मन्त्रालयको इतिहासमा यस्तो (बहालवाला दुई राजदूतबीचको) विवाह यसअघि भएको थिएन।’

त्यसयता अमेरिकी विदेश सेवाभित्रै रहेका थुप्रै महिला–पुरुष कर्मचारीहरुबीच पक्कै बिहे भएको होला। तर, शीर्ष तहका दुई अमेरिकी बहालवाला राजदूतबीच भने यस्तो बिहे भएको छैन, जुन बिहेले अन्तर्राष्ट्रिय चर्चा पाएको होस्। र, त्यसको महत्वको चर्चा अमेरिकी राष्ट्रपतिले भित्री मनदेखि नै गरेका होऊन्।

नेपाल–अमेरिका सम्बन्धका ७५ वर्ष– थप स्टोरी :
१. राजा वीरेन्द्रलाई ह्वाइटहाउसको त्यो स्वागत
२. शताब्दी पुरानो ‘चमत्कारी वीरगन’: अमेरिकीको घरघरमा, नेपालको संग्रहालयमा
३. राजा महेन्द्र अमेरिकाकै राष्ट्रपतिको जेट चढेर सिकार गर्न गए, खर्च नतिर्दा बदनाम भए
४. सीआईएको हतियारले चीनसँग लडे, भारत भाग्दै गर्दा नेपाली सेनाबाट मारिए
५. महेन्द्रले ‘कू’ गर्नुअघिको गोप्य अमेरिकी रिपोर्टः दुई देशलाई भिडाउन नेपाली माहिर छन्
६. डोली चढेर आएको त्यो अमेरिकी मिसन, जसले दियो नेपाललाई स्वतन्त्र राष्ट्रको मान्यता
 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .