म्यागेजिन


शशी श्रेष्ठको मातृत्व अनुभवः गर्भावस्थामा जेलमा थिएँ, आमा बन्दैछु भन्ने अनुभूति गर्न पाइनँ

शशी श्रेष्ठको मातृत्व अनुभवः गर्भावस्थामा जेलमा थिएँ, आमा बन्दैछु भन्ने अनुभूति गर्न पाइनँ

छोरा हुर्कने क्रममा शशी श्रेष्ठले मानसिक रुपमा बेहोरेका उतारचढाव भनिसाध्यै छैन


राधिका अधिकारी
बैशाख १८ , काठमाडौँ

त्यो वर्ष गाउँमा महामारी फैलियो। शशी श्रेष्ठकी ६ महिनाकी दिदीको पनि मृत्यु भयो। त्यसपछि जन्मिएका उनका दाजु पनि ६ महिनाकै उमेरमा उस्तै रोगबाट ग्रसित भए। उनकी आमाले ज्योतिषीलाई देखाइन्। ज्योतिषीले भने, ‘यो ठाउँमा तपाईंका सन्तान जोगिँदैनन्, ठाउँ सर्नू। पूर्वतिर सर्दा राम्रो हुन्छ।’

त्यसपछि बनेपा छाडेर उनका बुबाआमा काभ्रेको मंगलटारमा सरे। बनेपाबाट बसाइँ सर्दा उनका दाजुलाई बुबाले केराको पातमा बोकेर गएको कथा शशीले आठ नौ वर्षको उमेरमा सुनेकी हुन्। 

पितृसत्ताले गाँजेको समाज, छोराको चाहनामा सन्तान जन्माउँदा जन्माउँदै त्यो समय कयौँ आमाहरुले आफ्नो जीवन गुमाए। उनकी आमाले भने छोरीको चाहनामा पाँच भाइ छोरा जन्माइन्। पाँच दाजुपछि शशी जन्मिँदा उनको परिवारमा खुसीयाली छाएको थियो। उनी जन्मिँदाको खुसी पछिसम्म दाजुहरु उनलाई सुनाइरहन्थे। 

रहरले जन्मिएकी एक्ली छोरी शशीको बाल्यकाल लाडप्यारमा बित्यो। उनी सानै छँदा उनका दाजु कमाउने भैसकेका थिए। छोरीलाई पढाउने चलन बसिकेको थिएन। तर, उनका बुबा शिक्षाप्रेमी। शशी नौ वर्षको हुँदा दाजुको साथ लागेर तीन दिनको बाटो हिँडेर पढ्न सिन्धुली पुगिन्। उनले ९ कक्षासम्म त्यहीँ पढिन्।

फर्किएर हेर्दा शशीलाई आफ्नो बाल्यकाल शिक्षाका हिसावले मिश्रित लाग्छ। भन्छिन् ‘कहिल्यै आमाको काख नछाडेकी मलाई आमाले टाढा राखेर पढाउने हिम्मत गर्नुभयो। त्यो समय आमाको ठूलो हिम्मत थियो त्यो। मलाई कुन शिक्षाको शक्तिले तानेर तीन दिनको बाटो हिँडेर सिन्धुली पुर्‍यायो। त्यही समयले मलाई शिक्षित बनायो, स्वावलम्बी बनायो। आज मैले महिला अधिकारका लागि संघर्ष गर्दै तय गरेको यो लामो बाटो त्यही शिक्षाको प्रतिफल हो,’ उनी अगाडि थप्छिन्, ‘सानैमा बाआमाको सानिध्यता छाडेकाले सिक्नु पर्ने संस्कार र व्यवहारका कुरा सिक्नबाट बञ्चित भएँ। त्यो अभाव अहिले पनि खड्किन्छ।’

घरबाहिर निस्केपछि देखेको विभेद
बुबाआमाको काखमा हुँदासम्म उनलाई समाज कस्तो छ भन्ने थाहा थिएन। घर छाडेपछि बल्ल छोराछोरीमा हुने भेदभाव, धनीगरिबमा हुने शोषण, जातीय छुवाछुत सबै देखिन्। 

त्यतिबेला उनका माइला दाजुले सिन्धुलीमा ‘मंगल सिलाइ टेलरिङ’ खोलेका थिए। त्यहाँ कपडा सिलाउन सूचीकारहरु आउँथे। ती सूचीकारलाई ग्राहकले मान्छे जस्तो व्यवहार नै गर्दैनथे। उनीहरुको नजिक पर्दैनथे। उनहरुले छोएको खाँदैनथे। तर उनीहरुले सिलाएका सुट लगाएर ठाटिँएर हिँड्थे। शशीलाई नराम्रो लाग्यो। मान्छेमाथिको यो विभेद हुर्कँदै जाँदा गहिरोसँग बुझ्दै गइन्। 

कक्षासँगै राजनीतिक कार्यक्रममा सरिक हुने क्रम बढेर गयो। उनी राजनीतिक कार्यक्रममा सहभागी हुन थालिन्। जुन समय उनी राजनीतिमा सक्रिय भइन्, त्यो समय उनलाई राजनीति भनेको के हो भन्ने नै थाहा थिएन। 

१० कक्षामा पढ्दा उनी संगठित भइन्। ‘राजनीति के हो भन्ने नजानेरै म वामपन्थी राजनीतिमा हेलिइसकेकी रहेछु,’ उनी भन्छिन्।

केही सिनेमाहरु हेरिन्, जसका पात्रले राजनीतिप्रतिको उनको लगाव झन् गहिरो बनायो। उनको स्वभाव विद्रोही बन्दै गयो। उनी मण्डलेविरुद्ध नारा लगाउने मात्र होइन, ढुङ्गै हान्ने भइन्। छोरीमा आएको यो परिवर्तन बुबाआमालाई मन परेको थिएन। आमा बेलाबेला सुनाउँथिन्, ‘सानामा त तिमी यस्ती थिइनौ, एउटा गालामा पिटे अर्को गाला थाप्ने खालकी थियौ।’​

घर छोडेर हिँडेको त्यो क्षण
उनी उच्च शिक्षाका लागि काठमाडौँ आइन्। भर्खरै पारिजातको नेतृत्वमा महिला संगठन पुनर्गठन भएको थियो। शशीको भेट शान्ता राई कान्ता ढकाललगायतका मानिससँग भयो। यतिबेलासम्म उनका दाजू भाउजू पनि राजनीतिमा सक्रिय भैसकेका थिए। शान्ताहरुसँगको उनको चिनजान दाजु भाउजूमार्फत नै भएको थियो। शशीले पनि महिला संगठनमा बस्ने चाहना सुनाइन् उनका दाजु भाउजूमार्फत शशी पारिजातको सम्पर्कमा पुगिन्। त्यसपछि भने उनी सांगठनिक रुपमै राजनीतिमा क्रियाशील भइन्।

२०३५/२०३६ सालको राजनीतिक आन्दोलनपछि विद्यार्थी संगठनहरु गठन हुन थाले। ३६ सालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनको छैटौँ राष्ट्रिय सम्मेलनको तयारी भैरहेको थियो। जिल्ला सम्मेलनको तयारीमा ललितपुरमा शशीको भेट लीलामणि पोख्रेलसँग भयो। लीलामणि पाँचौ राष्ट्रिय सम्मेलनका कोषाध्यक्ष थिए। त्यसपछि पनि नेता र कार्यकर्ताका रुपमा उनीहरुबीच भेटघाट चलिरह्यो।

२०३८ सालमा शशी पद्मकन्या काम्पसमा अनेरास्ववियु सभापति भइन्। उनको लोकप्रियतासँगै जोखिम पनि बढेर गयो। त्यही वर्ष न्युरोड पिपलबोटबाट प्रहरीले उनलाई पक्रियो र जेल चलान गर्यो। सात महिना उनी जेल परिन्। 

जेलबाट छुटेर घर जाँदा रुवाबासी भयो। उनी जेल परेपछि उनका बुबाआमालाई लागेको थियो, ‘यो अब कहीँ नबिक्ने भई।’

उनका बुबाआमालाई पनि मानिसहरुले नजानिँदो ढंगले नमिठो व्यवहार गर्न सुरु गरिसकेका थिए। छोरी घर पुगेपछि बुबाआमाले एक स्वरमा भने, ‘अब राजनीति गरेर हिँड्ने होइन। विवाह गरेर घरजम गर।’

घरमा भएका उनका दाजुले पनि विवाह नै गर्न भने।

तर, शशी राजनीति छाड्न चाहन्नथिन्। उनका लागि ठूलो संकट थियो त्यो। बाआमाले भनेझैँ घरबार जोडेर बस्ने कि घर छोडेर राजनीतिक जीवन रोज्ने? उनले आफूसँगै आएकी साथी ईश्वरी कार्कीसँग सल्लाह गरिन्। साथीले उनलाई ढाड्स दिदै भनिन्, ‘जिन्दगीको चिन्ता नगरी राजनीतिक जीवन अगाडि बढाऊ, तिम्रो साथमा म छु। मेरो घरमा आएर बस्न सक्छौ।’ 

उनले घर छाड्ने निधो गरिन्। 

आमा र दाइहरुले उनको अनुहार हेर्नै सकेनन्। उनका बुबाले भने आँखाभरि आँसु पारेर ‘तिमी जहाँ गए पनि सफल हुनु छोरी’ भन्ने आशिष दिए। 

कुनामा बसेर रोइरहेकी आमा, कुनै कुराको अभाव हुन नदिई हुर्काएका बुबा, आफू जता गयो, उतै डोर्याउँदै लैजाने दाजु, सबैका आँसु बोकेर घर छोड्दा शशीको मनमा परेका गाँठा अहिले पनि राम्रोसँग फुकिसकेका छैनन्। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रहेकी शशीले मन्त्री निवासमै बसेर विगत कोट्याउँदै गर्दा उनका आँखा भरिए। बेलाबेला उनी टेबलबाट टिस्युपेपर टिपेर उनी आँसु पुछ्थिन्।

‘देश परिवर्तनको उत्कठ चाहानाले शशिलाई घर, बुवा आमाको काख छोडेर हिड्ने शक्ति दियो। जुन साहसले जिन्दगीका हर अप्ठ्यारा समयमा हिम्मत बनेर साथ दिइरह्यो।’ शशि पुराना दिन सम्झना गर्छिन्।

घर छोडेर हिँडेपछि उनलाई घरबाट आर्थिक नाकाबन्दी लगाइयो। शशी अभिभावकविहीन भइन्। काठमाडौं आएर पार्टीमा आफ्नो कुरा राखिन्। पार्टीले संरक्षण दिने भयो। आमाबुबाबाट छुटेर आएकी शशीको मनले अभिभावकत्व खोज्यो। लीलामणिले उनलाई आडभरोसा दिए। जसले उनीहरुलाई नजिक बनायो। तैपनि उनीहरुले बिहे गर्नेबारे सोचेका थिएनन्।​

विद्रोहको अर्को कदम विवाह 
एक दिन लीलामणिले शशीलाई विवाहको प्रस्ताव राखे। शशीले तत्काल निर्णय लिन सकिनन्। त्यही सुनाइन्। पछि लीलामणिले पार्टीमा प्रस्ताव राखे। शशी राजी भइन्। पारिजातको उपस्थितिमा शशी र लीलाले वैवाहिक जीवन सुरुवात गरे।

तर, बुबाआमा लीलामणिलाई ज्वाइँ मान्न तयार थिएनन्। विवाहको निधो गरेपछि बुबाआमाले भनेका थिए ‘तिमीले रोजेको बाटोले तिमीलाई दुःख दिन्छ।’ दाजु भने सकारात्मक थिए। अन्ततः विवाहमा पाँच दाजुहरु र बुबा आए। आमा रोएर घरमै बसिन्। उनकी आमाले छोरीको पीरमा धेरै छाक खाना पनि छाडिन्।

विवाहपछि माइत जान शशीलाई दुई वर्ष कुर्नु पर्यो। लामो समयपछि आमालाई भेट्दा आँखा भरिए पनि उनले आँसु झर्न दिइनन्। छोरीले दुःख पाएकी रहिछ भन्ने आमालाई नपरोस् भनेर उनी रोइनन्। 

‘रुन सकेर आमा हल्का हुनु भयो,’ उनले सुनाइन्।

उनका बुबाआमाले ज्वाइँलाई स्वीकारेनन्, सासूले उनलाई बुहारी मानिनन्। शशी पहिलो पटक घर पुग्दा उनकी सासू उनको निधारमा टीका लगाइदिन समेत तयार थिइनन्। अन्तरजातीय विवाहलाई अपराध नै मान्ने समय थियो। यो भन्दा ठूला भेदभाव झेल्दै, देख्दै हुर्किएकाले उनले ठूलो कुरा मानिनन्। तर, मन भने रोयो।

फराकिलो चेतना भएका उनका ससुराले सासूलाई भने, ‘छोराबुहारी आएका छन् टीका लगाएर भित्र लैजाऊ।’

जेलमा गर्भावस्था
त्यतिबेला शशी महिला संगठनको अध्यक्ष थिइन्। त्यो साल ८ मार्च बनाउँदै गर्दा शशी पक्राउ परिन्। पक्राउपछि उनलाई सेन्ट्रल जेल पठाइयो। जेल जानुअघि नै शशी बिरामी थिइन। विवाहपछि उनलाई पिसाबमा संक्रमण भयो। तीन पटक टाइफाइड भयो। जेलमा एक दिन शशी अचानक बेहोस् भएर लडिन्। सुरुमा उनलाई वीर अस्पताल लगियो। त्यहाँबाट थापाथली अस्पताल रिफर गरिदियो। थापाथलीमा गरिएको जाँचपछि थाहा भयो, उनी गर्भवती रहिछन्। 

शशीले आफ्नो गर्भावस्थाको आठ महिना जेलमै बिताइन्। त्यतिबेला लीलामणि अर्भमूभिगत अवस्थामा थिए। शशीलाई भेट्न जान पाउँदैनथे। घरका मान्छेले स्वीकार गरेको अवस्था थिएन। उनलाई कस्तो छ भनेर सोध्न जाने कोही थिएन। शशीको मनमा आगो बलिरहन्थ्यो। 

जेलमा राजनीतिक बन्दीलाई गर्ने व्यवहार रुखो थियो। सामान्य ढंगले ८ मार्च मनाउने क्रममा जेल परेकी शशीलाई लागिरहन्थ्यो, ‘त्यही दिवस रानीले मनाउँदा भोज हुने, मैले मनाउँदा जेल आउनु पर्ने!’

उनको मनमा विद्रोह मात्रै जन्मिरहन्थ्यो। उनी बेलाबेला बिर्सिन्थिन् म आमा बन्दै छु भन्ने कुरा। धेरै सोच्थिन्, ‘यो राज्य सत्ता कसरी फाल्ने, कहिले फाल्ने?’ 

खाएको कुरा पेटमा अडिँदैनथ्यो, चक्कर लागिरहन्थ्यो, अनि मेरो स्वास्थ्य ठिक छैन भनेर सम्झना गर्थिन्।

‘त्यो समय आमा बन्दै छु भन्ने अनुभूति गर्न पाइनँ,’ उनले भनिन्।

जेलमा उनले मन लागेको खान पाइनन्, बिरामी हुँदा अस्पताल जान पाइनन्। लामो बिरामीका कारण रक्तअल्पता भएपछि उनलाई हप्तामा दुई दिन किमा दिइन्थ्यो। 

जेलमा शशीकी भाउजू नाता पर्ने एक महिला पनि थिइन्। उनले आफ्नो परिवारले ल्याइदिएका खानेकुरा शशीलाई दिन्थिन्। उनी सोधिरहन्थिन् ‘तिमीलाई के खान मन छ, म बाहिरबाट ल्याइदिन लगाउँछु।’ उनलाई त्यो समय के खान मन लाग्थ्यो, त्यो नै थाहा हुँदैनथ्यो।

शशीलाई राजकाज मुद्दा चलाउने तयारी भैरहेको थियो। कुनै पनि बेला म मारिन सक्छु भन्ने मानसिक तयारीका साथ जेलमा बसेकी थिइन्। म मारिन सक्छु भन्ने दिमागमा आएको क्षण उनी आफ्नो गर्भमा हुर्कंदै गरेको बच्चा सम्झिन्थिन्। पेट मुर्साथिन र सोच्थिन्, ‘यो बच्चाको के दोष थियो र जसले जन्मिनुअघि नै मृत्युको भय खेप्नु पर्यो?’ तर शशीलाई राजनीतिक मुद्दा मात्रै चलाइयो। राजकाज मुद्दा लगाइएन।

जेलमै भेटिइन् स्विडेनकी एक महिला, जो तस्करी मुद्दामा पक्राउ परेकी थिइन्। ती महिलाले उनलाई गर्भावस्थाका बेला गर्नुपर्ने व्यायाम सिकाइन। शशीलाई अलि सहज भयो। किताब मगाइन्। अध्ययन गरिन्। जेलमा रहेका अरु महिलालाई पढाइन्।

आठ महिनमा जेलमुक्त
जेलमा हुञ्जेल उनी कहिल्यै भावुक वा कमजोर भइनन्। आठ महिनामा छुटेपछि मात्र पेटमा हलचल गरिरहेको बच्चाको धड्कन महसुस गरिन्। 

भेट भएलगत्तै लीलामणिले भावुक हुँदै भने, ‘यस्तो अवस्थामा तिमीलाई दुःख भयो नि!’ 

शशीमा झन धेरै साहस भरिएर आयो। उनले सोचिन्, ‘मैले महिला अधिकारका लागि गर्न अझैं धेरै बाँकी छ।’

जेल जानुअघि शशी स्कुल पढाउँथिन्। करार शिक्षक, त्यसमाथि जेल परेपछि उनको जागिर बाँकी रहने कुरै थिएन। परिवारको साथ थिएन। पूर्णकालीन राजनीति गर्ने उनका श्रीमानको कमाइ थिएन। अब कसरी बाँच्ने, बच्चा कसरी हुर्काउने भनेर शशी पिल्सिन थालिन्।

माइतीमा बुबाआमालाई भन्न स्वाभिमानले दिएन। कहिलेकाहीँ सोच्थिन्, ‘बाआमासँग मैले अलि धेरै अहम् पो पालेँ कि!’ फेरी सोच्थिन् ‘होइन यो मेरो स्वाभिमान हो।’

शशीलाई उनका बुवाआमाले विवाहको निधो गरेकै दिन भनेका हुन्, ‘बाआमाले त हिजो भनेकै हो तिमीले दुःख पाउँछौ।’ शशीलाई आफूले गरेको निर्णय र हिडेको बाटोप्रति पछुतो त थिएन। फेरि पनि सन्तानको चिन्ता लाग्दो रहेछ। चिन्तै चिन्तामा शशी र लीलामणिले सल्लाह गरे, ‘देशमा यति धेरै भुइँमान्छेका छोराछोरी हुर्किएका छन्, हाम्रो पनि हुर्किन्छ, चिन्ता नगरौं।’

शशी जेलबाट छुटेको १० दिन भएको थियो। एकदिन स्कुलका हेडमास्टर केशरबहादुर विष्ट शशीलाई भेट्न आए। शशीलाई लाग्यो, ‘तिम्रो जागिर गयो भन्न आएका त होलान्।’ तर भइदियो उल्टो। विष्टले शशीलाई भने, ‘मिस तपाईं स्कुल आइदिनु पर्यो। तपाईंले छाडेपछि लगेको शिक्षकसँग विद्यार्थीले पढ्नै मानेनन्। अर्थशास्त्रमा विद्यार्थी फेल हुने भए।’ 

शशीको अवस्था स्कुल जानसक्ने थिएन। लीलामणिले पनि उनलाई नजान भने। तर शशीलाई भित्रैबाट आँट आयो। उनले लामो सास तानिन्। उनलाई लाग्यो, ‘मेरो बाँच्ने खाने ठाउँ रह्यो। अरु खोज्नु परेन।’ 

उनले हेडमास्टरलाई जवाफ दिइन्, ‘म भोलिबाट स्कुल आउँछु।’

उनलाई स्कुलमा देखेपछि विद्यार्थी खुसी भए। शशीका आँखाबाट प्रेम र सद्भावको आँसु खस्यो। उनले नियमित पढाउन थालिन्। दिनमा चार पिरियडसम्म पढाइन्। विद्यार्थीले परीक्षामा राम्रो अंक ल्याए।​

साइकलमा अस्पताल
शशी जेलबाट छुटेपछि उनकी आमा काठमाडौँ आइन्। लीलामणिको व्यवहारका कारण सासू–ज्वाइँ आत्मीय भइसकेका थिए। आमाको स्याहारका कारण शशी बिस्तारै तंग्रिदै गइन्। 

त्यो दिन बिहानैबाट शशीलाई व्यथा लागेको थियो। तर उनले भनिनन्। आमाले बिहानै भनेकी थिइन्, ‘तिम्रो अनुहार सोरिएको छ, तिमीलाई व्यथा लाग्यो।’ तर त्यही दिन अर्थशास्त्रको परीक्षा थियो। उनी सक्छु भनेर स्कुल गइन्। परीक्षा सकियो विद्यार्थीको उत्तरपुस्तिका बोकेर घर फर्किइन्। 

साँझ पर्दै जाँदा शशीलाई दुखाइ बढ्दै गयो। सुत्केरी भएपछि सक्दिनँ भनेर उनले साँझमा लुगा धोएर सुकाइन। बेलुकाको खाना खान सक्ने अवस्था थिएन। तर खाइन्। रातको २ बजे उनलाई व्यथाले चाप्यो। लीलामणिले उनलाई साइकलमा राखेर अस्पताल लिएर हिँडे। लीलामणिको साथमा थिए पर्शुराम घिमिरे। लीलामणिले साइकल डोर्याए, पर्शुरामले शशीलाई समाए। मंगलबजारबाट पाटन अस्पताल पुग्न कति ठाउँमा बिसाउनुपर्यो, शशीले गिन्ती गर्न भ्याइनन्।

अस्पताल पुगेर भर्ना भएपछि भने शशीलाई एक्लोपनले पिरोल्यो। राति भएकाले उनले आमालाई लगिनन्। अरु कोही थिएनन्। लीलामणि भित्र जान पाएनन्। अस्पतालमा अरु बिरामीका छेउमा बस्ने आफन्त थिए। ढाड माडिदिन्थे। कस्तो छ भनेर सोध्थे। पानी खान दिन्थे। शशीका कोही थिएनन्। आफन्त र परिवारको यादले पीडा झन् बढ्यो।

बिहानीपख उनी बाथरुम गइन्। उनको पाठेघरको मुख खुलेर बच्चाको टाउको निस्किसकेको रहेछ, एकहातले बच्चा भित्र ठेलेर नर्सलाई बोलाइन्, त्यसपछि उनलाई लेबर रुममा लगियो। केही समयमै उनले छोरा जन्माइन्।​​

बच्चा हुर्काउँदाको संघर्ष
छोरो जन्मिएको केही समय उनकी आमा काठमाडौंमै बसिन्। तर एकदिन नातिका लुगा धुनेक्रममा चिप्लिएर लडेकी उनको छातीमा चोट लाग्यो। त्यसपछि उनी घर फर्किइन्। शशीको स्कुलको बिदा पनि सकियो। सुरुका ५/६ महिना लीलामणि घरमै भएकाले शशीलाई सजिलै भयो। 

छोरो सात महिनाको भएपछि एक साँझ लीलामणिले घरमा आएर भने, ‘मलाई पार्टीले प्रवास खटायो।’

शशीले प्रश्न गरिन्, ‘के भन्नु भयो?’

उनले भने, ‘जान्छु भनेर आएँ।’

शशीले आपत्ति जनाइनन्। त्यो समय शशीको छोरालाई पार्टीले डे केयर सेन्टरमा राखिदिने भनेको रहेछ। तर त्यो समय पार्टी अहिलेको जस्तो आर्थिक रुपमा मजबुत थिएन। पैसा तिरिदिन सकेन। तैपनि शशीले ऋणपान गरेरै केही समय छोरालाई ‘डे केयर सेन्टर’मा राखेर आफूले स्कुल पढाइन्। 

मंगलबजार बसाइ, थैबको स्कुल, काखमा ७ महिनाको छोरा, एक्लो बसाइ। 

‘त्यो बेला मैले पीडादायी जीवन बिताएँ। दिनभरि मेरो दूध गानिन्थ्यो, यता मेरो छोरा पाउडर दूध खान्थ्यो। एउटी आमाको मनमा केके हुन्थ्यो हुन्थ्यो, त्यो के भन्नु,’ उनी भन्छिन्।

पाँच महिनापछि शशीले डे केयरबाट छोरालाई निकालिन्। उनी छोरा बोकेरै स्कुल जान्थिन्। अफिसमा छोरा छाडेर आफू कक्षामा जान्थिन्। आँखा पाठ्यपुस्तक र विद्यार्थीमा भए पनि मन छोरामै हुन्थ्यो। यसैगरी हुर्किए उनका जेठा छोरा।

चार वर्ष लाग्दै गरेका छोरालाई होस्टलमा राखेर शशी राजनीति र शिक्षणमा लागिन्। उनका छोरा सिरक तानेर ओढ्न सक्ने भएका थिएनन्। सिरक नओढेरै सुतेर होला अहिले पनि उनका छोरा गुँडुल्किएर सुत्छन्। उनका छोरा अहिले आफैँ बुबा भैसके। तर उनको सुताइ हेरेर अहिले पनि शशीका आँखा रसाउँछन्।सायद होस्टलमा बसेकाले होला लामो समय उनका छोरा एकोहोरो भए। कसैसँग बोल्दैनथे।​

७ वर्षपछि कान्छो छोरा
जेठो छोरा ७ वर्षको भएपछि शशी दोस्रो पटक गर्भवती भइन। उनी दोस्रो पटक गर्भवती हुँदा बुबाआमा दुवै बितिसकेका थिए। शशी शिक्षण छोडेर पूर्णकालीन राजनीतिमा पुनः सक्रिय भैसकेकी थिइन्। यसपटक उनले गर्भावस्थाका भावनात्मक संवेगहरु अलि धेरै महसुस गरिन्। 

शशीको गर्भ झण्डै खेर गएको थियो। डाक्टरले औषधि चलाए। कयौँ पटक सुत्केरी व्यथा लाग्यो भनेर अस्पताल पुगिन्। डाक्टरले बेला भएको छैन भनेर फर्काए। डाक्टरले दिएको समय अघि नै शशीलाई सुत्केरी व्यथा लाग्यो। पाटन अस्पताल भर्ना भइन्। लीलामणि सांसद थिए, पत्नीलाई अस्पताल भर्ना गरेर उनी संसद् गएछन्। त्यसबेला टनकपुरको मुद्दा चर्किएको थियो।

शशीलाई तिर्खाले प्याकप्याक भयो। उनले श्रीमानको नाम लिएर नर्सलाई भनिन्, ‘पानी ल्याइदिन भन्नु न।’ नर्सले धेरैबेर खोजेपछि भनिन्, ‘यो नामको मान्छे त हुनुहुन्न।’ अर्को बिरामी कुरुवाले पानी खान दिइन्। झण्डै आधा घण्टापछि शशीकी भाउजू अस्पताल आइन्। 

शशीलाई दोस्रो सन्तान छोरी होस् भन्ने थियो। तर, छोरा जन्मेपछि छोरीको अभाव महसुस गरिन्। हिजोआज घरमा बुहारी छन्। छोरीको आधा रहर मेटिएको छ। बुहारी गर्भवती हुँदा पनि शशीलाई लागेको थियो, ‘मेरो नातिनी जन्मियोस्। जन्मियो नाति।’ उनलाई नातिनीको अभाव महसुस बारम्बार भइरहन्छ।​

सानो छोरो हुर्काउन थोरै सहज
पहिलो छोरा होस्टलमा राख्दा परेको असरपछि उनले कान्छो छोरालाई होस्टलमा राखिनन्। कान्छो छोरा जन्मिँदा उनी कोटेश्वरमा आफ्नै घरमा सरिसकेकी थिइन। छिमेकी असल थिए। कहिलेकाहीँ छाडेर हिँडिन्। धेरै समय बोकेर आन्दोलनमा हिँडिन। जेठो छोरा डे केयर तथा होस्टलमा राख्दा शशीलाई आत्मग्लानि भएको थियो। त्यसैले उनले सानो छोराको पालामा घरमा सहयोगी राखिन्। सानो छोरो हुर्काउन थोरै सहज भयो। उनका जेठा छोरा पनि ‘आमु भाइलाई होस्टलमा नराख्नु है’ भन्थे। आफैँ स्कुल जानसक्ने भएपछि शशीले ठूलो छोरालाई पनि होस्टलबाट निकालिन्।

छोरा हुर्कने क्रममा शशीले मानसिक रुपमा बेहोरेका उतारचढाव भनिसाध्यै छैन। आन्दोलन चलेको बेला दुवै श्रीमानश्रीमती भागेर हिँड्थे। सहयोगीका भरमा छोराहरु बस्थे। भागेर पुगेको ठाउँमा छोरा सम्झिएर निद्रा लाग्दैनथ्यो।

२०६१ सालमा शशीको घरमा बम विस्फोट भयो। छोराहरु काँचका टुक्राले पुरिए। हरेक आवाजसँग डराउने भए। त्यसपछि लीलामणि पक्राउ परे। शशी घरबाट भागेर दुई महिना भूमिगत बसिन्। साना छोरा घरमै थिए। 

डेढ महिनापछि शशी पनि विमानस्थलमा पक्राउ परिन्। त्यसपछि काठमाडौँ छोड्न नपाउने कागज गराएर प्रहरीले छाड्यो। दुई महिनापछि आमा छोराको पुनर्मिलन भयो। उनका दुवै छोराले अँगालो हालेर रोए। छोरासँगै उनी पनि रोइन्। ०६२/६३ को आन्दोलनपछि उनीहरुको जीवन सहज भयो।

देशमा शान्ति आयो। शशीहरुले निर्धक्क घरमा बस्ने वातावरणको सिर्जना भयो। पार्टीको जिम्मेवारी भने झन् बढेर गयो। राजनीतिक जिम्मेवारी बोकेर छोराहरु छोडेर लामो समय घर बाहिर हिड्नु पर्ने बाध्यताले छाडेन। उनका जेठा छोरा आमालाई चाँडै फर्किनु है भन्न पनि सक्दैनथे। कान्छा छोरा भने बाहिर निक्सने बेला अँगालो हालेर भन्थे ‘आम्मु नजाँदा हुँदैन?’ शशी मुटु गाँठो पारेर निस्कन्थिन्। 

हिजोआज पछाडि फर्किएर हेर्दा शशीलाई लाग्छ, ‘देश र जनता भनेर हिँड्दा मैले छोराको दूध खान पाउने अधिकार खोसेको छु। आमाको काखमा बस्न पाउने उनीहरुको अधिकार खोसेको छु। फेरि पनि मेरा छोराजस्तै थुप्रै छोराछोरीले पाएका अधिकारको मूल्यसँग जोडेर मन बुझाउने गरेको छु। अहिले महिलाले सुत्केरी बिदा पाउँछन्। पहिला सुत्केरी हुँदा महिलाले मात्रै बिदा पाउँथे। अहिले पुरुषले पनि बिदा पाउँछन्। विभिन्न अफिसहरुमा शिशु स्याहार केन्द्र छन्। हाम्रो पालामा त्यो सुविधा थिएन। यो सबै त्यो बेला गरेको संघर्षको प्रतिफल हो।’

शशी भन्छिन् ‘मैले मेरा केटाकेटीलाई धेरै अन्याय गरेँ। केके अन्याय गरेँ अहिले त्यो सम्झना नगरौं। आफ्ना केटाकेटीले दुःख पाउँदै गर्दा आज धेरै केटाकेटीले त्यो अधिकार पाएका छन्। त्यो कुराले खुशी दिन्छ। तथापी उनीहरुले अहिले पनि पाउनु पर्ने थुप्रै अधिकार पाएका छैनन्। हामी अझै पनि उनीहरुको सम्पूर्ण अधिकार प्राप्तीको संघषैमै छौँ।’

आन्दोलन, अभाव, आँसु सबै भोगेर हुर्किएका शशीका जेठा छोरा डाक्टर हुन्। कान्छा छोरा बैंकमा काम गर्छन्। 
  

बैशाख १८, २०७९, आइतबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.