ad ad

म्यागेजिन


डा. चन्दा कार्कीको मातृत्व अनुभवः आफ्नो सुत्केरी व्यथा सहेँ तर छोरीको पीडा हेर्न सकिनँ

डा. चन्दा कार्कीको मातृत्व अनुभवः आफ्नो सुत्केरी व्यथा सहेँ तर छोरीको पीडा हेर्न सकिनँ

२७ वर्ष प्रसूति रोगको डाक्टर रहेकी चन्दा कार्की भन्छिन्–जीवनको सबैभन्दा पीडादायी समय छोरीलाई सुत्केरी व्यथा लागेको बेला थियो (तस्बिरः विजय सिंह)


राधिका अधिकारी
बैशाख २६, २०७९ सोमबार ८:२६, काठमाडौँ

अन्न बेचेर आएको आयस्ताले जीविका चलाउने सामान्य किसान परिवारमा जन्मिएकी थिइन् चन्दा। उनका चार दिदी र चार भाइ जन्मेका थिए। जसमध्ये दुई दिदी र भाइ बिते। घरवरपर आँपको बगैँचा, मौसम अनुसार झुल्ने खेती, गोरुगाडाको यात्रा, बाल्यकालका मिठा सम्झना छन् उनीसँग।

महोत्तरीको औरही नैनीगौरीमा उनका जिजुबुबाले ‘प्रसाद सिंह हाइस्कुल’ स्थापना गरेका थिए। सोही स्कुलबाट प्रारम्भिक शिक्षा सुरु गरिन्। थोरै संख्यामा स्कुल जाने छात्राहरुले पनि भविष्यका सपना देख्दैनथे। स्कुल गएका छोरीहरुमध्ये कतिपय ६/७ पढ्दै अन्मिएर पराइघर पुगिसक्थे। कतिले भने एसएलसीसम्म पास गर्थे। 

उनी पाँच कक्षा पढ्दै गर्दा उनकी आमा बिरामी परिन्। जिल्लामा राम्रो उपचार हुँदैनथ्यो। बुबाले आमालाई उपचारका लागि रात्री बस चढाएर काठमाडौँ पठाए। उनी आमासँगै काठमाडौँ आइन्। चन्दाको मामाघर कमलपोखरीमा थियो। त्यहीँ बसेर आमाको उपचार भयो। उनले नर्सहरुले आमाको उपचारमा सघाएको देखिन्। र, मनमनै सपना बुनिन्– एकदिन म पनि नर्स बन्छु।

तर, उनले देखेको सपना निकै महंगो थियो। आफ्नो बुबाको औकातभन्दा परको। त्यसैले घरमा सुनाउन सकिनन्।

मामाघर बस्दा पनि उनको ध्यान पढाइमै हुन्थ्यो। आफ्नी भान्जीको पढाइप्रतिको लगाव देखेर उनका मामा मोहनविक्रम थापाले काठमाडौँमै राखेर पढाउने निधो गरे। तर मधेशबाट आएकी केटी भनेर काठमाडौँका स्कुलले उनलाई भर्ना लिन मानेनन्। उनका मामा हार मान्नेवाला थिएनन्। भान्जी लिएर पद्मकन्या स्कुल पुगे। त्यहाँ पनि सजिलै भर्ना नपाएपछि मामाले भने, ‘मेरी भान्जीलाई पढाएर हेर्नुहोस्। पहिलो जाँचमै राम्रो गर्न सकिनन् भने झिकेर लैजान्छु।’ 

त्यसपछि स्कुलमा उनले भर्ना पाइन्। 

पद्मकन्या स्कुलमा चन्दा दोस्रो भइनन्। २०२९ सालमा एसएलसी पहिलो श्रेणीमा पास गरिन्। केटीहरुमा उत्कृष्ट भएर त्यसबेलाको ‘कमला पुरस्कार’ तथा स्वर्ण पदक समेत जितिन्। त्यतिबेला उनीभन्दा मामा ज्यादा खुसी भएका थिए।

एसएलसी पास गर्दासम्म चन्दालाई थाहा भइसकेको थियो– ‘मामाले मलाई पढाउँछन्’ भनेर। मामाघरमै बसेर आईएस्सी पढ्न अमृत साइन्स क्याम्पसमा भर्ना भइन्। कमलपोखरीबाट लैनचौर हिँड्दै जानु, पढ्नु, हिँड्दै फर्किनु उनको दैनिकी थियो। अमृत साइन्स कलेजमा पनि उनी अब्बल छात्रामा कहलिइन्। उनले आईएस्सी फर्स्ट डिभिजनमा पास गरिन्। 

‘पढाइबाहेक अरु कुरामा ध्यान नै जाँदैनथ्यो,’ उनी सम्झिन्छिन्।

आईएस्सीपछि भारतीय दूतावासको छात्रवृत्तिमा पढ्न कलकत्ता पुगिन्। त्यहाँको आरजी कर मेडिकल कलेजमा पाँच वर्ष एमबीबीएस अध्ययन गरिन्। कलकत्ता जानुअघि उनलाई रुस तथा जापानबाट पनि अध्ययनका लागि छात्रवृत्तिको चिठी आएको थियो। दुरीका हिसाबले उनले कलकत्ता रोजिन्। चन्दालाई कलकत्ता छोड्न पनि मामा साथै गएका थिए। भान्जीलाई कलेज छोडेर फर्किंदा आँखाभरि आँसु लिएर फर्किए। मामाको त्यो आँसुलाई सकेजति राम्रो गरेर खुसीको आँसुमा बदल्ने बाचा उनले आफैँसँग गरिन्।

पाँच वर्षे कोर्सपछि चन्दाले त्यहीँ एकवर्ष इन्टर्नसीप र एक वर्ष प्रसूति वार्डमा काम गरिन्। सात वर्षपछि नेपाल फर्किंदा उनको परिचय डा. चन्दा बनिसकेको थियो।​​

बुबाआमाले डाक्टर ज्वाइँ खोजेर ठिक्क पारेपछि 
चन्दालाई कलकत्तामै स्नातकोत्तर गरेर फर्किन मन थियो। तर, बुबाआमाले चिठीमा भनेका थिए, ‘छोरी मान्छे उमेरमै विवाह पनि गर्नुपर्छ।’ उनी नेपाल आइन्। 

२०४२ सालमा कलकत्ताबाट चन्दा नेपाल फर्किंदा उनका बुबाआमाले डाक्टर ज्वाइँ खोजेर ठिक्क पारेका थिए। बालरोग विशेषज्ञ डाक्टर टेकेन्द्र कार्की त्यतिबेला कान्ति बाल अस्पतालमा कार्यरत थिए। अहिलेजस्तो समय हुन्थ्यो होला त उनी हुनेवाला पतिसँग कुरा गर्थिन् होला, सपना साट्थिन् होला, सर्त राख्थिन होला। उनी बुबाआमाले हेरिदिएका टेकेन्द्रकी दुलही बनेर भित्रिइन्। 

बिहे भएको त्यस्तै १५ दिन भएको थियो होला, डा. जुनु थापाले चन्दालाई थापाथली अस्पताल बोलाइन्। त्यसबेला थापाथली अस्पतालको प्रसूति वार्डमा डाक्टरको अभाव भएको रहेछ। त्यसपछि सुरु भयो चन्दाको जागिरे जीवन। त्यसयता लगातार २७ वर्ष चन्दाले प्रसूति रोगको डाक्टरका रुपमा गुजारिन्। 

२०५२ सालमा जागिर सुरु गर्दा उनको तलब १४ सय रुपैयाँ थियो। काठमाडौँको बसाइ। आफ्नो घर थिएन। चन्दाले त्यतिबेला आफ्नो कमाइ घर व्यवहारमै खर्च गरिन्।

बिहे गरेको दुई वर्षमा आमा
बिहे गरेको अर्को वर्ष चन्दा गर्भवती भइन्। गर्भ ३२ हप्ता भएपछि उनी अध्ययनका लागि बंगलादेशको ढाका जाने भइन्। ढाका जाने तयारी गर्दैगर्दा सबैले भनेका थिए, ‘अहिले नजाऊ।’ उनका श्रीमानले भने उनको बाटो रोक्न खोजेनन्। सायद टेकेन्द्रले एक वर्षको सहयात्रामा बुझिसकेका थिए पढाइ र पेसाप्रतिको उनको लगाव।

ढाका पुगेपछि घरको मान्छेसँग कुराकानी पातलियो। चिठी आइपुग्न महिनौँ लाग्थ्यो। चन्दालाई बेलाबेला परिवारको याद आउँथ्यो, त्यसलाई उनी शक्तिमा बदल्थिन् र पढाइमा लगाउँथिन्।

उनले सोचेकी थिइन्, ‘प्रसूति विभागमा छु। यहीँ बच्चा जन्माउँछु र नेपाल लगी छाडेर आउँछु।’

तर, अन्तिम समयमा उनका शिक्षक टीए चौधरीले बच्चा जन्माउन घर जाऊ भनेपछि उनी नेपाल आइन्।

नेपाल आएलगत्तै चन्दाले डा. भोला रिजाललाई अप्रेसन गरेर बच्चा निकाल्दिन आग्रह गरेकी थिइन्। उनलाई त्यतिबेला लागेको थियो, ‘अहिले बच्चा निकाल्यो भने नर्मल सुत्केरी हुञ्जेलसम्म मेरो समय खेर जाँदैनथ्यो।’ तर, डाक्टरले मानेनन्।

नेपाल आएको १० दिनमा चन्दालाई सुत्केरी व्यथा लाग्यो। चन्दा टिचिङ अस्पतालमा भर्ना भइन। उनले अस्पताल भर्ना हुँदा भनेकी थिइन्, ‘म होची छु, मेरो अप्रेसन गर्दिनु।’ 

डाक्टरले मानेनन्। उनले नर्मल डेलिभरीमार्फत छोरी जन्माइन्।

१६ दिनकी छोरी छोडेर ढाका
छोरी जन्मिएको ६ दिनमा चन्दा असन गइन। छोरीलाई एक वर्षसम्म चाहिने कपडालगायत सामान किनिन्। ११ दिनमा छोरीको न्वारान भयो। १६ दिनमा चन्दा आफ्नी छोरी छोड्न नवलपुर दिदीको घर पुगिन्। त्यसपछि उनी पुनः अध्ययनका लागि ढाका उडिन्। 

त्यतिबेला उनकी आमाले भनेकी थिइन्, ‘छोड्ने पनि उस्तै राख्ने पनि उस्तै।’ उनकी आमालाई नवजात शिशु छोडेर छोरी हिँडेको मन परेको थिएन। तर आफैँलाई हुर्काउने दिदी र आमामाथि उनलाई भरोसा थियो।

चन्दाको मन सम्झनाले कति पटक गह्रौँ भयो, कति पटक आँखा टोलाए, गानिएका स्तनहरुले छोरीको याद कति पटक दिलाए, उनलाई थाहा छैन। बेलाबेला उनकी दिदी छोरीको फोटो धुलाएर चिठीसहित खाममा हालेर पठाउँथिन्। उनी छोरीको फोटो हेरेर चित्त बुझाउँथिन्।

त्यो समय उनलाई लाग्यो, ‘मैले राम्रोसँग पढिनँ भने छोरीसँग बिछोडिएर बस्ने दिन अझै लम्बिनेछ।’ उनले युनिभर्सिटी टप गरिन्। उनीसँगै पढ्न गएका मिरा ओझालगायत साथीले भने, ‘तिमीले चमत्कार गर्‍यौ। छोरीको नाम करिश्मा राख्नु पर्छ।’ 

त्यसपछि चन्दाले आफ्नी छोरीको नाम करिश्मा राखिन्। उनी फर्किएर आउँदा छोरी ११ महिनाकी भइसकेकी थिइन्।​

छोरीहरुको निधारमा सप्तरंगी टीका
नेपाल फर्किपछि चन्दा भोजपुर पुगिन्। भोजपुरमा त्यतिबेला अस्पताल भवन राम्रो थिएन। गाउँमा बिजुली पुगेको थिएन। भएको अस्पतालमा अप्रेसन कक्ष र प्रसुति वार्ड केही थिएन। उनले त्यहाँका स्थानीय व्यापारीसँग अनुरोध गरेर अस्पतालमा अप्रेसन कक्ष बनाइन्। स्वास्थ्य मन्त्रालयबाट अप्रेसनका लागि चाहिने उपकरण मगाइन्।

चन्दाकी छोरी पनि हुर्किंदै थिइन्। तर, छोरी उनीसँग रत्तिन मानिनन्। चन्दा छोरी काखमा लिन्थिन्, छोरी हजुरआमा, ठूलीआमाको काख खोज्थिन्। उनकी छोरी उनीसँग कम बोल्थिन्। खान दिएको कुरा समाएर खान्थिन्। आफ्नै सुरमा खेल्थिन्।

चन्दालाई एउटै छोरीमा चित्त बुझाउने मन थियो। तर, अर्को बच्चा जन्माउनुपर्छ भन्ने लाग्यो। करिश्मा जन्मिएको तीन वर्षपछि उनी दोस्रो पटक गर्भवती भइन्। 

दोस्रो पटक गर्भवती हुँदा चन्दा भोजपुरमै थिइन्। अस्पताल सुधारिने क्रम भर्खर सुरु भएको थियो। उनीबाहेक अर्को प्रसूति डाक्टर थिएनन्। अरु गर्भवती महिलालाई हेर्यो, आफूलाई परेको अप्ठ्यारो आफैँ जानेर औषधि खायो। गर्भावस्थाको सबै समय चन्दाले भोजपुरमै गुजारिन्। 

सुत्केरी हुन भने उनी काठमाडौं आइन्। दोस्रो पटक पनि चन्दाले टिचिङ अस्पतालमा छोरी जन्माइन्। सुत्केरी बिदा सकिएपछि चन्दा पुनः भोजपुर फर्किन्। 

कान्छी छोरी जन्मिएपछि चन्दा पोखरा क्षेत्रीय अस्पताल सरुवा भइन्। त्यहाँको अस्पताल व्यवस्थित थियो। मिसनरीले हेरेका कारण अस्पतालको सेवासुविधा राम्रो थियो। चन्दाले पाँच वर्ष पोखरामा गुजारिन्। उनका दुई छोरी त्यहीँ हुर्किए। पोखरा बसाइका क्रममा कहिलेकाहीँ छोराको अभाव महसुस भयो। त्यहाँ उनी अस्पतालले दिएको क्वार्टरमा बस्थिन्। उनीसँगै अन्य थुप्रै डाक्टरको परिवार थियो। विशेष गरेर तिहारमा भाइटीकाको दिन अरु आँगनमा बसेर भाइटीका लगाउँथे। चन्दाका छोरीहरु अँध्यारो अनुहार लगाउँथे। त्यतिबेला चन्दालाई लाग्थ्यो ‘एउटा छोरा, एउटी छोरी भइदिएको भए परिवार कम्प्लिट हुन्थ्यो।’

उनी मुस्कुराउँदै छोरीहरु भएको ठाउँमा जान्थिन्, दुवै छोरीलाई अगाडि राखेर भन्थिन्, ‘तिमीहरुका लागि त सबैथोक मै हुँ नि।’ छोरीहरुको निधारमा सप्तरंगी टीका लगाइदिन्थिन् उनी।

त्यसबाहेक चन्दाले कहिल्यै छोराको अभाव महसुस गरिनन्। उनकी आमा भने बेलाबेला भनिरहन्थिन्, ‘छोरी बुढेसकालका लागि एउटा छोरा चाहिन्छ। छोरीहरु बिहे भएर आफ्नो घर जान्छन्। तिमी अशक्त हुँदा तिमीलाई कसले हेर्छ?’

चन्दा आमालाई हाँस्दै भन्थिन्, ‘मेरो लागि छोरा पनि तपाईंले नै जन्माइदिनु।’ छोरीसँगै उनकी आमा पनि हाँस्न त हाँस्थिन् तर छोरीका छोरा नभएको पीर उनकी आमाले बोकेर हिँडिरहिन्।

कान्छी छोरी जन्मिएपछि जेठी छोरी पनि बिस्तारै खुल्न थालिन्। चन्दा भन्छिन्, ‘बहिनीले चिमोटी चिमोटी दिदी पनि बोल्ने भई।’ 

दिदीबहिनी साथी भए। चन्दा खुसी भइन्। 

पोखरामा सबै राम्रो थियो। पोखरा छोडिहाल्ने चन्दाको सोच थिएन। पहिलेको घोपा क्याम्पलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने भएपछि डा. मदन उपाध्यायले उनलाई काम गर्न आउन अनुरोध गरेका थिए। सरकारले पनि प्रसूति रोग विशेषज्ञ नभएकाले त्यहाँ काम गर्न जानु भनेर पत्र काट्यो। उनी धरान पुगिन्।

यतिबेलासम्म उनका छोरीहरु स्कुल पढ्ने भइसकेका थिए। उनलाई छोरी पढाउन पनि काठमाडौँ आउनै पर्ने बाध्यता थियो। धरानमा चार महिना बसेपछि उनी काठमाडौं आइन्। काठमाडौँ आएर पाटन अस्पतालमा काम गर्न थालिन्। त्यसपछि उनले बरु सरकारी जागिर छोडिन् तर काठमाडौं छोडेकी छैनन्।

केएमसीमा २१ वर्ष
त्यो वर्ष चन्दाले छोरीलाई स्कुल भर्ना गराइन्। स्कुल भर्ना गराउँदा पैसा सकियो। श्रीमानश्रीमती दुवै सरकारी डाक्टर। छोरीहरुको पढाइमा कुनै सम्झौता गर्ने पक्षमा थिइनन् चन्दा। उनले श्रीमानलाई भनिन्, ‘तिमी सरकारी अस्पतालमा काम गर, म छोड्छु।’ 

त्यसपछि उनले सरकारी जागिर छाडेर निजी अस्पतालमा काम गर्न थालिन्। चन्दाले २०५७ सालमा काठमाडौँ मेडिकल कलेजमा काम गर्न थालिन्। प्रसूति तथा स्त्री रोग विशेषज्ञका रुपमा चन्दाले नेपाल मेडिकल कलेजमा २१ वर्ष गुजारिन्। चन्दाले २१ वर्ष केएमसीमा बिताउँदा विभागीय प्रमुख, प्रमुख कार्यकारी अधिकृत, सञ्चालक समिति सदस्य हुँदै दुई कार्यकाल प्रिन्सिपल भएर काम गरिन्। केएमसी ब्रान्ड स्थापना गर्न उनको उल्लेख्य भूमिका रह्यो।

गतवर्ष मात्रै केएमसी छोडेकी उनी अझै पनि चिकित्सा पेसामा सक्रिय छिन्। उनले डाक्टरी पेसा सम्हाल्दै गर्दा उनका दुवै छोरी डाक्टर बने।

हुर्किंदै गर्दा छोरीहरु चन्दाका साथी जस्तै भए। चन्दाले भने आमाको काख गुमाइन्। आमाको निधनपछि गीतकार, कवि भइन्। उनकी आमा सबै छोरीहरुले पढेर सक्षम भएको हेर्न चाहन्थिन। तर उनकी आमाले चाहेको जस्तो भएन। उनका दिदीहरुले पढेनन्। चन्दा भन्छिन्, ‘आमाले शिक्षामा त्यति जोड नदिएको भए म पनि यहाँसम्म आइपुग्दैनथेँ होला।’ 

आमाको सम्झनामा उनले लेखेका थुप्रै गीत रेकर्ड भएका छन्।​

सन्तानको पीडा हेर्न गाह्रो
उनकी आमाले भनेकी थिइन्, ‘छोरीहरुको बिहे बेलैमा गर्दिएस् है नानी।’ आमालाई मान्ने चन्दाले दुवै छोरीका लागि आफैँले ज्वाइँ खोजेर बिहे गरिदिइन्। छोरी अन्माउँदा उनका श्रीमान् खुब रोए। छोरीहरु पनि माइती घर छोड्ने बेला रोए। चन्दा भने रोइनन्। उनलाई लाग्यो, ‘मान्छे व्यावहारिक हुनुपर्छ। यो खुशीको क्षण हो। किन रुने?’ 

उनकी कान्छी छोरी प्रसूति रोग विशेषज्ञका रुपमा नेपालमै कार्यरत छिन्। जेठी छोरी अस्ट्रेलियामा छिन्। दुवै छोरीका सन्तान भइसके। जिन्दगीमा कयौँ महिलाको प्रसव पीडा नियालेकी चन्दालाई जिन्दगीकै सबैभन्दा गाह्रो क्षण आफ्नी छोरी सुत्केरी हुँदा लाग्यो। 

उनकी जेठी छोरी अस्ट्रेलियामा नै गर्भवती भइन्। छोरी सुत्केरी हुनेबेला चन्दा पनि अस्ट्रेलिया गएकी थिइन्। छोरी प्रसव पीडाले छट्पटाउँथिन्। चन्दाको मन पोल्थ्यो। चन्दा भन्छिन्, ‘आफूलाई हुँदा खप्न सजिलो बच्चालाई हुँदा हेर्न सकिँदैन रहेछ।’ 

उनको जिन्दगीकै सबैभन्दा पीडादायी समय भनेकै छोरीलाई सुत्केरी व्यथा लागेको बेला थियो।

छोरीको छट्पटी देख्न नसकेपछि चन्दाले आफैँले भनेर अप्रेसन गर्न लगाइन्। सानी छोरी भने नेपालमै सुत्केरी भइन्। सिधै अप्रेसन गराउने निधो गरिन्। उनको पीडा त्यति देख्नु परेन। 

छोरीलाई पीडा भएको बेला आँखाभरि आँसु पारेर चन्दाले सोचिन्, ‘छोरा भएको भए आज यो पीडा त देख्नु पर्थेन।’ 

‘आफ्ना सन्तान आफैँ आमाबाबु बनिसक्दा पनि आमाको मन भने सन्तानकै पीरले सताउने रहेछ,’ बीएन्डबी अस्पतालको प्रसूति वार्डबाहिर भेटिएकी डा. चन्दाले भनिन्, ‘अब मेरो आयु त घर्किंदै गइसक्यो। धेरै भए अब १०/१५ वर्ष सक्रिय जीवन बिताउँछु होला। त्यसपछि मेरा छोरीहरुले के गर्लान् भन्ने पीर सधैँ हुनेरहेछ।’

अहिले चन्दाका ३ नातिनातिना छन्। अस्पताल र बिरामीको सेवाबाट बचेको समय उनी नातिनातिनासँग बिताउँछिन्। चन्दालाई लाग्छ, ‘संघर्षका दौरान मैले मेरी छोरीहरुका थुप्रै खुसी नदेखी बितेर गएछन्।’ 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .