ad ad

म्यागेजिन


राजा वीरेन्द्रको चश्मा र कोट लगाउने होमबहादुरको ‘भाग्य’

राजा वीरेन्द्रको चश्मा र कोट लगाउने होमबहादुरको ‘भाग्य’

तत्कालीन बझाङ्गी राजा विनोदविक्रम शाहको बिहेमा राजा वीरेन्द्र र रानी ऐश्वर्यका साथ होमबहादुर भण्डारी, २४ माघ २०४७


सीताराम बराल
जेठ १९, २०७९ बिहिबार ८:११, काठमाडौँ

अन्य सरकारी कर्मचारीजस्तै समयमै कार्यालय पुग्न उनलाई प्रत्येक दिनको बिहान साढे नौ बजे नै घरबाट निस्कन हतार भइसकेको हुन्छ। त्यसैले, नौ बजिसक्दा नुवाइ–धुवाइ गरिवरि सुटमा सजिएर खाना खाइसकेका हुन्छन्।  

त्यसपछि काठमाडौँको अत्तरखेल (जोरपाटी) बाट गियरवाला साइकलको प्याडल पेल्दै नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानतिर लाग्छन्, ४१ वर्षीय होमबहादुर भण्डारी। करार सेवामा रहेका होमबहादुरको जिम्मेवारी ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छा कुमार बज्राचार्यलाई आवश्यक परेको काममा सहयोग पुर्याउनु हो।

राजा वीरेन्द्रको बंश नास हुने गरी १९ जेठ २०५८ मा दरबार हत्याकाण्ड नभएको भए स्थायी हुने–नहुने टुङ्गो नभएको यो जागिरमा झुण्डिएर बस्नुपर्ने थिएन। घर–अफिस गर्न यसरी पुरानो साइकलको प्याडल काठमाडौँको हिलाम्मे–धुलाम्मे सडकमा दिनदिनै पेलिरहनुपर्ने पनि थिएन।

दरबार हत्याकाण्ड नभइदिएको भए सम्भवतः उनको जोरपाटी परको अत्तरखेलमा होइन, काठमाडौँको चक्रपथभित्रै घर हुने थियो। करारमा तल्लो तहको होइन, उच्च हैसियतको जागिरमा हुने थिए। कार्यालय जान साइकलको प्याडलमा दुई खुट्टाको साटो आफ्नै कारको स्टेयरिङ्गमा उनका हात हुने थिए। 

किनभने, २१ वर्षअघिको दरबार हत्याकाण्ड अघिसम्म उनी राजा वीरेन्द्र र रानी ऐश्वर्यका ‘धर्मपुत्र’ थिए। 

तर, १९ जेठ (२०५८) को दरबार हत्याकाण्डले देशको राजनीतिमात्र बदलिदिएन, होमबहादुरको भविष्य समेत परिवर्तन गरिदियो।  

बालमन्दिरबाट नारायणहिटी
मुमा बडामहारानी रत्नराज्यलक्ष्मी देवी शाह नेपाल बाल संगठनको संरक्षक थिइन्। बाल संगठनलाई दरबारले संरक्षकत्व प्रदान गरेकाले राजा वीरेन्द्र र रानी ऐश्वर्य बेला–बेला नक्सालस्थित नेपाल बाल संगठनले सञ्चालन गरेको बालमन्दिर गइरहन्थे।

त्यहाँ नेपालभरका दर्जनौँ बालबालिकाले आश्रय लिइरहेका थिए। तीमध्ये दोरम्बा (रामेछाप) का २ वर्षे होमबहादुर भण्डारी पनि थिए।

होमबहादुरका बाबु झमकबहादुर सैनिक सेवामा थिए। तर, गाउँ गएका बेला घाँस काट्ने क्रममा रुखबाट खसे। ढाडको नसामा असर पर्यो। जीउ नचल्ने भयो। अपाङ्ग भए।

त्यो बेला अपाङ्ग व्यक्तिका छोराछोरीले बाल मन्दिरमा आश्रय पाउँथे। अपाङ्गताका कारण घरखर्च चलाउन धौ–धौ भएपछि छोरा होमबहादुरलाई झमकबहादुरले बाल संगठनको जिम्मा लगाए।

बाल मन्दिरको आश्रयमा पुग्दा होमबहादुर एक–डेढ वर्षकामात्र थिए। त्यसैले, बाल मन्दिर पुगेपछि के–के भयो, ती कुरा उनको संस्मरणमा छैनन्। आफ्नो जीवनमा जे–जे घटना भए, तीबारे आफूलाई स्याहार–संरक्षण गर्ने बालमन्दिरका आमा–दिदीहरुको हवाला दिँदै उनी सुनाउँछन्।

एकदिन रानी ऐश्वर्य बालमन्दिरको निरीक्षण गर्न नक्साल पुगिन्। उनको स्वागतमा बालमन्दिरको गेटैदेखि रातो कार्पेट बिछ्याइयो, कर्मचारी र आश्रय लिइरहेका बालबालिका स्वागत–लाइनमा बसे। भर्खर खुट्टा टेक्न सक्ने भएका होमबहादुर पनि लाइनमा थिए।  

रातो कार्पेट हुँदै रानी ऐश्वर्य अघि बढ्दै थिइन्। होमबहादुरले रानीको सारी समाउन पुगे।

‘मैले ऐश्वर्य सरकारको सारी समाएको समायै गरेछु, छोड्दै छोडेनछु’ आफ्नो स्याहार–सम्भारमा खटिएका बाल मन्दिरका आमा–दिदीहरुले भनेको कुरा सुनाउँदै भण्डारीले थपे, ‘त्यसपछि मौसुफ (बडामहारानी ऐश्वर्य) ले आफै मलाई बोकेर बाल मन्दिरको कार्यालयसम्म लगिबक्सेछ।’  

बालमन्दिरको निरीक्षणमा गएकी रानीको सारी छाड्दै नछाड्ने गरी होमबहादुरले समातेपछि त्यहाँ हल्लीखल्ली मच्चियो। रानीको प्रतिक्रिया के हुने हो भन्ने कुराले कर्मचारीहरु थर्कमान भए। 

तर, अबोध होमबहादुरलाई काखमा राखेर सुम्सुम्याउँदै रानी कार्यालयभित्र पुगेपछि डर र धुकचुक शान्त भयो।

कार्यालयभित्र रानीले होमबहादुरलाई काखमा राखी फोटो खिचाइन्। फोटोमा रानी ऐश्वर्य प्रसन्न देखिन्छिन्। रानीको काखमा रहेका होमबहादुर प्रतिक्रियाहीन देखिन्छन्। ‘बडी ल्याङ्ग्वेज’ ले होमबहादुरको ध्यान रानी ऐश्वर्यतर्फ होइन, तस्बिर खिच्ने व्यक्तितर्फ केन्द्रित भएजस्तो देखिन्छ।​

रानी ऐश्वर्यले होमबहादुरको बारे सोधखोज सुरु गरिन्। उनको पृष्ठभूमिबारे जानकारी प्राप्त गरेपछि निर्णय पनि सुनाइन्, ‘अब होमबहादुर मेरो संरक्षणमा रहन्छ। आफ्नै छोराछोरी सरह यसको शिक्षादीक्षाको व्यवस्थापनि म नै गर्नेछु।’

स्कूल जाने उमेर पुगेपछि रानी ऐश्वर्यले होमबहादुरलाई त्यही त्रिपुरेश्वरस्थित कान्ति इश्वरी स्कूल (हाल पासपोर्ट विभाग रहेको स्थान) मा भर्ना गराइन्, जहाँ युवराज दीपेन्द्र, अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनले प्रारम्भिक शिक्षा प्राप्त गरेका थिए।

कक्षा तीनसम्म पढाइ हुने कान्ति ईश्वरी स्कूलपछि होमबहादुर सिफलस्थित हिमालय विद्या मन्दिर विद्यालयमा स्थानान्तरण गरिए।

कक्षा ७ मा भने उनलाई पानीपोखरी (महाराजगञ्ज) स्थित भानु मेमोरियल माध्यमिक विद्यालयमा भर्ना गराइयो। उनले २०५९ मा एसएलसीसम्मको शिक्षा त्यही स्कूलमा लिए।

‘होस्टेल नभएको स्कूलमा पढाउँदा अलिक स्वतन्त्र हुन खोजेर बिग्रला भन्ने डर बडामहारानी सरकारलाई रहेछ’, भण्डारीले भने, ‘त्यसैले, बोर्डर्सको व्यवस्था भएको स्कूलमा लगेर भर्ना गरियो। २०५९ मा मैले त्यही स्कूलबाट एसएलसी उतीर्ण गरेँ।’ 

श्रुति र निराजनका प्रिय भाइ
होमबहादुर बाल मन्दिरबाटै कान्ति ईश्वरी र हिमालय विद्या मन्दिर माविमा धाउँथे। स्कूलमा जान–आउन दरबारबाटै गाडीको व्यवस्था गरिएको थियो। उठेको सम्पूर्ण बिल दरबारले नै तिरिदिन्थ्यो।  

तर, दरबार–होमबहादुरबीचको सम्बन्ध यत्तिमा सीमित थिएन। राजा वीरेन्द्र र रानी ऐश्वर्य बेला–बेला होमबहादुरलाई भेट्न बाल मन्दिर पुगिरहन्थे। श्रुति र निराजनपनि बाल मन्दिर र उनी पढेको स्कूल पुगिरहन्थे।  

माध्यमिक शिक्षा अध्ययनका लागि श्रुति भारतको अजमेर पुगिन्। विदामा आएका बेला उनी होमबहादुरलाई भेट्न बाल मन्दिर पुग्थिन्।

होमबहादुर भानु मेमोरियल आवासीय माविमा भर्ना भइसकेका थिए। उनको होस्टेल जीवन सुरु भइसकेको थियो। स्कूलमा भएकाले श्रुतिले होमबहादुरलाई बालमन्दिरमा भेट्न सकिनन्।

बालमन्दिरमा होमबहादुर जस्तै पूजा घले, ज्योति प्याकुरेल, आशिष गौचन लगायतका बालकहरु थिए। उनीहरुलाई पनि दरबारकै खर्चमा पठनपाठनको व्यवस्था मिलाइएको थियो। यी सबैलाई श्रुति आफ्नै भाइ–बहिनीजस्तो मान्थिन्।

‘ती साथीहरुसँग मैले होमबहादुरलाई सोधेको छु है, यसपटक भाई (होमबहादुर) सँग भेट हुन सकेन भनेर हिडिबक्सेको रहेछ’, उनले भने, ‘त्यो बेला मलाई भेट्न भनेर सिधै एयरपोर्टबाट बालमन्दिर पुगिबक्सेको रहेछ।’

निराजनपनि उनलाई भेट्न बालमन्दिर र भानु माविमा पुगिरहन्थे। त्यहाँका शिक्षकहरुसँग अनुमति लिएर होमबहादुरसँग भेट गर्थे। कहिलेकाहीँ आफ्नो गाडीमा हालेर नारायणहिटीपनि पुर्याउँथे।

रानी ऐश्वर्यसँग होमबहादुर

‘निराजन मास्क लगाएर विद्यालयमा आइबक्सन्थ्यो, ‘एक्स क्यूज मी सर, मे आई टेक होमबहादुर’ भन्दै प्रिन्सिपलसँग अनुमति लिएपछि मलाई गाडीमा हालेर नारायणहिटी लगिबक्सन्थ्यो’, उनले भने, ‘मेरो भर्ना दरबारले नै गरिदिएको थियो। निराजन नै लिन आएपछि नारायणहिटी जान रोकतोक थिएन।’

युवराज दीपेन्द्रसँग भने उनीसँग कुनै उल्लेखनीय संस्मरण छैनन्। अधिराजकुमारी श्रुति र अधिराजकुमार निराजनसँगको संस्मरण भने उनीसँग बग्रेल्ती छन्।

‘साल याद छैन, तर त्यससाल दीपेन्द्र र निराजन दुबै नभएको मौका परेछ, त्यो साल तिहारमा मलाई नै उहाँले भाइटीका लगाइदिनु भएको थियो’, उनले सम्झे, ‘विदेश गएर आएका बेला मलाई थुप्रै खेलौनासमेत ल्याइदिनु भएको थियो।’

दरबार हत्याकाण्ड भएको २१ वर्ष पुगिसक्यो। त्यसैले निराजनसँगका संस्मरणहरु उनको स्मृतिबाट धुमिल हुँदैछन्। यति हुँदाहुँदै पनि एउटा घटना भने उनले अझै बिर्सेका छैनन्।

निराजन पौडीमा पारङ्गत थिए। होमबहादुरलाई भने पौडी खेल्न आउँदैनथ्यो। गर्मीयामको कुनै दिन निराजनले होमबहादुरलाई नारायणहिटीभित्रकै पौडी पोखरीमा लगेर आफूसँगै पौडी खेल्न ‘अफर’ गरे। 

‘पौडी खेल्दा कहाँ–कसरी हाम्फाल्नुपर्छ भन्ने मलाई थाहा थिएन, उहाँ पोखरीमा पसिसक्नु भएको थियो’, उनले सम्झे, ‘उहाँ पौडी खेल्दै आउनु भएको कुरा ख्यालै नगरी पोखरीमा हाम्फाल्दा उहाँको शरीरमाथि परेछु। धन्न, उहाँ पानीभित्र भएकाले केही भएन।’

नारायणहिटी लगिएका बालक होमबहादुरलाई राजा वीरेन्द्र र रानी ऐश्वर्य आफू सहभागी हुने विभिन्न कार्यक्रममा सहभागी गराउँथे।

होमबहादुर भण्डारी

किशोरावस्था चढ्दै गएपछि राजा–रानीले होमबहादुरको शैक्षिक अवस्थाप्रति चासो राख्न थाले। राजा वीरेन्द्र त होमबहादुरलाई नैतिक शिक्षापनि दिने गर्थे। रानी ऐश्वर्य विद्यालयबाट मगाएर होमबहादुरको परीक्षाफल हेर्थिन्।

‘मेरो रिजल्ट राम्रो भएन भने ‘तैंले राम्रोसँग पढ्न छाडिछस्, अब तँलाई लुगा–कपडा केही किनिदिन्नँ भनेर हकारिबक्सन्थ्यो’, उनले सुनाए, ‘गाली गरेकोमा पछि पश्चाताप हुँदो रहेछ। भोलिपल्ट फेरि नारायणहिटी बोलाएर नरिसाऊ है, तिमीलाई टर्चर दिन खोजेको होइन, राम्रोसँग पढ्नुपर्छ भनेर सम्झाउनमात्र त्यसो गरेको हुँ भनिबक्सन्थ्यो।’ 

अक्सर नेपाली विद्यार्थी झैँ होमबहादुर पनि विज्ञान र गणितमा कमजोर थिए। परीक्षाको मार्कसिट हेरेका राजा वीरेन्द्रले यो कुरा थाहा पाइसकेका थिए।

तैपनि राजाले एकदिन ‘तिमी के विषयमा कमजोर छौ?’ भन्ने जिज्ञासा राखे। 

‘आफू साइन्स र म्याथमा कमजोर रहेको कुरा भन्दा वीरेन्द्र सरकार रिसाइबक्सेला कि भन्ने डर लाग्यो’, उनले भने, ‘त्यसैले, म केही बोलिनँ।’

होमबहादुरलाई ढाडस दिँदै राजा वीरेन्द्रले भने, ‘चिन्ता लिनु पर्दैन। मपनि सानो छँदा साइन्स र म्याथमा कमजोर थिएँ। पछि मैले मिहिनेत गर्दै गएँ र ‘फष्ट’ भएँ। तिमीले पनि मिहिनेत गर्दै गयौ भने राम्रो भइहाल्छ।’ 

खासमा राजा वीरेन्द्र र रानी ऐश्वर्य उनलाई मेडिकल साइन्स पढाएर डाक्टर बनाउन चाहन्थे। त्यसैले, दुबैले उनको शिक्षाबारे त्यति धेरै चासो लिएका थिए।

सानैदेखि होमबहादुरको शारीरिक अवस्था कमजोर थियो। ठूलो समस्या आँखामा थियो। विभिन्न अस्पतालमा व्यवस्था गरेर दरबारले उनको स्वास्थ्य परीक्षण बेला–बेला गराइरहन्थ्यो।

यस्तै जाँचको व्यवस्था १९ जेठ (२०५८) मा पनि गरिएको थियो। अधिराजकुमारी शारदाले डाक्टरहरुसँग कुरा गरेर त्यसदिन विहान तिलगंगा आँखा अस्पताल र साँझ शिक्षण अस्पतालमा सम्पूर्ण शरीर जाँचको व्यवस्था मिलाइदिएकी थिइन्।

आवासीय (बोर्डर्स) स्कूलले अविभावकविना विद्यार्थीलाई नछाड्ने भएकाले अघिल्लै दिन (१७ जेठ) अधिराजकुमार निराजन आफै होमबहादुरलाई लिन भानु मेमोरियल आवासीय मावि पुगे। गाडीमा होमबहादुरलाई राखी बाल मन्दिर पुर्याएर निराजन नारायणहिटी फर्के। 

विहान तिलगंगा गएका होमबहादुर साँझ शिक्षण अस्पताल पुगे। स्वास्थ्य परीक्षण सकेपछि दरबारले व्यवस्था गरिदिएकै गाडीमा  होमबहादुर बालमन्दिर फर्के। रातको ९ बजिसकेको थियो। खाना खाइवरि सुते।

अघिल्लो दिन (१९ जेठ) निकै थाकेकाले २० जेठ विहान अलिक ढिलो गरी उठे। उठेपछि हातमुख धुँदै थिए, बाल मन्दिरमै रहेका ज्योति (घले), पूजा (प्याकुरेल) र सुवाष (गौचन) रोइरहेको उनले देखे।  

‘साथीहरु किन रोएका हुन्, मैले थाहा पाउन सकिनँ’, उनले सम्झे, ‘हातमुख धुँदै गर्दा बाल मन्दिरमै रहेकी ठूल्दिदीले दरबार हत्याकाण्डको खबर सुनाउनु भयो, राजा वीरेन्द्र, रानी ऐश्वर्य र निराजन समेत मारिएको बताउनुभयो।’

दरबारकै व्यवस्थापनमा पढिरहेका साथीहरु रोइरहेकाले राजा वीरेन्द्र र रानी ऐश्वर्य मारिएको कुरामा विश्वास गरे।

तर, निराजन पनि मारिए भन्ने कुरामा उनलाई कत्ति पनि विश्वास लागेन।

‘एक दिनअघिमात्र स्कूलबाट बाल मन्दिर छाडेर गइबक्सेको थियो’, उनले सम्झे, ‘अस्तिसम्म सँगै रहेको र मेरो परीक्षण सकिएपछि भेट्नुपर्छ है भनेको मान्छे मारिएको कुरा कसरी पत्याउनु? धेरै दिनसम्म निराजनको मृत्यु भएको कुरामा मलाई विश्वास नै भएन।’ 

वीरेन्द्र–ऐश्वर्यको चिनो
नारायणहिटी जाँदा र राजा वीरेन्द्रसँगै विभिन्न कार्यक्रममा सरिक हुँदा राजा वीरेन्द्र लगायत राजपरिवारका सदस्यसँग उनको थुप्रै तस्बिर खिचियो होला। तर, दरबार हत्याकाण्ड हुँदा स्कुले जीवनमा रहेका होमबहादुरले आफूलाई छोरा समान माया गर्ने राजा वीरेन्द्रसँगको तस्बिर कहिल्यै पाउन सकेनन्।

नारायणहिटी राजदरबारमा ती तस्बिर थिए कि! तर, गणतन्त्र स्थापनापछि तस्बिर प्राप्तिको आशा भए पनि त्यो पूरा हुने स्थिति रहेन। 

तत्कालीन राजदरबारसँग उनको सम्बन्ध देखाउने प्रमाणका रुपमा उनीसँग यतिबेला तिनै दुई तस्बिर छन्। अबोध बालक छँदा बालमन्दिरमा खिचिएका दुई तस्बिरमा उनी रानी ऐश्वर्यको काखमा देखिन्छन्। 

उनी राजा वीरेन्द्रलाई ‘बुबा’ भन्थे, रानी ऐश्वर्यलाई आमा। तर, ‘बुबा–आमा’ दुवैजना सँगै बसेको तस्बिर उनीसँग छैनन्। 

पेशागत प्रयोजनका लागि पुराना तस्बिर संकलनमा रुची भएकाले यस्तै तस्बिर खोजीका क्रममा दुई वर्षअघि १३ असार (२०७७) हामीले राजपरिवारसँग सम्बन्धित तस्बिरको एउटा एल्बम भेट्टायौँ।

तत्कालीन ‘बझाङ्गी राजा’ विनोदविक्रम शाहको २४–२५ माघ २०४७ मा भएको बिहेको एल्बम थियो त्यो।

विनोद दरबार हत्याकाण्डमै ज्यान गुमाएकी राजा वीरेन्द्रकी जेठी दिदी अधिराजकुमारी शान्ति सिंह र बझाङ्गी राजा स्व. दीपकबिक्रम सिंहका छोरा हुन्। 

एल्बममा रहेका एक दर्जनमध्ये एउटा तस्बिरमा राजा वीरेन्द्र रानी ऐश्वर्यका साथ एक बालकको हात समातेर उभिएका थिए। अर्काे तस्बिरमा ती बालक अधिराजकुमार ज्ञानेन्द्रको अगाडि देखिन्थे। उनी राजा वीरेन्द्रलाई पछ्याउँदै अघि बढिरहेका थिए।

त्यो तस्बिर रोमाञ्चित बनाउने खालको थियो। 

ती बालक युवराज दीपेन्द्र थिएनन्, अधिराजकुमार निराजन वा शाहज्यादा पारस पनि थिएनन्। राजा वीरेन्द्रका कुनै नातेदारका सन्तान पनि उनी थिएनन्।

तर, राजा वीरेन्द्रले आफ्नै सन्तान जसरी स्नेहका साथ हात समाउँदै नितान्त पारिवारिक जमघटमा सहभागी गराएका ती बालक को थिए?

राजपरिवारका सदस्यहरुलाई नजिकबाट चिन्नेहरुले समेत ती बालक को हुन्, केही बताउन सकेनन्।

बझाङ्गी राजा विनोद बिक्रम सिंहको विहेमा राजा वीरेन्द्र र अधिराजकुमार ज्ञानेन्द्रका साथ होमबहादुर, २४ फागुन २०४७

तस्बिर फेला पर्दा जति रोमाञ्चित बनाएको थियो, कत्ति खोजी गर्दा पनि ती बालकबारे जानकारी नपाउँदा तनाव थपिन थाल्यो।

कतै उनी ओखलढुङ्गाका तिनै धनबहादुर खत्री त होइनन्, जसलाई पूर्वाञ्चल क्षेत्रीय भ्रमणको दौरान २०४४ पुसमा राजा वीरेन्द्रले धनकुटाबाट ल्याएर लेखपढको व्यवस्था मिलाएका थिए! उनीबारे केही वर्षअघि नै मैले ‘स्टोरी’ गरिसकेकाे थिएँ।

खत्रीलाई त्यो तस्बिर देखाउँदा उनले सुरुमा निराश पारे। तस्बिरमा देखिने बालक आफू नभएको बताए। 

बालकको परिचय फेरि पनि अज्ञात रहने भयो। धनबहादुरपछि ती बालकबारे सोधखोज गर्न सक्ने स्रोत समाप्त भइसकेको थियो।

तैपनि उनले एउटा ‘क्लू’ दिए, ‘उनी होमबहादुर भण्डारी हुन सक्छन्। उनलाई पनि मलाई जस्तै गरी दरबारकै प्रबन्धमा पठनपाठनको व्यवस्था मिलाइएको थियो। उनीपनि नारायणहिटी राजदरबारमा आइरहन्थे।’

उनले यति बताएपछि फेसबुकमार्फत् ‘होमबहादुर भण्डारी’ नामक व्यक्तिको खोजी सुरु भयो। दरबारले भरणपोषण गरेकाले यी होमबहादुर पक्कै पनि राजावादी होलान् भन्ने सामान्य समझको विषय हुने भइहाल्यो।

सोचेजस्तै ‘राजावादी’ होमबहादुर भेटिए। तस्बिर पठाएर सोधीखोजी गरेँ। तर, कुनै ‘रेस्पोन्स’ गरेनन्। खासमा मैले म्यासेन्जरमार्फत् पठाएको तस्बिर अहिलेसम्म हेरेका छैनन्।

मैले म्यासेन्जरमार्फत् तस्बिर पठाएका होमबहादुर भण्डारी २७ पुस (२०७७) सिंहदरबार अगाडि भेट भए। पृथ्वी जयन्ती परेकाले होमबहादुर पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्न राजावादीहरुको जमातमा मिसिएर त्यहाँ आइपुगेका थिए।

भेटेर उनीबारे जान्न खोज्दा सुरुमा झस्के। उनीबारे आफूसँग भएको जानकारी सुनाएपछि खुसी देखिए।

उनी खुल्दै गए। २०५६ मै दरबारले बनाइदिएको परिचय पत्र कोटको भित्री खल्तीमा राखेका रहेछन्। सुटुक्क परिचयपत्र देखाए।

मोवाइलमा रहेको राजा वीरेन्द्र र रानी ऐश्वर्यसँगको त्यही तस्बिर हामीले मोवाइलमा देखायौँ। ‘यो त मेरो फोटो पो हो’ भन्दै आश्चर्यचकित भए।

त्यो भेटपछि वीरेन्द्रले स्नेहपूर्वक हात समाएका ती बालक यिनै होमबहादुर भण्डारी रहेछन् भन्ने पुष्टि भयो।

दरबार हत्याकाण्डको २१ औँ वर्षकाे अघिल्लो दिन (१८ जेठ २०७९) नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान पुगेर झण्डै एकघण्टा उनीसँग कुराकानी गर्यौँ। राजा वीरेन्द्र र रानी ऐश्वर्यसँगका संस्मरण उधिन्ने प्रयास गरेँ।

‘दिवंगत राजा–रानीलाई सम्झने केही चिनो छन् कि!’ भन्ने जिज्ञासा पनि राखेँ।

ऐश्वर्यले आफूलाई बोकिरहेका ती दुई तस्बिर उनले मलाई देखाए। र, चिनोका रुपमा अन्य दुई चिज पनि आफूसँग रहेको बताए।

‘एउटा चिनो अहिले मैले लगाइरहेको चस्मा हो’, उनले भने, ‘मेरो आँखा कमजोर भएकाले राजा वीरेन्द्रले यो चस्मा मलाई दिनुभएको थियो। यो उहाँले पहिले प्रयोग गरेको चस्मा हो। त्यही चस्मामा नयाँ ग्लास हालेर लगाइरहेको छु।’

राजा वीरेन्द्रले लगाउँदै आएको चस्मा उनले लगाएपछिको एउटा किस्सा पनि उनले सुनाए।

राजा वीरेन्द्रको चस्मामा ठाँटिएका होमबहादुर

‘जब मैले यो चस्मा लगाएँ, त्यसपछि बडामहारानी ऐश्वर्यले भनिबक्स्यो– होमबहादुर त बुबा (राजा वीरेन्द्र) जस्तो पो देखिँदो रहेछ’, उनले सम्झे, ‘बडामहारानीले मलाई आफै (राजा वीरेन्द्र) जस्तो देखिन्छ भनेपछि राजा वीरेन्द्र झस्किबक्स्यो।’

चस्माबाहेक उनीसँग दुईवटा पुराना कोट छन्। नसिलाएको कोटको कपडा पनि छ। ती कपडा पनि उनलाई राजा–रानीले नै दिएका हुन्।

‘दरबार हत्याकाण्ड अगाडि मेरा लागि सबै कपडा रानी ऐश्वर्यले नै किनिदिबक्सन्थ्यो’, उनले थपे, ‘म दरबारका कर्मचारीका साथ पसल जान्थेँ, आफूलाई मन परेका कपडा छान्थेँ। ती कपडा लगेर दरबारका कर्मचारीले रानी ऐश्वर्यलाई देखाउँथे। मेरो ‘च्वाइस’ उहाँलाई मन पर्यो भनेमात्र मैले ती कपडा लगाउन पाउँथे, उहाँलाई मन परेन भने जहाँबाट ल्याएको हो, त्यहीँ फिर्ता पठाइन्थ्यो।’

होमबहादुरको भनाइमा, उनीसँग रहेका दुई कोट पनि चस्माजस्तै राजा वीरेन्द्रले नै प्रयोग गरेका पुराना कोट हुन्। त्यसमध्ये एउटा कोट रानी ऐश्वर्यले किनिदिएको कोट हराएपछि क्षतिपूर्तिस्वरुप राजा वीरेन्द्रले दिएका थिए।

रानी ऐश्वर्यले किनिदिएको कपडा लगाएर उनी नारायणहिटी पुगेका थिए। सर्ट उही थियो, पाइन्ट पनि उही थियो। तर, सुटको कोट भने थिएन। त्यो कोट होस्टेलबाटै हराएको थियो।

कोट नदेखेपछि रानी ऐश्वर्यले ‘त्यति राम्रो कोट किन नलगाई आएको’ भन्दै खेरखार गरिन्। होमबहादुरले ‘कोट हरायो’ भनेर मुख खोल्न सकेनन्।

निराजन पनि सँगै थिए। निराजनले ‘मुमाले त्यति माया गरेर किनिदिएको कोट पक्कै पनि यसले हरायो’ भनिदिए। निराजनले यति भनिदिएपछि होमबहादुरलाई सजिलो भयो।

निराजनले कोट हराएको खुलासा गरिदिएपछि ‘ल पर्ख’ भन्दै वीरेन्द्र आफ्नो कोठामा गए। केहीबेरमै होमबहादुरलाई ठीक हुने पुरानो कोट लिएर फर्के।

राजा वीरेन्द्रले दिएका कोटहरु

‘पुरानो भए पनि राम्रै हालतमा रहेका कपडा सुरक्षित राख्ने बानी राजा वीरेन्द्रको थियो’, उनले भने, ‘मेरो कोट हराएको थाहा पाएपछि आफूसँग रहेको पुरानो कोट मलाई दिइबक्स्यो।’

त्यसअगाडि पनि उनले राजा वीरेन्द्रबाट यस्तै अर्काे पुरानो कोट पाएका थिए। दशैँका बेला रानी ऐश्वर्यले ‘कोट सिलाउनू’ भनेर एक सेट कपडा दिएकी थिइन्। रानी ऐश्वर्यले दिएको त्यो कपडा उनले जस्ताको तस्तै जतनसाथ राखेका छन्। 

‘राजा वीरेन्द्रको कोट भएकाले म्युजियममा राख्ने भन्दै मसँग माग्ने गरेका छन्’, होमबहादुरले निर्णय सुनाए, ‘आँखा कमजोर भएकाले चस्मा आफैंले लगाउनु परिहाल्यो। त्यो कोट पनि दिएपछि राजा वीरेन्द्र र रानी ऐश्वर्यको सम्झना मसँग के नै बाँकी रहन्छ र?’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .