ad ad

म्यागेजिन


निर्मला ढकालको मातृत्व अनुभव : मृत शिशु जन्मिँदाको पीडाले जिन्दगी सिकायो

निर्मला ढकालको मातृत्व अनुभव : मृत शिशु जन्मिँदाको पीडाले जिन्दगी सिकायो

राधिका अधिकारी
भदौ १८, २०७९ शनिबार १२:२३, काठमाडौँ

सामाजिक सञ्जालमा उनलार्ई पछ्याउनेहरुले उनीप्रति आआफ्नै धारणा बनाएका छन्। हरेक सामाजिक विषयमा खरो टिप्पणी गर्ने उनलाई थुप्रैले अराजक भन्छन्। जसले जे भने पनि उनी आफूलाई सही लागेको कुरा बोल्नुपर्छ भन्ने ठान्छिन्, भलै बोल्दा समाज विपक्षमा नै किन नभियोस्। उनी आफूविरुद्ध उभिएको समाज मुस्कुराउँदै हेर्छिन् र बोलिरहन्छिन् आफूलाई लागेको कुरा। उनी अर्थात् समाजशास्त्री निर्मला ढकाल। 

उनमा यो हठी स्वभाव सानैबाट थियो। घरकी जेठी छोरी। उनका दुई भाइ थिए। पिता उनी सानै छँदा कमाउन परदेश पसे। सम्पूर्ण रुपमा आमाको छत्रछायामा हुर्किएकी उनी भाइहरुका निम्ति ‘डन’ थिइन्। उनी भन्छिन्, ‘मेरो हुर्काइ नै अलि अराजक खालको थियो।’ बुबासँग उनको खासै भेट हुँदैनथ्यो। भेट हुँदा पनि उनलाई बुबासँग डर लाग्थ्यो। तर, निर्मला आमालाई भने टेर्दिनथिन्। उसो त, आमाले धानेको घरमा हुर्किएकी निर्मलालाई आमाको त्यही मेहनतले बलियो बनायो भन्ने लाग्छ। 

घरकी एक्ली छोरी। उनकी आमाका आँखामा निर्मला कहिल्यै हुर्किन पाइनन्। आमा सधैँ भन्थिन्, यो सानै छ, यसले केही काम गर्न सक्दिन। तनहुँ दुलेगौँडामा निर्मलाको बाल्यकाल घरको काम नगरी बित्यो। 

निर्मलालाई १३ वर्षसम्म अभाव थाहा भएन। अभावमा बाँच्ने मान्छे पनि छन् भन्ने थाहा भएन। खान लाउनकै लागि मानिसहरु कठिन परिश्रम गरिरहेको उनले मेसो पाइनन्। यो सब थाहा पाउन उनले छुइ (रजस्वला) हुनु पर्यो। पहिलो पटकको महिनावारी त उनका लागि उत्सवजस्तै भयो। घरभन्दा अलि पर उनलाई लुकाउन राखिएको थियो। उनकी आमा छिनछिनमा खानाका परिकार बोकेर जान्थिन्। उनलाई दसैँ आएजस्तो भयो। स्कुल जानु परेन, होमवर्क गर्नु परेन, सरको गाली सुन्नु परेन। रमाइलो लाग्यो। 

दोस्रो पटक ग्रह काटिन्छ भनेर उनलाई कथित तल्लो जातिको घरमा राखियो। त्यो घरमा आमा–बुबा बिनाका ४ जना केटाकेटी पालेर बसेकी हजुरआमा थिइन्। आर्थिक अभाव एकातिर, अर्कोतिर आमा नभएको घर। निर्मलालाई अहिले पनि अत्यास लाग्छ। ती केटाकेटी अहिले हुर्केर निर्मलाकै हाराहारीका भए। त्यतिबेला उनीहरुको अवस्थाले आमा भनेको निकै ठूलो कुरा रहेछ, भरोसा रहेछ भन्ने उनलाई सिकायो। अभावले मनिसलाई कसरी बिथोल्दो रहेछ, त्यहीबेला उनले देखिन्।

दुई केटा अस्वीकार
आमा चाहन्थिन्, छोरी आफ्नै खुट्टामा उभियोस्। तर, आफन्तहरु आमाको कान फुक्थे, ‘नानीका बुबा घरमा छैनन्। हुर्किएकी छोरी घरमा राखेर बाटो बिराई भने इज्जत माटोमा मिल्छ।’ उनकी आमा सोच्थिन्, ‘बेलैमा छोरीको विवाह गरिदिन पाए आफ्नो जिम्मेवारी सकिन्थ्यो।’ सायद उनकी आमालाई इज्जत माटोमा मिल्नसक्ने सम्भावनाको डर थियो। तर, निर्मलालाई तत्काल बिहे गर्नु थिएन। एसएलसीपछि छोरीको बिहे गरिदेऊ भन्ने आफ्नाका बचन नाघेर आमाले छोरीलाई क्याम्पस पढ्न काठमाडौँ पठाइन्। 

बीए पढ्दै गर्दा निर्मला सानिमाको घरमा बस्थिन्। उनकी आमाले छोरी आफैँसँग हुँदासम्म समाजका प्रश्नलाई पनि बेवास्ता गरिन्। आफूबाट छुटाएर टाढा पठाएपछि आमा पनि ढुक्क हुन सकिनन्। छोरीलाई कयौँ पटक विवाहको प्रस्ताव राखिन्। छोरी मान्दिनथिन्। 

एकदिन निर्मला कलेजमा थिइन। उनलाई हेर्न एकजना सरकारी अधिकृत उनकै कलेजमा पुगे। ती अधिकृत परिवारसँगको सल्लाहमै उनलाई हेर्न पुगेका थिए। निर्मलालाई यो कुरा मन परेन। उनले साथीको घरमा गएर आमालाई फोन गरिन्। आमालाई भनिन्, ‘म अब घर नै आउँदिन। मलाई त्यस्तो केटा हेर्न पठाउने?’ त्यसपछि फोन राखिन् र साथीसँग बालाजु बाइपासको पार्कमा दिनभरि बसिन्। मन दुखाएर हिँडेकी छोरीको चिन्ताले कति खायो होला उनकी आमाको मन उनले कल्पनै गरिनन्। साँझ घर फर्किन्। तनहुँबाट फोन गरेर आमाले रुँदै भनिन्, ‘अब तेरो बिहेको कुरा कहिल्यै गर्दिनँ नानी। यसरी नभनी घर छोडेर नहिँडेस्।’ त्यसपछि उनी ढुक्क भएर पढ्न थालिन्। 

त्यसको केही समयपछि उनकी आमाले गाउँमा ज्योतिषी हेराइन्। तिनले भनिदिए ‘यो वर्ष बिहे नगरिदिए तिम्री छोरीको २७ वर्षसम्म बिहे हुँदैन।’ आमा फोन गरेर रुन थालिन्। आमाका आँसुका अगाडि निर्मलाले हार खाइन्। उनले आमालाई भनिन्, ‘म तपाईंले जोसँग बिहे गरेर पठाउनु हुन्छ, जान्छु। तर भनेको जस्तो भएन भने माइती फर्केर आउने मेरो बाटो सधैँ खुला हुनुपर्छ।’ आमाले सहमति जनाइन्।

काठमाडौँ नेपालटार घर भएका कुटुम्ब उनलाई माग्न आए। उनलाई माग्न आउने केटाले भने, ‘मेरो घरमा वस्तुभाउ पनि छन्। सबै काम गर्नु पर्छ। गर्न सक्छौ?’ निर्मलालाई उत्तर दिन आएन आँसु आयो। आँसुले उनको बिहे रोक्नेवाला थिएन। त्यही केटासँग विवाह हुने लगभग पक्कापक्की भयो। एक हप्तापछि जनैसुपारी गर्ने निधो गरेर केटा फर्किए। निर्मलालाई केटा मन परेको थिएन।

त्यसको भोलिपल्ट निर्मलाका बुबाका साथी छोरा लिएर उनको घरमा पुगे। निर्मलालाई केटा देख्नासाथ मन पर्यो। उनकी आमाले सोधिन्, ‘तलाईं हिजोको केटा मन पर्यो कि आजको? दुई जनामा एक जना रोज्।’ निर्मलाले लजाउँदै भनिन्, ‘केटा त यही मन पर्यो।’ जनैसुपारी गर्ने मिति तोकेर फर्किएका केटा पनि अस्वीकृत भए। निर्मलाले अर्जुन पौडेललाई जीवनसाथीका रुपमा स्वीकार गरिन्। 

बिहेको कुरा छिनेपछि निर्मलाले आमालाई भनिन् ‘म अन्मिँदा तपाईं रुन पाउनु हुन्न। म धेरै भएर पन्छाउन खोज्नु भएको हो। म पनि रुन्नँ।’ निर्मला अहिले पनि आफ्नो त्यो केटाकेटीपन सम्झेर लजाउँछिन्। बिहेको यज्ञमा पनि उनी परिपक्व बेहुली भएर बस्न सकिनन्। उनलाई केटाकेटीले खेलेको जस्तो लाग्दालाग्दै बिहे सकियो। अन्मिनेबेला उनले आमालाई दिएको बचन पुरा गर्न सकिनन्। आँखा पिलपिलाए। छोरीका भरिएका आँखाले उनकी आमाको मुटु फुट्लाजस्तो भयो। उनकी आमा छोरी अन्माउँदा बेहोस भइन्। निर्मलाले आफूलाई सम्हालिन्। निर्मला अहिले पनि बिहेको भिडिओ हेर्छिन। भिडिओमा छोरीभन्दा आमा बेसी रोएको देखिन्छ। निर्मलालाई लाग्छ, ‘बाबुआमालाई आफ्नो जिम्मेवारी बहन गर्न कति कठिन हुने रहेछ।’

सानो परिवारमा हुर्किएकी निर्मला काठमाडौं ग्वाल्कोपाखाका अर्जुनको घरमा भित्रिँदा परिवारको १६ औँ सदस्य भइन्। उनलाई सुरुसुरुमा परिवारको आकार देख्दा नौलो लाग्थ्यो। भान्सामा पाकिरहेको खाना हेरेर पिकनिक गएको महसुस गर्थिन्। तर उनी हुर्किएको गाउँको जस्तो कडा अनुशासन थिएन। उनीभन्दा पहिला बुहारी भएर भित्रिएकी जेठानीले उनलाई बैनीलाई झैँ ब्यवहार गरिन्। नयाँ घरमा भिज्न निर्मलालाई सजिलो भयो। 

मृत शिशुको जन्म
आमा बनिहाल्ने चाहना थिएन। तर विवाह गरेको केही महिनामै निर्मला गर्भवती भइन्। श्रीमती गर्भवती भएको थाहा पाएपछि उनका श्रीमानले साथीलाई पार्टी दिए। त्यही बेला उनका श्रीमान् जागिरको सिलसिलामा नवलपरासी जाने भए। निर्मला पनि श्रीमानसँगै गइन्। पहिलो गर्भ कसरी ख्याल गर्नुपर्छ थाहा थिएन। कस्ता समस्या आउनु गर्भको बच्चा र आमाका लागि खतरा हो, जानकारी थिएन। सबै कुरा सिकाइदिने सासू–आमा र जेठानीहरु उनीसँग थिएनन्। उनले अन्यौलमा आफ्नो गर्भ हुर्काइरहिन्। उनको पेटको आकार बढ्दै गयो। बच्चाको धड्कन चल्न थाल्यो, निर्मला आफैँसँग मुस्कुराइन्। बच्चाले पेटभित्र चल्न थाल्यो, निर्मलाले आफैँ दौडिरहेको कल्पना गरिन्। तर उनको यो खुसी स्थायी बन्न सकेन। 

निर्मला ७ महिनाकी गर्भवती थिइन्। उनलाई मुत्रनलीमा संक्रमण भयो। उच्च ज्वरो आयो। निर्मला भरतपुर अस्पताल भर्ना भइन्। निरन्तर उपचार चल्यो। ज्वरो घटेन। थुप्रै औषधि लिनुपर्यो। ८ दिनसम्म भरतपुर अस्पतालमा उपचार चल्यो। तर, बिसेक भएन। ८ दिनपछि उनलाई झाडा लाग्यो। त्यसपछि निर्मलाकी सासूले काठमाडौँ ल्याउने निधो गरिन्। उनी काठमाडौं आउने एम्बुलेन्समा बसिन्। झण्डै ५ घण्टाको यात्रामा उनले बच्चा नचलेको महसुस गरिन। तर उनी पूर्ण होसमा थिइनन्। 

काठमाडौंको टिचिङ अस्पताल आइपुगेपछि उनी बाथरुम पसिन। जहाँ उनलाई तल्लो पेट खसेको जस्तो महसुस भयो। उनले के भयो थाहा पाइनन् तर झरेको शरीरको भाग पेटिकोटमा पोको पारेर बाहिर निस्किन्। बाहिर जेठानी थिइन्। जेठानीलाई देखाइन्। उनकी जेठानी डाँको छोडेर रोइन्। त्यसपछि उनलाई सुत्केरी गराउने ठाउँमा लगियो। उनको बच्चा खेर गइसकेको थियो। मृत बच्चा जन्माउने क्रममा उनको अर्धहोस थियो। उनलाई आफ्नो बच्चा हेर्नु थियो। आफ्नो बच्चालाई समात्नु थियो। उनी जुरुक्क उठेर हेर्थिन्। बच्चाको आकृति देखिनन्। डल्लो मात्रै देखिन्। उनले अर्धचेतमै बच्चा खेर गएको थाहा पाइन्। खेर गएको बच्चा छोरा थियो भनेर पनि थाहा पाइन्। त्यसपछि उनलाई होसमा आउन लामो समय लाग्यो। 

होसमा आउँदा पनि उनी पहिले झैँ सामान्य अवस्थामा फर्किन सकिनन्। अस्पतालमा अरुका बच्चा जता रुन्थे, निर्मला उतै दौडिन्थिन्। उनलाई आफ्नै बच्चा रोएको जस्तो महसुस हुन्थ्यो। त्यसपछि उनलाई सीसीयूमा भर्ना गरियो। १५ दिनसम्म उनलाई त्यहाँ राखियो। निर्मलालाई लाग्यो, ‘मेरो बच्चा नभएर ठिक भयो।’ उनले आफ्नो जीवनको माया मारेकी थिइन्। उनले मात्रै होइन, उनका आफन्तले पनि अस्पतालबाट उनलाई जीवितै फर्काउन सकिन्छ भनेर आश मारेका थिए। निर्मलालाई लाग्थ्यो, ‘मेरो बच्चा बाँचेर म मात्रै मरेको भए मेरो बच्चाले कति दुःख पाउँथ्यो। म त बाँचेँ भने अर्को जन्माउँला।’

बाहिर बसेर उनकी आमा रुन्थिन्। अर्जुनका आँखा जतिबेलै टिलपिल हुन्थे। उनी हरेक दिन मन्दिर जान्थे र पुकार गर्थे, ‘यसलाई ठिक भयो भने म जुन धाम जानु परेपनि जान्थे।’ सासू र जेठानीका आँखा पनि ओभाना थिएनन्। यो सबै देखेर निर्मलालाई बाँच्न मन लाग्थ्यो। आफू बाँचेर सबैको ओठमा हाँसो फर्काउन मन लाग्थ्यो। जसलाई उनले हिम्मतमा परिणत गरिन्। १५ दिनपछि उनी अस्पतालबाट घर फर्किन्। तर, उनको अवस्था सामान्य थिएन। छोरो सम्झिएर पिलपिल रुन्थिन्। एककोहोरो हुन्थिन्। भन्छिन्, ‘६ महिनासम्म म डिप्रेसनमा गएँ। नियमित औषधि खानु पथ्र्यो। थाहै हुन्थेन, म बिस्तरामै रोएर बस्थेँ।’ त्यसपछि उनका श्रीमानले कलेज भर्ना गरिदिए। निर्मला कलेज जान थालिन्। साथीभाइ, कलेजको पढाइ उनलाई चोट बिर्सन अलि सहज भयो। त्यसपछि अर्जुनले निर्णय गरे, बरु धर्मसन्तान लिने, नजन्माउने। 

यो घटनाले निर्मलालाई जीवन सिकायो। सहन सिकायो। भोलिका लागि भनेर साँचेर राख्नु हुँदैन, जिन्दगी भनेको आज हो आज बाँच्नु पर्छ भनेर सिकायो। भन्छिन् ‘यो भन्दा दुख्ने दुखाइ अर्को भएन मेरो जीवनमा। सायद यो दुखाइले अन्य दुखाइलाई सामान्य बनाइदियो।’

अनि खुसी फर्कियो
श्रीमानले नजन्माउने भने पनि निर्मलामा आमा बन्ने चाह थियो। डाक्टरसँग सल्लाह गरिन। पहिलो बच्चा खेर गएको दुई वर्षपछि उनी दोस्रो पटक गर्भवती भइन्। दोस्रो पटक निर्मला आफैँ सचेत भइन्। उनका सासूससुराले पनि उनलाई चितवन बस्न दिएनन्। काठमाडौँ आइन। सबैजनाले हेरचाह गरे। निर्मलाले पनि धेरै ख्याल गरिन्।

पहिलो घटनाको डर दोस्रोमा पनि परिरहन्थ्यो। डाक्टरले पनि नर्मल रुपमा बच्चा जन्मदैन भनेका थिए। उनको डरको आयतन झन धेरै बढेर जान्थ्यो। सानासाना कुरा, समस्या सासूलाई भन्थिन्। सासू र जेठानी उनको साथमा थिए। अन्य कुराहरु भने सबै सामान्य नै बितिरहेको थियो।

डाक्टरले एक हप्तापछिलाई अप्रेसन गर्ने मिति तोकेका थिए। निर्मलालाई एक हप्ताअघि नै पानी बग्यो। बिहानको ४ बजेको थियो। उनले तातो पानी तताएर नुहाइन्। कालो चिया पकाएर खाइन। पेट दुख्ने क्रम बढ्यो। श्रीमानलाई हाँस्दै भनिन्, ‘मलाई व्यथा लाग्यो अस्पताल जाऊँ।’ श्रीमानले भने, ‘अरु व्यथा लागेर रुन्छन्, तँ हासिरहेकी छस्। के भएको छ र अस्पताल जानु?’ निर्मलालाई श्रीमानसँग रिस उठ्यो। उनले सासूलाई भनिन्। सासूले अस्पताल लिएर गइन्। अस्पताल भर्ना भएको डेढ घण्टामा निर्मलाले बिनाअप्रेसन छोरा जन्माइन्।

बच्चा जन्मिएपछि उनको काखमा नआउँदासम्म कसले कता लैजान्छ भनेर आँखा दौडाइरहिन्। उनलाई छोरा साटिदिएलान् भन्ने भयो। उनलाई थाहा छैन, आफैँसँग भरोसा थिएन अथवा अस्पताल र डाक्टरसँग। भन्छिन्, ‘त्यो समय जति टाठो म जिन्दगीमा कहिल्यै भइनँ। पेटबाट आफ्नो बच्चा बाहिर निस्केपछि त्यो भन्दा माया लाग्ने चिज अर्को छैन भन्ने हुँदोरहेछ।’

नर्सहरुले बच्चा सफा गरेर ल्याएर दिए। निर्मला आफ्नै छोरो देखेर डराइन। उनका छोरा निकै सानो थिए। भन्छिन्, ‘मेरो बाबु साह्रै सानो थियो। समाउँदा केही हुन्छ कि भनेर डर लाग्थ्यो। आफ्नो बच्चा अरुले समाएको पनि मन पर्दैनथ्यो। मलाई लाग्थ्यो मेरो बच्चालाई कसरी समाउँदा दुख्छ भन्ने मलाई मात्र थाहा छ, अरुलाई थाहा छैन।’ निर्मला सुत्केरी भएको भोलिपल्ट घर फर्किन्। 

छोरो हुर्काउने क्रममा पनि पहिलो दुर्घटनाको असर घरिघरि परिरह्यो। निर्मला आफूलाई सुरक्षित महसुस गर्नै सक्दिनथिन्। बच्चालाई तेल लगाइदिएको हेरेर बस्थिन्। अलि राम्रोसँग मालिस गरे उनी रुन्थिन्। भन्थिन्, ‘यसलाई तेल नलगाइदिँदा हुँदैन?’ उनको अगाडि तेल लगाउनेले राम्रोसँग मालिस गर्न पनि पाउँदैनथे। निर्मला आफ्नो सम्पूर्ण ध्यान बच्चामा लगाउँथिन्।

बेलाबेला उनका छोरा बिरामी हुन्थे। निर्मलालाई लाग्थ्यो, ‘बरु मेरो बच्चा गर्भमै भएको भए हुन्थ्यो। यो संसारमा भन्दा ऊ त्यहीँ सुरक्षित थियो।’ 

सुत्केरी भएको १५ दिनमा निर्मला माइत गइन्। छोरा बिरामी भए। उनलाई आफ्नै काख सुरक्षित लागेन। उनी छोरो बोकेर काठमाडौं फर्किन्। हुर्कने क्रममा छोरालाई ज्वरो आइरहन्थ्यो। निर्मला आत्तिरहन्थिन्। छोरा जन्मिएपछि निर्मलाले कहिल्यै फुलटाइम काम गरिनन्। छोरो जन्मिएपछि नै एमफिल गरिन्। अहिलेसम्म पनि छोरा छाड्नु पर्छ भनेर पुरा समय काम गरेकी छैनन्। 

अहिले उनका छोरा १५ वर्षका भए। निर्मलालाई आफ्नो छोरा सानै छन् भन्ने लाग्छ। यो १५ वर्षमा मुस्किलले तीन दिन छोरो छाडेर हिँडेकी छन् उनी। कहिलेकाहीँ निर्मलालाई लाग्छ, कतै गलत त गरिरहेकी छुइनँ? तर मन मान्दैन। छोरा आउँछु भनेको समयमा खेलेर फर्किएनन् भने खोज्न जान्छिन्। अर्जुन गाली गर्छन्। छोरा ठूलो भयो, निगरानी कम गर। भन्छिन्, ‘निगरानी गरेको होइन। तर मन मान्दैन। उसलाई केही भयो कि भन्ने छटपटी हुन्छ, अनि म निस्कन्छु।’

अहिले पनि छोराका हरेक रोजाइ निर्मलाकै हुन्छन्। आमाको रोजाइमा छोराको गुनासो छैन। तर निर्मलालाई लागिरहन्छ, ‘उसको रोजाइमा मेरो हस्तक्षेप धेरै भयो कि?’ छोराको स्वभाव ठ्याक्कै उनका बुबाको जस्तै छ। उनी माया देखाउन जान्दैनन्। तर आमा बिरामी भएपछि उनी आमाका सबै काम गर्छन्। 

उनलाई अर्को सन्तानको रहर छैन। उनका छोरालाई पनि भाइ–बहिनीको चाहना छैन। बितेका कति कुराको यादले कहिलेकाहीँ सताउन खोज्छ। तर त्यो दुखाइलाई शक्तिका रुपमा लिन्छिन्। भन्छिन्, ‘सन्तान वियोगको भन्दा ठूलो पीडा अर्को हुँदैन। म पनि सम्झिरहन्छु। तर, हरेक घटना मान्छेलाई पाठ सिकाउन आउँदा रहेछन्, जीवन परिवर्तन गर्न आउँदा रहेछन्। मलाई पनि त्यो वियोगले जीवन सिकायो। मानसिक रुपमा बलियो भएर बाँच्न सिकायो। आज म जे छु सायद त्यही घटनाले गर्दा छु।’ 

तस्बिरहरु : सरोज बैजु/नेपालखबर

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .