ad ad

म्यागेजिन


सीपीसीको महाधिवेशनमा गएका मनमोहन तीन वर्ष बेइजिङमै रोकिए, यता केशरजंगको ‘भाग्य उदायो’

सीपीसीको महाधिवेशनमा गएका मनमोहन तीन वर्ष बेइजिङमै रोकिए, यता केशरजंगको ‘भाग्य उदायो’

नेकपाका महासचिव मनमोहन अधिकारी तीन वर्ष चीनमै राकिएपछि कार्यबाहक महासचिव बनेका डा. केशरजंग रायमाझीले यता के–के गरे होलान्?


सीताराम बराल
असोज ३०, २०७९ आइतबार २१:२८, काठमाडौँ

कान्तिपथस्थित फोहोरा दरबारमा १५–२५ जेठ २०१४ मा सम्पन्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दोस्रो महाधिवेशनमा पार्टीका महासचिव मनमोहन अधिकारी नै उपस्थित थिएनन्। महासचिवकै उपस्थिति नरहेपछि संस्थापक महासचिव पुष्पलालबाट नेकपाको दोस्रो महाधिवेशनको उद्घाटन भयो।  

खासमा चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को आठौँ महाधिवेशनमा भाइचारा पार्टीको तर्फबाट सहभागिता जनाउन बेइजिङ पुगेका अधिकारी गम्भीर स्वास्थ्य समस्याका कारण उपचारका लागि उतै रहेपछि नेकपाको दोस्रो महाधिवेशनमा अनुपस्थित भएका थिए। 

६६ वर्षअघि १५–२७ सेप्टेम्बर १९५६ (३१ भदौ–असोज १२, २०१३) मा सम्पन्न सीपीसीको आठौँ महाधिवेशनमा नेकपाको तीन सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अधिकारी बेइजिङ पुगेका थिए।  

त्यही सीपीसीको बीसौँ महाधिवेशनको उद्घाटन समारोह आइतबार (३० असोज/१६ अक्टोबर) बेइजिङमा भएको छ। एमाले, माओवादी केन्द्र लगायतका कम्युनिस्ट दलहरुसँग सीपीसीको भाइचारा सम्बन्ध रहे पनि यसपटकको महाधिवेशनमा नेकपाका कुनै पनि घटकको सहभागिता छैन। चीनले अझै ‘शून्य कोभिड’ को नीति जारी राखेकाले नेपालको तर्फबाट कुनै पनि कम्युनिस्ट पार्टीको सहभागिता हुन नसकेको मात्रै होइन। सीपीसीले हरेक पाँच वर्षमा आयोजना गर्ने राष्ट्रिय महाधिवेशनमा अन्य देशका कम्युनिस्ट पार्टीका नेतालाई बोलाउन छाडेको पनि कयौँ वर्ष भइसक्यो। 

सीपीसीले बोलाउन छाडेकाले पनि ६६ वर्षअघि सम्पन्न महाधिवेशनमा नेकपाको सहभागिताको महत्व बढ्यो। तर नेपालको त्यो सहभागिता केही कारणले झन् महत्वपूर्ण रह्यो। सहभागिताका लागि प्रतिनिधि मण्डलको छनोटमा देखिएको विवाद र प्रतिनिधि मण्डलका नेता एवं पार्टी महासचिव मनमोहन अधिकारी लामो समय नेपाल फर्कन नसक्ने स्थिति सिर्जना भएपछि त्यसको असर नेकपाको आन्तरिक जीवनमा लामो समयसम्म परिरह्यो। 

शीर्ष नेताको पहिलो चीन भ्रमण 
महासचिव अधिकारी नेतृत्वको प्रतिनिधि मण्डलमा नेकपाका अन्य दुई नेता पनि सहभागी थिए। पोलिट्ब्युरो सदस्यद्वय शम्भुराम श्रेष्ठ र कमर शाह प्रतिनिधि मण्डलका सदस्य थिए।

यसमध्ये श्रेष्ठ २०१५ को निर्वाचनपछि निर्माण भएको उपल्लो सदन (संसद) मा नेकपाको तर्फबाट सदस्य भए। 

यो प्रतिनिधि मण्डलको चीन भ्रमणले सीपीसी–नेकपाका शीर्ष नेताहरुबीच आपसी सम्बन्ध र हितबारे ‘फेस टु फेस’ कुराकानी हुन सक्यो। नेकपाका शीर्ष नेताहरुको चीन भ्रमणको सिलसिला त्यसपछि सुरु भएको हो।  

हुन त आफू महासचिव रहेका बेला पुष्पलालले २००९ मा सैन्य तालिमका लागि पार्टी कार्यकर्ता गौरीभक्त प्रधानलाई चीन पठाएका थिए। गुप्तरुपमा तालिम लिएर प्रधान साढे दुई वर्षपछि नेपाल फर्के पनि दुई पार्टीबीच औपचारिक सम्बन्ध स्थापना भने भइसकेको थिएन।

प्रधान चीन पुगेका बेला एकातिर नेपालमा नेकपा प्रतिबन्धित अवस्थामा थियो। अर्काेतिर नेपाल–चीनबीच कूटनीतिक सम्बन्ध स्थापना पनि भएको थिएन। 

त्यसैले, सीपीसी–नेकपाबीचको सम्बन्ध अनौपचारिक र गोप्य थियो। यो अनौपचारिक सम्बन्धलाई औपचारिकता दिने काम अधिकारीको चीन भ्रमणले गरेको थियो। 

यसका अलावा प्रतिनिधि मण्डलका सदस्य छान्ने विषयले नेकपाभित्र दीर्घकालीन मनमुटाव सिर्जना भयो। त्यही स्थितिका बीच केशरजंग रायमाझीले नेकपाको नेतृत्व कब्जा गर्ने अवसर प्राप्त गरे। 

विसं २००८ जेठ–असारमा धनुषाको बटेश्वरमा भएको  बैठकबाट आकस्मिक र अन्यायपूर्ण रुपमा पार्टी महासचिवबाट हटाइएका पुष्पलालले त्यसलाई जसोतसो सहेका थिए। तर, चीन जाने प्रतिनिधि मण्डलमा समेत आफूलाई नपारिएपछि उनको आक्रोश विस्फोट भयो।  

पार्टीभित्रको यही मनमुटावलाई डा. केशरजंग रायमाझीले मज्जासँग उपयोग गरे। चीन जाने भ्रमण दल छनोटको विषयमा देखिएको मनमुटाव नेकपाभित्र रायमाझीको उदय र अन्ततः पार्टी विभाजनको कारण समेत बन्यो।  

चीन जाने टोली छान्न मतदान
आठौँ महाधिवेशनमा नेकपाका तीन नेता भाइचारा पार्टीका प्रतिनिधिका रुपमा सहभागी हुनसक्ने सीपीसीले निमन्त्रणामा जनाएको थियो। निम्ता तत्कालीन प्रधानमन्त्री टंकप्रसाद आचार्यमार्फत् पठाइएको थियो।  

विदेश (भारतबाहेक) बाट नेकपालाई आएको यो नै पहिलो निमन्त्रणा थियो। 

७ वर्षअघि क्रान्तिद्वारा कम्युनिस्ट सत्ता स्थापित भएको चीन जान नेकपाका सबै नेताहरु लालायित थिए। त्यसैले, तीन सदस्यीय प्रतिनिधि मण्डलमा को–को जाने भन्ने विषयमा मतदान नै गर्नुपर्ने स्थिति सिर्जना भयो। 

१७ सदस्यीय नेकपा केन्द्रीय कमिटीका सबै सदस्यले प्रतिनिधि मण्डलमा आफूलाई राख्नुपर्ने माग गरेपछि यस्तो स्थिति सिर्जना भएको थियो। 

पहिलो हकदार पुष्पलाल नै थिए। किनकि स्थापनाकालमै पुष्पलालले सीपीसी र नेकपाको नीतिबीच सामीप्य कायम गरेका थिए।  

कम्युनिस्ट क्रान्ति कसरी सम्पन्न हुनसक्छ भन्ने सम्बन्धमा त्यो बेला विश्वमा दुई मोडेल चर्चामा थिए। एउटा, रुसी मोडेल– जसले मजदुर–सर्वाहाराहरुको विद्रोहद्वारा सत्ता कब्जा गर्ने कुराको वकालत गथ्र्याे। यसलाई ‘समाजवादी क्रान्तिको मोडेल’ भनिन्थ्यो। 

दोस्रो मोडल चाहिँ चिनियाँ मोडल थियो। यो मोडलले नेपालजस्तो कृषिप्रधान मुलुकमा दीर्घकालीन जनयुद्धद्वारा सत्ता कब्जा गर्नुपर्ने कुराको वकालत गथ्र्याे। चिनियाँ मोडेललाई ‘नयाँ जनवादी क्रान्ति’ भनिन्थ्यो।

विसं २००६ मा नेकपा स्थापना गर्दा संस्थापक महासचिव पुष्पलालले चीन पनि नेपालजस्तै अर्धसामन्ती र अर्धऔपनिवेशिक स्थितिमा रहेकाले चिनियाँ मोडल अर्थात् दीर्घकालीन जनयुद्धमार्फत् नयाँ जनवादी क्रान्तिको मोडल अघि सारेका थिए।

प्रतिनिधि मण्डलमा आफू पर्नुपर्ने सबै नेताको दावीका कारण पार्टीभित्र अप्ठेरो स्थिति सिर्जना भयो। अप्ठेरो फुकाउने क्रममा महासचिव अधिकारीलाई सर्वसम्मत रुपमा प्रतिनिधि मण्डलको नेता बनाउने निर्णय भयो। 

नेपालको कम्युनिस्ट आन्दोलनका विषयमा विद्यावारिधि गरेका इतिहासकार डा. सुरेन्द्र केसीका अनुसार बाँकी दुई सदस्य भने गोप्य मतदानद्वारा चयन गर्ने निर्णय नेकपाले गरेको थियो।  

१६ साउन २०१३ मा पुतलीसडकस्थित केन्द्रीय कार्यालयमा गोप्य मतदान भयो। गोप्य मतदानबाट शम्भुराम श्रेष्ठ र कमर शाह चयन भए।  

संस्मरणात्मक पुस्तक ‘मेरा राजनीतिक जीवनका संस्मरणहरु’ मा श्रेष्ठ (शम्भुराम) ले उल्लेख गरे अनुसार १७ सदस्यीय केन्द्रीय कमिटीका सबै सदस्यको मत उनले प्राप्त गरेका थिए। 

पुष्पलालले भने कमर शाह भन्दा एक मत काम पाएका थिए। त्यहीकारण पुष्पलाल चीन जाने प्रतिनिधि मण्डलमा चयन हुन सकेनन्। 

प्रतिनिधि मण्डलका लागि भएको मतदानमा भएको पराजयबाट पुष्पलाल निकै दुःखी हुन पुगे। उनलाई चीन जाने अवसर २०१६ असोजमा सम्पन्न जनगणतन्त्र चीनको १० औँ वार्षिकोत्सवका बेला मात्र जुर्यो। उनी त्यो बेला महासचिव केशरजंग रायमाझी नेतृत्वको प्रतिनिधि मण्डलको सदस्यका रुपमा चीन पुगेका थिए। 

२०१६ मा चीन भ्रमणको क्रममा नेकपा नेताहरु कमर शाह बायाँबाट (पहिलो) पुष्पलाल (दोस्रो), महासचिव डा. रायमाझी (चौथो) र मनमोहन अधिकारी (सातौँ)  

श्रेष्ठले उल्लेख गरे अनुसार पार्टीको संस्थापकका हैसियतमा पनि आफू चीन जानुपर्नेमा त्यो नभएको भन्दै आक्रोश व्यक्त गरेका थिए। 

‘पुष्पलाल त्यसरी आक्रोशमा आएको मैले कहिल्यै देखेको थिइनँ,’ श्रेष्ठले भनेका छन्, ‘उहाँ एकदम आवेशमा बोल्दै जानुभयो, कसैले केही भन्ने हिम्मत गरेनन्।’

पुष्पलालमाथिको अन्याय 
जुन बैठकले चीन जाने प्रतिनिधि मण्डल चयन गरेको थियो, त्यही बैठकले तीन महिनाका लागि कार्यवाहक महासचिव तोक्ने निर्णय गर्यो। 

किनभने सीपीसी महाधिवेशन उद्घाटनपछि नेपाली प्रतिनिधि मण्डलको चीनका विभिन्न स्थानमा भ्रमण गर्ने कार्यक्रम थियो। यसक्रममा नेकपा नेताहरु साढे दुई महिना चीनमा रहने तय भएको थियो। 

त्यसैले, मतदान लगत्तै बैठकले पुष्पलाललाई कार्यवाहक महासचिव भएर काम गर्ने प्रस्ताव गर्यो। तर, उनी तयार भएनन्। 

पुष्पलाल स्मृति प्रतिष्ठानद्वारा प्रकाशित पुष्पलालको जीवनीमूलक पुस्तक ‘नेपाल रत्न पुष्पलाल’ मा भनिएको छ, ‘केशरजंग रायमाझीले कार्यवाहक महामन्त्री भएर काम गर्ने इच्छा व्यक्त गरे। असहज अवस्थामा गरिएको निर्णयको फाइदा लिँदै रायमाझी कार्यवाहक महामन्त्री बन्न पुगे।’  

एकातिर पुष्पलाललाई हठात् तीन वर्षअघि पार्टीको महासचिवबाट हटाइएको थियो। अर्कोतिर नेकपा–सीपीसीबीच सम्बन्ध स्थापनामा महत्वपूर्ण भूमिका खेलेका उनलाई नै चीन जाने प्रतिनिधि मण्डलमा पारिएन। 

आफैँले स्थापना गरेको पार्टीबाट एकपछि अर्काे गर्दै भएको अन्यायबाट उनी दुखी हुनु स्वाभाविक थियो।  

त्यो बेला महासचिव अधिकारीपछि पार्टीको वरीयतामा पुष्पलाल, तुलसीलाल अमात्य, डीपी अधिकारी थिए। तर, अमात्य र अधिकारी केही समयअघि मात्र कारबाहीमुक्त भएकाले उनीहरुलाई कार्यवाहक महासचिवको जिम्मेवारी दिन पार्टीले उपयुक्त ठानेन। 

‘अरु बाँकी सबै जुनियर कामरेडहरु मात्रै भए, फलत उपरोक्त घटना पार्टीका लागि एक जटिल समस्या बन्न गयो,’ श्रेष्ठ भन्छन्, ‘चार–पाँच दिनपछि हामी चीन हिँड्नुपर्ने थियो। तर पनि कार्यवाहक महासचिव नियुक्त गर्न सकिएको थिएन।’ 

श्रेष्ठका भनाइमा नेपाल सरकारले उनीहरुलाई तीन महिनाका लागि पासपोर्ट उपलब्ध गराएको थियो। त्यसमध्ये १५ दिन नेपालमै बितिसकेको थियो। 

डा. रायमाझीले यही मौकाको उपयोग गरे। महासचिव अधिकारी अढाई महिनापछि चीनबाट फर्कने भएकाले आफैँले पार्टी केन्द्रीय कार्यालयको जिम्मेवारी सम्हाल्ने प्रस्ताव उनले राखे। 

‘डा. रायमाझीले कसैलाई आपत्ति छैन भने त्यतिन्जेलका लागि म कार्यालयमा बसिदिन्छु भन्न थाले,’ श्रेष्ठ भन्छन्, ‘पुष्पलाललाई सम्झाउँदा–सम्झाउँदै, अनुरोध गर्दागर्दै थाकिसकेका कामरेडहरुले बाध्य भएर हुन्छ त, डाक्टर (रायमाझी) नै पार्टी कार्यालयमा बसिदेऊ भन्न थाले।’ 

पुष्पलालले कार्यवाहक महासचिवको जिम्मेवारी लिन नमानेपछि पार्टी कार्यालयको जिम्मेवारी डा. रायमाझीको काँधमा गयो। त्यही घटना नै नेकपामा डा. रायमाझीको उदयको कारण पनि बन्यो। 

चीनमा मनमोहनका तीन वर्ष 
काठमाडौँ–पेकिङ सिधा उडान थिएन। त्यसैले, चीन जाने नेकपा प्रतिनिधि मण्डल कलकत्तातर्फ लाग्नुपर्ने थियो। तर, प्रतिनिधि मण्डलका नेता महासचिव अधिकारी भने गृहनगर विराटनगरतिर लागे। 

विराटनगर हुँदै जोगबनी पुगेर उनी रेलमार्फत् कलकत्ता पुगेका थिए। कलकत्तामा भेटघाट गरी प्रतिनिधि मण्डलका सदस्यहरु बेइजिङ प्रस्थान गरे।

खासमा अधिकारी स्वास्थ्य उपचारसँग सम्बन्धित कागजात लिन विराटनगर पुगेका थिए। उनी केही समयअघि मात्र कलकत्ताबाट उपचार गराएर नेपाल फर्केका थिए। पुराना कम्युनिस्ट नेता कमल कोइरालाको भनाइमा अधिकारीलाई छालासँग सम्बन्धित कुष्ठरोगको समस्या थियो।

रोग निकै बल्झँदै गएकाले अधिकारी चिनियाँ चिकित्सकहरुद्वारा थप जाँच गराउन चाहन्थे। औषधोपचारसँग सम्बन्धित ती कागजातहरु उनले चिनियाँ डाक्टरहरुलाई दिए। 

‘हामीसँग २४ सै घण्टा रहने, सीपीसीको हेडक्वार्टरबाट खटिआएका डाक्टरहरुलाई ती रिपोर्टहरु महाधिवेशनको उद्घाटन समारोह सकिएपछि उहाँले दिनु भएछ,’ श्रेष्ठले आफ्नो संस्मरणमा भनेका छन्, ‘चिनियाँ कम्युनिस्ट पार्टीले त्यस सम्बन्धमा तुरुन्तै कारबाही सुरु गरिहाल्यो। यो कुरा हामीलाई थाहा थिएन।’

महाधिवेशन उद्घाटनको भोलिपल्ट बिहानै श्रेष्ठ अधिकारीको कोठामा पुगे। तर, अधिकारीको कोठामा ताल्चा लागेको थियो। उनले चिनियाँ पक्षसँग अधिकारीबारे कुराकानी गरे। उनीहरुले श्रेष्ठलाई अधिकारीलाई उपचारका लागि अस्पताल लगिएको जानकारी दिए। 

महाधिवेशन उद्घाटनको भोलिपल्टदेखि उपचार सुरु भएकाले महासचिव अधिकारी महाधिवेशनका कुनै पनि कार्यक्रममा सहभागी भएनन्। नेकपाको तर्फबाट श्रेष्ठ र शाह मात्र महाधिवेशनमा सहभागी भए। 

महाधिवेशनपछि केही हप्ता चीनमा घुमघाम गरेर श्रेष्ठ र शाह नेपाल फर्के पनि अधिकारी भने उपचारका लागि तीन वर्ष चीनमै रहे। तीन–तीन वर्ष उपचारका लागि बस्नु परेकाले उनको स्वास्थ्य अवस्था कति गम्भीर भइसकेको रहेछ, त्यो प्रष्ट हुन्छ। 

नेपालमा पहिलो आम निर्वाचन (२०१५) उनी चीनमै रहेका बेला सम्पन्न भएको थियो। त्यसैले, २०१५ को आम निर्वाचनमा मनमोहन अधिकारी सहभागी हुन पाएनन्। नेपाली कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेको त्यो निर्वाचनपछि बीपी कोइराला प्रधानमन्त्री बने।

तत्कालीन प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो आत्मवृत्तान्तमा आफू चीन भ्रमण (२०१६ चैत) मा रहेका बेला अधिकारी उतै उपचारमा रहेको उल्लेख गरेका छन्। 

श्रेष्ठका भनाइमा सुरुमा बेइजिङमा उपचार गरिएका अधिकारीलाई थप उपचारका लागि क्वान्चौ पुर्याइएको थियो। 

‘हामीहरु पेकिङमा रहुन्जेल अधिकारीलाई पेकिङकै एउटा अस्पतालमा राखिएको थियो,’ श्रेष्ठले भनेका छन्, ‘हामीहरु फर्किएपछि भने उहाँलाई तीन वर्ष क्वाङतुङ (क्वान्चौ) प्रान्तको एउटा घरमा उपचारका निम्ति राखियो। पूर्णरुपमा निको भएपछि उहाँ काठमाडौँ फर्किनुभयो।’

रायमाझीलाई चिठ्ठा 
राजा महेन्द्रको १ पुस २०१७ को ‘कू’ हुँदा डा. रायमाझी नेकपाको महासचिव थिए। ‘कू’ का बेला साेभियत संघकाे भ्रमणमा रहेका रायमाझीले नेपाल फर्केपछि राजाको कदमको समर्थन गरे।  

महासचिव डा. रायमाझीको भूमिकाका कारण नेकपामाथि राजाको ‘कू’ को समर्थन गरेको आरोप लाग्यो।

महासचिव अधिकारी यदि उपचारका लागि लामो समय चीनमा रहनु नपरेको भए डा. रायमाझी महासचिव बन्ने स्थिति आउने थिएन।

श्रेष्ठका भनाइमा पुष्पलालले नमानेपछि डा. रायमाझीले पनि कार्यवाहक महासचिवको जिम्मेवारी माग गर्ने आँट गरेका थिएनन्। ‘केन्द्रीय कार्यालयमा बसिदिन्छु नि’ मात्र भनेका थिए। 

तर, उपचारका लागि महासचिव अधिकारी लामो समय चीनमा बस्नुपर्ने अवस्था डा. रायमाझीका लागि ‘भाग्योदय चिठ्ठा’ जस्तै बन्यो। अधिकारी नफर्केपछि उनले ‘कार्यवाहक महासचिव’ कै रुपमा काम गर्न थाले। 

‘कार्यवाहक महासचिव’ को भूमिका प्राप्त गरेपछि रायमाझीले पार्टी केन्द्रमा आफ्ना मानिसहरुलाई स्थान दिन थालेका थिए। यसले गर्दा पार्टीभित्र उनको पकड बलियो बन्दै गएको थियो।  

दोस्रो महाधिवेशनमा नीति पुष्पलालको पारित भए पनि महासचिव रायमाझी निर्वाचित हुनुको कारण यही थियो। केन्द्रीय कमिटीमा आफू निकटस्थहरुलाई चयन गरेका कारण डा. रायमाझी महासचिव निर्वाचित भएका थिए।  

कतिसम्म भने रायमाझीले निवर्तमान महासचिव अधिकारीलाई समेत केन्द्रीय समितिमा ल्याउन जरुरी ठानेनन्। सो महाधिवेशनमा प्रतिनिधि रहेका ८५ वर्षीय कम्युनिस्ट नेता कोइराला भन्छन्, ‘मनमोहनलाई समेत केन्द्रीय कमिटीमा राख्न नचाहने डा. रायमाझीले त्यसपछि नेकपामा के–के गरे होलान्, त्यो स्वतः अनुमान लगाउन सक्नुहुन्छ।’ 

सीपीसीको आठौँ महाधिवेशनको उद्घाटन समारोह तियानमेन चोकमा भएको थियो। महाधिवेशन सफलताको शुभकामना प्रदान त्यसपछि सुरु हुने बन्दसत्रमा गर्ने कार्यक्रम तय थियो। 

नेपाली प्रतिनिधि मण्डलको नेता अधिकारी थिए। नेकपाको तर्फबाट महासचिव अधिकारीले नै सीपीसी महाधिवेशन सफलताको शुभकामना दिने तय गरिएको थियो।

तर, बन्दसत्र सुरु नहुँदै अधिकारी उपचारका लागि अस्पताल लगिए। महासचिव अधिकारी अस्पताल भर्ना भएपछि उनको साटो नेता श्रेष्ठले नेकपाको तर्फबाट महाधिवेशन सफलताको शुभकामना दिएका थिए। 

झण्डै साढे दुई महिना चीन बसाइका क्रममा श्रेष्ठले चिनियाँ नेता माओ चेतुङसँग भेटघाट पनि गरेका थिए। 

माओसँग शम्भुराम श्रेष्ठ 

इतिहासकार  डा. सुरेन्द्र केसीले ‘नेपालमा कम्युनिस्ट पार्टीको इतिहास’ मा उल्लेख गरे अनुसार श्रेष्ठले नेकपाको तर्फबाट शुभकामना सन्देश दिँदै भनेका थिए, ‘महान् चिनियाँ क्रान्तिको विजयले नेपाली जनतालाई सामन्ती प्रतिक्रियावादी तथा साम्राज्यवादीहरुको चालबाजीको विरोधमा र देश तथा प्रजातन्त्रको उत्थानको लागि संघर्ष गर्न जहिल्यै प्रेरणा दिएको छ।’ 

सीपीसीको महाधिवेशनको फैसलाले ‘आफ्नो मातृभूमिको सेवा र विश्व शान्तिको संरक्षणको लागि हाम्रो पार्टीमाथि भएको जिम्मेवारी पुरा गर्न हामीलाई प्रेरणा र झन् मद्दत गर्ने’ पनि उनले उल्लेख गरेका थिए। 

‘सीपीसीको आठौँ महाधिवेशनमा हुने छलफल र निर्णयहरुको असर संसारभर पर्ने’ उल्लेख गदै श्रेष्ठले थप भनेका थिए, ‘नेपाल चीनको नजिकको छिमेकी भएकाले महाधिवेशनको निर्णयहरुबाट नेकपाले अझ बढी सिक्न सक्नेछ र सिक्नेछ।’

सीपीसीको आठौँ महाधिवेशन सोभियत नेता जोसेफ स्टालिनको निधनपछिको पहिलो महाधिवेशन थियो। जीवित छउन्जेल सीपीसीले स्टालिनलाई नै विश्व कम्युनिस्ट आन्दोलनको नेता स्वीकार गरेको थियो। 

तर, स्टालिनको निधनपछि विस्तारै चिनियाँ र सोभियत संघका नेताहरुबीच मतभेद देखिन थाल्यो। यस्तो पृष्ठभूमिमा भएकाले सीपीसीको आठौँ महाधिवेशनलाई विश्वले निकै चासोका साथ हेरेको थियो। 

यति महत्वपूर्ण महाधिवेशनमा नेकपाले पहिलो सहभागिता जनाउने अवसर प्राप्त गरेको थियो। त्यसपछि विश्व कम्युनिस्ट आन्दोलन चिनियाँ र सोभियत धुरीमा विभाजित हुँदा नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार जहिल्यै चीनको पक्षमा उभियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .