ad ad

म्यागेजिन


मुस्ताङमा बमप्रसादको मृत्यु : चीनले पठाएको त्यो ५० हजार क्षतिपूर्ति बीपीले परिवारलाई दिएनन्

पेन्सन दिनेबेला गिरिजाले पनि गरे आनाकानी
मुस्ताङमा बमप्रसादको मृत्यु : चीनले पठाएको त्यो ५० हजार क्षतिपूर्ति बीपीले परिवारलाई दिएनन्

छोरी गोमादेवीका साथ लीलादेवी (तस्बिर : सीताराम बराल)


सीताराम बराल
असार २३, २०८० शनिबार ७:३८, काठमाडौँ

चिनियाँ सेनाको गोलीबाट १५ असार २०१७ मा मुस्ताङमा नेपाली सेनाका सुबेदार बमप्रसाद बास्तोला मारिए। नेपाल–चीन सम्बन्धको सन्दर्भमा यो घटना शान्त तलाउमा ढुङ्गा हानेजस्तो थियो। घटनाको विरोधमा काठमाडौँ लगायत सहरी इलाकामा चीनविरुद्ध जुलुस निस्कन थाले। 

यो घटनाले चीनलाई त अप्ठेरोमा पार्यो नै, प्रधानमन्त्री बीपी कोइरालासमेत अप्ठेरोमा परे। घटनाका विषयमा उनले संसदमा पटक–पटक जवाफ दिनुपर्यो, चीनप्रति अनावश्यक रुपमा नरम बनेको आरोप उनीमाथि लाग्यो। 

यस्तोमा घटना भएको दुई हप्तापछि २९ असार (२०१७) मा प्रधानमन्त्री बीपीले चिनियाँ समकक्षी चाउ एनलाइको अर्काे एक पत्र प्राप्त गरे। यसपटकको पत्रको बेहोरा प्रधानमन्त्री कोइरालालाई समेत आश्चर्यमा पार्ने खालको थियो।  

किनकि, चिनियाँ प्रधानमन्त्रीले मुस्ताङ घटनामा नेपाललाई क्षतिपूर्तिवापत ५० हजार दिने बताएका थिए। चाउ एनलाइबाट यस्तो सकरात्मक जवाफ आउनुभन्दा ५ दिनअघि बीपीले चीनसँग क्षतिपूर्तिवापत ५० हजार रुपियाँ माग गरेका थिए। 

प्रधानमन्त्री बीपीको यो माग चिनियाँ प्रधानमन्त्रीले बिनासौदावाजी, सहज रुपमा स्वीकार गर्दै तत्काल रकम उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका थिए। प्रतिबद्धता अनुसार नै चिनियाँ पक्षले सो रकम तत्काल नेपाललाई उपलब्ध गराएको थियो। 

तर, चिनियाँ प्रधानमन्त्रीले जुन तदारुकताका साथ क्षतिपूर्ति रकम नेपाललाई उपलब्ध गराए, प्रधानमन्त्री बीपीले पीडित परिवारलाई चीनबाट प्राप्त रकम उपलब्ध गराएनन्। मुस्ताङमा मारिएका सुबेदार बमप्रसादकी विधवा लीलादेवी बास्कोटाले त्यो रकम प्राप्त गर्न सकिनन्। 

‘क्षतिपूर्तिवापतको ५० हजार रुपैयाँ रकम चीनले पीडित परिवारका लागि नेपाल सरकारमार्फत् उपलब्ध गराएको थियो भन्ने सबैलाई थाहा भएको कुरा हो,’ मुस्ताङ घटनाका जानकार एवं सैनिक इतिहासकार एवं नेपाली सेनामा अवकाशप्राप्त सहायकरथी डा. प्रेमसिंह बस्न्यात भन्छन्, ‘तर, तत्कालीन सरकारले त्यो रकम पीडित परिवारलाई उपलब्ध गराएको तथ्य भेटिँदैन।’  

बमप्रसादकी पत्नी लीलादेवीमा अहिलेसम्म बाँकी रहेको आक्रोशका आधारमा अनुमान लगाउन सकिन्छ– चीनबाट प्राप्त रकम प्रधानमन्त्री बीपीले न्यायोचित तबरले पीडित परिवारलाई उपलब्ध गराएका थिएनन्।

उदार चीन, अनुदार बीपी  
नेपाल एकीकरण अभियान सुरु भएयता नेपालले तीन पटक भोट–तिब्बतमाथि आक्रमण गर्यो। नेपाल आक्रमण गथ्र्याे तर, युद्ध टुङ्ग्याउने क्रममा भएका वार्ता– सम्झौतामा लडाइँको खर्चको क्षतिपूर्ति तिब्बतबाट भराउन खोज्थ्यो। विकल्प नहुँदा नेपालको सर्त स्वीकार गर्न पराजित तिब्बत बाध्य पनि हुन्थ्यो। 

मुस्ताङ घटनामा त गल्ती चिनियाँ पक्षकै थियो। यसले गर्दा चीनसँग क्षतिपूर्ति माग गर्न प्रधानमन्त्री बीपीलाई सहज पनि भयो। क्षतिपूर्ति माग गर्ने परम्परालाई निरन्तरता दिँदै बीपीले क्षतिपूर्ति माग गरे।

मुस्ताङ घटनापछि चिनियाँ प्रधानमन्त्री चाउ एनलाइले २९ असार (२०१७) मा बीपीलाई तेस्रो पत्र पठाए। प्रतिनिधि सभाको बैठकमार्फत् बीपीले सार्वजनिक गरेको सो पत्रका अनुसार बीपीले चाउ एनलाइलाई २४ असारमा पठाएका दुईवटा पत्रमा क्षतिपूर्ति माग गरिएको थियो। 

‘जुलाई ७ तारिख (२४ असार २०१७) मा पठाउनु भएको पत्रमा महामहिम (प्रधानमन्त्री बीपी) ले चीन सीमाना (मुस्ताङ) मा भएको घटनामा नेपाललाई भएको हानिनोक्सानीका लागि ५० हजारको क्षतिपूर्तिको माग गर्नुभएको रहेछ,’ २९ असारमा प्राप्त पत्रमा चिनियाँ प्रधानमन्त्रीले भनेका थिए, ‘चीन सरकार यो माग स्वीकार गर्दछ। निकट भविष्यमा उक्त रकम श्री ५ को सरकार नेपालको नाममा चलान गरिनेछ।’  

मुस्ताङ घटनामा आफ्नो पक्षले गल्ती गरेको चिनियाँ प्रधानमन्त्रीको स्वीकारोक्तिपछि बीपीले क्षतिपूर्तिको माग गरेका थिए। घटनालगत्तै संसदमा दिएको  वक्तव्यमा बीपीले ‘वैरभावको कारबाही (घटना) बाट हुन गएको क्षतिको निम्ति चीन सरकारसँग क्षतिपूर्ति माग गर्ने अधिकार नेपाल सरकारसँग रहेको’ उल्लेख गरेका थिए। 

त्यसै अनुसार उनले २४ असारमा क्षतिपूर्ति माग गर्दै पत्र लेखे। पाँच दिन नबित्दै चिनियाँ प्रधानमन्त्रीले तत्काल क्षतिपूर्ति रकम उपलब्ध गराइने वचनबद्धता प्रकट गरे।

चीन भ्रमणको क्रममा चाउ एनलाइ र बीपी

नेपालले क्षतिपूर्ति रकम प्राप्त गर्ने पत्र प्राप्त भएलगत्तै त्यसैदिन (२९ असार) बीपीले चाउ एनलाइलाई फेरि पत्र लेखे। त्यो पत्रको बेहोरा हेर्दा त्यो ५० हजार रकम नेपालले तत्काल प्राप्त गरेको अनुमान गर्न सकिन्छ। 

जस्तो कि सोही दिन चिनियाँ प्रधानमन्त्रीलाई पठाएको पत्रमा बीपीले भनेका छन्, ‘मुस्ताङ इलाकाको सीमानामा भएको दुर्घटनामा हुन गएको भौतिक क्षतिको क्षतिपूर्तिमा प्रतीकस्वरुप हामीले माग गरेको ५० हजार रुपियाँ रकम चीन सरकारले शीघ्रतासाथ चलान गरेकोमा म त्यसका लागि धन्यवाद व्यक्त गर्न चाहन्छु। श्री ५ को सरकारले क्षतिपूर्ति दिने यस तत्परतालाई हाम्रा दुई देशको मैत्री कायम र अझ सुदृढ गर्ने तपाईंको इच्छाको प्रमाणको रुपमा सराहना गरेको छ।’  

नेपालले माग गरेजति क्षतिपूर्ति रकम चीनबाट प्राप्त भएकोमा बीपी सन्तुष्ट पनि थिए। यो सन्तुष्टि उनले ७ भदौ (२०१७) मा प्रतिनिधि सभाको बैठकमा प्रकट गरेका थिए। बीपीले भनेका थिए, ‘श्री ५ को सरकारले जति क्षतिपूर्ति मागेको थियो, चीनले त्यति नै क्षतिपूर्ति प्रदान गरेको छ।’ 

विपक्षी दलका नेता भरत शमशेरको प्रश्नमा बीपीले यस्तो जवाफ दिएका थिए। 

‘मुस्ताङमा चिनियाँहरुले सुबेदार मारेको घटनालाई ५० हजार रुपियाँ क्षतिपूर्ति दिँदा सरकार खुसी भयो भनियो,’ बीपीको भनाइ थियो, ‘५० हजार रुपियाँ मानिसको जीवनको मूल्य होइन, जीवनको मूल्य त तोक्न पनि सकिँदैन। त्यो क्षतिपूर्ति केवल प्रतीकात्मक मात्र हो।’

मुस्ताङ घटनामा गल्ती चीनकै थियो। त्यसैले, बीपीले लिएका अडान र क्षतिपूर्तिको मागको प्रसंशा पनि भयो। क्षतिपूर्तिको विषयलाई चीनले पनि त्यति ठूलो विषय बनाएन। किनकि, माफी र क्षतिपूर्तिपछि नेपालमा बढिरहेको चीनप्रतिको आक्रोश पनि साम्य भयो। नेपाल–चीन सम्बन्ध पूर्ववत् सामान्य स्थितिमा फर्कियो। 

तर, चीनले प्रदान गरेको त्यो क्षतिपूर्ति रकम प्रधानमन्त्री बीपीले पीडित परिवारलाई उपलब्ध गराएनन्। त्यहीकारण स्व. बमप्रसादकी ८४ वर्षीया विधवा लीलादेवी अहिले पनि बीपीप्रति आक्रोशित छिन्।

लीलादेवीको आक्रोश नाजायज छैन। किनकि मुस्ताङ घटनामा भएको मुख्य क्षति नै बमप्रसादको जीवन थियो। यो कुरा बीपीले समेत स्वीकार गरेका थिए। यति थाहा हुँदाहुँदै पनि उनीबाट स्व. बमप्रसादको परिवारमाथि अन्याय हुनपुग्यो।   

क्षति एकातिर, क्षतिपूर्ति अर्काेतिर
प्रतिनिधि सभाको २८ असार (२०१७) को बैठकमा प्रधानमन्त्री बीपीले ‘मुस्ताङ घटना’ बारे लामो वक्तव्य दिएका थिए। उनको वक्तव्यमा मुस्ताङ घटनामा भएको क्षति र विकसित घटनाको विवरण थियो। 

त्यो वक्तव्यका अनुसार मुस्ताङमा चिनियाँ सेनाको गोली दुई जना नेपालीलाई लागेको थियो। तीमध्ये एक बमप्रसाद थिए, जो तत्काल मारिए। गोली लागेका अर्का व्यक्तिको नाम ‘डुण्डु’ थियो। चिनियाँ र नेपाली भाषा जान्ने उनलाई बमप्रसादले अनुवादकको रुपमा लगेका थिए। 

घटनापछि मृतक बमप्रसाद, घाइते डुण्डु र नेपाली टोलीका सबै सदस्यलाई चिनियाँ सेनाले नियन्त्रणमा लिए। बमप्रसाद चढेको घोडा, उनको दुरबिन, घडी समेत चिनियाँ सेनाले कब्जा गरेको प्रधानमन्त्री कोइरालाले बताएका थिए।  

तर, घटनाको भोलिपल्टदेखि नै प्रधानमन्त्री बीपी र चिनियाँ प्रधानमन्त्री चाउ एनलाइबीच पत्राचार सुरु भयो। त्यसपछि २१ असारमा चिनियाँ पक्षले बमप्रसादको शव लगायतका कब्जामा लिएका १० जना र सम्पूर्ण सामग्री औपचारिक रुपमा हस्तान्तरण गर्यो। 

बाँकी ६ जनालाई भने त्यसअघि नै चिनियाँ पक्षले मुक्त गरिसकेको थियो।  

बीपीले संसदमा दिएको यो विवरणबाट के देखिन्छ भने ‘मुस्ताङ घटना’ मा भएको मुख्य क्षति भनेकै बमप्रसादको मृत्यु थियो। यो गम्भीर र अपुरणीय क्षति थियो। अर्काे क्षति डुण्डुलाई गोली लाग्नु र घाइते हुनु हो।  

यस हिसाबले चीनले उपलब्ध गराएको क्षतिपूर्तिको वास्तविक हकदार मृतक बमप्रसाद (को परिवार) र भाषा अनुवादकको रुपमा लगिएका घाइते डुण्डु हुनुपर्ने हो। 

तर, बीपीले बमप्रसादकी विधवा लीलादेवीप्रति न्याय गरेनन्। घाइते डुण्डुले प्राप्त गरेजति रकमसमेत लीलादेवीले प्राप्त गर्न सकिनन्। 

‘घाइते (डुण्डु) को उपचारका लागि भनेर सरकारले दुई हजार दिएको थियो,’ हाल इनरुवा–३ (सुनसरी) मा बसोबास गर्दै आएकी ८४ वर्षीया लीलादेवीले भनिन्, ‘म दुई जिउकी थिएँ, सुत्केरी खर्च भनेर सरकारले जम्मा एक हजार रुपियाँ दियो।’  

रक्षा मन्त्रालयको २६ साउन २०७२ को एउटा पत्रले पनि चीनले क्षतिपूर्तिवापत पठाएको ५० हजार रुपियाँ लीलादेवीले प्राप्त गरेकी थिइनन् भन्ने कुरा पुष्टि गर्छ। रक्षा मन्त्रालयले अर्थ मन्त्रालयलाई लेखेको सो पत्रमा बमप्रसादको मृत्यु भएपछि क्षतिपूर्तिवापत उनको परिवारले प्राप्त गर्नुपर्ने रकम त्यो बेला (२०१७ मा) प्राप्त नगरेको स्पष्टसँग उल्लेख गरिएको छ। 

रक्षा मन्त्रालयले २६ साउन २०७२ मा अर्थ मन्त्रालयलाई पठाएको पत्र

यद्यपि, सरकारले लीलादेवीलाई २०५१ असारमा ५० हजार रुपियाँ उपलब्ध गराएको थियो। तर, त्यो रकम क्षतिपूर्ति थिएन, बमप्रसादले सेनामा सेवा गरेवापत प्राप्त गर्ने ‘उपदान’ वापतको रकम थियो।

‘उहाँको मृत्यु हुँदा ५० हजार रुपियाँ निकै ठूलो रकम थियो। २०५१ सम्म आइपुग्दा सो रकमको मूल्य कति हुन्थ्यो, त्यसअनुसार हिसाब गरेर दिनुपर्ने हो,’ उनले असन्तुष्टि व्यक्त गरिन्, ‘तर, ‘दान’ दिएजसरी ‘उपदान’ भनेर २०५० मा मात्र ५० हजार रुपियाँ दिइयो।’ 

अर्थ मन्त्रालयले देखाउँछ, विसं २०१७ देखि २०५० सम्म वार्षिक औसत १३.१ प्रतिशतले मुद्रास्फिति भएको थियो। मुद्रास्फितिको यो दर अनुसार विसं २०१७ को ५० हजार रुपियाँको मूल्याङ्कन २०५० मा १२ लाख ७० हजार ४ सय ६२ हुन्थ्यो। 

यो त सरकारी निकायले निकालेको हिसाब हो। विसं २०१७ मा ५० हजार रुपैयाँको वास्तविक मूल्य सरकारी हिसाबकिताब भन्दा कैयौँ गुणा बढी थियो। 

‘विसं २०२५ मा पुल्चोक (ललितपुर) मा चार रोपनी क्षेत्रफल जग्गासहितको दुई तले घर फेला पारेकी थिएँ, घरधनीले ७ हजार रुपियाँ दिए त्यो घरजग्गा बेच्छु भनेका थिए,’ लीलादेवीले भनिन्, ‘चीनले दिएको रकम मैले पाएकी भए त्यो घरजग्गा किन्न सक्थेँ। सरकारले दिएन। त्यसपछि म अबलाले त्यति धेरै रकम कहाँबाट ल्याएर किन्नु?’ 

राजाबाट पनि नपाएको न्याय 
मुस्ताङ घटना सीमा सम्बन्धी मामिला भएकाले घटनाबारे नापी विभागका पूर्वमहानिर्देशक एवं सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई पनि जानकारी छ। 

‘घटनाप्रति चीनले माफी मात्र मागेन, क्षतिपूर्ति रकम पनि तत्काल नेपाल सरकारलाई उपलब्ध गरायो,’ स्व. बमप्रसादको गृहजिल्ला ओखलढुङ्गामै जन्मे–हुर्केका सीमाविद् श्रेष्ठले भने, ‘तर, बमप्रसादको परिवार (श्रीमती) ले त्यो क्षतिपूर्ति पाउन सक्नु भएन। यो दुर्भाग्यपूर्ण विषय हो।’ 

श्रेष्ठका अनुमानमा बमप्रसादको श्रीमती हुन् भन्ने पुष्टि हुने कागजात नभएको बहानामा सरकारले सो रकम उपलब्ध नगराएको हुनसक्छ। 

‘त्यो बेला नागरिकताको प्रचलन थिएन। तर, चिनियाँ सेनाबाट मारिएकाले बमप्रसाद चर्चित भइसकेका थिए,’ श्रेष्ठले भने, ‘उहाँ तिनै बमप्रसादकी श्रीमती हुनुहुन्छ भन्ने मुचुल्का खडा गरी गाउँलेको हस्ताक्षर गराएको भए भइहाल्थ्यो। तर, त्यत्ति पनि नगरी पाउनुपर्ने क्षतिपूर्ति रकम प्रदान गरिएन।’ 

श्रेष्ठले भनेजस्तै बमप्रसाद मारिएको घटना राष्ट्रिय–अन्तर्राष्ट्रिय रुपमै चर्चित भएकाले लीलादेवी बमप्रसादकी श्रीमती हुन् भन्ने मुचुल्कामा हस्ताक्षर गर्न सम्भवतः ओखलढुङ्गाका स्थानीय र नातेदारहरुले पनि नाइँनास्ती गर्ने थिएनन्। 

अर्काे नजानिँदो अप्ठेरो पनि थियो। त्यो हो– बमप्रसादले सेनामा पेस गरेका कागजातमा ‘हकवाला’ भनेर आफ्नी आमाको नाम उल्लेख गरेका थिए। सम्बन्धित व्यक्तिको मृत्यु भए प्राप्त हुने रकम र अन्य सुविधाको हकदार ‘हकवाला’ उल्लेखित व्यक्ति हुने प्रचलन छ। 

बमप्रसाद १७ साउन २००५ मा नेपाली सेनामा प्रवेश गरेका थिए। त्यो बेला लीलादेवी ९ वर्षकी मात्र थिइन्। सम्भवतः लीलादेवी नाबालक भएकाले बमप्रसादले ‘हकवाला’ को रुपमा आमाको नाम उल्लेख गरेका थिए।

‘हकवाला आमाको नाम उल्लेख गरेकाले उहाँको मृत्युपछि सेनामा जम्मा भएको रकम सासू–ससुराले बुझ्नुभयो र ओखलढुङ्गातर्फ लाग्नुभयो। उहाँका मालसामान पनि उहाँहरुले नै लग्नुभयो,’ लीलादेवीले सुनाइन्, ‘सुत्केरी खर्च भनेर प्रदान गरेको त्यही एक हजार रुपियाँमा मैले चित्त बुझाउनु पर्यो।’ 

‘हकवाला’ आमा उल्लेख भए पनि क्षतिपूर्ति रकम लीलादेवीले प्राप्त गर्न सक्थिन्। ‘हकवाला’ को रुपमा सेनामा जम्मा भएको रकम मात्र आमाले पाउँथिन्। सरकारले विशेष निर्णय गरेर क्षतिपूर्ति रकम बमप्रसाद–पत्नी लीलादेवीलाई दिने निर्णय गर्न सक्थ्यो। सरकारले छुट्टै व्यवस्था गरेर उपलब्ध गराएको रकममा बमप्रसादकी आमाको हक लाग्दैनथ्यो। 

तर, चीनले उपलब्ध गराएको क्षतिपूर्ति रकम स्व. बमप्रसादकी विधवा पत्नी लीलादेवीलाई उपलब्ध गराउन प्रधानमन्त्री बीपी संवेदनशील देखिएनन्। 

लीलादेवीका भनाइमा चीनले नै ५० हजार रुपियाँ उपलब्ध गराएपछि नेपाल सरकारले पनि केही रकम थपेर उनलाई उपलब्ध गराउँछ भन्ने चर्चा त्यो बेला धेरैले गर्थे।  

‘किन धेरै पीर गर्नुपर्यो, चीनले ५० हजार रुपियाँ दिइसक्यो, त्यसमा नेपाल सरकारले पनि थपथाप गरेर तिमीलाई अझै धेरै रकम दिन्छ भनेर सेनाका कर्साब–जर्साबहरुले भन्थे,’ उनले सम्झिन्, ‘त्यति धेरै रकम पाएपछि आफ्नै घर–गाडी हुन्छ, अब जन्मने बच्चालाई पढाउने व्यवस्था पनि सरकारले गर्छ भन्दै आउँथे।’ 

बाहिरी अनुमान र शुभेच्छाका भाषा थिए यी। तर, बमप्रसादको नासोको रुपमा पेटमा हुर्कंदै गरेकी छोरी जन्मेपछिका लागि सुत्केरी खर्चबापत एक हजारबाहेक कुनै रकम प्राप्त गरेकी थिइनन्। 

त्यसैले, चीन सरकारले उपलब्ध गराएको त्यो रकमबारे बुझ्न लीलादेवी प्रधानमन्त्री बीपी कोइरालासँग भेट गर्न गइन्। त्यो बेला प्रधानमन्त्री निवास त्रिपुरेश्वरमा थियो। 

बीपीले लीलादेवीसँग सोधेछन्, ‘त्यो रकम पायौ भने के गछ्र्याै?’ 

‘ब्याङ्कमा राख्छु, त्यसबाट आउने ब्याजले घरखर्च चलाउँछु भनेँ,’ लीलादेवी भन्छिन्, ‘बीपीको भनाइ थियो, ठीक भन्यौ। त्यसै गर्नुपर्छ।’ 

बीपीले फेरि सोधे, ‘माइतमा को–को छन्। आमा–बा छन् कि छैनन्?’ 

लीलादेवीकी आमाको मृत्यु भइसकेको थियो। आमाको मृत्युपछि पिता भवकृष्ण निरौलाले अर्की श्रीमती ल्याएका थिए। लीलादेवीले यही कुरा सुनाइन्। 

‘माइतीमा त्यस्तो, घरमा पनि यस्तो...’ बीपीले भनेका शब्द अहिले पनि लीलादेवीले बिर्सेकी छैनन्, ‘कति अभागी पुर्पुरो रहेछ नि तिम्रो!’ 

बीपीले भनेको यो कुरा लीलादेवीको हृदयलाई अहिले पनि बिझाइरहन्छ।  

‘हो, म अभागी नै ठहरिएँ। तर, मलाई झन् अभागी त बीपीले बनाए। मुस्ताङमा नेपाल सरकारको केही क्षति भएको होइन। सरकारको घोडा जस्ताको तस्तै थियो, सेनाको दुरबिनपनि जस्ताको तस्तै फिर्ता आएको हो। त्यसो भएपछि चीनले क्षतिपूर्ति भनेर दिएको रकममा मेरो हक लाग्ने होइन? तर, बीपीले यो कुरा सोचेनन्। मेरा लागि चीनले पठाएको पैसा मलाई दिएनन्।’  

लीलादेवी 

सरकारले त्यो रकम रकम नदिने देखेपछि लीलादेवीले दरबार गुहार्ने निधो गरिन्। शुभेच्छुकहरुले उनलाई सुझाव दिए, ‘राजा महेन्द्र दर्शनका लागि महाकांल र भद्रकाली मन्दिर गइरहन्छन्। त्यहीँ गएर राजालाई बिन्तीपत्र बुझाउनू।’ 

उनी अब बिहानै यी मन्दिरमा पुगेर राजा महेन्द्रको प्रतीक्षा गर्न थालिन्। एकदिन राजा महेन्द्र मन्दिर आए। राजालाई भेटेर उनले आफ्नो श्रीमानको मृत्युबारे बताइन्, क्षतिपूर्ति रकम नपाएको गुनासो गरिन्। लीलादेवीका भनाइमा यो बीपी नै प्रधानमन्त्री हुँदाको कुरा हो।

मुस्ताङ घटना हुँदा राजा महेन्द्र अमेरिका–युरोप भ्रमणमा थिए। तर, त्यति चर्चित घटनाबारे उनलाई जानकारी नहुने कुरा थिएन। 

राजा महेन्द्रले ‘म हेरुँला’ भन्दै बिन्तीपत्र बुझे। केही दिनपछि उनलाई दरबारको पत्र प्राप्त भयो। उत्साहित हुँदै उनले पत्र खोलिन्। दरबारको पत्र निराशाजनक थियो। 

‘आवश्यक कारबाहीका लागि रक्षा मन्त्रालयमा लेखेर पठाइएको छ,’ त्यसमा लेखिएको थियो, ‘अब उतैबाट कारबाही हुन्छ।’ 

सेनाको बलमा राजा महेन्द्रले १ पुस २०१७ मा बीपीमाथि ‘कू’ गरे। 

जानकारहरु के बताउँछन् भने चीनले क्षतिपूर्तिस्वरुप दिएको रकम बमप्रसादको परिवारलाई नदिएकोमा सेनाभित्र बीपीप्रति असन्तुष्टि बढेको थियो। यही कारण पनि बीपीविरुद्धको ‘कू’ मा सेनाको साथ पाउन राजा महेन्द्रलाई सहज भयो कि!  

तर, राजा महेन्द्रले पनि लीलादेवीलाई न्याय दिलाउने प्रयास गरेनन्। 

‘यो यत्तिकै बस्दिन, केही वर्षपछि अन्तै हिँडिहाल्छे भनेर होला, पाउनुपर्ने रकम मलाई दिइएन,’ लीलादेवीले भनिन्, ‘नत्र त्यो रकम मैले नपाउनुपर्ने कुनै कारण थिएन।’  

जीन्दगीका सुख–दुःख
बमप्रसादको मृत्यु सैनिक ड्युटीका क्रममा भएको थियो। महेन्द्र दल गणका थिए, कर्णेल गुण शमशेर राणा। बमप्रसादको विशेष क्षमताका कारण कर्णेल राणा उनलाई निकै मन पराउँथे। राणाको चाहना विपरीत बमप्रसाद मुस्ताङ गएका थिए। दुर्भाग्य! मारिए। 

सासू कडा स्वभावकी थिइन्। त्यसैले, उनले ओखलढुङ्गा जानुसाटो काठमाडौँमै रहने निर्णय गरिन्। राणा परिवारले केही दिन बानेश्वरस्थित निवासमा लीलादेवीलाई शरण दियो। 

लीलादेवीको गर्भमा छोरी हुर्किरहेकी थिइन्। यस्तोमा सधैँ गुण शमशेरको घरमा बसिरहन सम्भव थिएन। सुत्केरी हुनेबेला आएपछि एकजना नातेदारसँग बस्ने गरी लीलादेवी पुल्चोक सरिन्। 

छोरी जन्मेको दुई महिनापछि गुण शमशेरले भनसुन गरेर उद्योग विभागमा जागिरको व्यवस्था गरिदिए। विभाग अन्तर्गतको गलैँचा शाखामा उनको जागिर थियो। दुई महिनाकी छोरी काखमा बोकेर उनी त्रिपुरेश्वरस्थित विभागमा दिन बिताउँथिन्। 

‘हाकिमले बच्चा लिएर आउने हो भने जागिर दिन्नौँ भनेका थिए, मेरो मुख जोर्ने केही उपाय थिएन,’ उनले सम्झिन्, ‘म बमप्रसादकी श्रीमती हुँ। छोरीले मेरो काममा ‘डिस्टर्ब’ गर्दिन, जे–जस्तो भए पनि काम गरिरहन्छु भनेपछि बल्लबल्ल काममा राखे।’

बाल्यावस्थाकी छोरी गीताका साथ लीलादेवी 

पछि गलैँचा शाखालाई उद्योग विभागबाट छुट्ट्याइयो। र, कार्यालय जाउलाखेल सारियो। पछि गलैचा शाखा खारेजीमा पर्यो। लीलादेवीले जागिर गुमाइन्। 

त्यसैताका सेनाले लीलादेवीका लागि बैंकमा १५ हजार रुपियाँ जम्मा गरिदिएको थियो। त्यो रकम चीनबाट प्राप्त क्षतिपूर्तिवापतको रकम हो वा नेपाली सेनाले आफै जम्मा गरिदिएको हो, त्यो लीलादेवीलाई हेक्का छैन।  

मूल रकम उनले चलाउन पाउन्नथिन्। ब्याज प्राप्त हुन्थ्यो। त्यसैले, सामान्य खर्च चलाउन अप्ठेरो परेन। 

तर पछि त्यो रकम उत्पादनमूलक काममा लगाउने भनेर सेनाले अर्कैतिर लगानी गर्यो। सेनाका आश्रित परिवारलाई आम्दानी हुने गरी स्थापना गरिएको आन्तरिक संस्थामा त्यो रकम लगाइएको थियो। त्यसको हर्ताकर्ता प्रधानसेनापति नीर शमशेर राणाकी बहिनी कमल राणा थिइन्। 

त्यो रकम त्यता स्थानान्तरण गरिएपछि लीलादेवीका दुःखका दिन फेरि सुरु भए। उनी त्यो रकम आफूले पाउनुपर्ने माग गर्दै जंगी अड्डा धाउँथिन्। तर, रकम प्राप्त गर्नु त परकै कुरा भयो, उच्च अधिकृतहरु उनलाई हप्काउँदै पठाउँथे। 

‘सेनामा राणाहरुको बोलबाला थियो। उनीहरुले जे भन्यो, त्यही सहनुपथ्र्याे। नत्र थुनिदिन्थे,’ उनले भनिन्, ‘उनीहरुले गाली गर्न त्यो बेला प्रयोग गरेका शब्दहरु म सुनाउन सक्दिनँ।’  

नीर शमशेरपछि सुरेन्द्रबहादुर शाह प्रधानसेनापति भए। शाह सेनामा तल्लो दर्जाप्रति विशेष सहानुभूतिशील मानिन्थे। लीलादेवी प्रधानसेनापति शाहलाई भेट्न डिल्लीबजारस्थित उनको निवास गइन्। 

प्रधानसेनापति शाहले लीलादेवीका दुःख–वेदना सुने। लीलादेवीका दुखका कहानीले उनलाई द्रविभूत बनायो। 

‘के गर्नु, हाम्रै सेनाका मान्छेले यस्ता बेसहारालाई पनि रुवाउँछन् भन्दै उहाँले दुख प्रकट गर्नुभयो। उहाँले मलाई आर्मी हेडक्वार्टरमा आउन भन्नुभयो। म हेडक्वार्टर पुगेँ,’ लीलादेवीले भनिन्, ‘त्यहाँ मलाई उहाँले ८ सय रुपियाँ दिनुभयो।’

प्रधानसेनापति शाहले निवर्तमान प्रधानसेनापति राणासँग पनि कुराकानी गरे। बहिनी कमल राणा नेतृत्वको संस्थामा रहेको त्यो १५ हजार रुपियाँ लीलादेवीलाई फिर्ता गर्ने व्यवस्था मिलाइदिए। लीलादेवीका भनाइमा त्यो रकम दिलाउन प्रधानसेनापति शाहको निवर्तमान प्रधानसेनापति राणासँग फोनमा झगडा नै परेको थियो। 

यसरी प्राप्त रकमबाट उनले ओखलढुङ्गामा केही जग्गा किनिन्। पछि त्यो जग्गा बेचिन्। बेच्दा केही बढी रकम प्राप्त भयो। अहिले इनरुवा–३ मा उनी जुन घरजग्गामा बस्छिन्, यो त्यसैको उपज हो।  

जस्ता बीपी, त्यस्तै गिरिजा
‘मुस्ताङ घटना’ मा क्षतिपूर्ति रकम त न्यायोचित रुपमा प्राप्त गरिनन् नै, पारिवारिक निवृत्तिभरण (पेन्सन) लिन पनि उनलाई उस्तै हम्मे भयो। 

जतिबेला बमप्रसाद मारिए, त्यो बेला नेपाली सेनामा पारिवारिक निवृत्तिभरणको व्यवस्था थिएन। जब पारिवारिक निवृत्तिभरणको व्यवस्था सेनाले सुरु गर्यो, उनीसँग बमप्रसाद नेपाली सेनामा थिए भन्ने कागजात थिएन। 

लामो समयसम्म त उनलाई पेन्सन प्राप्त हुन्छ भन्ने जानकारी पनि थिएन। 

बमप्रसादको मृत्यु हुँदा गर्भमै रहेकी छोरी गीतादेवीलाई उनले दुःख गरेर हुर्काइन्, बढाइन् र आई.ए.सम्म पढाइन्। गीतादेवी इनरुवामै स्थानीय क्याम्पसमा पढ्थिन्। 

उनलाई पढाउने केही शिक्षकहरुलाई मुस्ताङ घटनाबारे जानकारी रहेछ।   

‘मेरा गुरुहरुले तपाईंको बुबा यस्तो मान्छे हो, दाबी गर्ने हो भने सरकारबाट तपाईंहरुले अहिले पनि लाखौँ रुपैयाँ प्राप्त गर्नसक्नु हुन्छ भन्नु भयो,’ गीतादेवीले भनिन्, ‘तर, बुबा नेपाली सेनामा हुनुहुन्थ्यो भन्ने प्रमाणित गर्न हामीसँग कागजात थिएन।’

तैपनि गोमादेवीले पिता बमप्रसादबारे सोधखोज सुरु गरिन्। पिताको सैन्य सेवाको रेकर्ड खोजी गर्दै उनी जंगी अड्डा पुगिन्। त्यहाँको अभिलेख शाखाका अधिकारीहरुलाई मुस्ताङ घटनाको बेलिविस्तार लगाइन्। आमा र आफ्नो अवस्थाबारे बताइन्। 

‘त्यसो भए तपाईंहरु बमप्रसादकै परिवार हो भन्ने प्रमाण के छ?’ अभिलेख शाखाका अधिकारीहरुले गोमादेवीलाई भने, ‘त्यो प्रमाण पेस नगरी पेन्सनको अन्य प्रक्रिया अघि बढ्न सक्दैन।’

संयोगवश बमप्रसाद र लीलादेवीको एउटा तस्बिर उनीसँग थियो। मुस्ताङ जानुअघि उनले पोखराको एउटा सैनिक वनभोजमा उनले लीलादेवीसँगै बसेर त्यो फोटो खिचाएका थिए। बमप्रसाद त्यो तस्बिरमा पूर्ण सैनिक पोसाकमा देखिन्छन्। तस्बिरको पछिल्तिर उनी कार्यरत महिन्द दल गणको छाप थियो।

पोखरामा बमप्रसाद र लीलादेवी 

त्यो तस्बिर देखेपछि गीतादेवी बमप्रसादको परिवारकी सदस्य हुन् भन्ने निक्र्याेल जङ्गी अड्डाका अधिकारीहरुले गरे। त्यसपछि जङ्गी अड्डामा पुराना रेकर्डहरुको ढट्टा पल्टाउन सुरु भयो। 

रेकर्डमा बमप्रसाद भेटिए। उनी १७ साउन २००५ मा नेपाली सेनामा भर्ना भएको देखियो। 

लीलादेवी तिनै बमप्रसादकी श्रीमती हुन् भन्ने कुरा उनीसँग रहेको नागरिकताले प्रमाणित गर्यो।

त्यतिन्जेलसम्म सैनिकका विधवाले पारिवारिक निवृत्तिभरण प्राप्त गर्ने व्यवस्था पनि सुरु भइसकेको थियो। डा. बस्न्यातको भनाइमा विसं २०३० को मध्यताकादेखि यस्तो प्रचलन सुरु भएको थियो।  

यति भएपछि लीलादेवीले पेन्सन प्राप्त गर्ने प्रक्रिया जङ्गी अड्डाले अघि बढायो। फाइल रक्षा मन्त्रालय पुग्यो। यसमा सामान्य प्रशासन मन्त्रालयले पनि स्वीकृति जनायो। 

लीलादेवी फाइल बोकेर जुनजुन मन्त्रालय पुग्थिन्, त्यो मन्त्रालयका सचिवहरु उनीप्रति सहानुभूति प्रकट गर्थे। 

‘मुस्ताङ घटना हामीले पनि सुनेका थियौँ, उहाँ (आमा लीलादेवी) जस्तो व्यक्तिका लागि पेन्सन दिलाउने कागजातमा हस्ताक्षर गर्न पाएकोमा गौरव लागेको छ भनेर सरकारी अधिकारीहरु भन्नुहुन्थ्यो,’ गीतादेवीले भनिन्, ‘त्यसैले, कर्मचारी तहबाट हुनुपर्ने सबै काम फटाफटी भए।’  

तर, यस सम्बन्धी अन्तिम निर्णय मन्त्रिपरिषदले गर्नुपर्थ्यो। प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले रक्षा मन्त्रालय आफू मातहत राखेका थिए। प्रधानमन्त्री कोइरालासम्म पुग्न गीतादेवीले चिनजानका आफन्तमार्फत् कांग्रेस सभापति कृष्णप्रसाद भट्टराईको ढोका ढक्ढक्याइन्। 

२०१७ असारमा मुस्ताङ घटना हुँदा भट्टराई प्रतिनिधि सभाको सभामुख थिए। त्यस विषयमा संसदमा थुप्रै बहस भएकाले घटना र बमप्रसादबारे उनलाई जानकारी थियो। 

भट्टराईले प्रधानमन्त्री कोइरालाका ‘दाहिना’ सुशील कोइरालालाई बोलाएर लीलादेवीले पेन्सन पाउने व्यवस्था गरिदिन अह्राए। 

लीलादेवीका भनाइमा एक दिन सुशील उनलाई लिएर बालुवाटार गए। 

‘मेराबारे गिरिजाबाबुलाई सुनाउँछु भन्दै गए। माथिल्लो तलाको बार्दलीमा गिरिजा ढल्किएर बसेका थिए। सुशीलले मेराबारे कुरा गरेको तलैबाट मैले देखेँ,’ लीलादेवीले भनिन्, ‘तर, गिरिजाले मलाई भेट्नसमेत मानेनन्। म बिहानदेखि बेलुकीसम्म बालुवाटार बसेँ र साँझपख त्यत्तिकै फर्कें।’   

लीलादेवीलाई पेन्सन दिलाउने प्रस्ताव केही दिन त्यत्तिकै रह्यो। प्रधानमन्त्रीले नै चासो नदिएपछि कसको के लाग्छ? 

प्रधानमन्त्री छँदा बीपी र गिरिजा दुवैको व्यवहारले देखाउँछ कि बमप्रसाद र उनको परिवारप्रति उनीहरु संवेदनशील थिएनन्। यो संयोगमात्र हो वा यसका पछाडि कुनै कारण थियो? यो खोजीको विषय हो। 

कतै बीपी–गिरिजाको नेपाली सेनाप्रतिको नकारात्मक दृष्टिकोणको मारमा लीलादेवी परेकी त होइनन्!

लीलादेवीको पेन्सन सम्बन्धी फाइल त्यत्तिकै रोकिएको थियो। त्यहीबेला २०५० चैतमा नेपाल–भारत सम्बन्धमा मुस्ताङ घटनाजस्तै तनाव सिर्जना गर्ने एउटा घटना भयो।

 पेन्सन सम्बन्धमा सेनाको टिप्पणी

त्यही घटनापछि प्रधानमन्त्री कोइराला पेन्सन दिने निर्णय गर्न बाध्य भएको लीलादेवीका आफन्तजनहरु बताउँछन्।  

‘त्यो बेला हातहतियारसहितको भारतीय प्रहरीले बानेश्वर (काठमाडौँ) को एउटा घरमा छापा मारेको थियो, त्यसपछि संसदमा मुस्ताङ घटनाको सन्दर्भ पनि उठ्यो,’ लीलादेवीका छोरी–ज्वाइँ (गीतादेवीका श्रीमान्) सनत रेग्मीले भने, ‘त्यसपछि गिरिजा पेन्सन सम्बन्धी निर्णय गर्न बाध्य भएका हुन्।’ 

रेग्मीले उल्लेख गरेको घटना १४ चैत २०५० को हो। त्यसदिन बिहान ६.३५ बजे हातहतियारसहित आएका २० जना भारतीय प्रहरीले बानेश्वर (काठमाडौँ) सीडीओ टोल निवासी शिवप्रसाद शर्माको घर घेरा हालेका थिए। इद्रिस अन्सारी नामका व्यक्तिलाई देखाउन माग गर्दै उनीहरुले शर्माका भाइलाई पेस्तोल समेत ताकेका थिए। 

हातहतियारसहितका भारतीय प्रहरीको राजधानी काठमाडौँमै देखिएको यो हर्कतले संसद् ततायो, सडक पनि ततायो।     

त्यो बेला नेपाली कांग्रेसभित्र सभापति कृष्णप्रसाद भट्टराई र प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला पक्षबीच अन्तर्द्वन्द्व बढ्दै थियो। बानेश्वर घटनामा भट्टराई पक्षीय सांसदहरु पनि सरकारविरुद्ध आक्रामक रुपमा प्रस्तुत भए। उनीहरुले नै बीपी प्रधानमन्त्री हुँदा मुस्ताङमा बमप्रसाद मारिएपछि चिनियाँ प्रधानमन्त्रीले नेपाललाई क्षतिपूर्ति दिएको सन्दर्भ उठाए। 

‘प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाले आफ्नो शासनकालमा दुवै छिमेकी भारत र चीनलाई माफी मगाउन लगाउनु भएको थियो,’ कांग्रेस सांसद तारानाथ रानाभाटले १६ चैत (२०५०) को प्रतिनिधि सभा बैठकमा भने, ‘त्यस्तै परम्परा यसपटक पनि कायम गर्न म प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग माग गर्दछु।’ 

अर्का सांसद बालकृष्ण खाँणको भनाइ थियो, ‘(बीपीको पालामा) भारत र चीनले नेपालसँग माफी मागेको कुरा मैले मेरो पार्टीका तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाबाटै थाहा पाएको हुँ। आज उहाँ देशको प्रधानमन्त्री हुनुहुन्छ। तर आफ्ना पूर्वजले कायम गरेको राष्ट्रिय स्वाभिमानविरुद्धको आक्रमणको विरोध उहाँ किन गर्नुहुन्न?’ (कान्तिपुर, १७ चैत्र २०५०)

प्रमुख प्रतिपक्षी एमालेको माग थियो, बानेश्वर घटनाका सम्बन्धमा संसदीय छानबिन समिति गठन गरिनुपर्छ। यस्तो समिति गठन नहोउन्जेलका लागि संसद् स्थगनको प्रस्तावसमेत राखेको थियो एमालेले। भलै, त्यो प्रस्ताव २२ चैत (२०५०) को प्रतिनिधि सभा बैठकमा बहुमतले अस्वीकृत भयो। 

एकातिर बमप्रसादकी विधवा लीलादेवीको पेन्सन सम्बन्धी प्रस्ताव प्रधानमन्त्री कोइराला आफैँले थाती राखेका थिए, अर्काेतिर आफ्नै दलका सांसदहरुद्वारा उप्काइएको मुस्ताङ घटनाको स्मरण गराइरहेका थिए। 

संसदीय छानबिन समिति गठनको माग गर्दै एमालेले संसदमा अवरोध सिर्जना गरेपछि कोइराला अझै अप्ठेरोमा परे।  

यी घटनाहरुबाट तीव्र दबाबमा परेका प्रधानमन्त्री कोइरालाले १२ जेठ २०५१ मा बमप्रसादकी विधवा लीलादेवीलाई पेन्सन प्रदान गर्ने निर्णय गरे। मन्त्रिपरिषदको यो निर्णयपछि सैनिक अभिलेखालयले पेन्सन प्रक्रिया सुरु गरिदियो। सरकारले निर्णय गरेको दिन (१२ जेठ २०५१) देखि लागू हुनेगरी लीलादेवीले पेन्सन पाउने भइन्। 

पेन्सनपट्टाका साथ लीलादेवी

‘यदि बानेश्वर घटना नहुँदो हो त गिरिजाले पेन्सन सम्बन्धी निर्णय गर्ने थिएनन्,’ रेग्मीले भने, ‘मुस्ताङ घटनादेखि नै उहाँ अन्यायमा पर्नुभएको थियो। बानेश्वर घटनापछि बल्ल उहाँलाई न्याय मिल्यो।’ 

वैष्णव सम्प्रदायकी अगुवा लीलादेवीलाई इनरुवा–३ को मालपोतचोक वरिपरिका स्थानीय ‘वैष्णवी दिदी’ का रुपमा चिन्छन्। सुनसरी जिल्लामा उनी ‘हयग्रीव दासी’ का रुपमा सम्मानित छिन्। आफ्नो सम्प्रदायबारे प्रवचन दिन र सम्मान ग्रहण गर्न उनी विभिन्न ठाउँमा पुगिरहन्छिन्।

कुराकानीका लागि ९ असारमा इनरुवा पुग्दा लीलादेवी एउटा संस्थाले गरेको सम्मान ग्रहण गर्न सुनसरीको चतरा पुगेकी थिइन्। त्यसैले, भोलिपल्ट (१० असार) बिहानमात्र बमप्रसाद, मुस्ताङ घटना, त्यसपछि उनले बेहोरेका हण्डरठक्करबारे उनीसँग कुराकानी हुन पुग्यो। 

मुलुकका अन्य भागमा जस्तै त्यसदिन इनरुवामा पनि उखरमाउलो गर्मी थियो। पसिनाले छिनछिनमा निथ्रुक्क जिउ भिजाउँथ्यो। 

‘चीनले पठाएको पैसा बीपीले दिएको भए म अहिले यस्तो गर्मीमा बस्नुपर्ने थिएन,’ झण्डै तीन घण्टा लामो कुराकानीको अन्त्यमा लीलादेवीले भनिन्, ‘मलाई अन्याय गरेर बीपीले के पाए?’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .