ad ad

म्यागेजिन


सय वर्षअघि भएको नेपाल–बेलायत सन्धि, जसको उत्सवमा चढाइयो ८१ तोपको सलामी

यसकारण ‘ओभररेटेड’ हो त्यो सन्धि, जसको चोट अझै निको भएको छैन
सय वर्षअघि भएको नेपाल–बेलायत सन्धि, जसको उत्सवमा चढाइयो ८१ तोपको सलामी

नेपाल–ग्रेट ब्रिटेन सन्धिका क्रममा श्री ३ चन्द्र र ब्रिटिस एन्भोय ओकोनर। स्रोत : मदन पुरस्कार पुस्तकालय


सीताराम बराल
पुस ५, २०८० बिहिबार ७:१५, काठमाडौँ

राजधानी काठमाडौँको केन्द्र भाग त्यसदिन एकपछि अर्काे तोपहरुको आवाजले गुन्जायमान भइरह्यो। 

टुँडिखेलमा पहिलो तोप दिउँसो ठीक १२.३५ मा पड्क्यो। पहिलो तोपलाई पछ्याउँदै लगातार थप ३० तोपहरु पड्काइए। 

यसरी एकपछि अर्काे ३१ वटा पड्केपछि केही समयका लागि तोपको आवाज थामियो। 

पौने घण्टा थामिन नपाउँदै फेरि १ः१५ बजेदेखि तोपहरु पड्कन सुरु गरे। यसपटक पनि ३१ पटक पड्केपछि तोपको आवाज फेरि केही समयका लागि थामियो। 

तर, एकाध घण्टापछि फेरि तेस्रो पटक तोपको आवाज सुरु भयो। तेस्रो पटक १९ तोपहरु पड्काइए।  

सायद त्यति धेरै तोपहरु त्यसअघि राजधानीमा कहिल्यै पड्किएका थिएनन्, न त त्यसपछि नै। 

झण्डै तीन घण्टाको अवधिमा ८१ वटा तोप पड्काइनुको कारण चानचुने थिएन। 

त्यसदिन नेपाल र बेलायतबीच ७ धारासहितको एक विशेष सन्धि भएको थियो, जो नेपाल–बेलायतको इतिहासमा ‘सन् १९२३ को शान्ति तथा मैत्री सन्धि’ का रुपमा चिनिन्छ। 

त्यसैको खुसीयालीमा तीन चरणमा ३१–३१–१९ पटक तोप पड्काइएको थियो।  

तीनमध्ये पहिलो चरणको तोप ब्रिटिस एन्भोय (राजदूत) डब्लूएफटी ओकोनर सन्धिमा हस्ताक्षरका लागि लैनचौरस्थित लिगेसन (राजदूतावास) बाट निस्केपछि दिइएको सलामी थियो। 

जब सिंहदरबारमा दुई पक्षबीच सन्धिमा हस्ताक्षर भयो, दोस्रो चरणको ३१ तोप त्यसैका लागि पड्काइएको थियो।   

सन्धि सम्पन्न भएपछि श्री ३ महाराज चन्द्र शमशेर र ब्रिटिस एन्भोय ओकोनरले संक्षिप्त भाषण गरेका थिए। तेस्रो चरणको तोप तिनै सम्बोधनको सलामीका लागि थियो।  

सर्वसाधारणको जानकारीका लागि पर्चामार्फत् सार्वजनिक गरिएको नेपाल–ग्रेट ब्रिटेन सन्धि।स्रोत : मदन पुरस्कार पुस्तकालय

त्यो घटना ६ पुस १९८० (२१ डिसेम्बर १९२३) को थियो। त्यो सन्धि सम्पन्न भएको यस वर्ष (५ पुस २०८० अर्थात् २१ डिसेम्बर २०२३) मा एक सय वर्ष पूरा भएको छ।

‘गोर्खाली रगत’ को परिणाम   
सन् १९२३ को सन्धि नेपाल र ग्रेट ब्रिटेन (इस्ट इन्डिया कम्पनी सरकार) बीचको पहिलो सन्धि भने होइन। दुई पक्षबीच पहिलो सन्धि १ मार्च १७९२ मा भएको थियो, जो मूलतः दुई मुलुकबीचको व्यापार व्यवस्थित गर्न गरिएको थियो।  

दुई पक्षबीच दोस्रो सन्धि सन् १८०१ मा भयो। त्यो सन्धिका प्रावधानहरु हेर्दा त्यसको उदेश्य दुई मुलुकबीच शान्ति तथा मैत्री कायम गर्नका लागि थियो भन्ने देखिन्छ। अर्थात् दुई पक्षबीचको पहिलो शान्ति तथा मैत्री सन्धि त्यही थियो।  

नेपाल र इस्ट इन्डिया कम्पनीबीच तेस्रो सन्धि २ डिसेम्बर १८१५ मा भयो, जसलाई बोलीचालीको भाषामा ‘सुगौली सन्धि’ भनिन्छ। यो पनि दुई मुलुकबीचको ‘शान्ति तथा मैत्री सन्धि’ नै हो।

त्यसबाहेक सन् १८१६–१९२३ को अवधिमा पनि दुई मुलुक (नेपाल–ग्रेट ब्रिटेन) बीच आपसी सम्बन्ध, हातहतियार प्रदान, सुपुर्दगी जस्ता विषयमा सम्झौता र पत्र–व्यवहारहरु भए। त्यसैले, सुगौली सन्धिपछि दुई मुलुकबीच २१ डिसेम्बर १९२३ (६ पुस १९८०) को त्यो सन्धिलाई दुई मुलुकबीचको तेस्रो शान्ति तथा मैत्री सन्धि भन्न सकिन्छ।  

तर, भारतमा ब्रिटिस उपनिवेश छँदा ब्रिटिस (इस्ट इन्डिया कम्पनी) सरकार र नेपालबीच भएका सन्धि–सम्झौतामध्ये सबैभन्दा महत्वपूर्ण यिनै दुई अर्थात् सुगौली सन्धि (सन् १८१६) र सन् १९२३ को सन्धि नै हुन्। 

यसमध्ये सुगौली सन्धि नेपाल–अंग्रेज युद्धमा नेपालको पराजयको उपज थियो। नेपाल एकीकरण अभियान सुरु भएपछि काली नदीपारि नेपालले विजय गरेको ठूलो भूभाग सुगौली सन्धिमार्फत् गुमाएको थियो। 

सन् १९२३ को सन्धि चाहिँ राणा शासकहरुको ब्रिटिस इन्डियासँगको ‘सुमधुर सम्बन्ध’ को परिणाम थियो। त्यसैले, केही कमी–कमजोरीका बाबजुद यो सन्धिले अन्तर्राष्ट्रिय जगतमा नेपालको ‘स्वतन्त्र हैसियत’ उजागर गर्‍यो। 

ब्रिटिस राजघरानाका सदस्यहरुलाई पटक–पटक तराईका जंगलहरुमा गराइएको सिकार, शासन सञ्चालनमा ब्रिटिसहरुको दबाब–सुझाव ग्रहण, नेपालको सार्वभौमिकता र स्वतन्त्रताप्रति नै प्रश्न उठ्नेगरी ब्रिटिसहरुप्रतिको भक्तिभाव, भारतमा अंग्रेज शासनविरुद्ध सन् १८५७ को सिपाही विद्रोह दमनमा प्रधानमन्त्री (जंगबहादुर) कै नेतृत्वमा सहभागिता, राणा शासकहरु जंगबहादुर र चन्द्र शमशेरको बेलायत भ्रमण, कर्णेल योङ्ग हजब्यान्ड नेतृत्वमा सन् १९०४ मा ब्रिटिसले तिब्बतमाथि गरेको चढाइमा चन्द्र शमशेरको सहयोगले दुई मुलुकबीच ‘सुमधुर सम्बन्ध’ निर्माणमा महत्वपूर्ण भूमिका खेलेका थिए। 

श्री ३ चन्द्र 

तर, १९२३ को सन्धिको निर्णायक कारण भने पहिलो विश्वयुद्धमा ब्रिटिसलाई नेपालले गरेको सहयोग र सहभागिता थियो। 

डा. सुरेन्द्र केसीले नेपालको कूटनीतिक इतिहासमा उल्लेख गरेअनुसार, विश्वयुद्धमा चन्द्र शमशेरले ब्रिटिसलाई तीन प्रकारका सहयोग गरेका थिए– फौजी, आर्थिक तथा सामग्री र युद्ध सम्बन्धमा षडयन्त्रमूलक प्रचार र अन्य सूचनाहरुको सहयोग। 

विश्वयुद्धको सुरुवातपछि श्री ३ चन्द्रले नेपाली युवाहरुलाई ब्रिटिस फौजमा भर्ना गर्ने अनुमति ब्रिटिस सरकारलाई दिए, जबकि यस सम्बन्धमा कुनै सम्झौता थिएन। भर्ती खुलेपछि दुई लाख नेपाली युवाहरु ब्रिटिस सेनामा भर्ती भए। तिनले एसियादेखि युरोप र अफ्रिकासम्मको लडाईंमा भाग लिए। 

डा. केसीका भनाइमा, त्यसबाहेक ८ हजार नेपाली सैनिकलाई ब्रिटिसको नियमित सेनामा पठाइयो। यसैगरी फेब्रुअरी १९१५ मा ६ हजार, मार्च १९१४ मा ७ हजार ५ सय १ र १९१६–१८ को अवधिमा जनरल केशर शमशेर र शेर शमशेरको नेतृत्वमा ४ हजार २ सय ५७ नेपाली सैनिक विश्वयुद्धमा पठाइएको थियो। 

गोर्खा राइफलका चार बटालियनमध्ये पहिलोमा ६५८, दोस्रोमा पनि ६५८, तेस्रोमा ७७९ र चौथोमा १८०० फौज पनि सहयोगस्वरुप पठाइएका थिए।  

‘५६ लाख जनसंख्यामध्ये २८ लाख पुरुष जनसंख्या भएको नेपालले यत्रो फौज पठाउनुको तात्पर्य जनसंख्याको २० प्रतिशत फौज पठाउनु हो,’ डा. केसीले लेखेका छन्, ‘यो सामान्य कुरा थिएन।’ 

यो कुरा किन पनि सामान्य थिएन भने विश्वयुद्धमा नेपाली युवाहरुको भर्तीका कारण जनगणनामा पहिलो पटक नेपालको जनसंख्याको आकार नकारात्मक भेटिएको थियो। १९२३ को सन्धि सम्पन्न भएपछिको सम्बोधनमा ब्रिटिस एन्भोय ओकोनरले समेत यो कुरा स्वीकार गरेका थिए।  

‘हैसियत (आकार) र जनसंख्याको परिमाणमा नेपाल सानो होला,’ एन्भोय ओकोनरले भनेका थिए, ‘यति हुँदाहुँदै पनि विश्वयुद्धका बेला नेपालले अंग्रेजलाई गरेको सहयोग अन्य कुनै मुलुकको भन्दा कम छैन।’  

मूलतः दुई कारणले सन् १९२३ को सन्धिको महत्व नेपालका लागि महत्वपूर्ण हुन गयो। 

एक, सन् १८१६ मा भएको ‘सुगौली सन्धि’ नेपाल–अंग्रेज युद्धमा नेपालको हारको परिणाम थियो। युद्धमा नेपालले एक तिहाई भूभाग गुमाएको ‘लिखितम्’ अर्थात् ‘प्रमाण’ थियो– त्यो सन्धि। 

त्यस्तै प्रकृति (शान्ति तथा मैत्री) को सन् १९२३ को सन्धि गरिँदा भने नेपालले कुनै भूमि गुमाउनु परेको थिएन। 

यो सन्धिको दोस्रो महत्व चाहिँ ‘प्राज्ञिक’ हो। 

सो सन्धि सम्पन्न भएको एक सय वर्ष पुगेको उपलक्ष्यमा मदन पुरस्कार पुस्तकालयले गत शनिबार र आइतबार (२९–३० पुस) पाटनमा शतवार्षिक सम्मेलन आयोजना गरेको थियो। सम्मेलनमा निवर्तमान परराष्ट्रसचिव भरतराज पौड्यालले पेस गरेको कार्यपत्रमा उल्लेख भए अनुसार सम्पन्न भएपछि यो सन्धिलाई ३ अगस्ट १९२५ मा तत्कालीन ‘लिग अफ नेसन्स’ (राष्ट्रसंघ) मा दर्ता गरिएको थियो। 

‘दोस्रो विश्वयुद्धपछि राज्यहरुबीच हुने सन्धि–सम्झौताहरु पारदर्शीरुपले हुनुपर्ने ‘नव कूटनीति’ को मान्यता अगाडि आएको थियो,’ पौड्यालले कार्यपत्रमा लेखेका छन्, ‘त्यसै अनुसार नेपाल–ग्रेट ब्रिटेनबीचको सन्धिलाई ‘लिग अफ नेसन्स’ मा दर्ता गरिएको थियो।’ 

दोस्रो विश्वयुद्धपछि जब संयुक्त राष्ट्रसंघको स्थापना भयो, तब नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता दाबी गर्दा पेस गरेका कागजातमध्ये यो सन्धि सबैभन्दा महत्वपूर्ण थियो। किनकि, राष्ट्रसंघको सदस्यता दाबी गर्ने सम्बन्धित मुलुकले स्वतन्त्रता र सार्वभौमिकता पुष्टि हुनेगरी प्रमाण पेस गर्नुपर्थ्यो।

‘ओभररेटेड’ सन्धि 
श्री ३ चन्द्र र ओकोनरले हस्ताक्षर गरेको सन्धिलाई दुवै मुलुकका राष्ट्राध्यक्ष (नेपालका राजा, बेलायतकी रानी) हरुले अनुमोदन गरेका थिए। यस हिसाबले पनि यो सन्धिको प्राज्ञिक महत्व रहन गएको छ।

कतिपय विद्वानहरुले भने यो सन्धिलाई यसको हैसियतभन्दा बढी सकारात्मक मूल्याङ्कन गरेका छन्। उनीहरुले ‘त्यसअघि नेपाल स्वतन्त्र थिएन’ भन्ने अर्थ लाग्नेगरी १९२३ को सन्धिकै कारण नेपालको स्वतन्त्र हैसियत रहन गएको हास्यास्पद तर्क समेत गरेका छन्। यस्तो दाबी गर्नेमा सरदार भीमबहादुर पाँडे (स्व.) अग्रणी छन्। 

‘श्री ३ चन्द्रको नेपालप्रति सबभन्दा गहकिलो योगदान थियो, १९८० (१९२३) को नेपाल–भारत सन्धि, जुन सन्धिले नेपाल एक सार्वभौमसत्तासम्पन्न राष्ट्र हो भन्ने कुरा अंग्रेजको मुखबाट अभ्यन्तरमा बकायो,’ त्यसबखतको नेपाल (भाग १) मा पाँडे लेख्छन्, ‘नेपालमा ३१ वर्षसम्म प्रधानमन्त्री भएका जनरल श्री ३ भीमसेन थापा चुकेका, अर्काे ३० वर्ष प्रधानमन्त्री चलाउने श्री ३ महाराज जंगबहादुर राणाले सच्याउन नसकेको त्यो असमान सुगौली सन्धिलाई नेपालमा २८ वर्ष प्रधानमन्त्री भएका श्री ३ चन्द्रले सच्याए।’ 

सरदार पाँडेको यही कथन उद्धृत गर्दै केही विद्वान र अध्येताहरुले ‘सन् १९२३ को सन्धिका कारण नेपालको स्वतन्त्र हैसियत कायम भएको हो’ भन्ने दाबी गर्दै आएका छन्।

भीमसेन थापा

आफ्नो कलममार्फत् पाँडेले भीमसेन थापाको तेजोवध र श्री ३ चन्द्रको महिमामण्डन गर्नुका केही कारण छन्। भीमसेन थापाको यस्तो तेजोवध र श्री ३ चन्द्रको यो स्तरको महिमामण्डनको नाभीमा थापा–पाँडे परिवारबीचको ऐतिहासिक शत्रुता जोडिएको छ।  

थापा र पाँडे राजदरबारका भारदार खलक थिए। दुवैको नेपाल एकीकरणमा अतुलनीय योगदान र बलिदान थियो। नेपाली इतिहासको दुर्भाग्य! समयक्रममा सत्ताका लागि यी दुईपक्षबीच संघर्ष सुरु भयो। 

त्यो सत्तासंघर्षमा कहिले पाँडे पक्षले जित्यो, कहिले थापा पक्षले। आफ्नो पक्षलाई मजबुत बनाउन दुवैले राष्ट्रवादकै सहारा लिन्थे, तेजोवध गर्न अर्काे पक्षलाई ‘राष्ट्रघाती’ करार गर्थे।

जंगबहादुर राणाको उदय यिनै दुई शक्तिशाली भारदार खलकको सत्तासंघर्षले सिर्जना गरेको राजनीतिक अस्थिरताबीच भएको थियो।  

सरदार भीमबहादुर पाँडे त्यही खलकका सन्तान थिए, जसको थापा खलकसँग दुश्मनी थियो। कलममार्फत् पाँडेले भीमसेन थापाको बदला लिनु किन अस्वाभाविक थिएन भने उनका पुर्खाहरु भीमसेन थापाको ज्यादतीका सिकार भएका थिए। दामोदर पाँडे काटिएका थिए, बचेकाहरुको सर्वस्वहरण गरिएको थियो।   

सरदार पाँडेले भीमसेन थापाको ‘प्राज्ञिक दोहोलो’ काढ्नुको भित्री कारण यही हो। त्यो ‘दोहोलो’ का लागि उनले सन् १९२३ को सन्धिलाई आधार बनाए।   

तिनै पाँडेका कथनलाई आधार मानेर अहिलेका कतिपय विद्वानहरुले ‘सन् १९२३ को सन्धि मात्रै नेपालको स्वतन्त्रता र सार्वभौमसत्ताको रक्षाकबच बन्यो’ भनेर जस्तो दाबी गर्दै आएका छन्, त्यो गलत हो। 

सुगौली सन्धिमा कमीकमजोरी अवश्य छन्। तर, नेपालको सार्वभौमिकता र स्वतन्त्रताको सबैभन्दा बलियो रक्षाकबच सुगौली सन्धि नै हो।

भीमसेन थापाको शासनकालमा काटिएका काजी दामोदर पाँडे

एकीकरण अभियान सुरु भएपछि विजित पश्चिमी भूभागमा अंग्रेजसँग भएको युद्धमा नेपालको पराजय भइसकेको थियो। पराजयपछि अंग्रेज जनरल डेभिड अक्टरलोनी काठमाडौँ हान्न मकवानपुरतिरबाट अघि बढे। 

२०–२५ वर्षअघि कब्जा गरेको भूभाग नेपालले नालापानीदेखि काँगडासम्मको युद्धमा पराजयका कारण गुमाइसकेको थियो। अब जनरल डेभिड अक्टरलोनीको नेतृत्वमा अंग्रेज फौज मकवानपुर हुँदै राजधानी काठमाडौँ कब्जा गर्न अघि बढ्ने भएपछि नेपालको अस्तित्व संकटमा पर्‍यो।  

हो, सुगौली सन्धि त्यही अवस्थामा सम्पन्न भयो, जसले नेपालको सार्वभौमिकता र स्वतन्त्रता जोगायो। त्यसैले, भीमसेन थापा र सन् १८१६ को सन्धिबिना चन्द्र शमशेर र सन् १९२३ को सन्धिको परिकल्पना पनि गर्न सकिँदैन।  

खासमा राणाकालमा नै भीमसेन थापाको तेजोवध सुरु भइसकेको थियो। भीमसेन थापाको तेजोवध अंग्रेजहरुप्रति भक्तिभावको एउटा माध्यम थियो। किनकि, भीमसेन थापा अंग्रेज उपनिवेशवाद विरोधी अर्थात् नेपाली राष्ट्रवादका प्रतीक र नेतृत्वकर्ता थिए। 

अंग्रेज उपनिवेशवादको भक्तिभावका लागि पनि यस्तो प्रतीकमाथि हमला गर्नु आवश्यक थियो।  

२००७ को परिवर्तनपछि पनि जब भीमसेन थापाको तेजोहरण भइरह्यो, त्यसैको प्रतिकारका लागि चित्तरञ्जन नेपालीले ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ लेखेका थिए, जसले ‘मदन पुरस्कार’ प्राप्त गर्न सफल भयो। 

तर, चन्द्र शमशेरको महिमागानका लागि भीमसेन थापाको तेजोवध अझै जारी छ। यसका लागि सन् १८१६ र सन् १९२३ को तुलना गर्ने गरिएको छ। जबकि, दुई सन्धि फरक–फरक पृष्ठभूमिमा भएका हुन्। 

त्यत्रो युद्धपछिको सुगौली सन्धिमा हामी टिस्टा र काँगडा भेट्दैनौँ। यो कुरा मनमा राखेर १९२३ को सन्धि हेर्दा हामीलाई ‘यो (१९२३) चाहिँ काइदाको सन्धि रहेछ’ भन्ने लाग्न सक्छ।  

तर, अंग्रेजसँग त्यति घनिष्ट सम्बन्ध र समर्पणभाव, विश्वयुद्धमा नेपाली युवाहरुको त्यो बलिदानका बाबजुद १९२३ को सन्धिमा पनि हामी अंग्रेजसँगको युद्धमा गुमाएको भूभाग फिर्ता भएको भेट्न सक्दैनौँ। बरु दुवै सन्धिमा सबल र दुर्बल पक्ष हामी देख्छौँ।  

सबैभन्दा पहिले यी दुई सन्धिमा रहेका गुणहरुको चर्चा गरौँ। 

एक, युद्धमा पराजय र राष्ट्रको सार्वभौमिकता–स्वतन्त्रता फरक कुरा हुन्। सुगौली सन्धि नेपालले पराजित अवस्थामा गरेको अवश्य हो। तर, त्यो सन्धि पनि नेपालले सार्वभौमसत्तासम्पन्न र स्वतन्त्र राष्ट्रको हैसियतमा गरेको हो। 

१९२३ को सन्धि पनि नेपालले यही हैसियतमा गरेको हो। 

दुई, सन् १८१६ को सन्धिले नेपालको सिमाना निर्धारण गरिदिएको छ, (जंगबहादुरको पालामा प्राप्त भएको ‘नयाँ मुलुक’ बाहेक), १९२३ को सन्धिमार्फत् पनि नेपालले थप एक इञ्च भूभाग प्राप्त गर्न सकेको छैन। 

बरु सिमानाको सन्दर्भमा सन् १९२३ को सन्धिले सुगौली सन्धिकै प्रावधानलाई मान्यता दिएको छ। सन्धिको धारा २ मा प्रष्टसँग लेखिएको  छ, ‘वर्तमान सन्धिद्वारा फेरबदल भएबाहेकका अवस्थामा दुई सरकारबीच सुगौली सन्धि लगायत विषयमा भएका सन्धि सम्झौता र प्रतिबद्धताहरु यथावत मान्य रहनेछन्।’  

 सुगौली सन्धिअघिको नेपाल 

अब दुवै सन्धिमा रहेका नकरात्मक पक्षको मूल्याङ्कन गरौँ।  

एक, पहिलो सन्धि (१८१६) ले ब्रिटिस सरकारको स्वीकृतिबिना कुनै पनि ब्रिटिस, अमेरिकी वा युरोपेली नागरिकलाई नेपालका राजाले आफ्नो सेवामा राख्न नपाउने अपमानजनक प्रतिबन्ध (धारा ७) गरेको छ।    

(त्यसो त, नेपाललाई ‘स्वतन्त्र हैसियत दिलाएको’ भनिएको १९२३ को सन्धिपछि पनि नेपालले राणकालभर बेलायतसँग निकट फ्रान्स, अमेरिका र ब्रिटिस उपनिवेशबाट मुक्त भएपछिको भारतसँग बाहेक अन्य मुलुकसँग कूटनीतिक सम्बन्ध राख्न पाएन। चीन, सोभियत संघलगायतका मुलुकसँग कूटनीतिक सम्बन्ध स्थापनाका लागि नेपालले संयुक्त राष्ट्रसंघको सदस्यता नै कुर्नुपर्‍यो।)   

यस्तै अपमानजनक प्रावधान दोस्रो सन्धि (सन् १९२३) मा पनि छ। सन्धिको छैटौँ धाराले नेपाललाई पारवहनको अधिकार प्रदान गरेको छ, जुन सकारात्मक हो। 

तर, भारतीय बन्दरगाहबाट नेपालले झिकाउने सामान ‘व्यापारिक प्रयोजनका लागि होइन’ भन्ने प्रमाणित गर्नुपर्ने बाध्यकारी प्रावधान त्यसमा समावेश छ। नेपाल सरकारले झिकाएको प्रमाणित भइसकेपछि पनि शंका लागेमा ब्रिटिस पक्षले ती सामान खोलेर हेर्न पाउने अपमानजनक प्रावधान त्यो सन्धिमा छ।

सय वर्षे घाउ 
सन् १९२३ को सन्धिको सम्बन्ध सुगौली सन्धिसँग मात्र छैन। श्री ३ चन्द्रका जेष्ठपुत्र श्री ३ मोहन शमशेरको शासनकालको अन्त्यतिर सन् १९५० (विसं २००७ साउन) को शान्ति तथा मैत्री सन्धिसँग पनि त्यो सन्धिको सम्बन्ध भेटिन्छ।  

नेपाली सेनालाई आवश्यक पर्ने हातहतियार लगायतका युद्धसामग्रीबारे निर्णय र छनोट गर्ने अधिकार (जुन मुलुकको स्वतन्त्रता र सार्वभौमिकतासँग सम्बन्धित हुन्छ) लाई सन् १९५० को सन्धिले कुण्ठित गरेको छ। 

खासमा श्री ३ चन्द्रको पालामा भएको १९२३ को सन्धिको एउटा विवादास्पद प्रावधानलाई १९५० को सन्धिमा समेत निरन्तरता दिइँदा यस्तो स्थिति सिर्जना भएको हो। तर, सन् १९२३ को सन्धिको महिमामण्डन गर्नेहरुले यो पक्षको चर्चा पटक्कै गर्दैनन्।    

यो विषयको प्रष्टताका लागि सन् १९५० को सन्धिको पाचौँ धारा र त्यसको अभिन्न अंगका रुपमा रहेको पत्राचार (लेटर अफ एक्सचेन्ज) को व्यवस्था उल्लेख गर्नुपर्ने हुन्छ।  

सन् १९५० को सन्धिको धारा ५ मा भनिएको छ, ‘नेपाल सरकारलाई आफ्नो सुरक्षाको लागि आवश्यक पर्ने हात–हतियार, विस्फोटक सामग्री वा गोलीगठ्ठा, कलपुर्जा आदि स्वतन्त्रतापूर्वक भारतीय भूमिबाट र भारतीय भूमि भएर आयात गर्ने अधिकार रहनेछ। यो प्रबन्धलाई कार्यरुप दिन दुवै सरकारले परस्परमा परामर्श गरी एउटा कार्यप्रणाली तय गर्नेछन्।’ 

यो धारामा उल्लेख भएको ‘कार्यप्रणाली’ लाई सन्धिसँगै आदानप्रदान गरिएको ‘लेटर अफ एक्सचेन्ज’ (जुन सन्धिको अभिन्न अंग हो) ले अझ प्रष्ट पार्ने काम गरेको छ। 

‘नेपाल सरकारले नेपालको सुरक्षाको लागि आवश्यक पर्ने कुनै पनि हात–हतियार, गोला–बारुद वा युद्धसामग्री र उपकरणहरु भारत सरकारको सहायता र सहमति अनुसार भारतीय भूभाग भएर आयात गर्न सक्नेछ,’ लेटर अफ एक्सचेन्जको दोस्रो दफामा भनिएको छ, ‘भारतीय भूभाग भएर ल्याइने यस्ता हातहतियार र गोला–बारुदहरु छिटो–छरितो र निर्विघ्नतापूर्वकको परिवहनका लागि भारत सरकारले उपयुक्त कदमहरु चाल्नेछ।’ 

सन्धि र पत्राचारका यी दफा–बुँदाको अर्थ आफ्नो सुरक्षाका लागि आवश्यक ठानेको हतियार नेपालले स्वतन्त्रतापूर्वक खरिद गर्न पाउँदैन भन्ने हो। यिनै दुई प्रावधानमाथि टेकेर भारतले २०४५–०४६ मा नेपालमाथि नाकाबन्दी समेत लगाएको थियो।    

सन् १९५० को सन्धिलाई नेपालले अपमानजनक र असमान मान्दै आएको छ। यसको एउटा कारण सन्धि र पत्राचारमा रहेका हतियार सम्बन्धी उपरोक्त प्रावधान पनि हुन्।  

सन् १९५० को सन्धिमा हस्ताक्षर 

तर, १९५० को सन्धिमा उल्लिखित हतियारसम्बन्धी उपरोक्त प्रावधान श्री ३ चन्द्र शमशेरको पालामा सन् १९२३ को सन्धिबाट टिपेर हालिएको हो। दुई सन्धिमा रहेका हतियारसम्बन्धी प्रावधान तुलना गरी हेर्‍यौँ भने सन् १९५० को तुलनामा सन् १९२३ को प्रावधान अझ बढी अपमानजक देखिन्छ। 

सन् १९२३ को सन्धिको पाचौँ धारा हेरौँ :

‘नेपाल र ब्रिटिस सरकारबीच लामो समयदेखि विद्यमान मैत्रीलाई दृष्टिगत गरी दुई छिमेकीबीचको हार्दिक सम्बन्धलाई कायम राख्ने उदेश्यले नेपालको सैन्य सामथ्र्यको विस्तार र कल्याणको लागि आवश्यक कुनै पनि हातहतियार, गोलीगठ्ठा, युद्ध सामग्रीहरु तथा सैनिक उपकरणहरु नेपालले भारतबाट या भारतभूमि भएर निर्बाध आयात गर्न सक्नेछ। 

हातहतियारको त्यस्तो आयातबाट भारतलाई तत्काल खतरा नभएको र नेपालको मित्रतापूर्ण दृष्टिकोणप्रति ब्रिटिस सरकार सन्तुष्ट रहुञ्जेल यो व्यवस्था कायम रहनेछ। नेपाल सरकार पनि ती कुनै पनि हातहतियार तथा युद्ध सामाग्रीहरु सरकारी र निजीस्तरमा पनि नेपालको सीमापारि निर्यात नगर्न सहमत भएको छ। 

तर, यदि हातहतियारको आयात–निर्यात व्यवस्थालाई नियमित गर्ने उदेश्यले ब्रिटिस सरकार समेत सदस्य भएको राष्ट्र–राष्ट्रबीच कुनै सम्झौता सम्पन्न भई त्यसैअनुरुप हातहतियारहरुको आयात–निर्यात हुने भएमा नेपाल पनि उक्त सम्झौता अन्तर्गत समेटिएमा मात्र उसले हात–हतियार तथा युद्ध सामग्रीहरुको आयात गर्न सक्नेछ र त्यस्ता सबै आयातहरु पनि उक्त सम्झौताका सर्त अनुरुप मात्र नियमित हुनेछन्।’ 

सन्धिको यो प्रावधान तीन कारणले नेपालको स्वतन्त्र र सार्वभौम अस्तित्व प्रतिकूल छ। 

एक, ग्रेट–ब्रिटेनले आफूलाई खतरा नहुने ठानेका हातहतियार, गोलीगठ्ठा र युद्ध सामग्रीमात्र नेपालले आफ्नो सेनाका लागि आयात गर्न सक्ने भयो। आफ्नो आवश्यकता अनुकूलका हातहतियार आयातको स्वतन्त्रता औपचारिक तबरमै सो सन्धिले खोसिदियो।  

दुई, हातहतियार आयातका लागि नेपालले ग्रेट ब्रिटेनप्रति अत्यधिक भक्तिभाव जाहेर गरिरहनु पर्ने भयो। त्यसैले, सन्धिमा ‘नेपालको मित्रतापूर्ण दृष्टिकोणप्रति ब्रिटिस सरकार सन्तुष्ट रहुञ्जेल यो व्यवस्था कायम रहने’ उल्लेख गरियो।  

तीन, नेपाललाई आवश्यक र ग्रेट ब्रिटेनले पनि खतरा नठानेका हतियार अर्काे मुलुकले नेपाललाई दिने भयो भने पनि नेपालले त्रिपक्षीय सम्झौता (ग्रेट ब्रिटेन, नेपाल, सम्बन्धित तेस्रो मुलुकबीच) पछि मात्र हतियार प्राप्त गर्ने भयो। अर्थात् ब्रिटेनले खतरा नठानेको हतियार खरिदमा समेत नेपालले स्वतन्त्रता पाएन।  

ब्रिटेनसँग मित्रवत् सम्बन्ध हुँदा गरिएको १९२३ को सन्धिको यो प्रावधान पराजित भएका बेला गरिएको सन्धिको प्रावधानभन्दा कम अपमानजनक पक्कै थिएन।

जनतालाई बाँडिएको सन्धि
आफ्नो पालामा ग्रेट ब्रिटेनसँग सन्धि सम्पन्न गर्न पाएकोमा श्री ३ चन्द्र औधी खुसी थिए। सन्धिका लागि भूमिका खेलेकोमा उनले ब्रिटिस एन्भोय ओकोनरको भारी प्रशंसा गरेका थिए। सन्धिमा हस्ताक्षरपछिको संक्षिप्त सम्बोधनमा उनले ओकोनरको कूटनीतिक कौशलकै कारण सन्धि सम्पन्न हुन सकेको दाबी गरेका थिए।  

‘ग्रेट ब्रिटेनको प्रतिनिधि भई उनले (ओकोनर) आफ्नो सरकारको हकपट्टि लाग्नै पर्थ्यो, त्यस्तै मैले पनि आफ्नो मुलुकको हक खडा राख्न बल गर्नै पर्‍यो, यसमा हामी दुईको राय बराबर फाट्ने पनि गर्थ्यो,’ सम्बोधनमा उनले भनेका थिए, ‘कर्णेल ओकोनर निकै सहनशील मानिस रहेछन् भन्ने कुराको ज्ञान त्यस्तो अवस्था सिर्जना हुँदा हामीलाई निकै राम्रोसँग भयो।’ 

‘चतुरता र एकनासको नम्रता उनको विशेषता थियो, त्यसो नहुँदो हो त सो छलफलमा टक्कै काम अडिन जान पनि बेर लाग्दैनथ्यो,’ एन्भोयको प्रशंसा गर्दै श्री ३ चन्द्रले भनेका थिए, ‘तर, कर्णेल ओकोनरले आफ्नो सरकारको पक्ष लिएर आफूले गर्नुपर्ने काम–कर्तव्य पनि पूरा गरी नेपालको हकको समेत यथोचित विचार गरी काम गर्ने खुबी देखाए।’ 

आफ्नो पालामा भएको सन्धिको महत्व दर्शाउन श्री ३ चन्द्रले सकेजति कोसिस गरे। एकपछि अर्काे तोपहरुको बढाइँ त्यसैको उपज थियो। ब्रिटिस महारानीबाट सन्धिमा हस्ताक्षर गर्ने अख्तियारी पाएका ब्रिटिस एन्भोयलाई लैनचौरबाट ल्याउन सिंहदरबारबाट रिसल्लासहित बग्गी पठाइएको थियो। 

सरदार भीमबहादुर पाँडेले आफ्नो पुस्तक ‘त्यसबखतको नेपाल (भाग १)’ लेखेका छन् ‘दस रिसल्ला अघिपछि लगाई चौघोडे बग्गीमा चढी ब्रिटिस राजदूत मि. बाकोनर (अकोनर) लइन (लैनचौर) बाट सिंहदरबारतिर निस्कँदा ३१ तोपको शाही सलामी पाएका थिए।’   

राणाकालमा कुनै विशेष अवसरमा काठमाडौँ उपत्यकाका तीनै सहरमा जुवा फुकाइने चलन थियो। काठमाडौँ उपत्यकावासीले दुई दिन (७–८ पुस १९२३) मा धक फुकाएर जुवा खेल्न पाए। देशभर दुई दिनका लागि सार्वजनिक विदाको घोषणा पनि गरियो।  

सन्धि भएको तीन दिनपछि (९ पुस १९८०) को गोरखापत्रको समाचारमा त्यो दिनको सिंहदरबारको अपूर्व शृङ्गारको चर्चा थियो। त्यसमा भनिएको थियो, ‘सिंहदरबारको ठूलो सभामण्डप भवन ध्वजापताका, गमला र फूलले सुसज्जित थियो। सिंहदरबारअगाडिको ‘पोर्टिको’ दायाँबायाँ नेपाल र ग्रेट ब्रिटेनका एक–एक वटा ठूला झन्डा टाँगिएका थिए।’ 

‘त्यसभन्दा अगाडिको सडक वरिपरि गाडिएका बाँसमा टाँगिएका झन्डा खुसीले नाच्न लागे झैं फरफराइरहेका थिए,’ गोर्खापत्रले लेखेको थियो।

लैनचौरस्थित दूतावासबाट १२ः३५ मा बग्गी चढेर प्रस्थान गरेका ओकोनर २५ मिनेटपछि ठीक १ बजे सिंहदरबार पुगेका थिए। चन्द्र शमशेर भने १२ः५० मै त्यहाँ पुगे। ओकोनर पुगेपछि श्री ३ चन्द्रसँग उनको छोटो कुराकानी भयो।  

सन्धिका बेला श्री ३ चन्द्र र ओकोनर   

लगत्तै श्री ३ चन्द्रले उपस्थित भारदारसहितको ठूलो जनसमूहलाई सम्बोधन गरे। सम्बोधनमा उनले  ब्रिटिस सरकारसँग सन्धिका लागि यो सभा बोलाइएको जनाउ दिए। 

‘ब्रिटिस सरकारसँग नेपाल सरकारको दोस्ताना (मित्रता) को एउटा नयाँ अहद (सन्धि) हुने भएको छ,’ त्यो संक्षिप्त सम्बोधनमा उनले भनेका थिए, ‘यसैका निम्ति तिमीहरू यहाँ जम्मा गरिएका छौ। सो हुने अहद यही हो, सुन।’ 

सन्धिको बेहोरा बडाकाजी मरिचिमान सिंहले सुनाए। उनी लौहपुरुष गणेशमान सिंहका हजुरबुबा हुन्। त्यसपछि सन्धिमा श्री ३ चन्द्र र ओकोनरबाट हस्ताक्षर भयो।  

सन्धि सम्पन्न भएपछि दुवैले सम्बोधन गरे। पहिले ओकोनरको र त्यसपछि श्री ३ चन्द्रको सम्बोधन भयो। ओकोनरको सम्बोधनलाई अंग्रेजीबाट नेपालीमा र श्री ३ चन्द्रको सम्बोधनलाई नेपालीबाट अंग्रेजीमा बडाकाजी मरिचिमान सिंहले नै उल्था गरेर सुनाए।  

सन्धि–समारोह मात्र होइन, त्यसपछि काठमाडौँको स्थिति पनि केही दिनसम्म यस्तै उल्लासमय रह्यो।  

नेपाल–ब्रिटेन सन्धिको पाँच वर्षपछि सन् १९२८ मा प्रकाशित ब्रिटिस पत्रकार–लेखक पर्सिवल ल्यान्डनको पुस्तक ‘नेपाल’ मा उल्लेख भए अनुसार सन्धि सम्पन्न भएको अवसरमा जेलमा रहेका कैदीहरुको तीन महिनाको कैद सजायपनि मिनाहा गरियो। यो सुविधा प्राप्त गर्नेमा ज्यानमुद्दा बाहेकका कैदी थिए।

सन्धि सम्पन्न भएको खुसीयालीमा काठमाडौँबासीलाई आ–आफ्नो घरमा दीपावली गर्न लगाइयो। बिजुली जोडिएकाले सिंहदरबार पनि केही दिन झिलिमिली भइरह्यो। 

काठमाडौँको परेड ग्राउन्ड (टुँडिखेल) मा गरिबहरुलाई खाना खुवाइयो। उपहारको रुपमा उनीहरुलाई न्याना कपडाहरु पनि बाँडियो। 

गणतन्त्रमा समेत शासकहरु सन्धि–सम्झौता लगायतका दस्तावेज लुकाउन खोज्छन्। तर, चन्द्र शमशेरले त्यो दस्तावेज (सन्धि) लुकाउन चाहेनन्। सन्धि सम्पन्न भएपछि सन्धिका नक्कल हजारौँ प्रति प्रकाशित गरिए, काठमाडौँका टोलटोलमा त्यसलाई वितरण गरियो। 

हाम्रो पुस्ताका लागि त्यो सन्धिको सबैभन्दा रोचक र सकरात्मक लाग्ने पक्ष यही थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .