म्यागेजिन


१२ वर्षपछि कमलरीको पिँजडा तोडेर उडेकी उर्मिला, जसले जितिन् अमेरिकी ‘ग्लोबल च्याम्पियन्स अवार्ड’

१२ वर्षपछि कमलरीको पिँजडा तोडेर उडेकी उर्मिला, जसले जितिन् अमेरिकी ‘ग्लोबल च्याम्पियन्स अवार्ड’

झण्डै १२ वर्ष कमलरी जीवन बिताएकी उर्मिला २०६३ साल माघमा मुक्त भइन्। तस्बिर/भिडिओ: सरोज नेपाल


गीता चिमोरिया
मंसिर ५, २०८१ बुधबार ९:०, काठमाडौँ

अक्षर नबुझे पनि उर्मिलालाई चित्रहरूमा खुब लगाव थियो। उनी चित्र बुझ्थिन्। फोटा हेर्न मन पथ्र्यो। घरमा ल्याइएका पत्रपत्रिका, म्यागजिन पल्टाएर फोटो हेर्थिन्।

एकदिन त्यसरी नै फोटो हेरिरहेकी थिइन्। एउटा बालिका झुत्रेझाम्रे कपडा लगाएर ठूलाठूला भाँडा माझिरहेकी अनि मालिक्नीले कुटिरहेको दृश्य। ती बालिकाले थारु संस्कार झल्काउने कपडा लगाएकी थिइन्। 

फोटो  हेरेपछि उर्मिला रुन थालिन्। नरोऊन् पनि कसरी? उर्मिलाको जीवन पनि त्यही बालिकाको जस्तै थियो। 

गुरुकुलले बनाएको कमलरी सम्बन्धी नाटकको तस्बिर थियो त्यो। जसलाई हेरेर उर्मिला खुब रोइन्। त्यही तस्बिर, उनलाई १२ वर्षे कमलरी जीवनबाट छुटकारा दिलाउने प्रस्थान विन्दु बन्यो।

दाङको गढवा गाउँपालिका ७ मानपुरमा जन्मिएकी उर्मिला चौधरी सानैमा साहुको घरमा पुगेकी थिइन्। कति सानोमा? उनलाई याद छैन। उनले थाहा पाउँदा उनी साहुकै घरमा थिइन्। दूधे दाँत पनि मालिककै घरमा झरेको थियो।
 
आर्थिक अवस्था कमजोर भएका कारण उनको परिवारले अर्काको जग्गा अधिया लिएर जीवन निर्वाह गथ्र्यो। त्यसरी जग्गा लिएबापत् साहुको घरमा काम गर्न बस्नुपर्ने हुन्थ्यो। पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर यी जिल्लाहरूबाट थारु समुदायका छोरीहरूलाई साहुको घरमा काम गर्न राखिन्थ्यो। बँधुवा मजदुरको रूपमा त्यसरी काम गर्न पुर्‍याइएका छोरीहरूलाई कमलरी भनिथ्यो। उर्मिला पनि त्यसरी नै साहुको घरमा पुगेकी थिइन्।  

उर्मिलाले झन्डै १२ वर्ष कमलरी जीवन बिताइन्। उनको हुर्काइ, बढाइ सबै मालिककै घरमा भयो। उनले आफ्नो भाषा बोल्न पाइनन्। स्कुल जान, पढ्न पाइनन्। ज्वरो आउँदा ज्वरो आएको छ भन्न पाइँदैन थियो। दुःखबिराम सुनाउन पाइँदैन थियो। आराम त टाढाको कुरा। उर्मिला! भन्नेबित्तिकै जहाँ, जस्तो अवस्थामा भए पनि तुरुन्त उपस्थित हुनुपथ्र्यो।

यतिसम्म कि, घरमा आएको पत्रिका पहिला उर्मिलाले समाइन् वा हेरिन् भने मालिक्निले त्यो पत्रिका नै च्यातेर फालिदिन्थिन्। 

‘मैलेभन्दा पहिला काम गर्नेले कसरी हेर्‍यो भनेर त्यो दिनको पत्रिका नपढी च्यातेर फालिदिन्थिन्,’ उर्मिलाले दर्दनाक बाल्यकाल सम्झिइन्।

पत्रिकामा आफूजस्तै बालिकाको चित्र हेरेपछि उर्मिलालाई लाग्न थाल्यो, अब यो घरबाट निस्किनु पर्छ। कसरी निस्किने होला?

संयोग भन्नुपर्छ, त्यही वर्ष (२०६३ साल) को हिउँदको कुरा हो। उनी मालिक्नीलाई खाना खुवाउँदै थिइन्। मालिक्नी खाना खाने बेलामा टेलिभिजन खोल्थिन्। उनले खाना खाउञ्जेल उर्मिला त्यहीँ बस्नु पथ्र्यो।

टेलिभिजनमा समाचार आयो, ‘पश्चिम नेपालबाट आएका मुक्त कमैयाहरू कठ्यांग्रिँदो जाडोमा तीनकुनेमा आन्दोलनमा छन्। आन्दोलनमा रहेकामध्ये चिसोका कारण केही बिरामी समेत परेका छन्...।’

टीभी हेरिरहेकी उर्मिलाले आन्दोलनमा रहेकामध्ये एकजना कम्बल ओढेका मानिसलाई देखिन्। गहिरिएर हेरिन्। आन्दोलनको अग्रपंक्तिमा उनका आफ्नै दाइ थिए। 

तर, उनले मालिक्नीलाई भन्न सकिनन्। उनलाई अब दाजुलाई कसरी भेट्ने भन्ने भयो।

उर्मिलाका दाजु धेरै पहिल्यैदेखि उनको खोजीमा थिए। पटकपटक फोन गर्दा पनि मालिक्नीले हाम्रो घरमा कोही पनि काम गर्ने मान्छे छैन। हामीले काम गर्ने मान्छे राखेको छैन भन्दीरहिछन्। तर, दाइले फोन गर्न छोडेनन्। एकदिन उर्मिला त्यहीँ नजिकै भएको बेलामा फोन आयो।

मालिक्नीले सोधिन्, ‘तेरो दाइ छ?’

उर्मिलाले भनिन्, ‘हुनुहुन्छ।’

‘के नाम हो?’ 

उर्मिलाले दाइको नाम भनिन्। 

‘ला, तेरो दाइको फोन आएको छ,’ मालिक्नीले उर्मिलालाई फोन दिइन्। 

उर्मिलाले दाइसँग कुरा गरिन्। दाइले भने, ‘म तिमीलाई भेट्न खोजिरहेको छु, तर तिम्रो मालिक्नीले यहाँ छैन भनेको छ, के हो?’

उर्मिलाले भनिन्, ‘होइन। म यहीँ छु।’ 

धेरै अनुरोधपछि उर्मिलाले दाइसँग भेट्न पाउने भइन्, त्यो पनि ५ मिनेटका लागि।  

मालिक्नीले दाइसँग भेटाउन उर्मिलालाई काठमाडौँ तीनकुने लगिदिइन्। तर दाइसँग धेरै कुरा गर्न पाइनन्। एकछिनमा के कुरा गर्न भ्याउनु र!

‘नजिकै कसैको फोन नम्बर छ भने दिनुस्,’ उनले दाइलाई भनिन्। 

दाइले नम्बर दिए। त्यो दिन उनी मालिक्नीसँगै फर्किइन्। 

त्यसपछि उर्मिलाले मालिक्नीलाई अनुरोध गर्न थालिन्, ‘अब म घर जान्छु। मलाई जान दिनुस्। बरु म फेरि फर्केर आउँछु। तर मालिक्नीले उनको कुरा सुनिनन्।’

उनी भित्रभित्रै आन्दोलित भइसकेकी थिइन्। उनले विस्तारै विद्रोह गर्न थालिन्। खान छोडिन्। काम गर्न छोडिन्। बोलाउनेबित्तिकै जान छोडिन्। 

भनेको नमानेको भनेर एकदिन मालिक्निले भर्‍याङबाट लडाइदिइन्। तर उर्मिला आफ्नो अडानमा कायम थिइन्। उनको एकमात्रै चाहना थियो, त्यहाँबाट मुक्त हुनु।

दाइले दिएको नम्बरमा फोन गरिन्। तर, दाइले एक हप्तापछि मात्रै खबर पाए। गाउँमा फोनको सहजता थिएन। खबर पाएपछि दाइले फोन गरे। 

उर्मिलाले दाइलाई अनुरोध गरिन्, ‘मलाई लिन आउनुस्।’ 

‘कहाँ आउनु?’ दाइले सोधे। 

उर्मिलाले भनिन्, ‘चिडियाखाना आउनू।’ 

जाउलाखेलमा अरू के छ? उनलाई केही थाहा थिएन। चिडियाखानाबाट एकान्तकुना कहाँ हो, सोध्दै आउनुस्। यही दुईवटा नाम दिइन् उनले। 

त्यसअघि धेरैपटक विभिन्न संघसंस्थाले उद्धारका लागि उर्मिलालाई खोजेका रहेछन्। तर भेट्न सकेनन्। सम्पर्कका लागि न ठेगाना, न सम्पर्क नम्बर। पाँचसात वर्ष भयो हराएको भनेर उर्मिलालाई खोज्न परिवारले रेडियोमा सूचना पनि दिएको रहेछ। 

सोध्दैखोज्दै दाइ उनलाई लिन आए। दाइलाई घरभित्र छिर्न दिइएन। तर, दाइ उर्मिलालाई नलिई फर्किन मानेनन्।

उर्मिला दाइसँगै गाउँ फर्किइन्।  

झण्डै १२ वर्ष लामो कमलरी जीवनपछि २०६३ साल माघमा उनी मुक्त भइन्। 

‘पिँजडाबाट छुटेको सुगाभन्दा बढी खुसी भएँ’ 
‘आमा नि, त्यो दिन त म कति खुसी भएँ! पिँजडाबाट निस्किएको सुगा पनि त्यति खुसी हुँदैन होला। मैले बाहिरको हावामा सास लिन पाएँ। घामको तातो महसुस गर्न पाएँ। मैले मान्छेहरूको कोलाहल सुन्न पाएँ,’ साहुको घरबाट निस्किएको त्यो दिन सम्झँदै गर्दा उर्मिला भावुक बन्छिन्।

काठमाडौँबाट नाइट बसमा दाङ पुग्दासम्म उर्मिला एक झिमिक पनि निदाइनन्। समय बितेको पत्तै भएन। 

उनको आँखामा साहुको घरमा बिताएका १२ वर्ष झल्झली आइरहे।

‘सुरुवात कालमा त त्यति गाह्रो थिएन, उमेरको कारणले पनि होला। उमेर अनुसार जिम्मेवारी बढ्दै गयो,’ उर्मिला सुनाउँछिन्। 

दूध लिन जान्थिन्। चुलामा पुग्न सक्दिन थिइन्, त्यसैले कुर्सीमाथि चढेर चिया पकाउन सिकिन्। 

हुन त उनलाई काठमाडौँ ल्याउँदा पढाइदिने भनिएको थियो। तर मालिकले त्यो वाचा पूरा गरेनन्। त्यसैले उनी स्कुल जान पाइनन्। आफू स्कुल नगए पनि मालिकका छोराछोरी पुर्‍याउन स्कुलको गेटसम्म भने सधैं जान्थिन्। दुईजना बच्चा पुर्‍याउने, ल्याउने र उनीहरूको हेरविचारको जिम्मेवारी उर्मिलाको थियो। बच्चाहरू स्कुल पुर्‍याएर फर्किएपछि फेरि घरको कामहरू गर्नुपथ्र्यो। 

उर्मिला दुईवटा फरक घरमा बसिन्। दुई मालिक नातेदार थिए। फुपू र भदा। सुरुमा बसेको घर केही सहज थियो। त्यो भदाको घर थियो। तर, पछिल्लो घरमा त उनी बन्धकजस्तै भएर बस्नुपर्‍यो। घरबाट बाहिर निस्कन नपाइने, कसैसँग बोल्न पनि नपाइने, कार्यालय जाँदा बाहिरबाट ढोका लक गरेर जान्थे। त्यो घरको बसाइ उर्मिलालाई सम्झिन पनि मन लाग्दैन। 

‘पहिला बसेको घर मलाई ठिकै लाग्थ्यो। किन ठिकै लाग्थ्यो भने, म बोल्न पाउँथेँ। बाहिरी वातावरण देख्न पाउँथे। यसो तरकारी किन्न जान पाउँथे। मान्छेहरू के गरिरहेका छन् भनेर हेर्न पाउँथेँ,’ उनले भनिन्, ‘तर दोस्रो घर त, मैले २०६२/०६३ को जनआन्दोलन पनि घरको झ्यालबाट हेरेको हो।’ 

व्यवस्था परिवर्तनको लागि हजारौँ मान्छे सडकमा उत्रिएका थिए। अधिकारको लडाइँ लडिरहेका थिए। जनता हाइ हाइ, राजा बाइ बाइको नारा लागेको थियो सडकमा। तर, उर्मिलालाई भने घरबाट बाहिर निस्कने अनुमति समेत थिएन। 

‘म त्यतिबेला सबै बुझ्ने भइसकेको थिएँ। देश नै स्वतन्त्र हुनुपर्छ भनिरहेको बेलामा, हामीले आफ्नो अधिकार पाउनुपर्छ भनिरहेको ठाउँमा म भने बन्द घरको झ्यालबाट त्यो हेर्न बाध्य थिएँ। म किन जान पाउँदिन बाहिर, म किन भित्र छु भन्ने हुन थाल्यो। त्यसपछि चाहिँ मलाई मनमा एकदमै उकुसमुकुस भएको थियो।’

साढे ११ वर्षमा उर्मिला जम्मा दुईपटक आफ्नो घर जान पाइन्। त्यो पनि केही दिनका लागि होइन, केही घण्टाका लागि। लिने/पुर्‍याउने मान्छे हुन्थ्यो। केहीछिन भेटेर फेरि फर्कनुपथ्र्यो। केही दिन बस्न पाउँथिन्, आमा बासँग कुरा गर्न पाउँथिन् भने उनले सुन्निएका हात र खुट्टा देखाउन पाउँथिन् सायद। फुटेर रगत आएको कुरा भन्न भ्याउँथिन्। आफ्नो दुःख सुनाउन पाउँथिन्। 

तर, त्यो संयोग जुरेन। बाआमालाई आफ्नो भोगाइ सुनाउने, सुन्निएका हात/खुट्टा देखाउने समय नै पाइनन् उर्मिलाले। भन्नै सकिनन् आफ्नो दुःख। दसैँ आउँथ्यो, तिहार आउँथ्यो, अन्य चाडबाड आउँथ्यो। तर, उर्मिलाको जीवनमा भने चाडबाड कहिल्यै आएन।

उनी भन्छिन्, ‘हरेक वर्ष चाडबाडमा घर जान पाउँथे भने, परिवार भेट्न पाउँथेँ भने मलाई म दास जीवन बिताइरहेको छु भन्ने महसुस नै हुँदैन थियो होला। यो चाडपर्व हाम्रो लागि पनि आउँछ, हामीले पनि मनाउने हो, परिवारसँग मनाउनुपर्छ भन्ने नै भएन मलाई। बरू, यो दसैँतिहार किन आउँछ होला भन्ने भयो। चाडबाडमा एकदमै धेरै मान्छे हुन्थे। मलाई माघी चाहिँ याद हुन्थ्यो। माघी आएपछि घर जान पाउँछु भन्ने लाग्थ्यो। तर कति माघी आयो/गयो।’ 

मीठो खाने भनेको के हो? राम्रो लगाउने भनेको के हो? उर्मिलाले थाहा पाइनन्। वर्षमा एकजोर कपडा पाउँथिन्। मालिकको घरको सदस्यका लागि र काम गर्नेका लागि छुट्टाछुट्टै खाना पाक्थ्यो।  

‘राम्रो लुगा धुने/पट्याउने तर त्यो आफ्नो लागि हुन्थेन। खानेकुरा मीठोमीठो पकाउने तर आफ्नो मुखमा नपर्ने। ओछ्यान राम्रोसँग लाइन्थ्यो तर त्यो ओछ्यान आफ्नो लागि थिएन। उनीहरूको लागि र हामी काम गर्नेको लागि चामलै फरक हुन्थ्यो, तेल फरक हुन्थ्यो। कुकुरले कर्नफ्लेक्स खाने घरमा म परेवालाई दिने चामल खान्थेँ,’ उनी भन्छिन्।  

स्कुलसँगै अभियान
काठमाडौँमा हुँदा उर्मिलालाई कमलरी जीवन बाँच्ने आफू मात्रै होला भन्ने लागेको थियो। तर, साहुको घरबाट मुक्त भएर दाङ पुगेपछि थाहा पाइन्, उनीजस्ता कयौँ थारु छोरीहरू कमलरीको रूपमा साहुको घरमा पुगेका रहेछन्।  

उनलाई पढाइको भोक थियो। अन्य किशोरी कलेज पढ्ने बेलामा उर्मिला बल्ल स्कुल भर्ना हुन लागिन्। संघसंस्थाहरूको सहयोगमा कमलरी मुक्त भएका किशोरीहरूका लागि विशेष खालको कक्षा हुने रहेछ, उनले सुरुमा ६ महिनाको त्यो कक्षा लिइन् र परीक्षा दिएर कक्षा ५ मा भर्ना भइन्। 

यति ठूलो उमेरमा स्कुल गएको छ भनेर गाउँभरीका मान्छे हेर्न आउँथे। तर, उर्मिलाले त्यस्ता कुराको वास्ता गरिनन्। 

स्कुल र पढाइ एकातिर, अर्कोतिर उनको काँधमा ठूलो जिम्मेवारी आयो, आफूजस्तै कमलरी बसेका किशोरीहरूलाई मुक्त गर्नु। पढाइसँगै उर्मिला अभियानहरूमा जोडिइन्। नेपाल युथ फाउन्डेसन, स्वानजस्ता संस्थामा जोडिएर उनले काम गर्न थालिन्। उनीहरू कमलरी मुक्तिका लागि पाँचै जिल्लामा पुगे। कुन घरका कतिजना छोरी अर्काको घरमा काम गर्न गएका छन्? उनीहरू तथ्यांक निकाल्थे र खोज्न थाल्थे। 

अभियानका क्रममा निकै चुनौतीको सामना गर्नुपर्‍यो। कहिले आफूले चढेको साइकल फ्यालिदिन्थे, कहिले ज्यान मार्ने धम्की आउँथ्यो। भोकै, प्यासै उनीहरूले पश्चिम नेपालका पाँचै जिल्लामा कमलरी मुक्तिका लागि अभियान चलाए। थुप्रै छोरीहरूको मुक्तिका लागि लडे। जिल्ला प्रशासनसँग समन्वय गर्दै काम गरे। 

कमलरी मुक्तिको लडाइँ किन पनि सजिलो थिएन भने यो धनीमानीहरूसँगको लडाइँ थियो। सत्ता, शक्ति, धन सबैथोक भएकाहरूसँगको लडाइँ थियो। डाक्टरको घरमा, प्राध्यापकको घरमा, वकिलको घरमा, शिक्षकको घरमा, नेताका घरमा कमलरी राखिन्थ्यो। उनीहरूसँग लड्न कठिन थियो/कठिन छ। कसलाई चेतना दिने? पठाउने बाउआमालाई कि ती लैजाने मान्छेहरूलाई? 

कमलरी मुक्त भएका छोरीहरूको विभिन्न सञ्जाल निर्माणसँगै उनीहरूलाई आर्थिक रूपमा सशक्त बनाउन सहकारीहरू स्थापना गर्न थालियो। अहिले पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा गरी यस्ता ४२ वटा सहकारी छन्। ती सहकारीका सेयर सदस्य, त्यहाँ काम गर्ने र पैसा जम्मा गर्ने सबै मुक्त कमलरी मात्रै हुन्। बाहिरका अन्य मान्छेलाई ती सहकारीमा राखिएको छैन।

वकिल बनेर असहायको सहारा बन्ने तयारी
उर्मिलाले पढाइ र अभियानलाई सँगसँगै अगाडि बढाइरहेकी थिइन्। 

२०६९ सालमा कमलरी मुक्तिका लागि आन्दोलन भयो। मौन भएर, सिठी बजाएर राखेका आफ्ना कुरा सरकारले नसुनेपछि उनीहरू सिंहदरबार घेर्न गए। प्रहरीले दमन गर्‍यो। अस्पतालमा पुग्दा खुट्टाका नङहरू थिएनन्। प्रहरीको बुटले कुल्चिएर खुट्टाका नङ झरेको थियो। रगताम्मे भएको थियो। बन्दुकका नालले घोचिएर शरीरमा चोट लागेको थियो। 

‘प्रहरीको दमन कसैले सहन नपरोस्,’ उर्मिला भन्छिन्, ‘आफ्नो अधिकार माग्दा, पढ्न पाउनुपर्छ, स्वतन्त्र जीवन बाँच्न पाउनुपर्छ भन्दा हामीले प्रहरीको बुट र बन्दुकको यातना खेप्नुपर्‍यो। अब कसैले यस्तो सहनु नपरोस्।’ 

त्यही आन्दोलनमा टेकेर सरकारले १० बुँदे सहमति गर्‍यो र २०७० असार १३ गते कमलरी मुक्तिको घोषणा भयो। कागजी रूपमा त कमलरी मुक्तिको घोषणा भयो तर व्यावहारिक रूपमा भने अझै पनि त्यो पूर्ण रूपमा कार्यान्वयनमा आएको छैन। 

राज्यले मुक्त कमलरीका लागि दीर्घकालीन पुनःस्थापनका कार्यक्रम ल्याउनुपर्ने उनीहरूको माग छ। अभिभावकविहीनहरूलाई शिक्षा र आर्थिक सुधारका प्याकेज आवश्यक रहेको उनीहरू बताउँछन्। संघीय सरकारले मुक्त कमलरीका लागि छुट्याउँदै आएको रकम पनि प्रदेश स्थापनापछि आउन छोडेको मुक्त कमलरीहरूको गुनासो छ। 

भिडिओ :

‘अहिले प्रदेश सरकार संघलाई र संघले प्रदेशलाई देखाउने काम गरिरहेका छन्, संघीयता आयो भनेर हामी सबै खुसी भयौँ, तर हामी मुक्त कमलरीका लागि संघीयता अभिशापजस्तो भयो। पहिला भएका कार्यक्रम पनि अहिले छैन,’ उनले भनिन्। 

२०७० सालमा उर्मिलाले एसएलसी पास गरिन्। त्यसपछि कक्षा ११ र १२ को पढाइ सकेर ब्याचलरमा कानुन पढ्न नाम निकालिन् र भर्ना भइन्।

‘मलाई कानुन पढ्न एकदमै मन थियो, हाम्रो देशको कानुन के छ, किन त्यहाँ हाम्रो अधिकार लेखिएन? किन हामीलाई विभेद भइरहेको छ भनेर जान्न मन थियो,’ कानुन विषय पढ्नुको कारणबारे उर्मिलाले भनिन्, ‘मलाई कानुन पढेर ठूलो न्यायाधीश बन्छु, यो गर्छु त्यो गर्छु भन्ने त्यस्तो केही सपना थिएन।’ 

हाल उर्मिला काठमाडौँमा कानुनमा स्नातक गरिरहेकी छिन्। अन्तिम वर्षको पढाइ चलिरहेको छ। आर्थिक अवस्था कमजोर भएका र पछाडि पारिएका वर्गका व्यक्तिलाई कानुनी सहायता दिने उनको भविष्यको योजना छ। 

कमलरीदेखि आफूजस्तै किशोरीहरू सहयोगको हात दिने ठाउँमा आइपुग्दा उर्मिलाले लामो यात्रा तय गरिसकिन्। तर उनी थाकेकी छैनन्। अधिकारको आन्दोलनमा उनका पाइलाहरू अझै उसैगरी अघि बढिरहेका छन्।   

कमलरी प्रथा उन्मूलन, जातीय समानता, न्याय र मानवअधिकारको प्रवद्र्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै उर्मिलालाई अमेरिकी विदेश मन्त्रालयले सन् २०२४ को ‘ग्लोबल एन्टी–रेसिजम च्याम्पियन्स अवार्ड’ प्रदान गर्‍यो। कार्तिक ५ गते अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले चौधरीलाई अवार्डबाट सम्मान गरे। उनीसहित विभिन्न ६ देशका अभियन्ताले यस वर्ष यो अवार्ड पाएका हुन्। 

वासिङटन डिसीस्थित ‘स्टेट डिपार्टमेन्ट’मा अभियन्ता उर्मिलालाई ‘ग्लोबल एन्टी रेसिजम च्याम्पियनसिप’ अवार्ड प्रदान गर्दै अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेन। तस्बिर : मधुकर अधिकारीर/रासस

यो अवार्डले उनलाई कमलरी मुक्तिको आन्दोलनमा अघि बढ्न उत्साह थपेको छ। कमलरीबाट मुक्त भएका छोरीहरूको अधिकारका लागि लड्न थप हौसला दिएको छ। विश्वकै शक्तिशाली देशले यसरी सम्झनु र सम्मान गर्नु आफ्नो मात्र नभएर सम्पूर्ण मुक्त कमलरीका लागि गौरवको विषय भएको उनी ठान्छिन्। 

यसअघि २०१८ मा उनले नेदरल्यान्ड्सको रुजबेल फाउन्डेसनले प्रदान गरेको फ्रिडम फोरम फेयर एवार्ड–२०१८ प्राप्त गरेकी थिइन्। पाकिस्तानकी बाल अधिकार कार्यकर्ता मलाला युसुफजाई, म्यानमारकी नेत्री आङ सान सुची जस्ता व्यक्तिले पाएको यो अवार्ड २०१८ मा उर्मिलाले पाएकी थिइन्। विभिन्न अन्तर्राष्ट्रिय अवार्डहरू पाएकी उर्मिलाले सरकारी निकायबाट यसपाली पहिलोपटक पाएकी हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad