छापा खबर


गिरफ्तार गरिसकेपछि मुठभेड भन्दै मार्ने डरलाग्दो अभ्यासमा सरकार

गिरफ्तार गरिसकेपछि मुठभेड भन्दै मार्ने डरलाग्दो अभ्यासमा सरकार

नेपालखबर
असार ६, २०७६ शुक्रबार १:५७,

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका सर्लाही इन्चार्ज कुमार पौडेल मुठभेडमा मारिएको प्रहरीको दाबी छ ।

सर्लाहीको लालबन्दी नगरपालिका–१ लखन्ती खोलामा बिहीबार दिउँसो मुठभेड भएको प्रहरीको भनाइ छ । राष्ट्रसेवक प्रहरीलाई सामान्य पनि क्षति नपुग्नु सुखद खबर हो ।

तर, मुठभेड भएर नै यस्तो भएको हो भन्ने विश्वास गर्न गाह्रो छ । बाटोमा हिँडिरहेका मान्छेलाई शंकाका आधारमा प्रहरीले ‘अवश्य’ गोली चलाउँदैन ।

विप्लव समूहकाले पहिले गोली चलाएका हुन् भने प्रहरीलाई पनि चोटपटक लाग्न सक्थ्यो । सुरुमा फायरिङ गर्नेले केही पनि गर्न नसक्ने, तर जवाफी कारबाही गर्नेले मान्छे ठहरै पार्ने अनौठो उदाहरण बिहीबारको घटनाले देखाएको छ ।

प्रहरीसँग यस्तो कौशल विरलै देखिने गर्छ । यो खबर आजको नयाँ पत्रिका दैनिकले छापेको छ।

बाटोमा प्रहरीसँग जम्काभेट भएपछि विप्लव समूहका चार कार्यकर्तासँग मुठभेड भएको प्रहरीको भनाइ छ । प्रहरी प्रवक्ता डिआइजी विश्वराज पोखरेलका अनुसार घटनास्थलबाट पेस्तोल बरामद भएको छ ।

प्रदेश २ प्रहरी कार्यालय र जिल्लाबाट खटिएको टोलीसँग मुठभेड भएको पनि उनले बताए । प्रहरीको दाबीले प्रश्न उठ्छ– के विप्लव समूह साँच्चै द्वन्द्वमा गएको हो? उनीहरू हतियार बोकेर खोलानाला र गाउँ–पखेरा हिँड्न थालेका हुन्?

स्थिति साँच्चै त्यस्तै हो भने एक–एकजनालाई गोली हानेर यो समस्याको समाधान हुन सक्छ ? मुठभेडले नै समस्या समाधान गर्ने हो भने राज्यसँग के–कस्तो रणनीति छ? तर, प्रहरीका यस्ता कारबाहीले समस्या समाधान गर्नेभन्दा द्वन्द्व उक्साउने जोखिम छ।

विप्लव समूहसँग प्रतिशोध शृंखला
सरकार विप्लव समूहसँग संवादमार्फत समस्या समाधान गर्नेभन्दा पनि बल प्रयोगमा उत्रिएको छ । प्रहरी ‘इन्काउन्टर’मा विप्लवका दुई कार्यकर्ता मारिएका छन् ।

यो पार्टीका नेता तीर्थराज घिमिरे ७ जेठमा प्रहरीको गोलीबाट भोजपुरमा मारिएका थिए । त्यसको प्रतिशोधस्वरूप सो संगठनले १३ जेठमा नेपाल बन्द आह्वान गरेको थियो ।

बन्दमा राजधानीमा शक्तिशाली बम पड्काएर धक्का दिने उनीहरूको योजना थियो । तर, सेटिङ मिलाउन नजान्दा अघिल्लो दिन नै राजधानीका तीन स्थानमा बम विस्फोट भए । जसमा सो समूहका पाँचजनाले ज्यान गुमाएका थिए ।

बिहीबार प्रहरीले सर्लाही इन्चार्ज पौडेल मुठभेडमा मारिएको दाबी गरेको छ । तर, उनलाई गोली नै हान्नुपर्ने गरी मुठभेड भएको आधार प्रहरीले दिन सकेको छैन । जसकारण सरकारले अनावश्यक बल प्रयोग गर्दा हिंसा बढ्न सक्ने आशंकासमेत गरिएको छ ।

प्रहरी प्रवक्ता विश्वराज पोखरेल भने प्रहरीले अनावश्यक रूपमा कतै पनि बल प्रयोग नगरेको दाबी गर्छन् ।

एनसेल कार्यालय र व्यवसायी रोहन गुरुङको घरमा विस्फोट गराएपछि सो समूहमाथि सरकारले गत २८ जेठमा प्रतिबन्ध लगाएर कारबाही थालेको थियो । त्यसयता विप्लवका पाँच सय ४० कार्यकर्ता पक्राउ परिसकेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad