हाल मुटुरोग विश्वकै लागि जटिल समस्या बनेको छ।
खराब जीवनशैली, अस्वस्थ खानपान, वातावरण प्रदूषण आदि कारणले गर्दा अधिकांश मानिस मुटुसम्बन्धी समस्याबाट पीडित भएको पाइन्छ ।
पछिल्लो समय बच्चाहरू आमाकै पेटबाट मुटुरोग लिएर आएका हुन्छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा मञ्जु टेलरले लेखेकी छन्।
समय नपुग्दै जन्मिने बच्चामा मुटुरोगको सम्भावना बढी हुने गर्छ । प्रत्येक सयजनामध्ये एकजनालाई जन्मजातै मुटुरोग लाग्ने गरेको तथ्यांक छ। जन्मजात मुटुरोगको कारण वंशाणुगत र वातावरणीय प्रभावलाई मानिएको छ।
तर, करिब १० प्रतिशतमा मात्र रोगको कारण पत्ता लाग्ने गरेको छ ।गर्भावस्थाको पहिलो तीन महिनामा हुने विभिन्न भाइरल इन्फेक्सनका कारण बच्चामा मुटुरोग हुने गर्छ ।
त्यस्तै गर्भावस्थामा विभिन्न औषधिको सेवन, धूम्रपान-मद्यपान, विकिरणको प्रभाव, मधुमेह, उच्च रक्तचाप, शरीरमा फोलिक एसिडको कमी, अत्यधिक मोटोपना तथा पौष्टिक आहारको कमीका कारण बच्चामा जन्मजात मुटुरोग हुन सक्छ।
यदि आमा बुबा वा परिवारका अन्य सदस्य जन्मजात मुटुरोगी भएमा बच्चामा पनि मुटुरोगको जोखिम हुने गर्छ ।
बच्चाहरू अनौठो रूप लिएर जन्मनु, क्रोमोजोममा गडबडी र डाउन सिन्ड्रोम हुनु आदि पनि जन्मजात मुटुरोगका कारण हुन् ।
जन्मजात मुटुरोगका धेरै किसिम छन् । यद्यपि, नीलो हुने र नीलो नहुने आधारमा दुई भागमा विभाजन गर्न सकिन्छ । नीलो नहुने रोगमा मुख्यगरी मुटुको कोठा बीचको पर्दामा प्वाल पर्ने, रक्तनली तथा भल्भहरू खुम्चिने हुन्छ।
अधिकांशमा मुटुको तल्लो कोठाबीचको पर्दामा प्वाल पर्छ ।
नीलो हुने रोग जटिल खालका समस्या हुन् । त्यसमध्ये सबैभन्दा बढी देखिने ट्रटालोजी अफ फ्यालोस हो।
गर्भावस्थाको जीवनशैलीले बच्चाको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले निकै ध्यान पु(याउन आवश्यक छ । उच्चरक्तचाप, मधुमेह र अन्य रोग नियन्त्रणमा राख्नुपर्छ । त्यस्तै तनावमुक्त रहने र पौष्टिक आहारमा ध्यान दिन आवश्यक छ।
भाइरल इन्फेक्सनबाट बच्न विभिन्न खोप अनिवार्य लगाउनुपर्छ । गर्भावस्थामा चिकित्सकको सल्लाहविना कुनै पनि औषधिको सेवन गर्नुहुँदैन।
स्वस्थ जीवनशैली अपनाउने, विकिरणको प्रभावबाट बच्ने र नजिकका नातेदारसँग सकेसम्म वैवाहिक सम्बन्ध राख्नुहुँदैन।

प्रतिक्रिया