छापा खबर


यी हुन् लिम्पियाधुरा नेपालको हो भन्ने तीन आधार

यी हुन् लिम्पियाधुरा नेपालको हो भन्ने तीन आधार

नेपालखबर
कात्तिक २४, २०७६ आइतबार १:२७,

पश्चिमी सीमा लिम्पियाधुरा हो भन्नेमा नेपालको अडान धमिलो छ। केही राजनीतिक नेताहरू र मन्त्रीसमेत लिपुलेकलाई सीमा मान्ने पनि छन्।

तर नेपालले तीन आधारमा पश्चिमी नाका लिम्पियाधुरा दाबी गर्न मिल्ने विज्ञहरूको भनाइ छ। 

पहिलो– इस्ट–इन्डिया कम्पनी सरकारले प्रकाशित गरेको ऐतिहासिक नक्सा। दोस्रो– जन विज्ञान। तेस्रो– कुमाउ कमिसनरलाई पठाएको पत्र।यो जानकारी आज आइतबार प्रकाशित नेपाल साप्ताहिकले छापेको छ।

सन् १८१६ को सुगौली सन्धिअनुसार काली नदीको पूर्व नेपालको सीमा हो। त्यसको सुरुआत बिन्दु काली नदी हो, जसको मुहान लिम्पियाधुरा हो। ००९–०११ सालमा गरिएको गरिएको नेपालको पहिलो जनगणनाअनुसार ती क्षेत्रको तथ्यांकमा ४ सय ३२ घरधुरीमा १ हजार ८ सय १६ जनसंख्या थियो। वि.सं. ०१८ को जनगणनामा तत्कालीन जोनल अफिसरका रूपमा भैरव रिसालले कुटी, तिंकर, छाङरु, नभी, गुञ्जी र गब्र्याङ गाउँको तथ्यांक लिएका थिए।

सीमा अध्येता रतन भण्डारीका अनुसार महाकाली नदीको मुहान लिम्पियाधुरा भएको पुष्टि गर्ने आधिकारिक आधार इस्ट–इन्डिया कम्पनी र सर्भे अफ इन्डियाले प्रकाशन गरेका त्यतिबेलाका नक्सा हुन्। जस्तो, सुगौली सन्धि हुनुभन्दा २ महिनापहिला २ जनवरी १८१६ मा ब्रिटिस सम्राटका हाइड्रोग्राफरले प्रकाशन गरेको नक्सामा महाकाली नदीको मुहान लिम्पियाधुरा देखाइएको छ।

जल विज्ञानमा मूल र सहायक नदी छुट्याउन नदीको लम्बाइ, नदीले आगेटेको जलाधार क्षेत्र, पानीको मात्रा, गहिराइ र क्रमांक आधार मानिन्छ। त्यसआधारमा हेर्दा सहायक नदीभन्दा लामो दूरीबाट आउने, पानीको मात्रा बढी भएको, गहिरो र जलाधार क्षेत्र एउटै भएको नदी मूल मानिन्छ।

सोही आधारमा लिम्पियाधुरा उद्गमित नदी पानीको आयतन बढी भएको, जलाधार क्षेत्र पनि ठूलो भएको, अन्य सहायक नदीभन्दा टाढाबाट बगेर आएको र गहिरो पनि भएकाले महाकालीको मुहान त्यसैलाई मानिन्छ।

तेस्रो तथ्य के भने इस्ट इन्डिया कम्पनीका कार्यवाहक मुख्यसचिव जे आदमले गर्भनर जनरलका रूपमा सन् १८१७ मा कुमाउका कमिसनरलाई ‘कालीपूर्वको व्यास प्रगन्नासहितको भूभाग सुगौली सन्धिअनुसार नेपालकै भएकाले ती गाउँ नेपालमा सुम्पिन’ भनेर लेखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad