दोलखामा पुनर्निर्माणमा खटिएका प्राविधिक भूकम्पपीडितको ६ लाख उठाएर फरार निजी आवास पुनर्निर्माणमा खटिएका प्राविधिक नै भूकम्पपीडितको ६ लाख उठाएर फरार भएका छन्।
दोलखाको शैलुङ गाउँपालिकामा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट खटिएका सबइन्जिनियर सन्तोष स्नेही सेनले घर बनाइदिन्छु भन्दै पीडितलाई ठगेका हुन्।
शैलुङ-५ को काटाकुटी खत्रीटोलका तीन घरको ६ लाख असुलेर फरार भएको पीडितहरूले बताएका छन्।
आफू, रामबहादुर खत्री र नारायण खत्रीलाई घर बनाइदिन्छु भन्दै पहिलो र दोस्रो किस्ताको दुई-दुई लाख लिएर फरार भएको पीडित सुन्दर खत्रीले बताए भनेर आजको नयाँ पत्रिकामा श्याम खतिवडाले खबर लेखेका छन्।
‘हामी कामको सिलसिलामा काठमाडौं बस्थ्यौँ, सबइन्जिनियर आफैँले घर बनाइदिने भनेपछि ढुक्क भएर रकम बुझायौँ। तर, रकम जम्मा गरेर उनी फरार भए,’ सुन्दरले भने। स्नेहीले रामबहादुर र सुन्दरको घरको जग हालेर केही गाह्रो लगाए पनि नारायणको घर भने डिपिसीसम्म उठाएका थिए ।
‘घर ठेक्का दिएदेखि पटक–पटक ताकेता गर्यौँ, बल्लतल्ल डिपिसी लेभलसम्म मात्रै उठाएर पैसा लिएर फरार भए,’ नारायणले भने । आफूहरूले प्राधिकरणमातहतको कार्यालयमा घटनाबारे जानकारी गराइसकेको र केही दिनमै प्रशासनमा उजुरी दिने पीडितहरूले बताएका छन्। स्नेही चैनपुर–१, बझाङका हुन्।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गतको भवन कार्यालयले भने सबइन्जिनियर स्नेही लामो समयदेखि सम्पर्कमा नरहेको र स्पष्टीकरणको जवाफ पनि नआएको भन्दै कारबाही लागि सिफारिस गरेको जनाएको छ।
Shares

प्रतिक्रिया