छापा खबर


यसकारण गरेको रहेछ सरकारले डा.शेरबहादुर पुनलाई कारबाही

यसकारण गरेको रहेछ सरकारले डा.शेरबहादुर पुनलाई कारबाही

नेपालखबर
बैशाख ७, २०७७ आइतबार १:४४,

डा.शेरबहादुर पुन जसले भाइरोलोजीमा जापानबाट पिएचडी गरे, जसले टेकु अस्पतालमा १८ वर्षदेखि सेवा गरिरहेका छन्, सुन्दा धेरैलाई आश्चर्य लाग्ला– उनी त्यहाँका स्थायी कर्मचारी होइनन् ।

हो, उनी १८ वर्षदेखि करारमा छन् । यो खबर आजको नयाँ पत्रिका दैनिकमा अर्जुन अधिकारीले लेखेका छन्।

योबीचमा उनले सार्स, मलेरिया, कालाजार, जापानिज इन्सेफ्लाइटिस, स्वाइनफ्लु, डेंगुजस्ता संक्रामक रोगको बहादुरीपूर्वक सामना गरे, पुरस्कारमा सरकारले उनलाई अस्पताल छाडेर मन्त्रालयमा हाजिर हुन भनेको छ । त्यो पनि देश र दुनियाँ कोभिडजस्तो महामारीविरुद्ध संघर्ष गरिरहेको वेला ।

गत बुधबार र बिहीबार टेकु अस्पतालका अधिकांश मेडिकल अफिसर आइसियूबारे तालिम लिन ह्याम्स अस्पताल गएका थिए ।

लगातार दुई दिन अस्पतालको ओपिडी डा. पुनले धानेको टेकु अस्पतालले जनाएको छ । अहिले सो अस्पतालमा कोभिड आशंका गरिएका बिरामी मात्रै आउने भएकाले पुन फुल पिपिई लगाएर बिरामी हेर्न बसेका थिए ।

त्यही वेला उता मन्त्रालयमा उनलाई बोलाएर जानकारी लिने तयारी भइरहेको थियो । कोभिड उपचार गर्ने देशको मुख्य अस्पताल टेकुका सरुवारोग विशेषज्ञ तथा क्लिनिकल रिसर्च युनिट संयोजक पुनले सञ्चारमाध्यममा कोभिडबारे लेखेको र बोलेको विषयमा मन्त्रालयले सोधपुछ गर्ने तयारी गरेको थियो ।

त्यसका लागि उनलाई फोन गरिएको थियो । ‘पिपिई लगाएर उपचारमा जुटेको स्वास्थ्यकर्मीले फोन उठाउन मिल्दैन, त्यो प्राविधिक रूपमा सम्भव छैन र अझ स्वास्थ्य प्रोटोकलले पनि त्यसो गर्न दिँदैन,’ डा. पुनले भने, ‘बिहीबार दिउँसो फोन आएको रहेछ, बेलुका मात्र थाहा पाएँ । मास मिडियामा किन बोलेको, किन लेखेको भनेर मन्त्रालयको चासो रहेछ।’

आमसञ्चारका माध्यमबाट कोभिडविरुद्ध जनचेना फैलाएको विषयमा सोधपुछ गर्न मन्त्रालयले बोलाएको थियो । त्यसैले दिनभर बिरामीको सेवामा जुटेका डा. पुन साँझ घर गए ।

‘मैले बोलेको विषयले देशमा केही भवितव्य परेको थिएन । फेरि रातिराति मन्त्रालय जाने कुरा भएन, शुक्रबार केही बिरामी हेरेर मन्त्रालय जाने सोच बनाएको थिएँ,’ उनले भने । तर, भन्नासाथ नआएको भनेर उनलाई पत्र नै लेखेर मन्त्रालयमा हाजिर हुन भनिएको छ।

यसरी बिरामीको उपचारमा संलग्न चिकित्सकलाई २४ घन्टासमेत समय नदिई अहंकारपूर्वक कारबाही गरिएको छ।

‘२४ घन्टा पनि नबित्दै मलाई लिखित नै स्पष्टीकरण सोध्ने भनेर पत्र तयार पार्नुभएछ । मलाई त्यसरी हतोत्साही गराउन उहाँहरूले किन आवश्यक ठान्नुभयो, मैले बुझेको छैन । अन्योलमा छु,’ उनले भने।

कोभिडबारे जनचेतना फैलाएको विषयमा चिकित्सकलाई कारबाही भएको विषयले सबैलाई आश्चर्यमा पारेको छ, डा. पुन आफैँ पनि चकित परेका छन्।

भन्छन्, ‘यो वेला मानिसहरू विभिन्न भ्रम–त्रासमा बसिरहेका छन् । त्यसलाई चिर्ने विशेषज्ञ स्वास्थ्यकर्मीले नै हो । त्यसैले कोभिडबारे मैले लेख्ने र बोल्ने काम गर्दै आएको छु । यो हाम्रा पेसागत दायित्व मात्र होइन, मानवीय धर्म पनि हो । तर, त्यसैलाई पाप र गैरकानुनी भनिन्छ भने मेरो भन्नु केही छैन।’

डा.पुनको योग्यता र विज्ञतालाई अन्तर्राष्ट्रिय जगत्ले पनि पहिचान दिएको छ । संक्रामक रोगसम्बन्धी अन्तर्राष्ट्रिय जर्नलमा शेरबहादुरका ‘पेपर’हरू प्रकाशित भइरहन्छन्।

उनी संक्रामक रोगबारे नेपाली मिडियामा पनि खुलेर बोल्छन् । ‘डाक्टरको काम औषधिको प्रेस्क्रिप्सन लेख्ने मात्र होइन, रोग नै नलागोस् भनेर जनतालाई सचेत गराउनु हाम्रो दायित्व हो,’ उनी भन्छन्, ‘कोभिडजस्तो महामारीबारे चेतना एक–एकजनालाई भेटेर दिन सम्भव हुँदैन, मास मिडियाबाट जानुपर्छ।’

उता डा. पुनको यो सामान्य तर्क पनि मन्त्रालयले बुझेको छैन । सूचना दिने पनि समय हुन्छ भन्छन् मन्त्रालयको कर्मचारी प्रशासन महाशाखाका प्रमुख रघुराम विष्ट ।

उनले भने, ‘जनतालाई सूचना दिने पनि समय हुन्छ । जथाभावी दिन आवश्यक छैन । एकद्वार प्रणाली हुन्छ । मन्त्रालयमा प्रवक्ता डा. विकास देवकोटाभन्दा अर्को व्यक्ति बोलेको छैन।’

तर, प्रवक्ता देवकोटालाई भने डा. पुनलाई किन कारबाही गरिएको भन्ने पनि जानकारी ‘छैन’ । शनिबार साँझ उनले भने, ‘मैले यो विषयमा राम्ररी बुझेको छैन, त्यसैले मैले बोल्नु उपयुक्त हुँदैन।’

जनचेतनाका लागि लेख्दै र बोल्दै आएका पुनको शैली सरकारलाई मन परेको थिएन । यस्तो काम मन्त्री र वरिष्ठ कर्मचारीले गर्ने हो भन्ने मान्यता उनीहरूको छ।

फ्रान्सबाट आएकी युवतीको कोरोना परीक्षणको रिपोर्ट स्वास्थ्यमन्त्री भानुभक्त ढकालले मन्त्रालयमा भव्य पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेका थिए, जब कि बिरामीको उपचार गरिरहेका डाक्टरहरूलाई यो विषयमा जानकारी नै दिइएको थिएन।

अर्को केस भेटिएपछि पनि मन्त्री ढकालले नै पत्रकार सम्मेलन गरेका थिए । तर, ६ चैतमा दुबई हुँदै आएका व्यक्तिलाई कतार भनिदिएपछि अन्योल बढेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad