समाज


‘महाजन’ले चापाकलको ह्यान्डल फुकालेर लगेपछि सांसदका छिमेक डोम समुदाय पोखरीकै पानी पिउन बाध्य

‘महाजन’ले चापाकलको ह्यान्डल फुकालेर लगेपछि सांसदका छिमेक डोम समुदाय पोखरीकै पानी पिउन बाध्य

शैलेन्द्र महतो
बैशाख ७, २०७७ आइतबार १:३४,

महोत्तरीको सोनमा गाउँपालिकामा एक स्थानीयले दलित समुदायको वस्तीमा रहेको चापाकलको ह्यान्डल खोलेर लगेपछि अति विपन्न डोम समुदाय खानेपानीबाट वञ्चित भएको छ।

domsamuday

जग्गा विवादका क्रममा स्थानीय विजय यादवले कलको ह्यान्डल खोलेर लगेपछि सोनमा गाउँपालिका–५, खयरवनीका डोम समुदायका पाँच घरपरिवार पोखरीको पानी पिउन बाध्य भएका हुन्।

शुद्ध पानी पिउनबाट वञ्चित भएका ती घरपरिवार प्रदेशसभा सांसद कौशल यादव र वडाध्यक्ष रामविनेक यादवका छिमेकीसमेत हुन्।

dom2

वडाध्यक्ष रामविनेक यादवको घर त्यो डोम वस्तीबाट सय मिटर मात्र पर छ भने प्रदेश सांसद यादवको घर ५ सय मिटरको दूरीमा छ। चापाकलको ह्यान्डल खोल्ने विजय पनि वडाध्यक्षकै छिमेक हुन्। उनको यस कार्यमा वडाध्यक्षले समेत सघाएको स्थानीयको आरोप छ।

एक साताअघि घर निर्माणको जग्गा विवादका क्रममा यादवले चापाकलको ह्यान्डल खोलेर लगेपछि पोखरीकै पानी खान बाध्य भएको स्थानीय लीला मल्लिक डुमले दुखेसो पोखिन्।

‘विजय महाजनले तथानाम गालीगलौज र धाकधम्की दिँदै हामीले पानी खाने चपाकलको ह्यान्डल झिकेर लग्नु भो। हामी तल्लो जात भएकाले अन्य इनार र कल बर्जित छ। हामी डोम समुदाय बाध्य भएर अहिले पोखरीकै पानी खान्छौं, त्यही पाीनमा खाना पकाउछौं, नुहाइधुवाइ सबैथोक गरिरहेका छौं,’ लीलाले भनिन्।

उनका अनुसार यो जग्गामा उनकाे परिवार चार/पाँच पुस्तादेखि बसिरहेको छ। उनले थपिन्, ‘भोग चलनकै जग्गामा घर बनाउँदा स्थानीय विजय महाजनलगायत उनका आफन्त आएर यो जग्गा हाम्रो भन्दै धाकधम्की दिने गर्छन्। अन्तमा पानी खानबाट नै वञ्चित गर्नुभो।’

डोम समुदाय त्यहाँको करिब सवा कठ्ठा ऐलानी जग्गामा बसोबास गरिरहेका छन्। स्थानीय यादव समुदायका केही व्यक्तिले अतिक्रमण गरेपछि ती पाँच घर डोम परिवार १५ धुरमा सीमित भएका छन्।

उनीहरूको भोगचलनमै रहेको जग्गामा प्रदेश २ सरकारले जनता आवास कार्यक्रमअन्तर्गत गत महिनादेखि छाप्रो घर भत्काएर पक्की घर निर्माण गर्न थालेको छ। तर तीमध्ये अजय मल्लिक र विजय मल्लिकले आफ्नो ऐलानी जग्गामा घर बनाइरहेको भन्दै स्थानीय विजय यादवले डोम परिवारलाई जीवनयापनमा बाधा पुर्याइदिदएको पीडित समुदायको आरोप छ।

न्यायका लागि जनप्रतिनिधि र प्रहरी प्रशासनलाई हारगुहार गर्दा कसैले नसुनेको डोम समुदायको गुनासो छ। घर निर्माण सुरु भएदेखि नै विजय तथा उनको परिवारका सदस्यले पटकपटक घर भत्काइदिएको लीलाले गुनासो गरिन्।

डोम समुदायलाई खानेपानीबाट वञ्चित गरेको विषयमा जिज्ञासा राख्दा वडाध्यक्ष रामविनेकले प्रदेश सांसद कौशल यादवकै कारण पटकपटक विवाद उत्पन्न हुने गरेको आरोप लगाए।

‘खानेपानीबाट वञ्चित गरिएको विषयमा कौशल माननीय जीसँग सोध्नुस्। जग्गा विवाद टुंगो लगाउन अमिन लिएर जाँदा उहाँले नै नाप्न दिनुभएन। त्यत्किै डोम समुदायको घर बनाउन सुरु गराउनुभयो। त्यसैले विवाद समाधान भएन,’ वडाध्यक्ष यादवले भने।

यता प्रदेश सांसद कौशल यादवले खानेपानीबाट वञ्चित गरिएको विषयमा शनिबार मात्रै जानकारी भएको र यस विषयमा आफूले पहलकदमी लिने बताएका छन्।

‘डोम बस्तीमा मेरो अगुवाइमै जनता आवासअन्तर्गत घर बनिरहेको छ। तर पानी खानबाट वञ्चित गरिएको विषयमा अहिलेसम्म मलाई जानकारी छैन। म यस विषयलाई गम्भीरतापूर्वक लिएर पहलकदमी लिन्छु,’ सांसद यादवले नेपालखबरसँग भने।

सोनमा गाउँपालिकाका अध्यक्ष राजकुमार यादवले भने डोम समुदायलाई खानेपानीबाट वञ्चित गरिएको विषयमा आफूलाई जानकारी नभएको दाबी गरे। यस विषयमा बुझेर छलफल गरी समस्या समाधान गर्ने उनले बताए।

यस्तै महोत्तरी जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले यस विषयमा प्रहरीमा कुनै जानकारी नआएको र तुरन्त बुझेर कारबाही प्रक्रिया अघि बढाउने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad