छापा खबर


प्रधानमन्त्रीको गृहनगर दमकमा डेढ अर्बको १८ तले भ्यु टावर बनेपछि देखिने छ यस्तो दृश्य

प्रधानमन्त्रीको गृहनगर दमकमा डेढ अर्बको १८ तले भ्यु टावर बनेपछि देखिने छ यस्तो दृश्य

नेपालखबर
पुस ११, २०७७ शनिबार २३:३०,

झापाको गौरीगञ्ज र मोरङको रतुवामाई नगरपालिका जोड्ने रतुवा पुल १३ वर्षदेखि अलपत्र छ ।

प्रधानमन्त्री केपी ओलीको गृहनगर दमकमा सरकारले डेढ अर्ब लगानीमा सय मिटर अग्लो भ्यु टावर बनाउँदै छ । राष्ट्रिय गौरवको आयोजनामा समावेश १८ तले यो टावरको निर्माणले वरिपरिका सर्वसाधारणलाई भने हर्षभन्दा चिन्ता थपेको खबर आजको नयाँ पत्रिका दैनिकमा झापाबाट चिरञ्जिवी घिमिरेले लेखेका छन्।

भ्यु टावरको पश्चिमतिरको पर्खालसँगै जोडिएको टुकुरेबस्तीमा सय परिवार सुकुमबासीको बसोवास छ । ०२२ देखि त्यहाँ बसोवास गरिरहेका उनीहरूले अहिलेसम्म जग्गाधनी प्रमाण पुर्जा पाएका छैनन् । टावर बन्न थालेदेखि उनीहरूलाई त्यहाँबाट लखेटिने चिन्ताले मात्रै सताउँछ । सरकारले उनीहरूको व्यवस्थापनमा कुनै चासो देखाएको छैन।

टुकुरेबस्तीकी ६५ वर्षीया भीमकुमारी विकले आँगनमै भ्यु टावर ठडिएपछि बस्तीबाटै हटाउँछ कि भन्ने चिन्ताले राति निद्रा पनि नलाग्ने बताइन्।

स्थानीय राम भुजेलको चिन्ता पनि भीमकुमारीकै जस्तो छ । निर्माणाधीन भ्यु टावरको पर्खाल उनको घरसँगै जोडिएको छ । दमकका धेरै मान्छेले भ्यु टावरमा आर्थिक समृद्धि देख्दा उनीचाहिँ आफ्नै घर छोडेर हिँड्नुपर्ने हो कि भन्ने चिन्तामा छन्।

वेलावेलामा बस्तीमा आउने अपरिचित व्यक्तिहरूका कुराले स्थानीयलाई झन् धेरै अत्यास बनाउँछ । उनीहरू त्यो क्षेत्रमा एउटै खालका होमस्टे बनाउने भन्दै गफ गर्छन् । ‘एउटैखाले होमस्टे बनाउने भन्छन् । हामी सुकुमबासीसँग त पैसा छैन, कसरी बनाउँला?

टावर बनिरहेको आँपगाछी गाउँको अवस्था पनि उस्तै दयनीय छ । सडक धुलाम्मे छ । स्थानीयले पिउन शुद्ध पानी पाएका छैनन्, ट्युुबेलको पहेँलो पानी पिउन विवश छन् । स्वास्थ्य सेवा लिन ६ किलोमिटर पूर्व दमक बजार धाउनुपर्ने बाध्यता छ । जनसरोकारका यस्ता महत्वपूर्ण विषयभन्दा सरकारको प्राथमिकतामा भ्यु टावर परेको छ।

‘हामीले भोट दिएका नेता प्रधानमन्त्री बने । यहाँ भ्यु टावर पनि बन्दै छ । तर, हाम्रो जीवनचाहिँ अभाव र चिन्तामै बितेको छ,’ स्थानीय दिलमा भुजेलले भनिन्, ‘न खानेपानी आएको छ, न त राम्रो बाटो नै बनेको छ । अहिले पनि हामी ट्युुबेलको पहेँलो पानी पिउन बाध्य छौँ । खुसी त जग्गा किनबेच गर्ने दलालहरू भएका होलान् । जग्गाको भाउ बढ्यो नि त ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad