छापा खबर


किरिया गरेको १५ वर्षपछि पत्नीसहित घर फर्के माओवादी पूर्वलडाकु

किरिया गरेको १५ वर्षपछि पत्नीसहित घर फर्के माओवादी पूर्वलडाकु

नेपालखबर
साउन २३, २०७६ बिहिबार १:२५,

‘वर्गविहीन समाज’ निर्माण गर्ने सपना बोकेर तत्कालीन नेकपा माओवादीले सञ्चालन गरेको दस वर्षे ‘जनयुद्ध’ मा हजारौं युवा सहभागी भए।

युद्धमा सहभागीमध्ये केहीको मृत्यु भयो, केही सकुशल घर फर्किए त केही बेपत्ता, घाइते र अपांग भए। केही बेपत्ताको अवस्था खुल्न नसकेपछि परिवारका सदस्यले मृत्यु भएको ठानेर काजकिरिया पनि गरेका छन्।

तर रूकुममा काजकिरिया गरिएको १५ वर्षपछि एक पूर्वलडाकु यही साउन १९ गते घर फर्केका छन्।

परिवारका सदस्यले उनी युद्धमा मरेको ठानेर काजकिरिया गरेका थिए। यो खबर आजको नागरिक दैनिकमा नेपालगञ्जबाट लोकेन्द्र खनालले लेखेका छन्।

रूकुमको खारामा सरकारी सुरक्षाकर्मी र तत्कालनीन नेकपा माओवादीका लडाकुबीच भएको लडाइँका क्रममा बेपत्ता भएका सानीभेरी गाउँपालिका–११ ९साबिक अर्मा गाविस– ९० का उमेश विश्वकर्मा परिवारले मरेको ठानेर किरिया गरेको अवस्थामा घर आएका हुन्।

२०६१ सालमा खारा लडाइँमा सहभागी भएका उनको अवस्था खुलेको थिएन। उनी घर नआएपछि परिवारले मृत्यु भइसकेको भनेर काजकिरिया गरेको थियो।

‘छोराको अवस्थाबारे धेरै खोजी ग¥यौँ, पार्टीले पनि खोज्यो,’ आमा मनकुमारीले भनिन्, ‘लडाइँमा गएको छोराको मृत्यु भयो होला भनेर हाम्रो परम्परा अनुसार काजकिरिया गरेका थियौं। ’

उनका अनुसार बेपत्ता भएको तीन महिनापछि उनी मरेको सम्झेर किरिया गरिएको थियो। काजकिरिया गरिसकेको छोरा घर आएपछि अहिले मनकुमारीको परिवारमा खुसीको सीमा छैन। उमेश घर पुग्दा सुरुमा आमाले विश्वासै गरिनन्।

तर उमेशले पुराना सबै कुरा र घटनाक्रमबारे जानकारी गराएपछि आमाले भक्कानिँदै अंगालो हालिन्। ‘सुरूमा त मेरो छोरो आयो होला भनेर मैले विश्वासै गरिनँ तर उसले सबै कुरा भनेपछि मात्रै चिनें,’ आमा मनकुमारीले भनिन्, ‘खुसीले आँसु रोक्न सकिनँ। ’

काजकिरिया गरिएको १५ वर्षपछि पूर्वलडाकु उमेश विश्वकर्मा यही साउन १९ गते घर फर्केका हुन्। २०६१ सालमा रुकुमको खारामा भएको लडाइँमा सहभागी विश्वकर्मा घर नफर्किएपछि मरेको ठानेर परिवारले किरिया गरेको थियो।

उमेश एक्लै पनि आएका छैनन्। उनले छोराछोरी र पत्नीलाई पनि साथमा ल्याएका छन्। १६ वर्षको उम्मेरमा उनी माओवादीको ‘जनमुक्ति सेना’ मा सहभागी भएका थिए।

उनी खारा लडाइँमा सहभागी हुँदा २० वर्षका थिए। विभिन्न ठाउँका लडाइँमा सहभागी उमेशले खारा युद्धमा घाइते भएपछि आफूलाई सबैले छोडेर गएको र बाँच्नका लागि भाग्दा–भाग्दा भारत पुगेको बताउँछन्।

‘म त्यतिबेला लडाकुको ११ नम्बर प्लाटुनमा कार्यरत थिएँ। खारामा रातभरि लडाइँ भयो। बिहान हुन लाग्दा सबै साथी भाग्न थाले, म पनि ज्यान बचाउनका लागि भागें,’ उनले पुरानो कथा सुनाउँदै भने, ‘हिँड्दै जाँदा कहाँ पुगें कहाँ थाहा भएन। ठूलो जंगलमा पुगें। त्यही जंगल छिचोल्ने क्रममा भारत पुगेछु। ’

उनले थपे, ‘कुन ठाउँ हो त्यो थाहा भएन। कयौं रात भोकभोकै गल्लीमा सुतें। धेरै होटेलमा पुगेर काम मागें तर पाइनँ। काम खोज्दा–खोज्दा बल्ल एउटा सानो होटेलले खाना र बस्न मात्रै दिने गरेर काममा लगायो। करिब पाँच वर्ष यसैगरी बिताएँ। त्यसपछि त्यहाँबाट भागेर गाडीमा चढें। त्यो गाडी कहाँ जाने हो केही थाहा थिएन्। हिन्दी भाषासमेत राम्रोसँग बुझ्दैनथें। त्यो गाडीले मुम्बई पु¥यायो। त्यहीं काम गर्न थालें। तीन वर्षपछि त्यहीं विवाहसमेत गरें। ’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad