छापा खबर


ओली नभएको मौकामा प्रचण्ड भेटघाटमा सक्रिय, तर वामदेवलाई भने भेटेनन्!

ओली नभएको मौकामा प्रचण्ड भेटघाटमा सक्रिय, तर वामदेवलाई भने भेटेनन्!

नेपालखबर
साउन २३, २०७६ बिहिबार १:३९,

प्रधानमन्त्रीसमेत रहेका नेकपा अध्यक्ष केपी ओली विदेशमा रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहाल पार्टीमा सक्रिय भएका छन्।

दाहालले एकीकरण प्रक्रियालगायत विषयमा पार्टीका वरिष्ठ नेताहरूसँग व्यक्तिगत छलफल तीव्र पारेका हुन्।

दाहालले तीन दिनयता नेताहरूलाई निवासमै बोलाएर छलफल गर्दै आएका छन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा रामकृष्ण अधिकारीले लेखेका छन्।

‘अध्यक्ष (दाहाल) अहिले पार्टी काममा व्यस्त हुनुहुन्छ। पार्टी नेताहरूसँगको निरन्तर आन्तरिक छलफल र संवादमा हुनुहुन्छ,’ दाहालको निजी सचिवालयका एक सदस्यले भने, ‘छलफलका लागि आवश्यक ठानिएका सचिवालय र स्थायी समितिका सदस्यहरूलाई बोलाएर कुराकानी गरिरहनुभएको छ।’

दाहालले बुधबार वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग झन्डै तीन घन्टा खुमलटारमा छलफल गरे। दुई नेताबीच कार्यविभाजन, एकता प्रक्रिया, राजनीतिक परिदृश्य र पार्टी कार्यक्रममा केन्द्रित रहेर छलफल भएको स्रोतको भनाइ छ।

दाहालसँग भेटेका खनालले पनि केन्द्रीय नेताहरूको कार्यविभाजन र बाँकी एकता प्रक्रियामा केन्द्रित रहेर छलफल भएको बताए।

‘एकता प्रक्रिया टुंग्याउन अब ढिला गर्नु हुँदैन। त्यसलाई केकसरी सचिवालय बैठकबाटै टुंग्याउने भन्नेमा छलफल भयो,’ पूर्वप्रधानमन्त्री खनालले भने, ‘एकता प्रक्रिया टुंगो लगाएर देशव्यापी राष्ट्रिय अभियान चलाउनुपर्छ भन्नेमा उहाँ देखिनुहुन्छ। मेरो पनि त्यही चिन्ता छ।’

प्रधानमन्त्री ओली सिंगापुरबाट फर्केलगत्तै २८ साउनमा नेकपा सचिवालय बैठक बस्दैछ। साउन १३ मा उक्त बैठक बस्ने मिति तय गरेर दाहाल र ओली विदेश दौडाहामा लागेका थिए। नेकपामा केन्द्रीय नेताहरूको विभागीय जिम्मेवारीलगायतका एकतासँग सम्बन्धित कार्य टुंग्याउन बाँकी छ।

दाहालले सोमबार अर्का वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेका थिए। उनले प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्रीसमेत रहेका नेता रामबहादुर थापासँग पनि भेटवार्ता गरिसकेका छन्।

सचिवालयमा रहेका नेताहरू कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेल, नेता वामदेव गौतम र महासचिव विष्णु पौडेलसँग भने दाहालले भेट गरेका छैनन्।

महासचिव पौडेलसँग दाहालले नेताहरूको कार्यविभाजन र रुचिका विषयमा भएको प्रगति विवरणबारे टेलिफोनमा जानकारी लिएको स्रोतले बतायो।

दाहालले यसबीचमा स्थायी समिति सदस्यहरू जर्नादन शर्मा, ऊर्जामन्त्री वर्षमान पुन, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिका यादव, परराष्ट्रमन्त्री प्रदीप ज्ञावाली लगायत नेतालाई आफ्नै निवासमा बोलाई छलफल गरिसकेका छन्।

दैनिकजसो खुमलटार पुग्ने वामदेव गौतम यसपटक भने दाहाल यूएईबाट फर्केपछि पुगेका छैनन्।

गौतमले पछिल्लोपटक पार्टीको राजनीतिक कार्यक्रम ‘जनताको जनवाद’ कार्यक्रम नै नभएको तर मदन भण्डारीको बहुदलीय जनवाद मार्क्सवाद, लेनिनवादजस्तै सिद्धान्तकै रूपमा विकास गरेर जानुपर्ने मतसहितको लेख लेखेपछि दाहाल गौतमसँग झस्किएका छन्।

पार्टी संगठन विभाग र कास्कीको उपचुनावमा समेत प्रधानमन्त्री ओलीले ‘धाप’ दिएपछि गौतम ओली ‘क्याम्प’ मै फर्किन खोजेको चर्चा नेकपाभित्र हुन थालेको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad