छापा खबर


यस्तो छ तितेपातीको औषधिय गुण

यस्तो छ तितेपातीको औषधिय गुण

नेपालखबर
साउन २३, २०७६ बिहिबार ३:५४,

बारीमा पाती पलाउनुलाई राम्रो मानिन्न । यसले अरू बोटबिरुवा सप्रन दिँदैन।

कतिले छरछिमेकमा झगडा भयो भने तेरा बारीमा पाती पलाओस् भन्न पनि पछि पर्दैनन्।

तर, त्यही पाती अर्थात् तितेपातीमा अपार औषधीय गुण हुन्छ, आम्दानीको स्रोत बन्नसक्छ भन्ने अझै नेपाली समाजमा व्यापक चेतना फैलिन सकेको छैन। यो खबर आजको गोरखापत्र दैनिकमा चाँदनी हमालले लेखेकी छन्।

समुद्री सतहको तीन सयदेखि दुई हजार चार सय मिटर उचाइका खुला कुना, कन्दरा र सेपिलो तथा बन्जर भूमिमा समेत सर्लक्क फैलन्छ तितेपाती।

फूल फुल्ने बिरुवाअन्तर्गत पर्ने तितेपातीको वैज्ञानिक नाम आर्टिमिसिया भल्ग्यारिस हो । नेपालमा भने भूगोलअनुसार करिब छ प्रजातिका
तितेपाती पाइन्छन्।

नेपालमा तितेपातीको औषधीय गुणको गहन अध्ययन र परीक्षणबाट ठोस प्रतिफल वैज्ञानिक तहबाट प्राप्त हुन सकेको छैन । केही स्थानीयले भने राम्रो प्रयास गरिरहेका छन् । दिक्तेल रुपाकोट, मझुवागढी नगरपालिका– १० पाथेकास्थित स्थानीयले तितेपातीको तेल निकालेका छन्।

भदौ र असोज महिना तेल निकाल्ने उपयुक्त मौसम हो । गत वर्ष गाउँका स्थानीय मिलेर समृद्धिपथ एग्रो कम्पनी स्थापना गरे । कम्पनीका अध्यक्ष अग्नि राई भन्छन्, “परीक्षण सफल भएपछि तेल आउँदो रहेछ भनेर थाहा पायौँ, गत वर्ष करिब ४५ केजी तेल निकाल्न सफल भयौँ। ”

अध्यक्ष राईका अनुसार तितेपातीको तेल पानीभन्दा हलुका हुन्छ । एक हजार मिलिलिटर पानीको एक केजी हुँदा तितेपातीको तेल भने एक हजार दुई सय मिलिलिटरको एक केजी हुन्छ।

कीराबाट बचाउन प्रयोग
तितेपातीको तेलबाट हाड दुखाइको औषधि, चिलाउने रोगको औषधि, उच्च रक्तचाप र ज्वरोको औषधि बनाउने अनेकौँ सम्भावना रहेको विज्ञहरू औँल्याउँछन्।

त्रिभुवन विश्वविद्यालयका वनस्पति अध्येता सञ्जय झाले तेल निकालेर बनाएको ट्याब्लेटबाट खाद्यान्नका घुनकीरा मार्न प्रयोग भइरहेको बताए।
उनका अनुसार बाली भित्र्याउनुअघि र पछि चार–पाँच दिनसम्म यस औषधिलाई भाँडामा राखेर छाड्दा कीरा भाग्ने गर्छन्।

तितेपाती नेपालका लेकमा जुका फाल्न र तल्लो भेगमा बिरुवालाई कीराबाट बचाउन बढी प्रयोग भइरहेको छ।

जैविक विविधता र मानव जीवनबीचको सम्बन्धका बारेमा अध्ययन गर्नुभएका विज्ञ नन्दबहादुर सिंह भन्छन्, “तितेपातीको धार्मिक र वैज्ञानिक दृष्टिकोणले उच्च महìव छ । नेपालका एक हजार वनस्पति औषधीय गुणले युक्त छन्, जसमध्ये उच्च गुण भएका एक सय वनस्पतिमा तितेपाती पनि पर्छ तर यसका औषधीय गुणले कतिसम्मको रोग नाश गर्छ भन्ने आधुनिक क्षमताको विकास नेपालमा हुन सकेको छैन।”

यसको खोज र अनुसन्धानमा यतिबेला जापान, जर्मनी, भारत, पाकिस्तान पनि सक्रिय छ । कतै अत्तर निकालिरहेका छन् भने कतै विभिन्न औषधि उत्पादन भइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad