ओखलढुंगाको पलापुमा बाघले २१ वटा खसीबाख्रा मारेको छ। गाउँमा बाघले आतंक मच्चाएपछि स्थानीय त्रसित बनेका छन्।
पलापु चम्पादेवी गाउँपालिका १ र २ मा पर्छ। तीन दिनको अबधिमा बाघले स्थानीयको खोरमै आएर २१ वटा बाख्रा मारेको हो। बाघको आक्रमणबाट स्थानीय हिराबहादुर श्रेष्ठ घाइतेसमेत भएका छन्।
बाघले मसली मायाका नौ वटा, झलकबहादुर मगरका पाँच, बाबुराम श्रेष्ठको दुई, बलबहादुर श्रेष्ठ, घनिमाया मगर, मेघबहादुर श्रेष्ठ, एकबहादुर श्रेष्ठ र असमन मगरका एक–एक वटा खसी बाख्रा बाघले मारेको वडाध्यक्ष कुलबहादुर श्रेष्ठले जानकारी दिए।
‘बाघले पशुचौपाय र मान्छेलाई समेत आक्रमण गर्न थालेपछि स्थानीय घरबाहिर निस्कन सकेका छैनन्,’ श्रेष्ठले भने।
बाघ नियन्त्रणका लागि स्थानीयले जिल्ला प्रशासन कार्यालय र डिभिजन वन कार्यालय ओखलढुंगालाई आग्रह गरेका छन्।
बाघ नियन्त्रणको पहल सुरु गरिएको गाउँपालिका प्रमुख नवराज केसीले बताए।

प्रतिक्रिया