छापा खबर


बालुवाटारमा भेटघाट गर्न ओलीले गरेको निम्तो प्रचण्डद्वारा अस्वीकृत

बालुवाटारमा भेटघाट गर्न ओलीले गरेको निम्तो प्रचण्डद्वारा अस्वीकृत

नेपालखबर
बैशाख ४, २०७८ शनिबार १:३३,

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री केपी शर्मा ओलीसँग बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटघाट नगर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीले भेटघाटको प्रस्ताव राख्दै शुक्रबार दाहाललाई फोन गरेका थिए । दाहालले ‘भेटघाट बालुवाटारमा होइन, सिंहदरबारमा गरौं । अबदेखि बालुवाटारमा भेटघाट नगरौं’ भन्ने जबाफ दिँदै आफू बालुवाटार नआउने स्पष्ट पारेका खबर आजको नागरिक दैनिकमा टपेन्द्र कार्कीले लेखेका छन्।

यसपटक प्रधानमन्त्री ओलीले दाहाललाई लामो समयको अन्तरालमा फोन गरेका थिए । भेटघाट स्थल र समय नमिलेको भन्दै दाहालले ओलीको प्रस्ताव अस्वीकार गरेको स्रोतले जनाएको छ । ‘प्रधानमन्त्री ओलीले म, तपाईं र शेरबहादुर देउवा बस्नुपर्ने भयो, भेट गरौं भन्ने प्रस्ताव गर्नु भएको थियो। तर बालुवाटारमा होइन, अबदेखि भेटघाटस्थल सिंहदरबार बनाऔं । अहिले म बाहिर छु, बेलुका सल्लाह गरौंला भनेर जबाफ फर्र्काएको छु’, दाहाललाई उद्धृत गर्दै स्रोतले भन्यो।

प्रधानमन्त्री ओलीले शनिबारका लागि सर्वदलीय बैठक बोलाएको बताइए पनि दाहालको सचिवालयले सर्वदलीय बैठकबारे कुनै कुराकानी नभएको बतायो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार शनिबार ११ बजे बालुवाटारमा सर्वदलीय बैठक बोलाइएको छ। समसामयिक विषयमा छलफल गर्न प्रधानमन्त्रीले सर्वदलीय बैठक बोलाएको थापाले बताए।

दाहालसँग ओलीले कुराकानी भएको थापाले पुष्टि गरे । दाहालले शुक्रबार ललितपुरको एक कार्यक्रममा ओलीले आफूलाई फोन गरेको बताएका थिए । ‘प्रधानमन्त्री ओलीले लामो समयपछि फोन गर्नुभएको थियो । बालुवाटारभन्दा बाहिर भेटौं भने पनि प्रधानमन्त्रीका तर्फबाट अहिलेसम्म फोन आएको छैन’, दाहालको सचिवालयले साँझ जानकारी दियो । पुस ५ गतेपछि प्रधानमन्त्री ओली र दाहालबीच भेटघाट भएको छैन । उनीहरू एकअर्काबीच सार्वजनिक रुपमै गालीगलौजमा उत्रिएका थिए।

संसद् विघटनपछि ओली र दाहाल दुई ध्रुवमा बाँडिएका थिए । फागुन ११ गते सर्वोच्च अदालतले संसद् ब्युँताइदिएपछि ओलीलाई तत्कालीन नेकपाको संसदीय दलको नेताबाट हटाएर दाहाल आफैं संसदीय दलको नेता बनेका थिए । तर फागुन २३ गते सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि ओली र दाहाल पुरानै घरमा फर्कनुपरेको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .