छापा खबर


नेपालले यसरी गर्दैछ आफ्नै साख परीक्षण

नेपालले यसरी गर्दैछ आफ्नै साख परीक्षण

नेपालखबर
भदौ २१, २०७६ शनिबार २:०,

नेपालले पहिलोपटक आफ्नो साख परीक्षण अर्थात् ‘कन्ट्री क्रेडिड रेटिङ’ गराउँदै छ ।

सरकारको योजनाअनुसार सन् २०१९ को अन्त्यसम्म अर्थात् आगामी पुससम्ममा नेपालको साखको स्तर निर्धारण भइसक्ने छ।

वैदेशिक लगानी आकर्षण गर्न अपरिहार्य सर्त मानिएको नेपालको साख परीक्षणका लागि आवश्यक तयारी तीव्रताका साथ अघि बढिरहेको अर्थ मन्त्रालयले जनाएको छ ।

नेपालको आर्थिक समृद्धिका लागि स्वपुँजी मात्र पर्याप्त नहुने भएपछि नेपालले विदेशी लगानी आकर्षित गर्न विभिन्न योजना अगाडि सार्दै आएको छ ।

सरकारले अघिल्लो आर्थिक वर्षमा बैङ्क तथा वित्तीय संस्थाले विदेशी बैङ्कबाट ऋण ल्याउन पाउने नीतिगत व्यवस्था गरेको थियो ।

त्यस्तै गत चैतमा सम्पन्न लगानी सम्मेलनमा विभिन्न परियोजनामा लगानी आह्वानसमेत गरिएको थियो तर दुवै खाले प्रयासमा नेपालले अपेक्षा गरेअनुरूप रकम नेपाल भित्रिन सकेन ।

ऋणदाता संस्था तथा लगानीकर्ताले नेपालमा लगानी जोखिमको स्तर, राजनीतिक स्थिरता, रोजगारीको अवस्था, लगानीको वातावरण, करको सुनिश्चितता जस्ता विषयको एकीकृत जानकारी खोजेको महसुस भएपछि नेपालले पनि पहिलोपटक साख परीक्षण गराउन लागेको हो ।

यो खबर आजको गोरखापत्र दैनिकमा गोपालचन्द्र सुवेदीले लेखेका छन्।

सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा पनि साख परीक्षण गर्ने उल्लेख गरेको थियो ।

नेपाल साख परीक्षणको आवश्यक तयारी तथा योजनाका लागि सरकारले गत वर्ष पुसमा अर्थ मन्त्रालयका राजस्व सचिवको संयोजकत्वमा एक परीक्षण समिति गठन गरेको थियो ।

समितिमा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटी, केन्द्रीय तथ्याङ्क विभागका महानिर्देशक सुमनराज अर्याल, धितोपत्र बोर्डका अध्यक्ष डा.रेवतबहादुर कार्की सदस्य र अर्थ मन्त्रालय अन्तर्गतको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखाका सहसचिव हरिशरण शर्मा सदस्यसचिव रहेको एक उच्चस्तरीय परीक्षण समिति गठन गरेको थियो।

समिति गठन भएलगत्तै यसका लागि आवश्यक तयारी सुरु गरिएको थियो ।

साख परीक्षण देश आफैँले गर्ने होइन, यसका लागि विश्वभरका लगानीकर्ताले विश्वास गर्ने गरेका एजेन्सीलाई जिम्मा दिनुपर्ने हुन्छ ।

नेपालले पनि ख्यातिप्राप्त एजेन्सीलाई नै परीक्षण गर्न लगाउने तयारी गरिरहेको छ । समिति सदस्य तथा नेपाल राष्ट्र बैङ्कका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीका अनुसार विश्व प्रतिष्ठित एजेन्सीले नै नेपालको साख परीक्षण गर्नेछ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad