ad ad

विचार


जो गान्धीलाई तानाशाह ठान्थे, आत्मसम्मान आन्दोलनका प्रतीक बने

जो गान्धीलाई तानाशाह ठान्थे, आत्मसम्मान आन्दोलनका प्रतीक बने

विभु लुइटेल
असोज १६, २०७८ शनिबार ६:०, काठमाडौँ

शनिबार गान्धी जयन्ती हो। दक्षिण एसियामा छापिने धेरै पत्रिकाका पाना भरिन्छन् गान्धीको सत्याग्रहको महिमागानले। द्रविड आन्दोलन तथा आत्मसम्मान आन्दोलनका अभियन्ता एरोड वेङ्कटप्पा रामाशामी गान्धीका कट्टर आलोचक थिए। गान्धीवाद र ब्राह्मणवाद तथा गान्धी र एक राजनीतिक तानाशाहमा केही फरक छैन भन्थे उनी। नभनुन् पनि किन? कुनै समय वर्णाश्रम धर्मभन्दा श्रेष्ठ सामाजिक प्रणाली संसारमा अरू कुनै छैन भन्दै वकालत गर्दै हिँड्थे गान्धी। जातीय विभेदविरुद्ध आवाज उठाइदिन रामाशामीले एकाधपटक अनुरोध गर्दा गान्धीले भारतीय समाजमा त्यस्तो विभेद हुँदै नभएको भनी जिद्दी गरेका थिए। यी तिनै गान्धी हुन्, जसले विभेद भोगिरहेका व्यक्तिका लागि मागिएको पृथक निर्वाचन क्षेत्रको विरोधमा पछि गएर पूणेस्थित यरवदा जेलमा आमरण अनशन बसेका थिए।

सन् १९०० को शतकको पूर्वार्द्धतिर एरोड वेङ्कटप्पा रामाशामी भारतको उत्तर प्रदेश राज्यमा अवस्थित काशी विश्वनाथको मन्दिर गएका थिए। परिवार र समाजको प्रभाव थियो– सानैदेखि हिन्दू गुरु, अझ मुख्यगरी वैष्णव गुरुहरूका प्रवचन सुन्दै हुर्किएका थिए उनी। हिन्दू धर्मका ग्रन्थमा ‘तथ्य’ भनी लेखिएका कुराविरुद्ध प्रश्न पनि गर्थे। जति सुन्दै गए, जति बुझ्दै गए, समाजमा व्याप्त विभेदको जड के हो भनी निर्क्योल गर्न उनलाई गाह्रो भएन। 

धर्म नै हो सबै विभेदको जड– उनी विश्वस्त भए।

काशी विश्वनाथको प्रसंगमा पुनः जाऔं। ब्राह्मणका शवले हिन्दू परम्पराअनुसार समुचित श्राद्ध पाइरहेका थिए भने गैरब्राह्मणका शव अन्त्येष्टि नपाएर गंगामा तैरिरहेका थिए। अन्तिम संस्कारमा मात्र होइन, काशी मन्दिर परिसरवरपर हरेक गतिविधिले विभेद बोकेको उनले पाए। उनी स्वयंले भोगेको घटनाबाट यो कुरा सिद्ध हुन्छ।

काशी विश्वनाथको प्रसंगमा पुनः जाऔं। ब्राह्मणका शवले हिन्दू परम्पराअनुसार समुचित श्राद्ध पाइरहेका थिए भने गैरब्राह्मणका शव अन्त्येष्टि नपाएर गंगामा तैरिरहेका थिए।

भोकले गलेका रामाशामीले त्यस ठाउँमा खान पाएनन्। सबै खाना ब्राह्मणका लागि मात्र थियो। कतै केही उपाय नलागेपछि गेरुवा रङको धोती लगाएर र जनै भिरेरे उनी खान गए। आफ्नो भाग लिएर बसेकै बेला एक सुरक्षाकर्मी आएर उनलाई घिसार्दै लगे र मन्दिर परिसरबाहिर कुटपिट गरे। आफ्नै क्षेत्रबाट आएका एक गैरब्राह्मणले बनाएको मन्दिरको पाकशालामा उनले विभेद भोग्नपर्यो। त्यति मात्र होइन, त्यहाँका कसैले पनि खान नदिएपछि उनी बाटामा फालिएका खाना खान बाध्य भए। यही घटनापछि सुरु भएको हो– उनको नास्तिक जीवन। 

यिनै एरोड वेङ्कटप्पा रामाशामी पछि गएर पेरियारका नामले चिनिन थाले। डा. भीमराव अम्बेडकरको उपस्थितिमा त्यतिखेरको मदरासमा आयोजित अनुसूचित जाति महिला सम्मेलनका बेला महासंघकी अध्यक्ष तथा आत्मसम्मान आन्दोलनकी अभियन्ता अन्नाई मिनम्बल शिवराजले रामाशामीलाई ‘पेरियार’ भनी सम्बोधन गरेकी हुन्। पेरियार शब्दको अर्थ हुन्छ– ‘ठूलो’ वा ‘सम्मानयोग्य’। रामाशामीले यो उपनाम सहर्ष स्वीकार गरे र अहिले उनको पहिचान पनि यही नामबाट हुने गरेको छ।

केरलाको वाइकोमस्थित शिव मन्दिरअगाडि ठूलो बाटो थियो। तर त्यहाँ ब्राह्मणबाहेक अरू हिँड्न पाउँदैनथे। हिँड्न पाउने आफ्नो अधिकारका लागि बोलिदिन जर्ज जोसेफले पेरियारलाई पत्राचार गरे। गान्धीलाई पनि बोलाए। यसका लागि सत्याग्रहकै दौरान पेरियार दुईपटक जेल पनि परे। कारागारभित्र पनि अन्य कैदीभन्दा उनलाई फरक व्यवहार गरिन्थ्यो। मन्दिरको बाटोबारे पेरियारको टोलीले जेलबाहिर निरन्तर विरोध जारी राखेको थियो। यसलाई राष्ट्रिय मुद्दाका रूपमा हेर्न मोहनदास गान्धी तयार थिएनन्। 

केही समयपछि गान्धीले जर्ज जोसेफलाई पत्र पठाउँदै हिन्दू समुदायको भावनामा चोट नपुर्याउन अनुरोध गरे। तर पछि गएर यस आन्दोलनको सफलताको श्रेय कैयौं इतिहासकारले उनै गान्धीलाई दिए। मीनाक्षी, नागामाई, नारायणी, पेरियारजस्ता अभियन्ताको योगदानबारे बिरलै चर्चा गरिएको पाइन्छ।

ब्राह्मणवादी समाजका आँखामा बिझाएका थिए– पेरियार। त्यसो त अहिले पनि बिझाउँछन्। उनी महिला अधिकारका कुरा गर्थे, हिन्दू धर्मका कुप्रथाको खुलेर विरोध गर्थे, दलित, बहुजन, आदिवासीका निम्ति आवाज उठाउँथे। शासकका आँखामा तारो बनेका यिनी कतिपटक जेल पनि परे। तर आवाज उठाउन र ब्राह्मणवादको विरोध छाडेनन्। विवाह, अझ विशेषगरी मागी विवाह, बालविवाह र दाइजो दिने चलनविरुद्ध आवाज उठाएका हुनाले हिन्दू समाजले उनको व्यापक विरोध गरेको थियो। महिलाले पढे भने घर र समाज बिगार्छन् भन्ने सोच रहेका बेला उनी आफ्नो क्षेत्रका घरघर डुल्दै परिवारहरूलाई शिक्षाको महत्त्व सम्झाउँथे। महिलालाई औपचारिक शिक्षाको शुल्क नलिन उनले विभिन्न सरकारी निकायमा निवेदन पनि दिइरहेका थिए। कतै सुनुवाइ भयो, कतै भएन। 

स्त्रीद्वेषी समाजले गर्भनिरोधक क्रिया–विधि सधैं रोक्ने यत्न गरिरह्यो। अहिले पनि गरिरहेको छ। महिला सशक्तिकरणका लागि गर्भनिरोध कति आवश्यक छ भनी बुझाउन लागिपरेका पेरियारका कुरा त्यहाँका तत्कालीन मुख्यमन्त्री चक्रवर्ती राजगोपालाचारीलाई मन परिरहेको थिएन। आफैंले प्रकाशन गर्ने कुडी अरसु नामको पत्रिकामा पनि पेरियारले परिवार नियोजन तथा गर्भनिरोधक साधनका पक्षमा लेख्दा राजगोपालाचारीले उनको निकै विरोध गरेका थिए। त्यसो त त्यहाँका विद्यार्थीले तमिल भाषामै औपचारिक शिक्षा लिन पाउनुपर्छ भनी पेरियारले आवाज उठाइरहेका बेलासमेत राजगोपालाचारीले हिन्दी अनिवार्य गराउन खोजेका हुन्। आर्यन र द्रविड समूहको यस्तो मतभेदमा केन्द्रको आर्यन मानसिकतालाई तामिल नाडुमा लागू गराउँदा रोक्न खोजेका हिन्दू र हिन्दी विरोधी पेरियारलाई जेल हालियो। 

डा. मुत्थुलक्ष्मी रेड्डीले देवदासी प्रथाको विरोध गर्दा पेरियारले पनि समर्थनमा केही लेख लेखेका थिए। महिलालाई मन्दिरमा चढाई जीवनभर त्यहीँ बस्न बाध्य बनाइने प्रथा थियो त्यो। रामचन्द्रन नागास्वामीजस्ता केही स्त्रीद्वेषी इतिहासकार तथा लेखकले ‘भगवानको इच्छाविपरीत महिलालाई देवदासी प्रथाबाट मुक्ति दिन नहुने’ तर्क गरिरहँदा डा. रेड्डी र पेरियारजस्ता अभियन्ताले विरोध गरिरहेका थिए। 

देवदासी प्रथाविरुद्ध पेरियारले लेखेको पत्रिकाका प्रति जलाउँदै मन्दिरमा देवदासी राखिनुपर्छ भनी वकालत गर्ने तिनै रामचन्द्रन नागास्वामीलाई ‘धर्म जोगाउन महत्त्वपूर्ण भूमिका खेलेबापत’ सन् २०१८ मा पद्म विभूषणद्वारा सम्मान गरियो। पद्म विभूषण भारत सरकारले दिने भारतरत्नपछिको दोस्रो उच्च नागरिक सम्मान हो।

सन् २००७ मा आएको ‘पेरियार’ नामको तमिल फिल्मबाट यिनको राजनीतिक जीवनका केही झल्को पाउन सकिन्छ। कुडी अरसु पत्रिकामा छापिएका उनका लेख तथा विचारको संग्रह विभिन्न भाषामा अनुवाद गरिएका छन्। तीबाट पनि उनले वकालत गरेका मुद्दाबारे जानकारी पाउन सकिन्छ। 

यी सबै अभियानका आफ्नै महत्त्व छन्। तर पेरियारलाई आज सबैले चिन्ने भनेको मुख्यगरी आत्मसम्मान आन्दोलनका लागि हो। भारतीय समाजमा जातीय विभेद भोगिरहेका र न्यूनतम मानव अधिकार पनि नपाइरहेका समुदायका लागि उनले आवाज उठाए। आफूले देखेका/भोगेका हरेक विभेदको उनी चर्चा गर्थे। औपनिवेशिकताबाट मात्र मुक्ति पाएर समाज साँचो अर्थमा मुक्त नहुने, अझै पनि ठूलो संख्याका व्यक्तिले आफ्नै देशमा अपनत्व महसुस नगरिरहेको तथ्यमा उनको यो आन्दोलन अगाडि बढिरहेको थियो।

ब्राह्मणवादबाट मुक्त हुन नसकेका मोहनदास गान्धीको गान्धीवाद र जवाहरलाल नेहरुको ‘समाजवाद’का आदर्शबाट आफ्नो समुदायको कहिल्यै हित नहुने उनको बुझाइ थियो। 

विवाहको आधारशीला पनि आत्मसम्मान नै हुनुपर्ने कुरा गर्थे उनी। हिन्दू संस्कार अँगालेर गरिएको विवाहप्रति उनको घोर आपत्ति थियो। 

कुनै समय समाजलाई सही दिशातिर मोड्न सहयोग मिल्ला भनी भारतीय राष्ट्रिय कांग्रेसको सदस्यता लिएका पेरियारले पार्टीमा जे–जति देखे, तिनबाट महिला, आदिवासी, दलित, बहुजन र गैरहिन्दूका समस्या समाधान नहुने निष्कर्ष निकाले। कांग्रेसको त्यही हिन्दूवादी मानसिकताले समाजलाई अझै पछाडि धकेलिरहेको धारणा उनको थियो। 

आत्मसम्मान आन्दोलनलाई केही तमिल अभियन्ताले त्यस क्षेत्रको सबैभन्दा ठूलो महिलावादी आन्दोलन पनि मानेका छन्। शरीर तथा प्रजननमा आफ्नै हक हुनुपर्ने मान्यताका साथ महिला पनि त्यस आन्दोलनमा जोडिएका थिए। परिवार नियोजनका साधन प्रयोगको निर्णय महिलाले गर्न पाउनुपर्ने र त्यसमा पुरुषले कुनै अवरोध गर्न नपाउने भनी आत्मसम्मान आन्दोलनका महिला अभियन्ताले आवाज उठाएका थिए। 

सम्बन्ध विच्छेद, पुनर्विवाहको निर्णय पनि महिलाकै हक हुनुपर्ने भनिदिएपछि केही हिन्दू समूहले सुरु गरे– आत्मसम्मान आन्दोलनविरुद्ध अर्को आन्दोलन। त्यस आन्दोलनले विषम यौनिक व्यक्तिका अधिकारका लागि मात्र वकालत गरेको थिएन, पारलिंगी समूहलाई पनि समेटेको थियो। अन्तरवर्गीयता अर्थात् ‘इन्टरसेक्सनालिटी’का मुद्दा जोडदार रूपमा उठाइएका थिए। 

आत्मसम्मान आन्दोलनले भारतीय दक्षिणपन्थी समूहबाट सधैं हिन्दूविरोधी भएको सुनिरहनुपर्यो। समाज अझै चाहन्छ– महिला यिनै बन्धनमा बाँधिइरहून् र आवाज नउठाऊन्। 

हिन्दूवादी पितृसत्ताको विरोध गर्ने ७० भन्दा बढी महिलालाई त्यतिबेला जेल पुर्‍याइएको थियो। तीमध्ये आधा आफ्ना काखे सन्तानका साथ कारागार गएका थिए। 

भारतमा सानै कक्षादेखि गान्धी र उनको सादा जीवन पढाउने प्रणालीले समानताका लागि सिंगो जीवन समर्पित गरेका पेरियारबारे भने चर्चै गर्दैन। 

विभेदको आधारशीलामा निर्मित दक्षिण एसियाको इतिहासमा पेरियार, अम्बेडकर, सावित्री फुलेजस्ता विचारकबारे पर्याप्त नलेखिनु दुर्भाग्य हो।

नेपालमा केही समययता बिस्तारै अम्बेडकरको चर्चा हुने क्रम बढेको देखिन्छ। समान समाज, समान विभेदकारी चालचलन र समान हिन्दू अतिवादका दृष्टान्त पाइने यी क्षेत्रमा पेरियार र फुलेको अध्ययन पनि उत्तिकै आवश्यक छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .