ad ad

विचार


अमेरिकाको शक्ति खस्किसक्यो, युक्रेन युद्धले त्यसलाई फर्काउँदैन

अमेरिकाको शक्ति खस्किसक्यो, युक्रेन युद्धले त्यसलाई फर्काउँदैन

ड्यान कल्डवेल
असार १६, २०७९ बिहिबार ८:९, काठमाडौँ

युक्रेनमाथि रुसको भद्दा आक्रमणले अमेरिकी विदेश नीतिको भविष्यबारे छलफललाई तीव्रता दिएको छ। तथापि, यो बहसका विषयले स्पष्ट पार्नेभन्दा बढी भ्रम छर्ने काम गरेको छ। विदेश नीतिका व्याख्याताहरु रुसको आक्रमणले ‘सबथोक बदलिदिएको घोषणा’ गर्छन्। तर, उनीहरु विश्वमा अमेरिकी प्रभुत्व कायम रहेको पुष्टि गर्न र त्यसले निरन्तरता पाउनेछ भन्न सक्दैनन्।

सत्य के हो भने अमेरिकाको विश्व शक्तिमा लगाम लागिसकेको छ भन्ने तथ्यलाई युक्रेनमाथि रुसको आक्रमणले बदल्दैन। एक ध्रुवीय विश्वका नसालु दिन समाप्त भइसकेको छ। युक्रेन युद्धको परिणामसँग जुध्ने मामिलामा यी यथार्थलाई स्वीकार्न नसक्ने नीति निर्माताले अमेरिकालाई थप असुरक्षित मात्रै बनाउने छैनन्, हाम्रो समृद्धिको सर्तहरुमाथि पनि खतरा पैदा गर्नेछन्।

निश्चय नै अमेरिकासँग शक्तिशाली अर्थतन्त्र र सेना छ। तर, १९९० को दशकमा भन्दा विपरीत अहिले अमेरिकाले वास्तविक विश्वव्यापी प्रतिस्पर्धीको सामना गरिरहेको छ, खासगरी चीनको। साथै त्यस्ता आन्तरिक चुनौती पनि छन्, जसलाई समाधान गर्न अझ गतिलो प्राथमिकता र सन्तुलन आवश्यक पर्नेछ।

केही वर्षभित्रै चीनको समग्र आर्थिक शक्तिले अमेरिकालाई उछिन्न सक्छ। सुनिश्चित नभए पनि चीनसामु यसको उचित मौका छ। क्रयशक्ति शक्ति समताका आधारमा चीनको अर्थतन्त्रले विश्वको जीडीपीको १८ प्रतिशत हिस्सा ओगट्छ भने अमेरिकाको जीडीपीले १६ प्रतिशत। साथै, कीर्तिमानी स्तरको मुद्रास्फिति र ३० ट्रिलियन डलरको राष्ट्रिय ऋणले अमेरिकाको भावी आर्थिक वृद्धिमा जोखिम पैदा गरेको छ।

अर्कोतिर, अमेरिकी सेनाले गएको दुई दशक मध्यपूर्वदेखि अफ्रिकासम्मका केही अन्त्यहीन युद्धमा फसेर बिताएको छ। यी द्वन्द्वहरु जनधन दुवै हिसाबले एकदमै महंगा रहे। हजारौँ अमेरिकीको ज्यान गयो भने ८ ट्रिलियन डलर खर्च भयो। यी युद्धहरुले बी–१ बमवर्षक विमानजस्ता महत्वपूर्ण रणनीतिक सम्पत्तिलाई कमजोर तुल्यायो। ‘लिटोरल कम्ब्याट सिप’ जस्ता क्षेत्रमा लगानी बढाउनुपर्यो, जसको बराबरी शक्ति भएका शत्रुसँगको लडाइँमा काम छैन। र, रणनीतिक रुपले कम महत्वपूर्ण क्षेत्रमा विद्रोहीविरुद्ध लड्ने सेना तयार गर्न अमेरिकी वायु सेना र नौसेनामा कटौती गर्यो।

यसका अतिरिक्त यी युद्धहरु अलोकप्रिय थिए, स्वदेश र विदेश दुवैमा। र, ती युद्धका हानिकारक असरहरुले अमेरिकी नेतृत्वको शक्तिलाई कमजोर तुल्याउने काम गरे। अहिले अमेरिकाले झेलिरहेका चुनौतीहरु लुकेका छैनन्। युक्रेनमाथि आक्रमणको बदलामा अमेरिका र युरोपको नेतृत्वमा लगाइएको नाकाबन्दीमा सहभागी हुन थुप्रै मुलुकले अस्वीकार गरे। यी मुलुकहरु त्यस्तो दुनियाँमा दाउ लगाइरहेका छन्, जुन दुनियाँमा अमेरिकी प्रभुत्व रहने निश्चित छैन। 

अमेरिकी सुरक्षा छाताबाट फाइदा उठाएका मुलुक पनि यसमा पर्छन्। उदाहरणका लागि यूएईलाई लिन सकिन्छ। जसले रुसी व्यापारीहरुमाथि लगाइएको प्रतिबन्ध छल्न सहयोग गर्यो। त्यसमाथि, उर्जा बजारको संकटबारे छलफल गर्न अमेरिकी राष्ट्रपति जो बाइडेनले फोन गर्दा यूएईका युवराजले बोल्न अस्वीकार गरे र आफ्नो खराब व्यवहार देखाए।

अमेरिकी शक्तिका वास्तविक सीमालाई बेवास्ता गर्ने भ्रमित विदेश नीति निर्मातालाई अमेरिकाले सहनु हुँदैन। बरु, हाम्रा नेताहरुले अहिलेको विश्व मामिलामा आफ्ना सीमाहरुलाई पहिचान गर्ने सचेत र यथार्थवादी तरिका अपनाउनुपर्छ। ताकि अमेरिका सुरक्षित र समृद्ध रहन सकोस्।

पूर्वी युरोपको सवालमा अमेरिकाले आफ्ना धनी युरोपेली साझेदाहरुलाई स्पष्ट पार्नुपर्छ– आफ्नो महादेशको सुरक्षाको पहिलो जिम्मा तिमीहरुकै हो। युक्रेनमा रुसको असफलताले के देखाएको छ भने अमेरिकाको ठूलो सहयोग नलिए पनि राम्रो लगानी गरिएका र राम्रो तालिम लिएका युरोपेली सेनाका लागि रुसको परम्परागत सैन्य शक्ति खतरा होइन। खार्कोव कब्जा गर्न नसक्ने रुसी सेनाले निश्चय नै वार्सा, बर्लिन वा पेरिस कब्जा गर्न सक्दैन।

त्यसैगरी, अमेरिकाले युरोपमा गैरनेटो सुरक्षा प्रबन्धहरुको विकास र सुदृढीकरणलाई प्रेरित गर्नुपर्छ। उदाहरणका लागि युरोपेली संघको साझा प्रतिरक्षा तथा सुरक्षा नीतिलाई लिन सकिन्छ। यसलाई प्रभावकारी रुपमा सहजीकरण गर्न अमेरिकी सुरक्षा छातामा निशुल्क बस्न उत्प्रेरित गर्ने कुनै पनि गतिविधि वासिङ्टनले गर्नु हुँदैन। युरोपमा स्थायी रुपमा थप सैनिक पठाउने वा फिनल्यान्ड र स्विडेनलाई सहभागी गराई नेटो विस्तार गर्नेजस्ता अदुरदर्शी नीति पनि यसमा पर्छन्।

मध्यपूर्वमा साउदी अरबजस्ता तानाशाही मुलुकहरुले युक्रेन युद्धका कारण सिर्जित अहिलेको उर्जा संकटलाई उपयोग गरेर अमेरिकाबाट थप सुरक्षा माग्ने प्रयासलाई अमेरिकाले नकार्नुपर्छ। बरु, यो झनझन् कम महत्वपूर्ण हुँदै गएको क्षेत्रबाट अमेरिका पछि हट्नुपर्छ। खासगरी इराक र सिरियामा जारी द्वन्द्वबाट। ताकि आफ्ना स्रोतहरुलाई अन्य प्राथमिकतामा लगाउन सकियोस्।

अमेरिकाको वास्तविक स्वार्थ पूर्वी एसियामा दाउमा लागेको छ। यो क्षेत्रमा अमेरिकाले होसियारीपूर्वक कदम चाल्न आवश्यक छ। चीन उदाउँदो प्रतिस्पर्धी हो। उसले दिएका चुनौतीलाई अमेरिकी नीति निर्माताहरुले गम्भीरतापूर्वक लिनुपर्छ। यससँग जुध्न अमेरिकाले प्रतिरक्षात्मक प्रणाली र प्रविधि विकासलाई निरन्तरता दिनुपर्छ, जसले यो क्षेत्रमा उसका साझेदारहरुलाई चिनियाँ आक्रमण रोक्न सक्षम बनाउँछ।

अमेरिकाको भावी बजेटले वायु सेना र नौसेनामा लगानी बढाउन प्राथमिकता दिनुपर्छ। किनभने प्रशान्त क्षेत्रको सम्भावित द्वन्द्वमा सेनाका अन्य शाखाभन्दा यी दुई सबैभन्दा अगाडि हुनेछन्। साथै अमेरिकी गुप्तचर समुदायले चीनको हानिकारक आर्थिक र सैन्य जासुसी गतिविधिलाई आक्रामक रुपमा टक्कर दिनुपर्छ।

तर, अमेरिकी नेताहरुले चीनले उत्पन्न गरेको खतरालाई ज्यादा बढाइचढाइ गर्नबाट बच्नुपर्छ। निश्चय नै चीनका आफ्नै आन्तरिक र अन्तर्राष्ट्रिय बाध्यताहरु छन्, जसले उसको उदयलाई रोक्न सक्छ। सोहीअनुसार नीति निर्माताहरुले शीतयुद्ध नब्युँताई वा प्रत्यक्ष द्वन्द्वको सम्भावना नबढाई चीनले पैदा गरेका चुनौतीहरुको सामना गर्नुपर्छ।

अमेरिकाको शक्तिमा सीमितता छन् भन्ने स्वीकार्नुको अर्थ अमेरिकाको पतन भइसक्यो भनेर स्वीकार्नुपर्छ वा हाम्रा सुनौला दिन सकिए भनेर गति छाड्नुपर्छ भन्ने होइन। त्यसविपरीत, विवेकपूर्ण विदेश नीति तयार गर्दा त्यसले हाम्रो शक्तिलाई अझ राम्रो बनाउनेछ र हाम्रो आन्तरिक आर्थिक तथा वित्तीय चुनौती समाधानको उपाय प्रदान गर्नेछ, जसबाट भविष्यमा अमेरिकाको सुरक्षा र समृद्धि सुनिश्चित हुनेछ।

तर, जो यथार्थलाई अस्वीकार गर्छन् र हामीलाई अहिलेको स्थानमा ल्याइपुर्याउने असफल सिद्ध भइसकेका उही नीतिको वकालत गर्छन् भने तिनले अमेरिकाको महानता होइन, पतनको सुनिश्चितता गर्नेछन्। अमेरिकाको सुरक्षा र अमेरिकी जनताको हितका लागि हामीले गतिलो विदेशनीतिको माग गर्नैपर्छ।

(नेसनल इन्ट्रेस्टबाट। ड्यान कल्डवेल इराक युद्धका मरिन कर्प्स भेटरान हुनुका साथै परोपकारी संस्था स्ट्यान्ड टुगेदरका विदेश नीति उपाध्यक्ष हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .