ad ad

कला


कसरी फेरि सडकमा पुगे स्कुल भर्ना भएका सचिन परियार?

कसरी फेरि सडकमा पुगे स्कुल भर्ना भएका सचिन परियार?

राधिका अधिकारी
असार १६, २०७९ बिहिबार ८:५, काठमाडौँ

नौ वर्षको कलिलो उमेर। हँसिलो अनुहार। बोलीमा चञ्चलता र मिठास। गुल्मीका सचिन परियार यही मिठासका कारण एकताका सामाजिक सञ्जालमा खुब छाए। हरेक प्लाटफर्ममा उनी हिट भए। छोटो समयमा सचिनले धेरै काम गर्न भ्याए। 

केही समय अघिसम्म पनि उनलाई म्युजिक भिडिओदेखि टेलिफिल्ममा लिनेहरुको तँछाडमछाड देखिन्थ्यो।

गुल्मीकै एक युट्युब च्यानलले अन्तर्वार्ता लिएपछि टिकटकमा लोकप्रिय बने सचिन। नाम चलेको कलाकारले सचिनको आवाजमा टिकटक बनाए। सोही अन्तर्वार्ताले सचिनको काठमाडौँ यात्रा तय गर्यो। उनले उस्तै शैलीमा कृष्ण कँडेलको ‘इन्द्रेणी’मा गीत गाए। सचिनलाई ‘ओठ खोलेर’देखि ‘रातो रबर’सम्मका लोकगीत गाउन लगाइयो।

त्यसताका सार्वजनिक भएका गीत तथा म्युजिक भिडिओ सचिनकै कारण युट्युबमा सर्च भए। उनलाई उभ्याएका म्युजिक भिडिओले युट्युब ट्रेन्डिङको अग्रपंक्ति कब्जा गर्यो। उनको लोकप्रियता देखेका नाम चलेका कलाकार पनि उनको को-एक्टर हुन राजी भए। राजेश हमालदेखि मुना मगरसम्मले सचिनसँग स्क्रिन सेयर गरे। 

राजेश हमालसँग स्क्रिन सेयर गर्न पाएको खुसीमा सचिनले हमालको ‘हे’ संवाद हात फालेर बोले। उनको यही शैलीलाई प्रचारको राम्रो खुराक बनाइयो। युट्युबमा दर्शक नपाउने हमालले पनि त्यसताका राम्रै दर्शक पाए। सचिनले हास्य टेलिचलचित्र ‘मेरी बास्सै’का केही भागमा अभिनय गरे। केही समयका लागि सचिन युट्युब ट्रेन्डिङ कब्जा गर्ने गायक तथा मोडल कहलिए। 

त्यहीताका सचिनलाई प्रयोग गरेर व्यापार गरिएको भन्दा मोडल विमल अधिकारीले आलोचना खेप्नुपर्यो। राम्रो सम्भावना भएको एउटा बालकलाई सिकाउनुको सट्टा उनको अबोधपनको व्यापार गरेको भन्दै असन्तुष्टि जनाएका विमलले झण्डै लोकगीत क्षेत्रबाटै बहिष्कृत हुनु पर्यो। 

‘सचिन साँच्चै प्रतिभा भएको मानिस हो। उसलाई राम्रो शिक्षा दिऊँ। उनमा कुनै पनि प्रकारको अभाव, दुःख छ भने सबै मिलेर सहयोग गरौँ। म पनि व्यक्तिगत रुपमा सहयोग गर्न तयार छु,’ उनले भनेका थिए।

धेरैले विमललाई श्रद्धाञ्जली नै प्रकट गरे। विमलले माफी माग्नु पर्यो।

अहिले सामाजिक सञ्जालमा सचिनको युग सकिएको छ। एकाएक सेलेब्रिटी बनेका सचिनको दैनिकी पनि फेरिएको छ। कुनै दिन स्टुडिओदेखि सुटिङ स्पटसम्म व्यस्त उनी हिजोआज गुल्मीको पुतलीबजारका सडकमा भेटिन्छन्। युट्युबमा उनका कन्टेन्ट जान छाडेपछि सबैतिरबाट लत्याइएका सचिन पुरानै थातथलो फर्किएको महिनौँ भयो। 

युट्युबरले रातारात भाइरल बनाएका सचिन शारीरिक रूपमा अस्वस्थ थिए। उनको त्यही शारीरिक हाउभाउको व्यापार गरेका अग्रज कृष्ण कँडेलदेखि पछिल्लो पुस्ताका युट्युबर सबै अहिले मौन छन्। केही महिनाअघि निमोनियाका कारण हप्तौँसम्म थला परेका सचिन अहिले नसासम्बन्धी समस्यासँग जुधिरहेको उनको परिवारले बताएको छ। अहिले सचिनको वजन मात्रै वृद्धि भइरहेको छ, उचाइ बढिरहेको छैन। 

कुनै दिन काठमाडौँको नाम चलेको बोर्डिङमा पढ्ने सचिन हिजोआज पुतलीबजारस्थित घरको सटरवाला कोठामा कान्छीआमा, बुबा र भाइबहिनीसँग बस्दै आएका छन्। उनी आफ्नो मर्जीले घरबाहिर निस्किन पनि पाउँदैनन्। बाहिर निस्किँदा युट्युबरले अन्टसन्ट भिडिओ खिचेर सार्वजनिक गरिदिन्छन् भनेर उनको परिवारले प्रतिबन्ध लगाएको हो।

सचिनलाई कृष्ण कँडेलले चन्दा उठाएर १२ कक्षासम्म पढाइदिने गरी गौशालास्थित हिमाली इङ्लिस बोर्डिङ स्कुलको जिम्मा लगाएका थिए। नर्सरीमा प्रथम भएका सचिन एलकेजीमा मध्यम भए। यूकेजीमा केही विषय पास गर्न नसकेका सचिनलाई उनका बुबा तेजेन्द्रले पढाइ छुटाएर मेला महोत्सवमा लिएर हिँडे। लगातार ६ महिना स्कुल नगएपछि सचिनलाई स्कुलले निष्कासन गरिदियो। त्यसपछि सचिन पुनः माग्ने अवस्थामा पुगेका छन्।

सचिनको पछिल्लो अवस्था सार्वजनिक भएपछि धेरैले उनका बुबालाई गाली गरेका छन्। सचिनको भविष्यमाथि उनका बुबाले खेलवाड गरेको भन्दै गालीगलौज सुरु भएका छन्। सचिनले पढ्ने स्कुलका प्रिन्सिपल नेत्र उपाध्यायले पनि उनकै बुबाको लापर्वाहीका कारण सचिनको पढाइ बिग्रिएको बताए।

कुनै पनि बहानामा बालबालिकाको शिक्षा पाउने अधिकार हनन गर्नु दण्डनीय अपराध भएको राष्ट्रिय बाल अधिकार परिषद्का सूचना अधिकारी रामबहादुर चन्द बताउँछन्। बालबालिकालाई प्रयोग गरिरहेका अभिभावक हुन् अथवा अन्य मानिसलाई स्कुलले पनि सम्झाएर उनीहरुको अधिकार सुनिश्चि गर्नु पर्ने उनको भनाइ छ। सचिनको अवस्था बुझेर उनलाई शिक्षाको पहुँचमा ल्याउन सम्बन्धित स्थानीय तहको न्यायिक समितिले पनि भूमिका खेल्नुपर्ने उनको तर्क छ। 

डलर कमाउने लोभमा बालबालिकालाई ‘ब्ल्याकमेलिङ’ गरी प्रयोग गरिएको र त्यसको असर बालबालिकाले लामो समय भोग्नु पर्ने जिल्ला बाल क्लब सञ्जाल काठमाडौंकी नेहा गुरुङ बताउँछिन्।  साना–साना बालबालिकालाई भाइरल गराएर कन्टेन्ट बिकाउने काम रोक्न बालअधिकारकर्मी प्रदीप्ता कादम्बरीले आग्रह गरिन्।

आर्थिक अवस्था कमजोर भएका तथा अशिक्षित बाबुआमाका सन्तान भाइरलको सिकार बन्ने गरेको मनोविद् गोपाल ढकाल बताउँछन्। 

‘यसरी प्रयोग भएका बालबालिकाको मनोविज्ञानमा गम्भीर खालको असर पर्छ। बालबालिकाको प्रयोग रोक्न अभिभावक र राज्य दुवैले भूमिका खेल्नु पर्छ,’ उनले भने।

१३ वर्षीय सचिनको पछिल्लो अवस्था थाहा पाएपछि गाउँमा उनलाई खोज्दै जाने युट्युबरहरू संख्या बढेको छ। उनले पढ्ने विद्यालयमा गएर सोधिखोजी हुन थालेको छ। सचिनका बुबा चन्दा संकलन भए काठमाडौँ फर्काएर स्कुल भर्ना गरिदिने सोचमा छन्। सचिन अझै पनि आफ्नै परिवारदेखि युट्युबरसमेतको स्वार्थको सिकार बनेका छन्।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .