ad ad

विचार


चीनमा सीको निरन्तरताले नेपालमा कस्तो प्रभाव पार्ला?

चीनमा सीको निरन्तरताले नेपालमा कस्तो प्रभाव पार्ला?

अक्टोबर २०१९ मा २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति सीले नेपाल भ्रमण गरे (फाइल फोटो)


चन्द्रलाल गिरी
कात्तिक ३, २०७९ बिहिबार २१:३३, काठमाडौँ

अक्टोबर १६ देखि सुरु भएको चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को २० औँ महाधिवेशन जारी छ। विश्वको दोस्रो आर्थिक तथा सैन्य शक्ति बनिसकेको चीनको सत्ताको नेतृत्व गर्ने एक मात्र पार्टी सीपीसीको अधिवेशनले चीनलाई कसरी अघि बढाउने भन्ने नीति तय गर्ने भएकोले यसलाई विश्वमा चासोको साथ हेरिएको छ। 

चीनमा सन् १९४९ देखि १९७६ सम्म २७ वर्ष माओ चेतुङको नेतृत्व रह्यो। माओले मुख्यत विदेशी साम्राज्यवादबाट चीनलाई स्वतन्त्रता दिलाएको, आन्तरिक रुपमा सामान्तवादको अन्त्य गर्दै जनतालाई मुक्ति दिलाउने क्रान्तिको नेतृत्व गरेको र चीनलाई सुरक्षामा आत्मनिर्भर बनाउँदै स्वावलम्बन नीति अख्तियार गरेको भन्दै उनलाई सबैभन्दा शीर्ष नेताको सम्मान दिइन्छ। 

त्यसपछि १९७८ देखि २०१२ सम्म जम्मा ३४ वर्ष तेङ सियाओफिङको नीति रह्यो। खासगरी खुल्ला अर्थनीति अंगालेर तेङको नेतृत्वमा चीन आर्थिक महाशक्ति भएको छ। तेङको कार्यकालमा अमेरिका र पश्चिमासँग सहकार्य गरेर चीनले मनग्य फाइदा लियो। चीनलाई विश्वको लगानीको केन्द्र बनाउन तेङले ‘बिरालो कालो होस् वा सेतो तर मुसा मार्नुपर्दछ’ भन्ने नीतिमार्फत चीनलाई मिश्रित अर्थतन्त्र भएको विशाल अर्थतन्त्रमा बदल्न सके। तेङले ‘हाइड योर स्ट्रेन्थ, बाइड योर टाइम’ अर्थात् ‘समय नहुँदासम्म आफ्नो शक्ति लुकाऊ’ भन्दै विदेशी शक्तिहरुसँग समन्वय र सहकार्यमा जोड दिए। छिमेकीहरुको आन्तरिक मामिलामा अहस्तक्षेपको नीति अघि बढाए। तेङको मृत्युपछि पनि चियाङ चेमिन र हु चिन्ताओले उनकै नीतिलाई निरन्तरता दिए।

सी युगमा चीन 
२०१२ यता चीनमा सी चिनफिङ युगको सुरुवात भएको छ। चीनमा सीलाई सर्वोच्च नेता (प्यारामाउन्ट लिडर)को सम्मान दिइएको छ। माओ र तेङकै हाराहारीमा स्थापित गर्ने गरी सीपीसीले सीलाई अघि बढाउन खोजेको देखिन्छ। सीपीसीको २० औँ अधिवेशनबाट राष्ट्रपति सी नै तेस्रो कार्यकालका महासचिव र पुनः राष्ट्रपति हुने निश्चितजस्तै छ। सन् २०१७ मा भएको सीपीसीको १९ औँ अधिवेशनबाट सीले अघि सारेको विचारलाई संविधानमा समावेश गर्दै सी विचारधाराको व्याख्या समेत गरिएको छ। सीपीसीको विधानअनुसार दुई कार्यकालसम्म चीनको राष्ट्रपति हुने प्रावधान र ६७ वर्षको उमेर हद पार गरेपछि नेतृत्वबाट अवकाश लिने अनौपचारिक नियम बदल्दै सीको हकमा १९ औँ अधिवेशनले आजीवन नेतृत्वमा रहन सक्ने बाटो खोलिदिएको थियो। 

शान्तिपूर्ण रुपमा उदाएको चीनलाई विश्वको महाशक्तिमा स्थापित गर्ने उदेश्यले सीले सन् २०१३ मा राष्ट्रपति भएसँगै विश्वमा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अघि बढाए। बीआरआई परियोजनामा अमेरिका, युरोपेली देशहरु, जापान र भारतसमेतले नयाँ परियोजनामार्फत प्रतिस्पर्धा गर्दै चुनौती दिएपछि केही संशोधनसहित महाधिवेशनपछि बीआरआईको नयाँ संस्करण जारी हुने ठानिएको छ। यसका अतिरिक्त सीको नेतृत्वमा सन् २०२२ मा चीनले ग्लोबल सेक्युरिटी इनिसियटिभ (जीएसआई) र ग्लोबल डेभलपमेन्ट इनिसियटिभ (जीडीआई) परियोजनाहरु अघि सारेको छ। जीएसआई इन्डो–प्यासिफिक स्ट्राटेजी (आईपीएस) र जीडीआईलाई एमसीसीसँग प्रतिस्पर्धा गर्न चीनले अघि बढाएको विश्लेषण हुन थालेकोे छ।    

सी विचारधाराभित्र ‘चिनियाँ चरित्रको समाजवाद‘, चीनको राष्ट्रिय पुनरुत्थान अर्थात् कायाकल्प, ‘चिनियाँ सपना’ जस्ता पदावालीहरु समेटिएका छन्। चिनियाँ चरित्रको समाजवादमा सीले धनी र गरिबबीचको खाडल घटाउने नीति अख्तियार गर्दै माओसँग मिल्ने तर अलि फरक चरित्रको समाजवाद चीनमा स्थापित गर्न चाहेका छन्। चीन ११ औँदेखि १८ औँ शताब्दीको सुरुवातसम्म विश्वको पहिलो आर्थिक र विश्वशक्ति थियो। विश्वको जीडीपीको ३० प्रतिशतभन्दा ठूलो हिस्सा चीन एक्लैले ओगटेको थियो। पाँच सय बीसी भन्दाअघि पनि चीनको वैभव र समृद्धि विश्वकै अनुपम मानिन्थ्यो। आफ्नो छुट्टै भूगोल, संस्कृति र सभ्यतासहितको पहिचान भएको चीनको पुनरुत्थान अर्थात् कायाकल्प फेरि सम्भव छ भन्ने सपना सीले चिनियाँ जनतामाझ स्थापित गरेका छन्।

जनगणतन्त्र चीन स्थापनाको १०० वर्ष अर्थात् सन् २०४९ मा चीनलाई बलियो, लोकतान्त्रिक, सभ्य, मैत्रीपूर्ण र आधुनिक समाजवादी मुलुक बनाउने चिनियाँ कम्युनिस्ट पार्टीको लक्ष्य हो। यसलाई नै चिनियाँ सपना भनिएको हो। चिनियाँ सपनालाई पुरा गर्ने साधनको रुपमा बीआरआई परियोजनालाई अघि बढाइएको छ। सन् २०३५ सम्म चीनलाई मध्यम आय भएको विकसित मुलुक बनाउने र सन् २०४९ सम्ममा चीनलाई महाशक्ति राष्ट्र घोषणा गर्ने लक्ष्य राखिएको छ। 

सीले आन्तरिक रुपमा निर्यातमुखी अर्थतन्त्रलाई आत्मनिर्भर बनाउने, विकासमा चीनको पश्चिम भूगोललाई पनि पूर्वको समुद्री तटीय क्षेत्रको जस्तै सन्तुलनमा ल्याउने, आन्तरिक एकता, चिनियाँ राष्ट्रियताको जागरण अर्थात् ताइवानको एकीकरण गर्दै विश्वको पहिलो शक्ति बन्ने लक्ष्यलाई पनि समावेश गरिएको छ। यिनै लक्ष्य प्राप्त गर्न सी विचारधारामा राष्ट्रिय सुरक्षा पहिलो प्राथमिकतामा परेको हुनुपर्दछ।

गाउँ र सहरबीचको खाडल पुर्ने, धनी र गरिबबीचको अन्तर घटाउने अर्थात् गरिबी निवारण तथा भ्रष्टाचार उन्मूलन सीका प्रमुख लक्ष्यहरु हुन्। सीको १० वर्षको कार्यकलमा करिब ७ करोड जनता गरिबीको रेखाबाट माथि उठे। भ्रष्टाचार नियन्त्रणमा सीले आक्रमक नीति अख्तियार गर्दै सीपीसीका उच्च तहका नेताहरुलाई समेत कारबाही गरिरहेका छन्, भलै त्यसलाई पार्टीभित्रका विपक्षीलाई कमजोर बनाउने सीको चालका रुपमा पनि केहीले व्याख्या गर्ने गरेका छन्।

सीले विदेश नीति पनि परिवर्तन गर्दै आएका छन्। उनले माओको जस्तै अन्तर्राष्ट्रिय रुपमा कम्युनिस्ट पार्टीहरुबीचमा भाइचारा नीति बढाउने प्रयास थालेका छन्। सीले तेङको जस्तो दबिएर नबस्ने विदेश नीति लिएका छन्। देखिने, सुनिने र दबिएर नबस्ने सीको विदेश नीति छ। आफू अरुमाथि आक्रमण नगर्ने तर अरुले गरे कडा जवाफ दिने सीको नीतिले चीन र अमेरिकाबीच अहिले देखिने गरी तनाव बढ्न थालेको छ। 

पश्चिमा दृष्टिकोणमा चीन
‘चीनलाई सुत्न देऊ, जब ऊ ब्यूँझन्छ, उसले संसारलाई हल्लाउनेछ।’ विशेष गरी अमेरिका र युरोपेली देशहरुले चीनलाई १९ औँ शताब्दीको सुरुमा नेपोलियन बोनापार्टले चीनका बारेमा दिएको भनिएको यही अभिव्यक्तिका आधारमा हेर्ने गरेका छन्। चीन जाग्यो भने हाम्रो वर्चश्वको लागि खतरा हो भन्ने बुझाइ बोनापार्टदेखि अमेरिकी लेखक तथा प्राध्यापक फ्रान्सिस फुकुयामा र वर्तमान अमेरिकी राष्ट्रपति जो बाइडेनदेखि कतिपय युरोपेली नेताहरुमा समेत देखिन्छ।

अमेरिकी समाजशास्त्री ब्यारिन्टन मुर्रेले लोकतन्त्रको लागि मध्यमवर्ग र पुँजीको विकासलाई अनिवार्य सर्त मानेका छन्। चीनसँग सहकार्य गर्दा पुँजीको विकाससँगै चीनमा लोकतन्त्र स्थापनाका लागि सहयोगी हुनेछ भन्ने पश्चिमाहरुको विश्वास अहिलेसम्म आउँदा पुरा हुन पाएको छैन्। अहिले चीन विश्वकै ठूलो मध्यम वर्ग भएको मुलुक र पुँजीको बजार हो तर चीनको राजनीतिक प्रणाली अझै पनि कम्युनिस्ट पार्टीको नियन्त्रण कसिलो बन्दै ७३ वर्ष पार गरिसकेको छ। अझ सीले कम्युनिस्ट पार्टीको स्थापना भएको १०० वर्षमा चीनलाई विश्वकै सबैभन्दा शक्तिशाली र सभ्य मुलुक बनाउन ‘चिनियाँ सपना’ घोषणा गरेसँगै पश्चिमाका लागि चीन मुख्य प्रतिस्पर्धी मुलुक बनेको छ।

‘डेस्टिन्ड फर वार’मा ग्राह्म एलिसन भन्छन्‐ ‘चीन र अमेरिका ‘थुसिडिडिज ट्रयाप’ (उदाउँदो शक्तिले विद्यमान महाशक्तिलाई विस्थापित गर्न खोज्दा हुने द्वन्द्व) मा फस्ने खतरा अधिक छ।’ एलिसनको अध्ययनले विश्वमा उदाउँदो शक्ति र परम्परागत शक्तिबीचमा शक्ति हस्तान्तरण हुँदा संरचनागत दबाब र एकले अर्कोको अस्तित्वलाई नस्वीकार्ने समस्याका कारण युद्ध हुने सम्भावना बढी भएको देखाएको छ। एलिसनले इतिहासमा १७ वटा शक्ति हस्तान्तरण भएका घटना अध्ययन गरेका थिए। जसमा स्पार्टा र रोम हुँदै बेलायतबाट अमेरिकासम्म शक्ति हस्तान्तरण हुँदा १२ वटा शक्ति परिवर्तन युद्धमा पुगेर टुंगिएको थियो। पाँच वटा शक्ति परिवर्तन भने शान्तिपूर्ण रुपमा भएका थिए। सीले शान्तिपूर्ण रुपमा नै शक्ति परिवर्तन गर्न चाहेका छन्। 

तर चीन र अमेरिकाबीच विज्ञान र प्रविधि, व्यापार, सामरिक, राजनीतिक व्यवस्थाजस्ता अनेक क्षेत्रमा कडा प्रतिस्पर्धा हुन थालेको छ। साउथ चाइना सी, ताइवान, हङकङ, तिब्बत र सिन्जियाङजस्ता चीनको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गर्न थालेको भन्दै चीनले कडा रुपमा देखिने र सुनिने गरी प्रतिकार गर्न थालेको छ। 

सीले बीआरआइमार्फत शान्तिपूर्ण रुपमा शक्ति एसियातिर अर्थात् मुख्यत चीनमा ल्याउने जुन घोषणा गरेका छन् त्यो कति सम्भव होला, त्यो शान्तिपूर्ण होला वा युद्धमार्फत अहिले नै भन्न सकिने अवस्था छैन। तर सीपीसीले चीनभित्र देखिएका आन्तरिक समस्याको व्यवस्थापन गर्न र बाह्य रुपमा विदेशी हस्तक्षेपलाई निस्तेज पार्दै चीनको कायाकल्पसहितको पुनरुत्थानको लागि बलियो र स्थापित नेतृत्वको खाँचो महसुस गर्दै सीलाई नै तेस्रो पटक नेतृत्वमा ल्याउने तयारी थालेको छ। 

चीनमा सीको नेतृत्व पुनः स्थापित हुँदा नेपालमा के असर पर्ला त? यसबारे थोरै चर्चा गरौँ।

सन् २०१९ अक्टोबरको दोस्रो साता २३ वर्षपछि चिनियाँ राष्ट्र प्रमुखको हैसियतमा राष्ट्रपति सीले नेपाल भ्रमण गरे। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीजस्तै नेपाललाई नजिकबाट चिन्ने र चासो राख्ने चिनियाँ राष्ट्र प्रमुख हुन्। सीको तेस्रो कार्यकालमा नेपालसँगको सम्बन्ध कस्तो बन्ला, त्यो अहिले नै आकलन गर्नु हतार हुनसक्छ। तर चीन‐नेपाल सम्बन्धमा सीले जोड दिएका केही पक्षहरुलाई हेर्दा सीको निरन्तरतासँगै नेपालमा मुख्यतः चार वटा क्षेत्रमा प्रभाव पर्ने देखिन्छ। 

१. चीन‐अमेरिका प्रतिस्पर्धा
पहिलो, नेपालमा चीन र अमेरिकाबीचमा कडा प्रतिस्पर्धा हुनेछ। सीले देखिने, सुनिने र नदबिने विदेश नीति लिएसँगै अमेरिका‐चीन सम्बन्ध प्रतिस्पर्धामा परिणत भइसकेको छ। नेपालमा पनि चीन‐अमेरिका प्रतिस्पर्धा बीआरआई, आईपीएस, एमसीसी र एसपीपीमार्फत हुन थालेको देखिन्छ। 

२. नेकपा पुनर्गठन
सीले कम्युनिस्ट पार्टीहरुका बीचमा अन्तर्राष्ट्रिय भाइचारा सम्बन्ध बढाउने नीति लिएका छन्। राष्ट्रपति सीको नेपाल भ्रमणअघि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र सीपीसीबीच प्रशिक्षणात्मक कार्यक्रम काठमाडौंमा राखियो।

नेकपाको गठनमा चिनियाँ भूमिका रहेको कुरा नेपालका लागि तत्कालीन भारतीय राजदूत रन्जित रे र नेपाली कांग्रेसका नेताहरुले समेत विश्लेषण गरिसकेका छन्। नेकपा विभाजनअघि नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको सक्रियता र अहिले नेकपाको पुनःएकताको लागि चीन सक्रिय छ भन्ने बुझाइ काठमाडौंका केही कूटनीतिज्ञ र राजनीतिक दलहरुमा छँदैछ। 

३. नेपालको विकासमा साझेदारी
चीन नेपालको पूर्वाधारको विकासमा पहिलेदेखिकै साझेदार हो। तर राष्ट्रपति सीको नेपाल भ्रमणको समयमा नेपाल‐चीन सम्बन्धलाई रणनीतिक साझेदारको रुपमा परिभाषित गरियो। विकासको सन्दर्भमा बृहत् साझेदारीबाट रणनीतिक साझेदारीमा नेपाल‐चीन सम्बन्ध बिस्तार भएको छ।

सीले नेपाल भ्रमणको बेला ५६ अर्ब रुपैयाँ अनुदान घोषणा गरेका थिए भने नौ वटा बीआरआईअन्तर्गतका परियोजनामा छलफल भएको थियो। सीले केरुङ‐काठमाडौं रेलमार्गलाई प्राथमिकतामा राखेर नेपालसँग छलफल गरेका थिए। बीआरआई परियोजनाबाहेक पनि चीनले नेपालको पूर्वाधार, प्रविधि हस्तान्तरण, कृषिको आधुनिकीकरणजस्ता क्षेत्रमा सहयोग गरिरहेको छ। चिनियाँ लगानीले भारतलाई समेत उछिन्ने अवस्था बनेको छ।

४. सुरक्षा चासोमा वृद्धि
नेपालमा चीनको सुरक्षा चासो पनि थप बढ्न थालेको छ। नेपालमा हुने चीनविरोधी गतिविधि रोक्न मात्र होइन, चिनियाँ लगानीको सुरक्षामा पनि चिनियाँ चासो बढ्न थालेको पाइन्छ। 

चिनियाँ राष्ट्रपति सी नेपाल भ्रमणमा रहँदा चीनले नेपालसँग सुपुर्दगी सन्धि गर्ने तयारी गरेको थियो। सो सन्धि विदेशी दबाबमा रोकिएको निष्कर्ष निकाल्दै सीले नेपाली भूमिबाटै चीनको सुरक्षामा दखल दिनेलाई धुलिसात पार्ने चेतावनी दिएका थिए। यसबाट थाहा हुन्छ कि तिब्बतको सुरक्षाको लागि नेपालमार्फत हुने गतिविधिलाई सीले कति संवेदनशील रुपमा लिएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .