कतै कमला ह्यारिसले डोनाल्ड ट्रम्पलाई बराबरीको टक्कर दिन सक्दिनन् कि भन्ने सन्देह थियो भने पनि मंगलबार राति उनीहरूबीच भएको पहिलो बहसले त्यसलाई दूर गरिदिएको छ। यो उनीहरूको अन्तिम बहस पनि हुन सक्छ। ह्यारिसले अर्को बहसको माग गर्दै सो बहस समाप्त गरिन्। यसले पनि धेरै कुरा बताउँछ। चुनाव आउन बाँकी ५५ दिनमा ट्रम्पले फेरि दोस्रोपटक भिडन्तको जोखिम मोल्छन् कि मोल्दैनन्, विस्तारै थाहा हुनेछ।
जुनसुकै मापदण्डबाट हेर्ने हो भने पनि ह्यारिसले बहस जितिन्। फक्स न्युजका कतिपय विश्लेषकले समेत यो ट्रम्पका लागि नराम्रो रात रहेको बताए। तर, यसमा औसत अमेरिकी मतदाता सहमत हुन्छन् कि हुँदैनन्, त्यो अर्को कुरा हो। २०१६ का बहसहरू हिलारी क्लिन्टनले जितेकी थिइन्। तर, त्यसले उनलाई हारबाट बचाएन।
अहिलेको परिस्थितिमा ह्यारिसले क्लिन्टनको भन्दा राम्रो गरेकी छन्। बहसलगत्तै टेलर स्विफ्टले उनलाई गरेको समर्थनलाई छाडिदिऔँ किनकि सेलेब्रिटीको समर्थनले चुनावमा विरलै प्रभाव पार्छ। तर, ह्यारिस ट्रम्पसँग जुध्नेगरी बलियो छैनन् कि भन्ने डरलाई उनले समाप्त गरिदिएकी छन्।
गत महिना सिकागोमा पार्टीको सम्मेलनमा ह्यारिस उम्मेदवार मनोनयन भएकी थिइन्। त्यतिबेला पनि प्रतिनिधिहरूमा ट्रम्पसँग ह्यारिसको आसन्न बहसलाई लिएर आशंका थियो। उनीहरू सुरुमा आफ्नो उम्मेदवार विजयी हुने बताउँथे। तर, त्यसले उनीहरूको भयलाई छोप्न सक्दैनथ्यो। किनकि ह्यारिस पहिलोपटक ट्रम्पसँग आमनेसामने हुँदै थिइन्। विगतका बहसहरूमा ह्यारिसले सफलता र असफलता दुवै भोगेकी थिइन्।
मंगलबारको रात विनाशकारी हुनसक्थ्यो। तर, ह्यारिसले कम्तीमा ९० मिनेट समय बहसमा राम्रो गरिन्। उनले लय पक्रिइन्। ह्यारिसको ठाउँमा बाइडेन मञ्चमा हुन्थे पनि यस्तो हुँदैनथ्यो। यो कुरामा जोड दिन आवश्यक छ। यसअघि बाइडेनले जुन महिनामै ट्रम्पसँग बहस गर्न बल गरे। जसमा नराम्ररी असफल भएपछि उनलाई ठाउँ छाड्न दबाब दिने समय बाँकी रह्यो। ह्यारिसको साथमा डेमोक्र्याटहरूसँग जितको सम्भावना छ। बाइडेको साथमा उनीहरू हारतर्फ अघि बढिरहेका थिए।
ट्रम्पसँगको बहसमा ह्यारिसले कुनकुन पक्षमा राम्रो गरिन्, त्यो पनि बताउन जरुरी छ। उनको चरित्र चित्रण निरन्तर हाँसिरहने, अति महत्त्वाकांक्षी महिलाका रूपमा हुने गरेको थियो, जो आफ्ना वाक्यहरूलाई स्पष्टसँग पूरा गर्न सक्दिनन्। उनको सबैभन्दा ठूलो उपलब्धि भनेको बहसमा यस्ता कुनै पनि विशेषता प्रकट नगर्नु हो।
बहसको सुरुवातमा ह्यारिस स्पष्टतः त्रसित् थिइन्। तर, सुरुवाती २० मिनेटभित्रै उनी सहज भइन्। उनी बारम्बार ट्रम्पलाई हैरान पार्न सफल भइन्। ट्रम्पका चुनावी सभाहरूमा ससाना भीड मात्र जम्मा भएको, विश्वका तानाशाहहरू, खासगरी भ्लादिमिर पुटिनले ट्रम्पको जित चाहेको उल्लेख गरेर उनले ट्रम्पलाई भड्काइन्।
ट्रम्पका सल्लाहकारहरूले बहसअघि उनलाई दिएको प्रमुख सुझाव थियो– क्रुद्ध नहुनू। तर, उनलाई ह्यारिसले क्रुद्ध तुल्याइछाडिन्। जब ट्रम्पले अवैध आप्रवासीले घरपालुवा कुकुर खाइरहेको दाबी गरे, अथवा जब उनले जनवरी ६ का हुलदंगाकारीहरूलाई सहिद भने, तब ट्रम्प मुख्यालयमा सामूहिक निराशाको स्वर सुन्न सकिन्थ्यो।
त्यसमाथि ओबामाकेयरको सट्टामा कस्तो योजना ल्याउने भनेर ट्रम्पले किन योजना बनाएनन्, बुझ्न कठिन छ। बहसका सहजकर्ताहरूले दबाब दिएपछि यसबारे ट्रम्पले जवाफ दिए– ‘मसँग योजनाको अवधारणा छ। अहिले म राष्ट्रपति होइन।’
२०१६ अघि यस्तो जवाफले काम चल्थ्यो होला। तर, अहिले यसले कसैको विचार बदल्छजस्तो लाग्दैन। किनकि ट्रम्पले बारम्बार अमेरिकाको स्वास्थ्य सेवा प्रणालीको आलोचना गर्दै आएका छन्। तर, ९ वर्षको अवधिमा पनि उनले विकल्प प्रस्तुत गर्न सकेका छैनन्।
ह्यारिसको प्रदर्शनले अमेरिकी मतदातालाई प्रभावित पार्यो कि पारेन, थाहा पाउन केही समय लाग्नेछ। तर, यसको मनोवैज्ञानिक लाभ उनले तुरुन्त पाउनेछिन्। सम्भवतः चुनाव जित्छु भन्ने उनको आत्मविश्वास पनि बढ्नेछ। सञ्चारमाध्यम र अन्य मानिसका कठिन सवालको सामना गर्न पनि उनी तयार रहनेछिन्।
तैपनि अमेरिकाको कठोर राजनीतिक ध्रुवीकरणबाट बच्न ह्यारिसलाई सजिलो हुने छैन। त्यस्तै, इलेक्टोरल कलेजमा जित्नका लागि कठिन मेहनतबाट पनि उनी मुक्त हुने छैनन्। जुनसुकै पार्टीले पनि जित्न सक्ने निर्णायक राज्यहरूमा जित हात पार्न उनले राष्ट्रव्यापी रूपमा चार या पाँच अंकको अग्रता कायम गर्नुपर्ने हुन्छ। पछाडि परे पनि ट्रम्पले यो चुनाव सहजै जित्न सक्छन्।
तर, अहिलेलाई भने अमेरिकाको चुनावी कथा बदलिएको छ। निस्सन्देह, त्यो कथा फेरि पनि बदलिनेछ। किनकि अमेरिकामा तलमाथि भइरहन्छ। तर, ह्यारिसमाथि सवाल उठाउनेहरू भने अहिलेलाई चुप लाग्नेछन्।
त्यसको प्रमाण हो– उनले बाइडेनका बारेमा गरेको कुरा। बाइडेन अहिले पनि उनको बोस हुन्। जो अझै पाँच महिना राष्ट्रपति रहनेछन्। तर, उनले लगभग क्रूरतापूर्वक आफूलाई बाइडेनबाट अलग गरिन्।
‘तपाईं मसँग भिड्दै हुनुहुन्छ, बाइडेनसँग होइन,’ ह्यारिसले ट्रम्पलाई भनिन्।
दर्शकलाई भने यो याद दिलाउने आवश्यकता रहने छैन।
(फाइनान्सियल टाइम्सबाट)
Shares
प्रतिक्रिया