विचार


युरोपलाई फेरि महान् बनाइदिँदै छन् ट्रम्प

युरोपलाई फेरि महान् बनाइदिँदै छन् ट्रम्प

गिडियन राकमन
फागुन २८, २०८१ बुधबार ११:३९,

डोनाल्ड ट्रम्पले नोबेल शान्ति पुरस्कार कहिल्यै जित्ने सक्ने छैनन्। तर, उनी सार्लामेन पुरस्कारको भने बलिया दाबेदार हुन्। जुन पुरस्कार प्रत्येक वर्ष युरोपको एकतामा सबैभन्दा ठूलो योगदान पुर्‍याउने व्यक्तिलाई प्रदान गरिन्छ। 

ट्रम्पले रुसलाई रिझाएका छन्, नेटो गठबन्धनप्रतिको विश्वास कमजोर पारेका छन्, ईयूलाई भन्सार महसुल लगाउने धम्की दिएका छन् र युरोपमा दक्षिणपन्थीहरूको प्रभावलाई बढावा दिएका छन्। उनका यी गतिविधिले ईयूलाई ठूलो झट्का दिएको छ। जसले गर्दा दशकौँदेखि अड्किएको युरोपको बृहत् एकता अगाडि बढेको छ।

प्रमुख तीन क्षेत्रलाई नियाल्न जरुरी छ। पहिलो हो– युरोपको रक्षा क्षेत्र, दोस्रो– युरोपको संयुक्त ऋण र तेस्रो– बेलायत तथा ईयुबीचको दरार टाल्ने कार्य।

युरोपको जनमतमा आएको नाटकीय परिवर्तनले यी घटनाक्रमलाई प्रस्ट पार्छन्। गत साताको सर्वेक्षणअनुसार ७८ प्रतिशत बेलायतीहरू ट्रम्पलाई आफ्नो देशप्रतिको खतरा मान्छन्। ७४ प्रतिशत जर्मन र ६९ प्रतिशत फ्रान्सेलीहरू पनि। अर्को एउटा सर्वेक्षणमा ८५ प्रतिशत जर्मन नागरिकले फ्रान्सलाई ‘विश्वसनीय साझेदार’ मानेका छन्। त्यस्तै, ७८ प्रतिशत जर्मनहरूले बेलायतलाई विश्वास गर्दा अमेरिकालाई विश्वास गर्नेहरूको संख्या मात्र १६ प्रतिशत छ।

कयौँ युरोपेली नेताहरू ट्रम्प खतरा हुन् भन्नेमा सहमत छन्। तथापि, कूटनीतिक कारणले खुलेर कोही बोल्दैनन्। आठ दशक पूरा हुन लागेको नेटो गठबन्धनले आफूलाई अमेरिकी सैन्य सहायतामा अत्यधिक निर्भर तुल्याएको असहज अवस्थाबारे पनि उनीहरू सचेत छन्। यहाँनेर सवाल पैसाको मात्र होइन। साँच्चै खतरनाक निर्भरता त अमेरिकी प्रविधि र हतियारमाथि छ।

ट्रम्प प्रशासनले गुप्तचर सूचना र हतियार दिन छाडेपछि युक्रेन कति ठूलो समस्यामा परेको छ, युरोपेलीहरूले देखेका छन्। त्यसैले उनीहरूले दुईतर्फी नीति अपनाइरहेका छन्। एकातिर युरोपलाई अमेरिकाले दिँदै आएको सैन्य सहायता यथासम्भव लामो समयसम्म जारी राख्ने उनीहरूको प्रयास छ। अर्कोतिर, जतिसक्दो चाँडो त्यो सहयोग रोकिने क्षणका लागि तयार हुनु छ।

गत साता युरोपेली आयोगले ईयूको रक्षा उद्योगमा खर्च गर्नका लागि १५० अर्ब युरो उठाउने निर्णय गर्नुपछाडिको कारण यही थियो। यो नयाँ बजेट हवाइ प्रतिरक्षाजस्ता ती क्षेत्रमा लगानी गरिने सम्भावना छ, जहाँ युरोपेली मुलुकहरू अमेरिकामा निर्भर छन्।

साझा युरोपेली ऋण जारी गर्नु रक्षा खर्च जुटाउने उपाय मात्र होइन। यसले युरोलाई सञ्चित मुद्राका रूपमा डलरको विकल्प बन्ने मौका पनि दिन्छ। ट्रम्प प्रशासनको मनोमानीका कारण सुरक्षित सम्पत्तिका रूपमा अमेरिकी ट्रेजरीको विकल्प धेरैले खोजिरहेका छन्। 

पारम्परिक रूपमा मितव्ययी जर्मनीमा साझा युरोपेली ऋण निषेध मानिन्थ्यो। महामारीमा आंशिक रूपमा त्यो निषेध तोडियो। अब त्यो समाप्त नै हुने सम्भावना छ। फ्रेडरिक मर्ज अब जर्मनीको चान्सलर बन्दै छन्। उनी ऋणमा रक्षा तथा पूर्वाधारमा गरिने खर्चमा संविधानले तोकेको सीमालाई हटाउने दिशामा अघि बढिरहेका छन्। राज्यकोषमा अपनाएको मितव्ययिताका कारण जर्मनीले ऋणमा डुबेका फ्रान्स र बेलायतको तुलनामा ज्यादा सापटी लिनसक्ने ठाउँ छ।

सैन्य खर्च बढाउँदा त्यसले युरोपको सबैभन्दा ठूलो अर्थतन्त्र जर्मनीको अर्थव्यवस्थालाई गतिशील तुल्याउन सक्छ। ‘कुरा स्पष्ट छ। जर्मनहरूले अब कार बेच्न सक्दैनन्। त्यसैले उनीहरूले अब ट्यांक बनाउने छन्,’ फ्रान्सका एक प्रमुख व्यापारीले मलाई भनेका छन्।

ट्रम्पको अन्तिम उपकार के हो भने ब्रेक्जिटपछि ईयू र बेलायतबीचको मेलमिलापलाई उनले तीव्र बनाइदिएका छन्। बेलायत र फ्रान्सका नेताहरू किअर स्टार्मर र इम्यानुएल म्याक्रोँले युक्रेनका विषयमा मिलेर काम गरेका छन्। जर्मनीका मर्जसँग मिल्दा यी तीनजनाले एउटा शक्तिशाली त्रिमूर्ति बनाउन सक्छन्।

सैन्य खर्च बढाउने एउटा संयन्त्र नयाँ युरोपेली रक्षा कोष बन्न सक्छ। जसमा बेलायत पनि सहभागी हुन सक्छ। यसले ब्रेक्जिटको ‘प्यान्डोराज् बक्स’ नखोली बेलायत र ईयूलाई सहकार्यको नयाँ स्वरूप दिन सक्छ।

ब्रेक्जिटले गरेका केही हानि सुधार्ने मौका यसले दिन्छ। यसको अर्थ अहिलेको क्षणमा युरोपको सामु खतरा मात्र होइन, अवसर पनि छ। अहिले युरोपले ट्रम्पको अमेरिकाभन्दा स्थिर व्यावसायिक वातावरण दिन सक्छ। यो कुरा सायद अमेरिका र युरोपको सेयर बजारले प्रदर्शित पनि गरिसकेको छ।

ट्रम्प प्रशासनले अमेरिकी विश्वविद्यालयहरूमाथि आक्रमण बढाएको छ। जसले गर्दा अग्रणी शोधार्थीहरूलाई युरोपमा आकर्षित गर्ने मौका पनि छ। उत्तर अमेरिका र युरोपबीच तलब र अध्ययनको खर्चमा निकै ठूलो अन्तर छ। तर, रक्षा क्षेत्रमा गरिने खर्चको तुलनामा अनुसन्धानमा लगाइएको रकम निकै कम छ।

बृहत् युरोपेली एकताको मार्गमा धेरै असहमति र बाधा आउने छन्। ईयूको रक्षा कोषको खर्च कसरी गर्ने भन्ने विषयमा फ्रान्स र जर्मन भिड्न थालिसकेका छन्।

यस्ता हरेक झगडाले युरोपले कहिल्यै मिलेर काम गर्न सक्दैन भन्ने मान्छेहरूको सन्देहलाई बढावा दिने छ। १९५० को दशकमा कोइला र स्टिल विकास अनि १९९० को दशकमा साझा मुद्रा बनाउने बेलामा पनि यस्तै शंका र बाधा देखा परेका थिए। तर, अन्ततः युरोपेली नेताहरू एक ठाउँमा आइपुगे। किनकि राजनीतिक हिसाबले त्यसो गर्नु अनिवार्य थियो।

युरोपेली एकतातर्फका ठूला कदम भूराजनीतिक झट्काको कारणले चालिएका थिए– पहिलोपटक दोस्रो विश्वयुद्धको अन्त्यमा र त्यसपछि शीतयुद्धको अन्त्यमा। अहिले आएर ट्रम्पको सौजन्यबाट हामी युरोप–अमेरिका गठबन्धनको अन्त्य नियालिरहेका छौँ। गत दुई ठूला चुनौतीको जवाफ युरोपले मजबुती र नवअन्वेषणका साथ दिएको थियो। त्यो काम उसले फेरि पनि गर्न सक्छ।

(फाइनान्सियल टाइम्सबाट) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad