अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा जीबीयू–५७ बम हाने। अमेरिकामा ‘एफ–बम।’
यो ‘एफ–बम’ मान्छेको जिब्रोबाट छुट्छ। यो ‘फ*’ शब्द एक भए पनि अंग्रेजी भाषामा, विषेशतः अमेरिकी समाजमा यसको बहुअर्थी प्रयोग हुने गरेको छ। राम्रोलाई जोड दिँदा पनि ‘एफ’, नराम्रोलाई पनि ‘एफ!’ गाली गर्दा पनि ‘एफ,’ तारिफ गर्दा अझ ठूलो स्वरमा ‘एफ!’
अमेरिकामा धनी, गरिब, हुनेखाने, हुँदा खाने सबैको प्रिय थेगो हो यो ‘एफ’ जनित शब्द। बन्द कोठामा आफ्नो कुरामा जोड दिन सबै यो शब्दको प्रयोग गर्छन्। सन् १९७२ मा वाटरगेट काण्डको पर्दाफास भएपछि तत्कालीन राष्ट्रपति रिचर्ड निक्सन तिल्मिलाएका थिए। उनको वार्तालापमा ‘एफ’ शब्दको आधिक्य अचानक बढेको थियो।
सन् १९७४ मा महाभियोगबाट मुक्ति पाउन राजीनामा गरुञ्जेल उनले यो शब्द सयभन्दा बढी पटक प्रयोग गरेको कुरा रेकर्डले देखाउँछ। तर यो बन्द कोठाको संवाद थियो। निक्सन ह्वाइट हाउसभित्रै पिएर मातेका हुन्थे। उनी पूर्वराष्ट्रपतिहरूको तेलचित्रअघि उभिएर एक्लै भन्थे, ‘तिमीहरूभन्दा म के कम?’
निक्सन मातेको देखेर अमेरिकी सैन्य अधिकारीहरूमा कथं उनले सन्किएर आणविक अस्त्र चलाउने आदेश दिन्छन् कि भन्ने त्रास थियो। त्यो अवस्थामा के गर्ने भन्ने छलफल समेत हुन थालेको थियो। त्यो त्यो जमाना थियो, यो यो जमाना हो।
डोनाल्ड ट्रम्पको पिउने बानी छैन। हरेक मान्छेलाई मात्ने बहाना जरुरी हुन्छ भने ट्रम्पको मात नवयौवनाहरू थिए। उनासी वर्षका ट्रम्प आफ्नी कान्छी पत्नी मेलानिया सुत्केरी हुँदा अन्य दुई महिलासँग रसराग गरेको, त्यो कुरा लुकाउन जनताले चुनावको निम्ति दिएको चन्दा दुरूपयोग गरेको आदि इत्यादि काण्डका अदालती प्रक्रियाबाट मुक्त भैसकेका छैनन्। विडम्बना, अमेरिकामा बहालवाला राष्ट्रपतिलाई अभियोग लगाउने कानुनी आधार छैन। संविधानले नै यसो भनेपछि कसको के लाग्छ?
डोनाल्ड ट्रम्प आन्तरिक विरोधाभाषले ग्रस्त एक यस्ता आत्ममुग्ध व्यापारी हुन्, जो राजनीतिज्ञ होइनन्। विश्वका हरेक मुद्दा– जहाँ मान्छेको जीवन हरण हुँदैछ, उनको लागि भोलिपल्ट छापिने अखबारको शीर्षक हो। लेनदेनको सवाल उनको कूटनीतिको आधार हो। भूराजनीति लेनदेनले मात्रै चल्दैन। अन्यथा रोमन साम्राज्य होस्, वा बेलायती– पतन हुने थिएन।
ट्रम्पले इजरायल र इरानको बाह्र दिने युद्धलाई आफ्नो बनाए। जो उनको थिएन। यी मान्छेले त राष्ट्रपति भएको चौबीस घन्टामा रूस–युक्रेन युद्ध अन्त्य गर्छु भन्दै भोट मागेर जितेका हुन्! रूसका पुटिनसँग यिनको कूटनीतिक चातुर्यको तूलना हुन सक्दैन। सोभियत संघ पतन हुनुअघि नै ट्रम्पको फाइल केजीबी (रुसी गुप्तचर संस्था, जो आजभोलि एफएसबी भनेर परिचित छ) सँग थियो। आफ्नो घरमा जति फूर्ति लगाए पनि पुटिनका सामु ट्रम्प किन गरुडको छायामा परेको सर्प जस्तो हुन्छन्? अमेरिकी गुप्तचर संस्थाका पूर्वअधिकारीहरूलाई थाहा छ। केवल जनतालाई थाहा छैन। यो राष्ट्रिय सुरक्षाको विषय हो।
तर ट्रम्प इजरायल र इरानप्रति किन यसरी उत्तेजित रूपमा प्रकट भए? उनी इजरायल र अरबबीचको ऐतिहासिक द्वन्द्वबाट आफ्नो गरिमा बढाएर नोबेल शान्ति पुरस्कार लिने दाउमा थिए। जो सम्भव भएन।
त्यतिमात्र होइन, उनको युद्ध विरोधी छविलाई उनका आफ्नै मतदाताको आधारभूमिले नपत्याउने अवस्था आएको छ। उनले रिपब्लिकन पार्टीको टिकटबाट चुनाव जिते पनि त्यो पार्टी भित्रै ‘मागा’ अर्थात् ‘मेक अमेरिका ग्रेट अगेन’ नामको अर्को पार्टी खडा गरेका छन्। यो समूह अमेरिकाले आप्रवासीलाई निकाल्नुपर्छ, अमेरिकाले युरोपको सुरक्षामा खर्च गर्नु हुँदैन र आफ्नो आम्दानी खाँटी गोरा इसाई अमेरिकीहरूको हितमा मात्रै खर्च गर्नुपर्छ भन्ने धारणाका पक्षपाती हुन्। अमेरिकाभित्र दोस्रो विश्वयुद्धपछि राजनीतिक आर्थिक वर्चस्व स्थापित गरेर बसेको सैन्य उद्योग आफ्नो व्यापार विश्वमा फैलाउन चाहन्छ। यसका निमति युद्ध आवश्यक हुन्छ। अमेरिकाका विश्वभरि गरेर सात सयभन्दा बढी सैन्य अखडा छन्।
ट्रम्पले अमेरिकाको राजधानी वासिङ्टन डीसीमा जमेको रछ्यान बगाइदिने (ड्रेन द स्वाम्प) र भूमिगत गिरोह (डिप स्टेट) विरुद्ध आफ्नो अभियान सुरु गर्ने दाबी गरेर चुनाव जिते पनि, उनी आफै त्यो रछ्यानमा डुबुल्की मार्न विवश छन्। उनलाई एकातिर अमेरिकी सैन्य भूमिगत गिरोहलाई खुसी पार्नुछ, अर्कोतिर आफ्ना मतदाता रिझाउनु छ। निराशाको क्षणमा जिब्रोले ‘एफ बम’ पड्काउनु अमेरिकीहरूको बिशेषता हो।
पराजयको इतिहास
अमेरिकाले आफ्नो सैन्य बल र प्राविधिक दक्षताको बलमा लडाइँको मोर्चा जिते पनि युद्ध सधैँ हार्दै आएको छ। दोस्रो विश्वयुद्धपछि अमेरिकाले कोरियामा लड्यो। परिणाम अमेरिकी पक्षमा देखिएन। आज तेस्रो पुस्ताका उत्तर कोरियाली तानाशाह अमेरिकातिर क्षेप्यास्त्र तेर्स्याएर बसेका छन्। कुनै बेला उनी अमेरिकी रणनीतिक साझेदार दक्षिण कोरियातिर क्षेप्यास्त्र फाल्छन्, कुनै बेला जापानतिर।
भियतनाममा अमेरिकाले गरेको युद्धले भियतनाम, कम्बोडिया र लाओसमा नरसंहार गर्यो। तर अमेरिकाका आफ्नै नायुवाहरूले अनाहकमा ज्यान गुमाउने क्रम नरोकिएपछि बिनानिष्कर्ष अमेरिका फर्कियो। भियतनाममा अझै कम्युनिस्ट नामको शासन छ र भियतनामसँग अमेरिका उल्लेख्य रूपमा व्यापार घाटा बेहोर्दैछ। इराक युद्धले अमेरिकी देश र जनतालाई कुनै फाइदा भएन। बरु त्यो क्षेत्र अस्थिरताको भासमा जाकियो। अमेरिकी युद्ध व्यापारीहरूले भने मनग्य आर्थिक फाइदा उठाए, यो बेग्लै कुरा हो। अमेरिकाले आफ्नो इतिहासमै लडेको सबैभन्दा लामो युद्ध अफगानिस्तानमा थियो। सन् २०२० मा अमेरिका जुन लज्जास्पद रूपले त्यहाँबाट बिदा भयो, अमेरिकी सैन्य अभिलेखमा त्यो घटना एउटा कालो पाना हो।
अफगानिस्तानमा जुन अमेरिकी सेनाले स्थानीय मुजाहिद्दिनहरूलाई रुसी सेनासँग लड्न बंकर बनाइदिएको थियो, अमेरिका त्यही बंकरमा ओसामा बिन लादेनलाई मार्न बम हान्न बाध्य भयो। यो इतिहास धेरै पुरानो छैन।
इरानको कुरा गर्दा इतिहासको पाना अलि पछाडि पल्टाउनु पर्ने हुन्छ।
अमेरिकी आणविक सहयोग
सन् १९५१ को कुरा हो, इरानमा मोहम्म्द मोसदेग प्रधानमन्त्री भए। उनी वामपन्थी विचारका राष्ट्रवादी नेता थिए। जननिर्वाचित उनी इरानको तेल भण्डारमा कायम रहेको बेलायती आधिपत्य अन्त्य गर्न चाहन्थे। उनले धमाधम इरानी तेल खानीहरूको राष्ट्रियकरण गर्दै बेलायतीहरूलाई धपाउन थाले। बेलायतले अमेरिका गुहार्यो। अमेरिका र बेलायतको स्वार्थ मिलेको थियो। बेलायती गुप्तचर संस्था एमआई सिक्स र अमेरिकी सीआईएको संयुक्त षड्यन्त्रमा इरानका केही सैनिक अधिकारीहरूलाई साथ लिएर सन् १९५३ मा कू गरियो। मोसदेग अपदस्थ भए। विस्थापित इरानी राजवंशका उत्तराधिकारी रेजा शाह पह्लवी अमेरिकामा विलासी जीवन बिताउँदै थिए। उनलाई सत्तामा स्थापित गरियो। अब इरानको तेल भण्डारमा अमेरिका र बेलायतको आधिपत्य पुनः कायम भयो।
इरान इतिहासको त्यो कालखण्डमा मध्यपूर्वमा पश्चिमाहरूको निम्ति अहिलेको साउदी अरब, कतार र ओमानभन्दा बढी भरपर्दो रणनीतिक साझेदार भयो।
इरानको आणविक ऊर्जा उत्पादन कार्यक्रममा सबैभन्दा पहिले सहयोग दिने अमेरिका थियो। सन् १९६० को सुरुवातमा अमेरिकाले इरानलाई आणविक कार्यक्रम सुरु गर्न आणविक भट्टी र यसको सञ्चालनमा आवश्यक प्राविधिक सहयोग दियो। सन् १९६० को दशककै अन्त्यतिर इरानलाई प्रशोधित युरेनियम र प्लुटोनियम उपलब्ध गराउने पनि अमेरिका नै थियो।
झन्डै दुई दशक इरानमा चलेको आणविक कार्यक्रममा अमेरिकाको निरन्तर सहयोग रह्यो।
सन् १९७९ मा आयातोल्लाह खामेनी फ्रान्सबाट इरान फर्किएपछि उत्सर्गमा पुगेको इस्लामी क्रान्तिले राजतन्त्र फालिदिएपछि अमेरिकी पासा पल्टिएको हो। आन्दोलनकारीहरूले राजधानी तेहरानको अमेरिकी दूतावास कब्जा गरेर ५२ जना अमेरिकीलाई ४ सय ४४ दिन बन्धक बनाएपछि अमेरिका र इरानको पानी बाराबार भयो। त्यसको एक वर्षपछि सुरु भएको इरान–इराक युद्धमा अमेरिकाले इराकका तानाशाह सद्दाम हुसेनलाई भरपूर सहयोग गर्यो। उनै सद्दाम हुसेनलाई अन्ततः अमेरिका आफैले इराकमा आणविक अस्त्र भएको बहानामा आक्रमण गरेर पराजित मात्र गरेन, द्रूत गतिमा चलेको अदालती कारबाही मार्फत फाँसी नै दियो।
यहाँ भियतनाम युद्धताका अमेरिकी विदेशमन्त्री र राष्ट्रिय सुरक्षा सल्लाहकार हेनरी किसिन्जरको एउटा भनाइ सान्दर्भिक हुन्छ। उनलाई कतिपय अमेरिकीहरू आधुनिक अमेरिकी कूटनीतिका पिताका रूपमा सम्मान गर्छन्। अर्काथरी दाबी गर्छन्, ‘भियतनाम युद्धमा लाओस र क्याम्बोडियाबाट दक्षिण भियतनाम आउने उत्तरी भियतनामका सेनालाई मार्न उनले चलाएको ‘हो ची मिन्ह ट्रेल बमवर्षा’ एक युद्ध अपराध थियो। यस अर्थमा उनी युद्ध अपराधी थिए।’
राष्ट्रपति रिचर्ड निक्सनलाई तत्कालीन सोभियत संघविरुद्ध चीनसँग हात मिलाउन प्रेरित गर्नु कूटनीति हो भने हो ची मिन्ह ट्रेलमा लाखौँ निरपराध किसानको अनाहकमा हत्या गर्नु पनि युद्ध अपराध हो। यो बहस आआफ्नो कित्तामा जारी रहनेछ। तर उनले बोलेको यो कुराले अमेरिका शत्रु र मित्र दुवैलाई झस्काउँछ भने त्यो स्वाभाविक हो। विलियम एफ बक्लीको पुस्तक ‘युनाइटेड नेसन्स जर्नलः अ डेलिगेट्स ओडिसी’का लागि अन्तर्वार्ता दिँदै उनले भनेका छन्, ‘अमेरिकाको शत्रु हुनु खतरनाक छ, तर मित्र हुनु झन् घातक।’
अमेरिकाले अफगानिस्तान छोड्नुअघि उडेको अन्तिम हवाइजहाजमा झुण्डिएका र झरेर मरेका अमेरिकी मित्र अफगानीहरूले भन्दा बढी अरु कसले बुझ्यो होला र? डोनाल्ड ट्रम्पभन्दा नरम मानिने तत्कालीन अमेरिकी राष्ट्रपति जो बाइडेनले त्यो दृश्य देखेर ऐय्या भने कि भनेनन्?
बाराक ओबामा सुपठित, सुसंस्कृत र अमेरिकी इतिहासमा कालो छाला ओढेर सेतो घरको सिंहासनमा पुग्ने पहिलो राष्ट्रपति हुन्। उनले सिरियामा के गरे? रूस र इरान समर्थित बसर अल असदको सत्ता पल्टाउन उनले त्यहाँका विद्रोही सेनामाथि कति लगानी गरे? कसरी त्यही सेना अल कायदा हुँदै आईएसआईएस भएर पश्चिमा स्वार्थमा आक्रमण गर्न थाल्यो? सिरियाका वर्तमान राष्ट्रपति अहमद अल सराह, जसको टाउकोमा अमेरिकाले दस करोड डलरको पुरस्कार घोषणा गरेको थियो, डोनाल्ड ट्रम्पले उनैलाई अँगालो हालेर आफ्नो मित्र घोषणा गरिदिए।
परिवर्तित समयका निरीह राष्ट्रपति
डोनाल्ड ट्रम्प दोहोर्याएर सत्तासीन हुनु अघिसम्म अमेरिकी राजनीतिशास्त्रीहरूको एउटा सर्वप्रिय थेगो हुनेगर्थ्यो, ‘अमेरिकी राष्ट्रपति देशको सर्वाधिक शक्तिशाली मान्छे हो, तर उसले त्यो मात्र गर्न सक्छ, जो संसदले उसलाई आदेश दिन्छ।’ अब त्यो समय छैन। डोनाल्ड ट्रम्प जे पनि बोलिदिन्छन्। क्यानडालाई गाभ्ने होस्, ग्रिनल्यान्डलाई कब्जा गर्ने होस्, प्यालेस्टाइनी क्षेत्र गाजालाई खाली गरेर त्यहाँ सुन्दर व्यापारिक ‘रिभिएरा’ बनाउने होस् वा मेक्सिकोको खाडीलाई अमेरिकी खाडी भन्नुपर्ने फरमान जारी गर्दा होस्, उनले संसदलाई पूर्णतः तिरस्कार गरे। सामान्य अवस्थामा इरानका आणविक प्रशोधन केन्द्रमा बमवर्षा गर्नुअघि उनले संसदलाई सूचित गरेर त्यसको अनुमति लिनु जरुरी थियो। उनले त्यो आवश्यक ठानेनन्।
सत्तामा पुनर्स्थापित भएको एक महिना नबित्दै उनले अदालतमाथि आक्रमण गरे। उनको दाबी थियो, ‘देशभक्त मान्छे कानुनी बन्धनभन्दा माथि हुन्छ।’ यो वाक्य उनले अठारौँ शताब्दीका तानाशाह नेपोलियन बोनापार्टको शब्दकोशबाट सापटी लिएका थिए। तर ट्रम्प दृश्यमा जति बलशाली प्रस्तुत हुन्छन्, त्यो उनको मात्र होइन, उनका समर्थकहरूको समेत भ्रम हो। यथार्थमा ट्रम्प निरीह छन्। उनलाई इतिहास वा भौगोलिक यथार्थको ज्ञान छैन। उनको आडमा उनलाई घेरेर बसेका सीमित मान्छेहरू अमेरिकामा शासन गर्दैछन्।
सन् २०१६ पछिको आफ्नो पहिलो कार्यकालमा उनको वरिपरि जानेबुझेका मान्छेहरू थिए। या ट्रम्प उनीहरूसँग टिक्न सकेनन् अथवा उनीहरू ट्रम्पसँग काम गर्नुको सट्टा बिदा हुनु रुचाए। यसपटक ट्रम्पले ‘हुन्छ बहादुर’हरू भर्ना गरेका छन्। यस्तो झुण्ड जो राज्य सञ्चालनभन्दा आफ्नो हाकिम रिझाउन लालायित छ। तर कुरा यतिमै सीमित छैन। कतिपय कुरा ट्रम्पलाई थाहै हुँदैन।
आप्रवासीको दैत्यकरण
अब डोनाल्ड ट्रम्पका मतादाताले बुझिसके। उनको सर्वथा अपरिभाषित र हचुवा आर्थिक नीतिले उनीहरूको जीवनमा कुनै सकारात्मक परिवर्तन आउने छैन। उनले ल्याउन खोजेको र अहिले संसदको माथिल्लो तहमा अड्किएको कथित ‘बिग ब्युटिफुल बिल’ले अमेरिकाका एक प्रतिशत अति धनाढ्य र दस प्रतिशत नवधनाढ्यहरूलाई मात्रै रोजेको कर छुट दिनेछ। आम श्रमजीवीले त्यसको शोधभर्ना गर्न राज्यकोषमा वार्षिक चारदेखि पाँच हजार थप कर तिर्नुपर्ने अवस्था छ। जँड्याहाले ठर्रा तानेको जस्तो तेल खाने ठूलाठूला ट्रक चढेर आफ्नो गाडीमा ‘मागा’ स्टिकर टाँसेर हिँड्ने एकथरी गोरा अतिवादीहरू लज्जित र क्रुद्ध छन्। तर त्यो भावना उनीहरू खुलेर व्यक्त गर्न सक्दैनन्।
आयातीत सामग्रीमा उनले लगाएको करको भारले ट्रम्पका मतदाता थकित र चकित छन्। चीनले पठाएको सामानको कर चीनले नै तिर्छ भन्ने भ्रममा परेर भोट दिएकाहरू अहिले आफूले गरिआएको व्यापारको अनिश्चितताबाट चिन्तित छन्। अमेरिकामा ठूला किसानहरू गोरा छन्। इसाई छन्। अहिले खेतमा काम गर्ने सस्तो मजदुरको भागाभाग छ। न रोप्ने छन्, न रोपेको टिप्ने!
ठूला व्यापारीहरू केही समय घाटामा चल्न सक्छन्। तर डोनाल्ड ट्रम्पका ग्रामीण मतदातालाई यो सुविधा छैन। आजको उत्पादन भोलि बेचेर पर्सि खानुपर्ने ‘मागा’ समर्थकहरूलाई चिन्ता छ। तर आप्रवासी समुदायलाई चिन्ताभन्दा बढी सुरक्षाको सवालले गाँजेको छ।
यतिबेला अमेरिकामा न कुनै आप्रवासी कानुनी छन्, न गैरकानूनी! किनभने राज्ययन्त्र कानुन मुताविक चलेको छैन।
डोनाल्ड ट्रम्प छ महिना भएको छैन रिजोल्युट डेस्कमा दोहोर्याएर बसेको, तर उनी आफ्ना हरेक चुनावी वाचाहरूबाट चुक्दै गएका छन्। अमेरिका ‘ग्रेट’ हुने लक्षण धमिलो हुँदैछ। त्यसैले उनीसँग एकमात्र विकल्प छ, आप्रवासीको दैत्यकरण।
लस एन्जेलसतिर कागजपत्र विहीन आप्रवासीहरू जम्मा हुने ठाउँमा ‘आइस’ भनिने आप्रवासन र सीमा सुरक्षा विभागका मान्छेहरू नकाब लगाएर नाम नखुलेको गाडीमा प्रतीक्षारत हुन्छन्। गरिब, खैरा, पहेँला वर्णका मान्छे उनीहरूको तारो हुन्। हुलमुलमा दसजना अमेरिकी नागरिकलाई समातेर तेस्रो देश पठाउने तयारी छ। अध्यागमन अदालतमा आप्रवासीप्रति सहानुभूतिशील न्यायाधीशहरूलाई छानीछानी जागिरबाट बर्खास्त गरिँदैछ।
अमेरिकामा शरणार्थीका रूपमा स्थायी बसोवासको अनुमति पाउन हुनेगरेको खेतीपाती पनि अब संकटमा छ। ट्रम्प प्रशासन अब बीस वर्ष अघिसम्म भएका झुटा कथाकहानी बनाएर ‘ग्रिन कार्ड’ हासिल गर्नेहरूको खोजीनिती गरेर देश निकाला गर्ने मात्र होइन, उनीहरूलाई यसमा अभिप्रेरित गरेर आफ्नो आजीविका चलाउने अध्यागमन ‘अटर्नी’हरूको अनुमति पत्र समेत खारेज गर्ने तयारीमा छ।
डोनाल्ड ट्रम्प यसै निरीह होइनन्। कतिपय कुरा उनलाई थाहै हुँदैन। एकथरी ट्रम्प समर्थकहरूले राष्ट्रपति कार्यालयमा दबाब दिएका थिए– ‘यो तरिका ठिक भएन। भएभरका आप्रवासीलाई लखेट्ने हो भने हाम्रो व्यवसाय कसरी चल्छ? हामीले त हाम्रो उन्नति होला भनेर भोट दिएको। के गरेको यो?’
तुरुन्तै ट्रम्पले भोलिपल्ट संवाददाताहरूलाई भने, ‘अब हामी महत्त्वपूर्ण क्षेत्रमा काम गर्ने आप्रवासीमाथि धरपकड नगर्ने भएका छौँ। उनीहरू बीसौँ वर्षदेखि यहाँ छन्, ती राम्रा मान्छे हुन्।’ आप्रवासीहरू काममा फर्किए। पर्सिपल्ट धरपकड फेरि सुरु भयो। ट्रम्पका उपमुख्यसचिव छन् एकजना, जसको नाम स्टिफन मिलर हो। उनको मत छ, अमेरिकामा कानुनी आप्रवासन समेत रोक्नु जरुरी छ। ट्रम्पलाई आफूले अहिले बोलेको कुराको एकछिनपछि हेक्का हुँदैन। मिलर यसको फाइदा उठाएर ‘आइस’लाई समानान्तर आदेश दिँदैछन्। राष्ट्रपति चुपचाप छन्।
धमिलो पानीमा माछा खेती
बिचौलिया र परजीवीमा एउटा गजबको समानता हुँदो रहेछ। उनीहरू विपरीत परिस्थितिमा समेत आफ्नो फाइदाका लागि अर्काको रगत चुस्न सक्षम हुन्छन्।
सन्दर्भ नेपाली समुदायको हो। अमेरिकामा अहिले एक लाख जति आफ्नो शरणार्थी आवेदन निर्णायक विन्दुमा पुग्ने आशामा छन्। त्यसमध्ये दुई तिहाइ ‘तल्लो बाटो’ बाट आएका छन्। यीमध्ये आर्थिक रूपले प्रगति गर्ने पनि छन्, जसको घर र व्यापार छ, चिल्लो गाडी छ।
ट्रम्पका आप्रवासन अधिकारी स्टिफन मिलरको ठाडो आदेश छ, हरेक दिन घटीमा तीन हजार समाउनू। तर यो सम्भाव्य संख्या होइन। अपराधीले आफ्नो परिचय पत्र बोकेर हिँड्दैन। जो अपराधी होइनन्, उनीहरू जुनसुकै राज्यमा हुनसक्छन्। अमेरिकाको पूर्व–पश्चिम नापो लिने हो भने यो चन्द्रमा भन्दा फराकिलो छ। कहाँ खोज्ने अपराधीलाई?
नेपालीको हकमा, ‘आइस’लाई सजिलो पारिदिने अरु कोही नभएर नेपाली नै हुन्। नेपालीहरू बिनातलब अर्को नेपालीको सूचना दिँदा खुसी हुन्छन्। हिजो मात्र तीनजना नेपाली नेपालीले दिएको सूचनाको आधारमा समातिए। अहिले विस्तृत विवरण दिनु जरुरी छैन। त्यो पछि किताबमा लेख्ने कुरा हो।
अर्को समूह पनि चलमलाएको छ। यसमा नेपाली, भारतीय, बंगलादेशी र कतिपय ल्याटिनो र दक्षिण अमेरिकी ‘इमिग्रेसन लयर’ र अनलाइन पत्रकारहरूको साँठगाँठ छ। उनीहरूले चलाएको हल्ला अनुसार, ‘शरणार्थीका रूपमा आवेदन दिएर काम गर्ने र सम्पत्ति जोहो गर्ने अधिकार पाएका सबैको अब सम्पत्ति जफत हुँदैछ। सबै खोसेर हातमा हत्कडी लगाएर लैजान्छ।’
अमेरिकामा सम्पत्तिको कानुन र आप्रवासीको अधिकारको कानुन फरक कुरा हुन्। आतंकवाद र लागुऔषधमा नलागेको अवस्थामा राज्यले नागरिक वा सम्पत्ति राख्ने अनागरिक कसैको पनि सम्पत्तिमा धावा बोल्न मिल्दैन। तर वकिल र पत्रकार मिलेर यो हल्ला चलाउनुको अर्थ के हो? तात्पर्य सरल छ। मान्छे तर्साउने, कौडीको दाममा घर र व्यापार किन्ने। आफनै देशको मान्छेलाई सुकुम्बासी बनाएर फर्काउने, आफू धनी हुने।
सन् २००५ तिर यो लेखक अमेरिकाको प्रख्यात स्वतन्त्रताकी देवी नामक विशाल सालिकमुनि उभिएको थियो। न्युयोर्कबाट डुंगा चढेर जानुपर्ने त्यो स्मारकमा चुरोट पिउन वर्जित थियो। लेखकले लुकेर त्यो पनि गर्यो, अनि पढ्यो, जे त्यो मूर्तिमुनि कुँदिएको अक्षर थियो– ‘मलाई तिम्रा थाकेका मान्छे देऊ, गरिब देऊ, ती मान्छे जो स्वतन्त्रताको श्वास फेर्न लालायित छन्, ती सबै देऊ।’
लेखकलाई त्यतिबेला ती पंक्ति केवल कविता जस्तो लागेको थियो। त्यसको भाव बुझ्न बाँकी रहेछ। डोनाल्ड ट्रम्पको उदयले कसैको आँखा खोलेको छ, कोही नेपालीका लागि भने नेपालीलाई नै लुटेर कमाउने भाँडो बनेको छ!
(राजेश मिश्र हाल अमेरिकाको सान डिएगो, क्यालिफोर्नियामा बसोबास गर्छन्)
Shares

प्रतिक्रिया