विचार


आजको चीन विदेशी दबाबको प्रतिकार गर्ने सामर्थ्य राख्छ

‘गोर्खाली सेनाले बर्मामा चिनियाँ सेनासँग मिलेर जापानी सेनालाई पराजित गरेको सुनेर म प्रभावित भएँ’
आजको चीन विदेशी दबाबको प्रतिकार गर्ने सामर्थ्य राख्छ

छन सङ
भदौ १५, २०८२ आइतबार ७:१, काठमाडौँ

चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिस्ट विरुद्धको युद्ध विजयको ८०औँ वार्षिकोत्सव हामीले किन मनाउनुपर्दछ?
चिनियाँ राष्ट्रपति सी चिनफिङको कथन छ- इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ। त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा घटेका घटनाको कारण र परिणाम पत्ता लगाई पहिले गरेका गल्तीलाई पुन: नदोहोर्‍याउनका निम्ति हो। 

सन् १८४० पछि साम्राज्यवादी शक्तिहरूको आक्रमण र तत्कालीन चीनको भ्रष्ट छिङ राजवंशको शासनका कारण चिनियाँ जनताले ठूलो सङ्कटको सामना गर्नुपरेको थियो।

त्यहीँदेखि चिनियाँ इतिहासको सबैभन्दा अन्धकारमय अध्याय सुरु भयो। त्यो अन्धकारमय इतिहासको पनि सबैभन्दा नृशंस पृष्ठ भनेको जापानी सेनाले चीनमा गरेको दीर्घकालीन आक्रमण थियो।

सन् १८९४ मा जापानी प्रतिगामीहरूले आक्रमण गरी चीनको थाइवान् र फङ्ह द्वीपसमूहमाथि कब्जा जमाए। १९०० मा अरू विदेशी आक्रमणकारीहरूसँगै पेइचिङमा आक्रमण गरे। १९०४ मा जापान-रुस युद्ध प्रारम्भ गरी चीनको उत्तरपूर्वी भूभागमाथि अतिक्रमण गरे।

१९१४ मा छिङताओ सहरमा आक्रमण गरी कब्जा जमाए। १९१५ मा चीनको अधिकार हनन हुने ‘एक्काइस दाबी’ प्रस्तुत गरे। १९३१ मा चिनियाँ सेना र जापानी सेनाबीच द्वन्द्व हुने ‘सेप्टेम्बेर १८’ घटना घटाएर चीनको सम्पूर्ण उत्तरपूर्वी क्षेत्रमा आक्रमण गरी कब्जा जमाए।

१९३५ मा मध्यउत्तर चीन घटना र १९३७ जुलाई ७ मा युयान फिङ काउन्टी सदरमुकाममा विस्फोटन र मार्कोपोलो पुलमाथि आक्रमण गरी चीनमा आक्रामक युद्ध प्रारम्भ गरे।

त्यसबेला उनीहरूले पूरै चीनलाई उपनिवेश बनाइसकेपछि सम्पूर्ण एसियालाई नियन्त्रणमा लिई विश्वशक्ति बन्ने सपना देखेका थिए।

यी शृङ्खलाबद्ध असभ्य जङ्गली कार्यले गर्दा चिनियाँ जनतामाथि अभूतपूर्व सङ्कट आइलाग्यो र त्यसले चिनियाँ जनतामा प्रतिरोधको साहस जगायो।

देश र जाति जीवनमरणको दोसाँधमा पुगेको बेलामा चिनियाँ कम्युनिस्ट पार्टीले आफ्नो असाधारण नेतृत्व र सही रणनीति एवं रणकौशलद्वारा जापानी आक्रमणविरुद्ध एकीकृत संयुक्त मोर्चा गठन गरी प्रतिरोध युद्धलाई दिशानिर्देश गर्‍यो। 

सम्झौता, विभाजन र युद्धत्यागको सर्वथा विरोध गरी सम्पूर्ण जातिको प्रतिरोध युद्ध, एकता र प्रगतिलाई निरन्तरता दिँदै चिनियाँ कम्युनिस्ट पार्टी चिनियाँ जातिको आशा र प्रतिरोध युद्धको आधार स्तम्भ बन्यो।

त्यसबेला सोभियत सङ्घ, अमेरिका, कोरिया, भियतनाम, क्यानडा, भारत, न्युजिल्यान्ड, पोल्यान्ड, डेनमार्क, अस्ट्रिया, रोमानिया, बुल्गेरिया आदि देशका फासिस्टविरोधी योद्धाले चीनको जापानी आक्रमणविरुद्धको युद्धमा प्रत्यक्ष रूपमा सम्मिलित भएर चीनलाई बहुमूल्य समर्थन र सहयोग दिएका थिए।

त्यसबखत नेपाली वीरहरू पनि युरोप, उत्तर अफ्रिका र दक्षिणपूर्वी एसियाका युद्धस्थलहरूमा सहयोगी सेनासँग मिलेर फासिस्ट शक्तिको आक्रमणको प्रतिरोध गरिरहेका थिए।

केही दिनअघि मात्र मैले नेपालस्थित ब्रिटिस राजदूतावासले जापानी सेनाले सहयोगी सेनासमक्ष आत्मसमर्पण गरेपछि जापानमाथि विजय प्राप्त गरेको दिनको सम्झनामा आयोजना गरेको कार्यक्रममा सहभागी हुने सौभाग्य पाएको थिएँ।

पोखरा ब्रिटिस गोर्खाली सेनाले परेडको पनि आयोजना गरेको थियो। दोस्रो विश्वयुद्धको समयमा ब्रिटिस सेनामा नेपाली गोर्खाली सेनाले बर्मा युद्धस्थलमा चिनियाँ सेनासँग एकसाथ मिलेर जापानी सेनालाई युद्धमा पराजित गर्न अत्यन्त महत्त्वपूर्ण योगदान पुर्‍याएको कुरा सुनेर म अति प्रभावित भएको छु।

यो सत्यवाद र विश्वशान्तिका निम्ति नेपालले पुर्‍याएको अद्वितीय योगदान हो। साथै, चिनियाँ र नेपाली जनताले आलो रगतको माध्यमबाट गरेको गाँसको अनमोल मैत्री पनि हो।

धेरै वर्षको रक्तपातपूर्ण युद्धपछि आजभन्दा ८० वर्ष पहिले विश्वका जनतासँगै चिनियाँ जनताले फासिस्टहरूलाई पूर्ण रूपले परास्त पारे।

जापानी सैन्यवादी आक्रमणकारीहरूलाई पूर्ण रूपले पराजित गरे। चिनियाँ जनताको जापानी आक्रमणविरुद्धको युद्ध र विश्वका जनताको फासिस्टहरू विरुद्धको युद्धमा महान् विजय प्राप्त भयो।

अन्तत: अन्धकारमाथि उज्यालोको, प्रतिगमनमाथि प्रगतिको विजय भयो। ज्यानको पर्बाह नगरी ‘ग्रेट वाल’ निर्माण गर्न पछि नपरेका वीरहरूको आत्मालाई शान्ति मिल्यो।

यो कहालीलाग्दो नृशंस सङ्कट र निडर वीरतापूर्ण प्रतिरोध युद्धको महान् इतिहासले हामीलाई के सन्देश दिएको छ?
कुनै जातिको अस्तित्व र उन्नतिको मानसिक आधार भनेको सङ्घर्षको स्पिरिट हो। जापानी आक्रमण विरुद्धको युद्धको क्रममा चिनियाँ जनतामा महान् प्रतिरोध युद्धको स्पिरिटको विकास भयो।

चिनियाँ जनताले विश्वसमक्ष देशको उन्नति वा पतनमा सर्वसाधारण जनताको पनि जिम्मेवारी हुन्छ भन्ने राष्ट्रवाद, मरणलाई आफ्नो अन्तिम गन्तव्य सम्झेर मर्न परे पनि आत्मसमर्पण नगर्ने जातीय स्वाभिमान, अत्याचारसँग नडराई अन्तिम घडीसम्म युद्ध गर्ने वीरता र जति समस्या परे पनि नहट्ने, जति दु:ख सहनुपरे पनि नछोड्ने विजयप्रतिको आत्मविश्वास प्रस्तुत गरे।

फासिस्टहरूको शक्तिशाली हतियारको अगाडि पर्दा चिनियाँ जनताले सबै जुक्ति सोचे तर कहिल्यै पनि आत्मसमर्पण गर्ने सोचेनन्।

दुई विश्वयुद्धको इतिहासले प्रमाणित गर्दछ- आक्रमणमा परेकाहरूले आत्मसमर्पण गरे पनि आक्रमणकरीहरूले नरसंहार गर्न सक्दैनन्, युद्धका निम्ति साहस गर्नु, युद्धकौशलमा निपुण हुनु नै कुनै जाति स्वतन्त्र एवं शक्तिशाली बनी चामत्कारिक रूपमा सफल हुनुको एक मात्र उपाय हो।

जनता बलियो हुनु नै देशको सुरक्षाको भौतिक आधार हो। राष्ट्रपति सी चिनफिङको भनाइ छ, ‘पछाडि पर्नेहरूले पिटाइ खान्छन्, विकास गरेर मात्र बलियो हुन सकिन्छ।’

फासिस्ट युद्धवादले विनाहिच्किचाहट छिमेकी देशहरूमा आक्रमण गर्ने साहस गर्नु तिनीहरूको आर्थिक अवस्था र सैन्यबल अरूको भन्दा सुदृढ भएर नै हो।

आजसम्म पनि प्रभुत्ववाद र शक्ति राजनीतिले अन्तर्राष्ट्रिय राजनीतिमा स्थान र शक्तिको आधारमा अरू देशसँग व्यापार गर्नुपर्ने कुराको प्रचार गरेको पाइन्छ। यसबाट ‘युद्धको भूत’ अझै पनि विश्ववाट हराइ नसकेको प्रमाणित हुन्छ।

चिनियाँ जातिले इतिहासको यस अन्धकारबाट राष्ट्रिय शक्तिको विकासको महत्त्वबारे गहन रूपले बुझेको छ। आज चीन कुनै पनि प्रकारको बाह्य दबाबको प्रतिकार गर्ने सामर्थ्य राख्छ।

चीनका हरेक पुस्ताले मेहनत गरी विशाल उपलब्धि हासिल गरी आफ्नो आत्मविश्वास प्रकट गरेका छन्। मैले बारम्बार भन्ने गरेको छु- नेपालले अहिले सामना गरिरहेको विकाससम्बन्धी हरेक समस्याको चिनियाँ शैलीको समाधान छ। चीन र नेपालको विकास एकबद्ध भएमा नेपाल कुनै पनि समय र अवसरमा आत्मविश्वासयुक्त हुन सक्नेछ।

साझा भाग्य र भविष्य नै शक्ति कायम गर्ने आधारभूत मार्ग हो। १३ डिसेम्बर १९३७ मा जापानी आक्रमणकारीले चीनको नानचिङमा आक्रमण गरी ६ हप्ताभन्दा लामो अवधिसम्म आगजनी, बलात्कार, लुटपाट नरसंहार आदि अत्याचार गरे। त्यसमा परेर कम्तीमा ३ लाख जनाको ज्यान गयो।

हालै चीनमा प्रदर्शन भइरहेको नानचिङ नरसंहारको दु:खद् इतिहासलाई पृष्ठभूमि बनाई निर्माण गरिएको ऐतिहासिक चलचित्र ‘नानचिङ फोटो स्टुडियो’ हेरिसकेपछि पीडा सहन नसकी धेरै दर्शकले आँसु बगाए। 

यसप्रकारको पीडाले मानिसलाई सास फेर्न समेत गाह्रो भएको अनुभव गराउँछ। चिनियाँ जातिले जापानी आक्रमणको दु:ख, सङ्कट झेलिसकेको हुँदा शान्ति कत्तिको महत्त्वपूर्ण छ, समानताको आधारमा अरूको सम्मान गर्नु कत्तिको महत्त्वपूर्ण छ भन्ने राम्ररी बुझेका छन्।

चीनले आफूले भोगिसकेको युद्धको आघात कदापि अरू कुनै देशमाथि लाद्ने छैन। कहिल्यै पनि आफ्नो वर्चस्व स्थापना गर्ने छैन। विस्तारवादी नीति अपनाउने छैन। प्रभाव क्षेत्र बनाउन खोज्ने छैन।

चिनियाँ शैलीको आधुनिकीकरण भनेको शान्तिपूर्ण विकासको सत्यवादी पथ हो। उपनिवेश बनाएर लुट्ने पुरानो तरिका र देश शक्तिशाली बनेपछि प्रभुत्ववादी अवश्य बन्नेछ भन्ने गलत सोचाइबाट यो पूर्ण रूपले मुक्त्त छ।

यो हामीले विश्वसमक्ष गरेको प्रण हो। हामी नेपाललगायत विश्वका सम्पूर्ण देशसँग संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माण गर्न चाहन्छौँ। विश्वमा साँच्चैको शान्ति, विकास र स्तरोन्नति ल्याउन चाहन्छौँ। 

फ्रेन्च इतिहासकार अन्इटोन प्रोस्टले आफ्नो पुस्तक ‘इतिहासका बाह्र पाठ’मा एक विचारणीय कुरा लेखेका छन्, ‘इतिहासको अध्ययन विगतमा भएका आपसी विद्वेषयुक्त रोषको स्मृतिलाई बढाउनका निम्ति होइन, त्यो त विगतमा के घटना घटे र के कारणले घटे, त्यसबारे बुझ्नका निम्ति हो।’

इतिहासलाई बिर्सनेले अवश्य पनि पहिलेकै गल्ती दोहोर्‍याउनेछ। इतिहासलाई वास्ता नगर्ने पुस्ताको विगत पनि हुने छैन र भविष्य पनि।

यस वर्ष हामीले चिनियाँ जनताको जापानी आक्रमण विरुद्धको युद्ध विजय र विश्व फासिस्ट विरुद्ध युद्ध विजयको ८०औँ वार्षिकोत्सव धुमधामका साथ मनाउदैछौँ। यसबाट हाम्रो शान्तिप्रतिको तीव्र इच्छा प्रकट भएको छ।

हामी विश्वभरका युवा पुस्तामा शान्तिपूर्ण मूल्य-मान्यताको निर्माणका निम्ति सहयोग गर्नेछौँ। यो अवश्य पनि एक पवित्र एवं महान् कार्य हो।

हामीलाई विश्वास छ, हाम्रा युवा प्रतिभाले अवश्य पनि शान्ति एवं मैत्रीपूर्ण वातावरणमा संयुक्त रूपमा मानवजातिको साझा भविष्यको समष्टि निर्माणको यात्रामा अगाडि बढी युगले दिएको जिम्मा र मिसन पूरा गर्न सक्ने छन्।

(छन सङ नेपालका लागि चीनका राजदूत हुन्)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad