विचार


बालेनप्रति ‘सुकिला-मुकिला’को संशय

बालेनप्रति ‘सुकिला-मुकिला’को संशय

प्रशान्त लामिछाने
चैत ११, २०८२ बुधबार १६:३, एडिलेड, अस्ट्रेलिया

सन् १९८२ तिरको कुरा हो। इजरायली वैज्ञानिक डान सेक्तम्यानले ‘क्वाजिक्रिस्टल’को अवधारणा अघि सारे। तर, विज्ञान जगतका दिग्गजहरूले उनलाई पत्याएनन्। उनकै गुरु एवं नोबेल विजेता लिनस पलिङ त विपक्षमा ढिपी कसेरै उभिए। तर समय बलवान् छ, डानको खोज सही सावित भयो र उनले २०११ मा रसायनशास्त्रतर्फ नोबेल पुरस्कार नै जिते। सन् २०१६ मा नेपाल आएका बेला डानसँग मेरो भेट भएको थियो। उनले पुराना पुस्ताका वैज्ञानिकहरूले नयाँ सत्यलाई स्वीकार गर्न कति हम्मे-हम्मे परेको थियो भन्ने बेलिबिस्तार लगाएका थिए।

अर्को प्रसंग बंगलादेशका मोहम्मद युनुसको छ। चार दशकअघि उनले ग्रामीण बैंकको अवधारणा ल्याउँदा अर्थशास्त्रीहरूले गिज्याएका थिए। तर, तिनै युनुस २००६ मा नोबेल शान्ति पुरस्कारबाट सम्मानित भए। २०१२ मा उनीसँगको भेटमा मैले ग्रामीण विकासको त्यो 'डिस्‍रप्टिभ' मोडलका चुनौतीबारे सोधेको थिएँ।

यी दुवै वैश्विक सन्दर्भले एउटै कुरा पुष्टि गर्छन्– स्थापित शक्ति वा विचारले नयाँ 'ब्रेकथ्रु' लाई सहजै स्वीकार्दैन। नेपालको राजनीतिमा अहिले देखिएको हलचल पनि ठ्याक्कै यही प्रवृत्तिसँग जुधिरहेको छ।

मदन भण्डारीदेखि गगन थापासम्म
२०४८ सालतिरको एमाले सम्झौँ। मनमोहन अधिकारी, सीपी मैनाली र झलनाथ खनालजस्ता हस्तीहरूका बीचमा जब मदन भण्डारी महासचिवका रूपमा उदाए, धेरैले उनलाई ‘दुलोबाट आएको नेता’ भन्दै टिप्पणी गरे। तर, उनको जनताको बहुदलीय जनवाद (जबज) को भाष्य र वाकपटुताले अन्ततः सबैलाई मौन बनाइदियो।

नेपाली कांग्रेसकै सन्दर्भमा पनि गगन थापाको उदयलाई संस्थापन पक्षले कहिल्यै ‘निको’ मानेन। आज विशेष महाधिवेशनबाट उनी सभापति बनिसक्दा पनि कांग्रेसभित्रको परम्परागत शक्ति समूह अझै उनलाई असफल बनाउन उद्यत देखिन्छ।

२०६२/६३ को जनआन्दोलनपछि जब माओवादी शान्तिपूर्ण राजनीतिमा आयो, एलिट वर्गले उसलाई 'मेनस्ट्रिम' मा स्वीकार्न निकै कन्जुस्याइँ गर्‍यो। जनमतले अनुमोदन गरिसक्दा पनि एउटा तप्काले उसलाई किनारा लगाउन खोजिरह्यो। होटल याक एन्ड यतीको एक कार्यक्रममा प्रचण्डले प्रयोग गरेको शब्द– ‘सुकिला-मुकिला’– वास्तवमा त्यही परम्परागत शक्तिप्रतिको कटाक्ष थियो, जो सत्ताबाहिर रहेर पनि राज्यका संरचनामा बलियो पकड राख्छ।

जेन-जी’ विद्रोह र रास्वपाको उदय
यतिबेला मुलुकको राजनीतिक रङ फेरिएको छ। भदौ २३ र २४ को ‘जेन-जी’ आन्दोलनले एउटा नयाँ मानक स्थापित गरिदियो। परम्परागत शक्तिहरू रक्षात्मक बनेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले दुई तिहाइको जनमत पाएको छ र देशले बालेन शाहको रूपमा सम्भवतः युवा प्रधानमन्त्री पाउँदैछ।

तर, रोचक कुरा के छ भने हिजो प्रचण्ड-बाबुरामलाई नस्वीकार्ने त्यही ‘सुकिला-मुकिला’ वर्ग आज बालेन-रविहरूलाई नेता मान्न हिचकिचाइरहेको छ। यो कुनै व्यक्तिप्रतिको घृणा होइन, बरु एउटा प्रवृत्ति हो। हिजो माओवादी आउँदा विरोध गर्ने र आज रास्वपा उदाउँदा नाक खुम्च्याउने पात्रहरू उही हुन्, मात्र समयक्रममा उनीहरूको अनुहार फेरिएको छ।

सत्ताको वरिपरि ‘तरमारा’ वर्ग
सत्ता भनेको सरकार मात्र होइन। यो त कर्मचारीतन्त्र, सुरक्षा निकाय, न्यायपालिका, प्रेसको एउटा समष्टिगत रूप हो। पछिल्लो समय सामाजिक सञ्जालको 'अल्गोरिदम' ले सूचना प्रवाहको लोकतान्त्रीकरण गरिदिएको छ, जसले परम्परागत मिडियाको एकाधिकार तोडिदियो। यही 'न्यु मिडिया' को लहरले गगन-विश्वको उदय र रास्वपाको जितमा टेवा पुर्‍यायो।

तर, रास्वपा र बालेनका लागि चुनौती अझै बाँकी छ। समाजको निर्णायक तहमा रहेको त्यो ‘तरमारा’ वर्ग विस्तारै नयाँ शक्तिभित्र पनि छिर्न थालेको छ। यो वर्ग कहिले सहयोगी त कहिले विरोधीको भेषमा आफ्नो वर्चस्व कायम राख्न खोज्छ। उनीहरू नेतृत्वका लागि प्रिय लाग्न सक्छन्, तर आम नागरिकका लागि उनीहरू प्रतिगामी नै हुन्।

निर्वाचनको नयाँ जनमतले शक्ति समीकरण त बदल्यो, तर प्रवृत्ति बदल्न बाँकी नै छ। नयाँ सरकारले सुशासन र समृद्धिका माध्यमबाट यो अदृश्य तर शक्तिशाली ‘एलिट’ समूहको अवरोधलाई चिर्नु पर्नेछ। नयाँ राजनीतिक परिवेशमा रास्वपालाई सत्ता सञ्चालनको शुभकामना, तर सचेत रहनुपर्ने कुरा के हो भने– सत्ताको नजिकै बसेर परिवर्तनलाई 'डाइल्युट' गर्ने सुकिला-मुकिलाहरूको जाल निकै गहिरो हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad