विचार


असफल युद्धबाट कमजोर भएका ट्रम्प सी चिनफिङको आँगनमा

असफल युद्धबाट कमजोर भएका ट्रम्प सी चिनफिङको आँगनमा

गिडियन राकमन
बैशाख २९, २०८३ मंगलबार १७:२०, काठमाडौँ

दुई वटा असफल युद्धको पृष्ठभूमिमा डोनाल्ड ट्रम्प यसैसाता बेइजिङ जाँदैछन्। एउटा हो– फेब्रुअरीमा उनले इरानविरुद्ध सुरु गरेको साँच्चैको युद्ध। दोस्रो, चीनविरुद्ध उनले छेडेको व्यापार युद्ध, जुन अप्रिल २०२५ मा उत्कर्षमा पुगेको थियो। 

ट्रम्प कमजोर अवस्थामा सी चिनफिङका सामु पुग्दैछन्। र, त्यो कमजोर अवस्थालाई ढाकछोप गर्न उनको परिचित बहादुरीको उपयोग गरिनेछ। तर, चिनियाँहरूले उनलाई त्यो कमजोरी याद दिलाउने सम्भावना छैन। किनकि सुविस्ताको अवस्थामा विदेशी पाहुनालाई कसरी इज्जत दिने, उनीहरूलाई थाहा छ।

तथापि, यथार्थ के हो भने शक्तिशाली पत्ताजति सी चिनफिङको हातमा छ। भलै ट्रम्प पत्ता आफ्नो हातमा रहेको दाबी गर्न मन पराउँछन्। चिनियाँ राष्ट्रपतिको एक्का भनेको दुर्लभ खनिजमा रहेको चिनियाँ एकाधिकार हो। ती पदार्थ नभई अमेरिकी उद्योग चल्दैन।

ट्रम्पले चीनविरुद्ध उच्च भन्सार महसुल लगाउँदा चीनले यही खेल खेलेको थियो। सो भन्सार महसुल दर केही समयलाई १४५ प्रतिशतसम्म पुगेको थियो। तर, जवाफमा बेइजिङले लगभग तुरुन्तै ती अत्यावश्यक खनिज पदार्थको निर्यातमा प्रतिबन्ध लगायो। केही साताभित्रै अमेरिकी कारखानाहरूको उत्पादन बन्द हुन थाल्यो। केही महिनाभित्रै अमेरिका व्यापार ‘युद्धविराम’ गर्न सहमत भयो र भन्सार महसुल घट्यो।

चिनियाँ सामानमा अमेरिकी महसुल अहिले पनि उच्च विन्दुमै छ। तथापि, त्यो अहिले चीनले सहन सक्ने तहभित्रै छ। चीनको विश्वव्यापी नाफा झण्डै कीर्तिमानी उचाइमा छ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्ट वासिङ्टनले दुई वर्षभित्र अत्यावश्यक खनिजमा चीनको एकाधिकार तोड्ने दाबी गर्छन्। तर, विज्ञहरू यसमा सहमत छैनन्। त्यसविपरीत चिनियाँ आयातमा रहेको निर्भरताबाट मुक्त हुन र वैकल्पिक आपूर्ति शृंखला निर्माण गर्न एक दशक लामो प्रयास आवश्यक रहेको उनीहरूको भनाइ छ। 

दुर्लभ खनिजमा चीनको जस्तो एकाधिकार छ, अमेरिकाको त्यस्तो एकाधिकार उच्च प्रविधिमा हुनुपर्ने थियो। त्यसमा पनि खासगरी अत्याधुनिक सेमिकन्डक्टर चिप्समा। चीनसँगको अग्रता कायम राख्न बाइडेन प्रशासनले प्रविधि निर्यातमा ठूलो प्रतिबन्ध लगाएको थियो।

त्यो प्रतिबन्धले चीनलाई निकै अप्ठेरोमा पार्‍यो। तर, प्रतिबन्धले चिनियाँ प्रविधिको तीव्र विकासलाई रोक्न सकेन। अहिले चिनियाँ एआई मोडलहरू अमेरिकी प्रतिस्पर्धीभन्दा मात्र ६ महिना पछाडि रहेको बताइन्छ। भविष्यमुखी केही उद्योगमा त चीन अमेरिकाभन्दा निकै अगाडि बढिसकेको छ। उदाहरणका लागि विद्युतीय गाडीलाई लिन सकिन्छ।  

अर्कोतिर, अमेरिकाका प्रमुख चिप निर्माताहरू, त्यसमा पनि खासगरी एनभिडिया प्रविधि निर्यातमा रहेको प्रतिबन्ध खुकुलो पार्न मरिहत्ते गरिरहेका छन्। नत्र आफ्नो ठूलो बजार तीव्र विकास गरिरहेका चिनियाँ प्रतिस्पर्धीहरूले खोसिदिने उनीहरूको तर्क छ।

इरान युद्धमा प्राप्त असफलताले ट्रम्पको रणनीतिक हैसियत अझ कमजोर भएको छ। सुरुमा ट्रम्पले अप्रिल महिनाको मध्यतिरै बेइजिङ भ्रमण गर्ने तय भएको थियो। तर, उनले भ्रमण पछि सारे। सायद उनी सीसँग भेट्नुअघि नै इरानसँगको लडाइँ टुंग्याएर आफ्नो हात बलियो बनाउन चाहन्थे। तर, अहिले उनी त्यस्तो घडीमा चीन आइपुग्दै छन्, जतिबेला हर्मुज जलमार्ग बन्द छ र ट्रम्प इरानलाई आफ्नो इच्छाअनुसार झुकाउन नसकेका कारण क्रुद्ध छन्। 

उसोभए के सीले ट्रम्पको यो कमजोरीको फाइदा उठाऊलान्? सीले आफ्नो हात ठिकसँग खेल्ने हो भने उनले केही न केही जित्नैपर्ने ट्रम्पको आवश्यकताको भरपूर उपयोग गर्नेछन्। चीन ठूलो मात्रामा अमेरिकी सामान किन्न राजी हुनसक्छ। जसका कारण ट्रम्पले फूर्ति लडाउने मौका पाउनेछन्।

त्यस्तै, अमेरिकामा विशाल लगानी गर्ने चिनियाँ प्रस्तावले ट्रम्पलाई लोभ्याउन सक्छ। तथापि, त्यसलाई उनका सुरक्षा सल्लाहकारहरूले शंकाको दृष्टिले हेर्नेछन्। बदलामा चीनले व्यापारमा थप छुट माग्न सक्छ।

चीन एउटा व्यापार बोर्ड बनाउन पनि राजी हुन सक्छ। ट्रम्पको ‘बोर्ड अफ पिस’ जस्तै यसलाई ह्वाइट हाउसले राष्ट्रसंघ र विश्व व्यापार संगठनजस्ता असफल बहुपक्षीय संस्थाहरूको विकल्पका रूपमा अघि सार्न सक्छ। तर, सत्य के हो भने नयाँ व्यापार बोर्डले व्यापारमा रहेको असन्तुलन सल्ट्याउने सम्भावना देखिँदैन। जसरी नयाँ ‘बोर्ड अफ पिस’ले मध्यपूर्वको द्वन्द्व समाधान गर्न सकेन। तर, चिनियाँहरूका लागि यस्ता देखावटी घोषणामा सहमति जनाउँदा केही घाटा छैन, खासगरी ट्रम्प खुसी हुन्छन् भने।

ट्रम्प र सीबीचको वार्तामा उठ्ने ठूलो भूराजनीतिक मुद्दा चाहिँ ताइवानको भविष्य हुनेछ। यो विषयमा केही न केही हुनै पर्ने चिनियाँहरूले प्रस्ट पारिसकेका छन्।

ट्रम्पले ताइवानको भविष्यप्रति अमेरिकाको अडान परिवर्तन गर्ने अनुमान भ्रमणअघि गरिँदैछ। अमेरिकाले ताइवानी स्वतन्त्रतालाई समर्थन गर्दैनौँ भन्दै आएको छ, अब ट्रम्पले स्पष्ट शब्दमा ताइवानी स्वतन्त्रताको विरोध गर्छाैँ भन्नसक्ने अड्कल गरिँदैछ। यो सुन्दाखेरी सानो शाब्दिक परिवर्तन जस्तो लाग्न सक्छ। तर, यसलाई बेइजिङ र ताइपेइ दुवै ठाउँमा सीको ठूलो जितका रूपमा अर्थ्याइनेछ। यसले ताइवानीहरूमाथि पुनर्एकीकरणका लागि वार्तामा बस्न दबाब बढाउनेछ।

केही चिनियाँ विश्लेषकहरूले ट्रम्पको यो भ्रमणलाई १९८४ को मार्गरेट थ्याचरको बेइजिङ भ्रमणसँग तुलना गरेका छन्। त्यो भ्रमणमा थ्याचर हङकङ चीनलाई फिर्ता गर्न राजी भएकी थिइन्।

तर, यो तुलना गलत छ। ताइवान अमेरिकाको उपनिवेश होइन, त्यसैले ट्रम्पले सही गरेर चीनलाई बुझाउन सक्दैनन्। तथापि, अमेरिकाले दिँदै आएको राजनीतिक र सैन्य समर्थन कटौती हुने संकेत दिएर ट्रम्पले ताइवानलाई गम्भीर रूपमा कमजोर तुल्याउन सक्छन्। 

ट्रम्प स्वयंलाई ताइवानको भविष्यको ज्यादा वास्ता नहुन सक्छ। तर, उनका सल्लाहकारमध्ये धेरै र अमेरिकी संसदलाई वास्ता छ। ट्रम्पले ताइवान नीतिमा ठूलो परिवर्तन ल्याउन खोजे भने उनीहरूले कडा विरोध गर्नेछन्।

ट्रम्प एउटा कमजोर स्थितिमा रहेको अलोकप्रिय नेताका रूपमा बेइजिङ पुग्दैछन्। तर, सीले अहिले सानो फाइदामै चित्त बुझाउन सक्छन्। किनकि उनलाई लामो खेल खेल्ने सुविधा छ।

(फाइनान्सियल टाइम्सबाट)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad