ad ad

विचार


‘जात जोगाउन’ कहिलेसम्म मारिरहने मान्छे?

‘जात जोगाउन’ कहिलेसम्म मारिरहने मान्छे?

रूपबहादुर विश्वकर्मा
माघ ३, २०७७ शनिबार ९:५८,

प्राकृतिक मान्छे ठूलो कि कृत्रिम (मानवनिर्मित) जात? हाम्रो समाज भन्छ– जात। किनकि यहाँ सदियौंदेखि ‘जात जोगाउन’ मान्छे मार्ने क्रम जारी छ।

रामायणमा एउटा कथा छः एक दिन एक जना ब्राह्मणका एक मात्र छोराको मृत्यु हुन्छ। त्यसपछि उनी आफ्ना छोराको लास लिएर राजद्वार पुग्छन् र अलापविलाप गर्न थाल्छन्। उनको आरोप हुन्छ– राजा (राम) कै कुनै दुष्कर्मका कारण उनको छोराको अकालमा मृत्यु भएको हो।

त्यसपछि ऋषिमुनिको परिषद्ले निष्कर्ष निकाल्छ– रामराज्यमा कतै कुनै ‘अनधिकृत’ व्यक्तिले तपस्या गरिरहेको हुनुपर्छ। किनकि जब राजाले आफ्ना प्रजालाई विधिमा राख्दैनन् तब राज्यमा अनिष्ट हुन्छ। प्रजाको अकाल मृत्यु हुन्छ। त्यसपछि रामले यस विषयमा छलफल गर्न आफ्ना मन्त्रीहरूलाई बोलाउँछन्। साथै विज्ञ ब्राह्मणहरूलाई बोलाउँछन्। यसै क्रममा नारदले भन्छन्– पक्कै पनि तपाईंको राज्यको सीमामा कुनै ‘कुबुद्धि’ भएको शूद्रले तपस्या गरिरहेको हुनुपर्छ, त्यही कारण बालकको मृत्यु भएको हो। अतः त्यसलाई पत्ता लगाई उसको ‘दुष्कर्म’ रोक्न आवश्यक छ।

त्यसपछि राम पुष्प विमान चढेर त्यो शूद्रको खोजीमा निस्किन्छन्। नभन्दै शैवल पर्वतको उत्तरी भेगमा तपस्यारत तपस्वी देख्छन्। अनि राम उनको छेउमा गएर सोध्छन्, ‘हे पराक्रमी तपस्वी पुरुष, तिमी कुन चिज प्राप्तिका लागि यति कठोर तपस्या गरिरहेका छौ? यो दशरथकुमार राम तिम्रो परिचय थाहा पाउन चाहन्छ। साथै यो पनि बताइदेऊ कि तिमी ब्राह्मण, क्षत्री, वैश्य वा शूद्र कुन वर्ण (जाति) का हौ?’

त्यसपछि ती तपस्वीले भन्छन्, ‘हे श्रीराम ! म झुटो बोल्दिनँ। देवलोक पाउन तपस्या गरिरहेको हुँ। म शूद्र हुँ र मेरो नाम शम्बूक हो।’

यो सुन्नासाथ रामले तरबार निकाल्छन् र उनको शिर काटेर फ्याँकिदिन्छन्।

यसरी ती तपस्वीको अनाहकमा हत्या गरिनुमा उनको पहिलो दोष थियो– ‘तल्लो जात’ मा जन्म लिनु। दोस्रो गल्ती थियो– ‘नीच’ भएर ‘उच्च’ काम (तपस्या) गर्नु। अनि ‘भगवान्’ रामचन्द्रले उनको हत्या गर्नुको एउटै उद्देश्य थियो– ऋषि (ब्राह्मण) को सल्लाहमुताबिक ‘धर्म’ र ‘जात’ को रक्षा गर्नु। किनकि कसैले आफ्नो ‘जात’ले पाएको भन्दा भिन्न काम गर्दा राज्यमा ‘अधर्म’ र ‘अनिष्ट’ हुन जान्छ।

यसरी ‘धर्म’ र ‘जात’ जोगाउन त्योबेलादेखिको ‘युद्ध’ अहिलेसम्म पनि जारी छ भन्दा अत्युक्ति नहोला। यसैकारण नेपाली समाजमा पनि जातकै निहुँमा दलितको जीवन निमोठ्ने सिलसिला लामो सयमदेखि चलिरहेको छ। धेरै अगाडिको कुरा त नगरौं। अढाई सय वर्षदेखिको सामन्ती राजतन्त्र अन्त्य भई सबै नागरिक समान हुने व्यवस्था गणतन्त्र आएयता पनि कहिले चुलो छोएको ‘दुष्कर्म’ त कहिले पानी छोइदिएको ‘अपराध’मा दलितको हत्या भएको छ/भइरहेको छ। यसरी पानी त छुन नहुने जातले छोरी नै ताक्छ भने त झन् किन बाँकी राखिन्थ्यो र !

यसको उदाहरण खोज्न पनि धेरै पछाडि फर्किनु पर्दैन। मात्र ८ महिनाअघि (जेठ १० गते) ‘उच्च’ जातकी केटीसँग प्रेम गरेकै कारण रुकुममा प्रेमी नवराज विकसहित ६ जनाको बीभत्स हत्या गरिएको घटना ताजै छ। यसअघि यस्तै आरोपमा मारिएका काभ्रेका अजित मिजारको लास त्रिवि शिक्षण अस्पतालमा अझै अलपत्र छ। अन्य पनि यस्ता घटना कति छन् कति !

यसको अर्थ हो– हाम्रो समाजमा जातका अगाडि मान्छेको कुनै मूल्य छैन। जात यति मूल्यवान् कुरा हो कि जुन कुनै हालतमा ‘जान दिन’ हुँदैन, चाहे आफ्नै छोरीलाई जिउँदै जलाउन किन नपरोस् ! प्रसंग हो– पर्साको। गत कात्तिक २९ गते लक्ष्मीपूजाका दिन आगलागीमा परी मृत्यु भएकी भनिएकी पर्साको बहुदरमाई नगरपालिका–८, रामनगरकी १५ वर्षीया मानाकुमारीको हत्या पो भएको रहेछ ! त्यो पनि आफ्नै आमा–बाबुले ! कारण– ‘तल्लो जात’ को केटासँग प्रेम गरेकाले।

घटना विवरणअनुसार मानाकुमारी स्थानीय एक बोर्डिङ स्कुलमा कक्षा ९ मा पढ्थिन्। ट्युसन पढ्ने क्रममा त्यही स्कुलका शिक्षक रामबाबु चमारसँग उनको ‘प्रेम’ सम्बन्ध हुन्छ। यसरी एउटा ‘अछूत’ युवकसँग छोरी ‘लागेको’ देखेर उनका आमा–बुबा ‘आगो’ हुन्छन्। छोरीलाई उनीहरूले धेरैपटक चेतावनी दिन्छन्, तर मानाकुमारीले मान्दिनन्। त्यसपछि आमा लालमती र बुबा मनबोधले छोरीले ‘जात फाल्ने’ भई र अब समाजमा ‘मुख देखाउन’ नसकिने भइयो भन्ने निष्कर्ष निकाल्छन्। त्यस्तो दिन आउनुभन्दा बरु छोरी नै मारिदिने निर्णयमा उनीहरू पुग्छन्।

सोही सल्लाहबमोजिम गत कात्तिक २९ गते राति आमा लालमती फुसको घरमा छोरीसँग सुत्न जान्छिन्। राति १० बजेतिर जब छोरी निदाउँछिन, तब उनले पहिले छोरी सुतिरहेको ओछ्यानमा आगो लगाउँछिन्। फेरि थाहा पाउलान् भनेर उनले आगलागीजस्तो देखाउन आफू बाहिर निस्किन्छिन् र घरमै आगो झोस्छिन्। अनि ‘घरमा आगो लाग्यो’ भनेर हारगुहार गर्छिन्। आगो निभाउन प्रहरी टोली आइपुग्छ, तर उनले घरभित्र छोरी छ भन्दिनन्। अन्ततः प्रहरीले घरभित्र घोप्टो परेको अवस्थामा मानाकुमारीको शव भेट्टाउँछ।

शंका लागेर अनुसन्धान गर्दै जाँदा केही दिनअघि मात्र प्रहरीले पत्ता लगायो– वास्तवमा छोरीले तल्लो जातको केटासँग प्रेम गरेर ‘फाल्न लागेको’ ‘जात र इज्जत जोगाउन’ आमा-बुबाले नै उनलाई जिउँदै जलाएका रहेछन् ! यो कुरा प्रहरीसमक्ष उनकी आमा लालमतीले स्वीकार गरेकी हुन्। ज्यान मुद्दाअन्तर्गत लालमती अहिले पुर्पक्षका लागि कारागारमा छिन् भने उनका पति मनबोध फरार छन्। अदालतले उनीविरुद्ध पनि पक्राउ पुर्जी जारी गरिसकेको छ।

जातका अगाडि मान्छेको कुनै मूल्य रहेछ त ! छोरीको ज्यानभन्दा जातै ठूलो !

जातीय विभेद दलितको मात्रै समस्या हो?
धेरैलाई लाग्छ– जातीय विभेद दलित समुदायको मात्र समस्या हो। पक्कै पनि यसको मुख्य मारमा पर्ने/परिरहेको समुदाय दलित नै हो। तर पछिल्लो पटक पर्साको घटनाले प्रस्ट पारेको छ– जातीय भेदभाव/छुवाछूत दलितको मात्र समस्या होइन, सिंगो मानव समुदायकै गम्भीर सवाल हो। जातीय परम्पराले गैरदलित समुदाय पनि कम्ता पीडा र हिंसामा छैन।

उसो त अन्तर्जातीय प्रेम वा वैवाहिक सम्बन्ध छुटाउन अहिलेसम्म जति दलितको हत्या भए, उनीहरूसँग जोडिएका गैरदलित युवक/युवतीको जीवन पक्कै पीडादायी बनेको हुनुपर्छ। आफूले इच्छाएको प्रेमी/प्रेमिका छुटेको पीडाले जिन्दगीभर सताउँदो हो। महिलाले त थप सामाजिक हिंसा पनि खेप्नुपर्छ, कुनै पुरुषसँग नाम जोडिएका कारण। अनि उनीहरूका परिवारलाई हुने मानसिक/सामाजिक पीडा/हिंसा त छुट्टै छँदै छ।

पर्साकै त्यो परिवार सम्झे पुग्छ। त्यही ‘जात’ हो, जसले ९ कक्षामा पढ्दै गरेकी एउटी कलकलाउँदी किशोरीको ज्यान लियो। आमालाई जेलमा पुर्‍यायो, बाबुलाई ‘बेपत्ता’ बनायो। एउटा सुन्दर परिवार भताभुंग भयो। जातीय ‘इज्जत’ जोगाउने नाममा आफ्नै छोरीको हत्या गर्दा ती बाउ-आमाको पनि भित्री मन त पक्कै शान्त छैन होला। ‘जात’ले कति जनाको जिन्दगी बर्बाद बनायो !

मानिस ठूलो जातैले हुन्छ !
जातीय विभेदबारे बहसमा कतिपयको तर्क हुन्छ– ‘जात होइन, मानिसले गर्ने कर्म ठूलो कुरा हो। दलितले पनि आफूलाई सफा र शिक्षित बनायो भने यहाँ कसले गर्छ, भेदभाव/छुवाछूत?’

यसको उल्टो के हो भने दलित फोहोरी र अनपढ छन्, त्यसकारण समाजले बहिष्कार गरेको हो। हुन पनि गरिब बनाइएका दलित समुदायका धेरैजसो मानिसलाई चाहेर पनि सरसफाइयुक्त गुणस्तरीय जीवनयापन गर्न तथा विद्यालय/विश्वविद्यालय जान कठिन छ।

तर प्रश्न उठ्छ- यो समाजका सबै बाहुनले ‘डा. बाबुराम भट्टराई’ भइरहन नपर्ने, दलितले चाहिँ यो समाजमा ‘मान्छे’ को मान्यता पाउन पढ्नैपर्ने, प्रधानमन्त्री नै हुनपर्ने? मान्छे भएर जन्मेर मात्र नपुग्ने?

यसकारण उल्लिखित तर्क सरासर गलत छ। अर्काे कुरा, त्यो तर्क झुटो पनि छ।

किनकि अहिले समाजमा भइरहेका जातीय भेदभाव र छुवाछूत सफा र फोहोर, पढेका र नपढेका आधारमा भइरहेको छ कि जन्म र जातका आधारमा? निश्चित रूपमा पछिल्लो आधारमा।

यसका प्रमाण यही आलेखमा उल्लेख घटना आफैं हुन्। काभ्रेका अजित मिजार आफूसँगै पढेकी कथित ठूला जातकी केटीसँग प्रेम गर्दा मारिएका थिए। खोइ त उनको पढाइले विभेद रोकेको? जाजरकोटका नवराज विकले पनि प्लस-टु मात्रै गरेका थिएनन्, प्रहरीमा लिखित परीक्षासमेत पास गरिसकेका थिए। खोइ उनको पढाइ र प्रतिभाले जातिवादी समाजको दृष्टि फेरिएको? पर्साकी मानाकुमारीका ‘प्रेमी’ त झन् शिक्षक नै हुन्। तर पनि उनीसँग छोरीले प्रेम गर्दा ‘इज्जत’ जाने डरले बाबु-आमा छाेरीकाे हत्यामै उत्रिए।

सुरुमा उल्लिखित पौराणिक पात्र शम्बूक पनि फोहोरी र अशिक्षित भएकाले मारिनुपरेको हो त? तसर्थ त्यस्ता तर्क केवल बहाना हुन्। गुदी कुरो, ‘जात’ नै हो। हाम्रो मानसिकतामा गढेर बसेको जातिवादी सोच हो। अतः सर्वप्रथम आफ्नो गिदीमा जमेर बसेको विभेदकारी फोहोर सफा गर्न जरुरी छ। त्यही फोहोर सफा गर्न नसक्दा दलितले आफ्नो शरीर जति महँगो साबुनले धाेए पनि अझै उनीहरूले मान्छेको दर्जा पाउन नसकेका हुन्। 

तर आजसम्म दलितले छोएको खाँदा कसैलाई कुनै भाइरस सरेको छ? दलित र गैरदलितबीच शारीरिक सम्बन्ध हुँदा अहिलेसम्म कतै चट्याङ बज्रेको छ? विकलांग बच्चा जन्मिएका छन्? अझ विज्ञान भन्छ: ‘क्रस’ जातका जोडीबाट जन्मिने शिशु झन् सुन्दर र प्रतिभाशाली हुन्छन्।

यसर्थ आजैबाट हामी हरेक जातको भ्रमबाट मुक्त होऔं र ‘जात जोगाउन’ मान्छेको हत्या होइन, मान्छे बचाउन ‘जात’ को हत्या गरौं।

(रूपबहादुर विश्वकर्मा नेपालखबरका उपसम्पादक हुन्।) 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .