फोटोफिचर


दसैँमा घुम्न सकिने कर्णालीका यी सुन्दर गन्तव्य (फोटोफिचर)


दिनेश बुढा
असोज १५ , सुर्खेत

वडादसैँ नजिकिएसँगै शहरमा अध्ययन, रोजगारी तथा व्यापार व्यवसाय गरेर बसेकाहरु धमाधम गाउँ फर्कन थालेका छन्। 

घरमा सबैजना बसेर रमाइलो गर्नुका साथै स–परिवार वा साथीभाइ मिलेर घुम्न जाने चलन पनि पछिल्ला केही वर्षयता बढेको छ। विशेषगरी दसैँ–तिहारको समय लामो बिदा हुने गर्दछ, अर्को कुरा यो समय घुम्न मन पराउनेहरुका लागि उपयुक्त समय हो। 

वर्षायाम सकिएको र चिसो नबढिसकेको हुनाले मौसमका हिसाबले पनि घुम्नका लागि दसैँको समय उपयुक्त मानिन्छ।

कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेतको वीरेन्द्रनगरमा प्रदेशका १० वटै जिल्लाका नागरिक बसोवास गर्छन्। उच्च शिक्षा, व्यापार, व्यवसाय तथा रोजगारीका लागि हिमाली जिल्ला हुम्ला, मुगु, डोल्पा, जुम्ला र कालीकोटका नागरिक पनि गाउँ जान थालेका छन्। 

कर्णाली प्रदेश पुगेकाहरुले कहाँ कहाँ घुम्ने?

यस प्रदेशमा पर्यटकको ध्यान खिच्ने थुप्रै आकर्षणहरु छन्। सुर्खेतमा घुमफिरका लागि काँक्रेविहार, देउती बज्यै, बुलबुले ताल, शहिद पार्क, घण्टा घर, गोठीकाँडा लगायतका गन्तव्यहरु छन्। 

कोरोना भाइरस (कोभिड–१९)का कारण केही समय बन्द अवस्थामा रहेको सुर्खेतको ऐतिहासिक काँक्रेविहार हिजो आज पूर्ण रुपमा सञ्चालनमा आएको छ। प्रदेश राजधानी वीरेन्द्रनगरमा झर्ने जो कोहीका लागि काँक्रेविहार मन्दिर सबैको रोजाईमा पर्ने गर्दछ। काँक्रेविहारलाई दोस्रो लुम्बीनाका रूपमा पनि लिने गरिन्छ। 

काँक्रेविहारसँगै वीरेन्द्रनगर उपत्यकामा बुलबुले ताल पनि रहेको छ। दसैँ नजिकिएसँगै विशेष गरी यी क्षेत्रमा आन्तरिक पर्यटकहरुको चहलपहल समेत बढेको छ। बिदाको दिन भन्दा अन्य दिन ५ सयदेखि ७ सयसम्मको हाराहारीमा पर्यटकहरु आउने गरेका छन्।

सुर्खेतको ऐतिहासिक काँक्रेविहार। तस्बिर : सुशिल खड्का।

वीरेन्द्रनगरको बुलबुले, काँक्रेविहार मात्र नभएर सुर्खेतका पर्यटकीय क्षेत्रहरु देउती बज्यै मन्दिर, काठमाडौँको नगरकोटको उपमा पाएको गोठिकाँडा, पाताल दरबार, घण्टाघर लगायतका ठाउँहरु पनि रारा, जुम्ला, दैलेख जाने पर्यटकका लागि सुर्खेतका यी स्थानहरु घुम्नका लागि उपयुक्त रहेका छन्। वीरेन्द्रनगरमा रहेका यी पर्यटकीय गन्तव्यहरू सवारीमा एकै दिन घुम्न सकिन्छ।

वीरेन्द्रनगरको बुलबुले उद्यान। तस्बिर: सुशिल खड्का।

यस्तै, दैलेख जिल्लामा पनि घुम्नका लागि विभिन्न स्थलहरु रहेका छन्। नाभिस्थान, शीस्थानमा बलिरहेको ज्वाला, पञ्चकोशी क्षेत्र, कोतगढी, बेलासपुर, महावु क्षेत्र, पञ्चदेवल, दुल्लु दरबार, मदान ताल दसैँमा घुम्नका लागि उपयुक्त गन्तव्य रहेका छन्।

दुल्लूमा नेपाली भाषाको पहिलो अभिलेख छ। शीरस्थान, नाभिस्थान, धुलेश्वर, पादुका, कोटिला पञ्चकोशी क्षेत्र सबैको रोजाइमा पर्ने गन्तव्य हुन्।

पञ्चकोशीको शीरस्थान, नाभिस्थानमा निरन्तर प्रज्वलित ज्वाला बलिरहेको दृश्य हेर्न तथा यहाँ तीर्थ गर्न सकिन्छ। दुल्लू क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पुरातात्विक हिसाबले धनी छ।

पुरातात्विक धारा, मठमन्दिर, देवल प्रशस्त छन्। कोतगढी, पञ्चदेवल, बेलासपुर मन्दिर, गुँरासे क्षेत्र पर्यटकीय गन्तव्यमा पर्दछन्। दक्षिण एसियाकै लोपोन्मुख फिरन्ते जाति राउटे हेर्न पनि दैलेखमा बसोबास गर्ने गर्दछ।  

कालीकोटमा पनि दसैँमा घुम्नका लागि उपयुक्त पर्यटकिय स्थलहरू रहेका छन्। जहाँ त्रिवेणी पाटन, मान्मा बजार, पचालझरना जस्ता रहेका छन्। कालीकोटको पिली क्षेत्र युद्ध पर्यटनले चर्चामा छ। कर्णाली राजमार्गबाट देखिने कर्णालीका सुन्दर बस्तीहरु पर्यटकका लागि थप आकर्षण बन्ने गर्दछन्।

जुम्लाको सिँजा उपत्यका नेपाली भाषाको उद्गम थलो हो। जुम्ला सदरमुकाम खलंगा बजारबाट तीन घण्टाको बसयात्रापछि सिँजा उपत्यका क्षेत्र पुगिन्छ। सिंजा क्षेत्रहुँदै रारा पुग्न सकिन्छ। 

जुम्लाकाे गुठीचौर। तस्बिर:सिर्जना सिज्जु।

जुम्लामा कान्जीरोवा, पातारासी हिमाल छन्। तातोपानीमा नुहाए स्वास्थ्य लाभ हुने विश्वास बोकेर मुलुकका विभिन्न स्थानबाट मानिसहरु त्यहाँ पुग्छन्। सदरमुकाम खलंगामा प्रसिद्ध चन्दननाथ मन्दिर, आकाशे ताल, गुठीचौर पनि छ। विश्वकै अग्लो स्थानमा हुने धान खेती, मार्सी चामल, सिमी र स्याउले जुम्ला उत्तिकै प्रख्यात छ। 

यस्तै, मुगुमा नेपालकै ठूलो राराताल छ। रारामा अन्त नपाईने स्नोट्राउट प्रजातिको माछा पाईन्छ। मौसम खुलेमा तालको पानीमा देखिने सप्तरङले आगुन्तकलाई मोहित पार्दछ। सुर्खेतदेखि करीब डेढ दिनको बस यात्रा वा सुर्खेत–नेपालगञ्जबाट सिधै मुगुको ताल्चा विमानस्थल पुगेर दुई घण्टा उकालो हिँडेपछि रारा पुगिन्छ।

मुगुकाे रारा ताल। तस्बिर: सुशिल खड्का।

यहाँबाट छायाँनाथ हिमाल अवलोकन गर्न सकिन्छ। राराको अपार सुन्दरताबाट मोहित भएर तत्कालीन राजा महेन्द्रले २०२० सालमा ‘स्वर्गकी अप्सरा’को उपमा दिएका थिए। रारामा घोडसवार र डुङ्गा शयरको आनन्द लिन सकिन्छ। मुर्माटपलाई राराको भ्यूटावर भनिन्छ। त्यहाँबाट राराको पूरै स्वरुप क्यामेरामा कैद गर्न सकिन्छ।

रारा ताल। तस्बिर : पुर्वि भ्लग

रारा ताल। तस्बिर : पुर्वि भ्लग

यस्तै, नेपालकै अग्लो स्थानमा रहेको सदरमुकाम हो, हुम्लाको सिमकोट। यो समुद्री सतहबाट २ हजार ९०० मिटरको उचाइमा छ। सिमकोटबाटै पाँच दिन पैदल हिँडेर लिमी उपत्यका पुग्न सकिन्छ। यहाँ एक हजार वर्ष पुरानो हल्जी गुम्बा छ।

हुम्ला विश्व तीर्थयात्री र मानसरोवर प्रवेशद्वार हो। मुगु र हुम्लाको सिमानामा चंखेली हिमाल छ। यस हिमालको चित्र एक रुपैयाँको नोटमा राखिएको छ। हिन्दु र बौद्ध दुबैको तीर्थस्थल मानसरोवर पुग्न हुम्लाकै बाटो प्रयोग हुन्छ। कर्णाली मुलुककै सबैभन्दा लामो नदी कर्णाली नदी पनि हुम्ला जिल्लाबाट नै बग्ने गर्दछ। 

जुम्लाकाे आकाशे ताल। तस्बिर : सिर्जना सिज्जु।

यस्तै, डोल्पामा सबैभन्दा गहिरो शे फोक्सेन्डो ताल छ। डोल्पामै प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर छ। शे–फोक्सेन्डो राष्ट्रिय निकुञ्जमा हिउँचितुवा देख्न सकिन्छ। तल्लो र माथिल्लो डोल्पा पदयात्राका लागि उपयुक्त मानिन्छ। माथिल्लो डोल्पा पदमार्गभित्र पर्ने नगला घाँटी क्षेत्र अति रमणीय छ। विश्वको सबैभन्दा अग्लो स्थानमा रहेको मानव बस्ती धो उपत्यका डोल्पामै पर्दछ। त्यस्तै, शे फोक्सेन्डो रारा पदयात्राका लागि उत्तम स्थल हो। यस जिल्लामा पनि दसैँका लागि घुम्न उचित स्थल रहेका छन्। 

जाजरकोटको खलङ्गा दरबार, रुकुम पश्चिममा डिगे्र साइ मन्दिर, स्यार्पु ताल, सल्यानमा कुपिन्डे दह, छायाँक्षेत्र, खैरावाङ भगवती देवी मुख्य पर्यटकीय स्थल दसैँमा घुम्नका लागि उपयुक्त गन्तव्य रहेका छन्। 

सुर्खेतकाे देउती बज्यै। तस्बिर: सुशिल खड्का।

मुगु । तस्बिर : सुशिल खड्का।

(कभर फोटो : सुशिल खड्का।जुम्लाको सिँजा गाउँपालिकाको केन्द्र नाराकोट।)

असोज १४, २०७९, शुक्रबार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 4240505 / 4241389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क

+977 9851081116
[email protected]

जीवन बस्नेत
कार्यकारी निर्देशक
पिनाकी राय
बिजनेश एड्भाइजर
सविन पोखरेल
लेखा तथा प्रशासन प्रमुख
सुरेन्द्र रिजाल
निर्देशक, अटो संस्करण
ललिता तामाङ
कार्यालय सहयोगी

नेपालखबर टीम


विशेष संवाददाता
सागर न्यौपाने

उप–सम्पादक
खगेन्द्र गिरी
नवराज रेग्मी
रूपबहादुर विश्वकर्मा
विद्यानाथ अधिकारी
चिरञ्जीवी आचार्य

ग्लोबल अफेयर्स संयोजक
सन्तोष घिमिरे

समाचार संयोजक
ज्ञानेन्द्र खड्का

निर्वाचन सम्पादक
जेवी पुन मगर

म्यागेजिन सम्पादक
सीताराम बराल

प्रधान सम्पादक
पूर्ण बस्नेत
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by.
ad ad