ad ad

राजनीति


संसदीय समितिमै एमाले सांसदबीच भनाभन, माधवले ओली पक्षीय रानालाई भने : प्रतिगमनका मतियार बाहिर जानू

संसदीय समितिमै एमाले सांसदबीच भनाभन, माधवले ओली पक्षीय रानालाई भने : प्रतिगमनका मतियार बाहिर जानू

नेपालखबर
साउन १०, २०७८ आइतबार १४:२३,

विवादै विवादमा फसेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र अध्यक्ष केपी शर्मा ओली पक्षीय सांसद नारदमुनि रानाबीच आइतवार संसदीय समितिको बैठकमै भनाभन भएको छ। सिंहदरबारमा बसेको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा पनि एमालेको विवाद छताछुल्ल भएको हो।

बिहान ११ बजे बस्ने भनिएको समितिको बैठकमा भाग नेता नेपाल ११ बजेर १ मिनेटमा पुगेका थिए। त्यसपछि उनले बैठकमा बोल्दै संसद जीवित राख्न सफल भएको भनेर खुसी साटेका थिए। उनले बैठकमा आफ्ना भनाइ राख्ने क्रममा ओलीले गरेको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिए। नेता नेपालले दुई दुई पटकको प्रतिगमन पराजित भएको बताउँदै अब संसदीय समितिलाई पनि प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका थिए। 

उनले सरकारले पूर्णता पाएर नयाँ मन्त्रीहरु आएपछि संसदीय समितिलाई अझै प्रभावकारी बनाउनुपर्नेमा पनि जोड दिए। नेता नेपालले बोल्दै गर्दा बैठकमा छिरेका थिए ओली पक्षीय सांसद एवम् छोटो समय वन मन्त्री बनेका नारदमुनि राना। आफ्नो बोल्ने पालो आएपछि सांसद रानाले सरकारको भन्दा संसदीय समितिकै कमजोरी रहेको बताउँदै विगतका निर्णयका पनि फेहरिस्त त्यहाँ सुनाए।

छोटो समय ओली सरकारमा मन्त्री भएपछि उनी अन्तर्राष्ट्रिय समितिबाट बाहिरिएका थिए। उनको नयाँ समिति अब सभामुखले तोक्नुपर्ने हुन्छ। तर सभामुखले नयाँ समिति तोकिनसकेकाले उनी पुरानै समितिमा पुगेर आफ्ना कुरा राखे। 

आफ्ना भनाइ राख्ने क्रममा रानाले एमालेका असन्तुष्ट नेता नेपाललाई आक्रोशित बनाउन शैलीमा बोल्दै गए। उनले अहिलेको संसदलाई जनताले नभइ सर्वोच्चले ल्याइदिएको तर्क गरेका थिए। 'प्रतिनिधिसभा विघटनपछि पुन:स्थापना भएको छ। यो संसदलाई जनताले ल्याएको होइन, सर्वोच्चले फर्काइदिएको हो। अहिलेको सरकार पनि सर्वोच्चले बनाइदिएको हो', उनले भने, 'सरकार र संसद दुवै सर्वोच्चले बनाइदिएको कुरामा कुनै दुई मत छैन, दुवैलाई जनताले ल्याएका होइनन्।'

अनि चिढिए नेपाल

आफ्ना भनाइ राख्ने क्रममा नेता नेपालतर्फ पनि उनले हेर्ने गरेका थिए। त्यही क्रममा रानाले संसद विघटनको जिम्मेवारी वरिष्ठ नेताहरुले पनि लिनुपर्ने भन्दै नेता नेपालतिर दोष थोपर्न खोजे। 'दुई दुई पटक संसद विघटन गर्न बाध्य पार्नेहरूले वरिष्ठ नेताहरुले यसको जिम्मेवारी लिनुपर्छ', माधव नेपालतिर हेर्दै उनले भने, 'संसद विघटन राजनीतिक निर्णय हो। यो जिम्मेवारी वरिष्ठ नेताहरुले लिनैपर्छ।'

उनले नेपाललाई अझै आक्रोशित बनाउने गरी एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने क्रममा उनीहरु घरमा गएर सुतेको टिप्पणी गरे। 'संसद चाहियो भनेर कराउने नेताहरु बैठक बस्दा बस्दै कहाँ गएर सुते? आफ्नै पार्टी अध्यक्षले विश्वासको मत लिने बेला किन अनुपस्थित भए? आफ्नो पार्टीको प्रधानमन्त्रीले विश्वासको मत लिँदा घरमा गएर सुत्ने अनि अहिले यस्ता कुरा गर्ने?'

नारदमुनिले चिढ्याएपछि माधव पक्षीय सांसद दीपकप्रकाश भट्ट जंगिए। उनले आक्रोशित मुद्रामा सांसद रानालाई प्रतिगमनका मतियार भन्दै बाहिर जान चेतावनी दिए। 'यो त अति भयो। प्रतिगमनका मतियारहरु बाहिर जानुस्', उनले भने। भट्टसँगै नेता नेपाल पनि आक्रोशमा आए।

'जनादेश प्राप्त संसद दुई दुई पटक विघटन गर्ने अनि अहिले यहाँ यस्ता कुरा? प्रतिगमनमा मतियारहरु बाहिर जानुस्', सांसद भट्ट र नेता नेपालले नारदमुनितिर लक्षित गर्दै भने। रानामाथि नेपाल र भट्ट मात्रै खनिएनन् कांग्रेस सांसद पनि जाइलागे। कांग्रेस सांसद दिव्यमणि राजभण्डारीले पनि रानमाथि आक्रोश पोखे। 'तिमी प्रतिगमनका मतियार संसदमा के बोल्ने थाहा छैन?', उनले भने, 'यो संसद र सरकार जनताले ल्याएको हो। प्रधानमन्त्रीलाई पनि जनताले बनाएका हुन्।

माहोल बिग्रिँदै गएपछि समिति सभापतिले सांसदहरुलाई थामथुम गर्न खोजेका थिए। रानासँग माधव पक्षीय सांसद सरलाकुमारी यादव पनि भनाभनमा उत्रिइन्। यी दुईजनाबीच तँ तँ र म म सम्म झरेर भनाभन भयो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .