राजनीति


एनआरएनए निर्वाचनः कांग्रेस फिल्डमा, नेकपा घरबाटै चलखेलमा

एनआरएनए निर्वाचनः कांग्रेस फिल्डमा, नेकपा घरबाटै चलखेलमा

कृष्ण आचार्य
असोज ३०, २०७६ बिहिबार १७:७,

‘हाम्रै पार्टीले जित्लाजस्तो छ।’

गैरआवासीय नेपाली संघ (एनआरएनए) को काठमाडौंमा जारी निर्वाचनस्थल हायात होटलमा धेरै पटक सुनिएको भनाइ हो यो।

यात परिसर पुग्दा एक प्रतिनिधिको जिज्ञासामा अर्का प्रतिनिधिले यस्तो जवाफ दिएको सुन्दा लाग्थ्यो, त्यहाँ एनआरएनएको होइन कुनै अर्कै चुनाव हुँदैछ, जसमा विभिन्न राजनीतिक पार्टी प्रतिस्पर्धा गर्दैछन्।

एनआरएनए निर्वाचनमा कुमार पन्त र कुल आचार्य अध्यक्ष पदका लागि प्रतिस्पर्धामा छन्। उनीहरुको नेतृत्वमा छुट्टाछुट्टै प्यानलको घोषणा भएको छ। दुवै एनआरएनएका निवर्तमान उपाध्यक्ष हुन्। जसलाई यतिबेला राजनीतिक पार्टीले बोकेका छन्।

आचार्यलाई जिताउन नेपाली कांग्रेस खुलेर लागेको छ। मीनेन्द्र रिजाल, रामशरण महत, जितजंग बस्नेतलगायतका कांग्रेसका नेताहरु निर्वाचनस्थलमै पुगेर आचार्यसहितको प्यानलका लागि भोट मागेका छन्।

आचार्यको पक्षमा प्रतिपक्ष कांग्रेस खुलेर लागेपछि पन्तको पक्षमा सत्तापक्ष नेकपा देखिएको छ, खुलेरै चाहिँ लागेको छैन। तर, एनआरएनए निर्वाचन नेकपा र कांग्रेसका लागि प्रतिष्ठाको विषय बनेको भने स्पष्ट देखिन्छ।

कांग्रेसले एनआरएनए निर्वाचन पार्टीका लागि प्रतिष्ठाको विषय भएकाले आचार्यलाई मतदान गर्न ह्वीप नै जारी गरेको छ। हाल एनआरएनएको ८१ देशमा सञ्जाल छ भने दुई हजार छ सय मतदाता छन्। त्यसमध्ये ६० प्रतिशत मतदाता कांग्रेस समर्थक भएको उसको बुझाई छ।

nrnahk

हायात परिसरमा प्रतिनिधिहरु कुरा गर्दै थिए, ‘कांग्रेसप्रति आस्था र विश्वास राख्ने प्रतिनिधि धेरै छन् तर, कुमार पन्तको समर्थन गरेका पूर्वअध्यक्षको व्यक्तिगत सम्बन्धका आधारमा भोट तलमाथि हुने सम्भावना छ।’

यसको मतलब पन्तको समर्थन गरेका केही पूर्वअध्यक्षका कारण कांग्रेस समर्थक प्रतिनिधिको मत तलमाथि हुनसक्ने सम्भावना देखिएको छ।

कुल आचार्यका भाइ एवं एनआरएनए बेलायतका प्रतिनिधि दधि आचार्य भन्छन्, ‘घातीहरुले मुखले मात्र नभएर साँच्चीकै भोट दिएको भए जितिन्छ।’

कुल आचार्यलाई कांग्रेसको समर्थन रहेछ नि भन्ने प्रशंगमा उनले नेकपाका नेताहरु फिल्डमा नआए पनि घरबाटै भोटका लागि चलखेल गरिरहेको दाबी गरे।

हायातको माहोल दधिले भनेजस्तै देखिन्थ्यो। होटल परिसरमा कांग्रेसनिकट विद्यार्थी नेताहरुको बाक्लो उपस्थिति थियो। नेकपानिकट केही मध्यमस्तरका नेताहरु फोनमा भनिरहेका थिए, ‘माहोल हाम्रो पक्षमा छ।’

बिहिबार बिहान निर्वाचन सुरु हुनुअघिसम्म पनि निर्वाचन स्थलको माहोल पार्टीमय थियो। तर एनआरएनएमा पार्टी राजनीति घुस्नु हुँदैन भन्ने मान्यता राख्ने मत पनि बलियो छ। त्यस्तै एक हुन्, एनआरएनए मलेसियाका प्रमुख संरक्षक रमेश तिवारी, जो एनआरएनएलाई विशुद्ध सामाजिक संस्था बनाउनुपर्ने बताउँछन्।

‘कांग्रेसले ह्वीप नै जारी गरेको देखियो’, उनी भन्छन्, ‘नेताहरु विर्नाचनस्थलमा नै आएर मत प्रभावित पार्ने काम भयो, जुन ठिक थिएन।’

हायात परिसरमा पत्रकारहरुबीच यसपटक एनआरएनए निर्वाचन पार्टीको प्रतिष्ठासँग जोडिएको गाईंगुईं चलिरहेको थियो।
‘यसपटक एनआरएन निर्वाचन संसदको चुनावजस्तै देखियो’, पत्रकारको समूहमा चर्चा चलिरहेको थियो।

यसअघि पनि एनआरएनए निर्वाचनमा पार्टीगत आस्था र विश्वास हाबी नभएको होइन। तर, यसरी खुलेरै लागेको भने देखिएको थिएन। अझ निर्वाचनस्थलमै भोटका लागि पार्टीका नेताहरु नै आएर खुलेआम ‘लबिङ’ गरेको सायद यो पहिलोपटक हो।

यस पटकको एनआरएनए निर्वाचनमा राजनीतिक पार्टी हाबी भएको एनआरएनएका संस्थापक उपेन्द्र महतो स्वीकार गर्छन्।

एनआरएनएलाई पार्टी राजनीतिभन्दा टाढा राख्नुपर्छ भन्ने मत राख्दै आएका उनले नेपालखबरसँग भने, ‘एनआरएनए एउटा विशुद्ध संस्थामात्र होस् भन्ने चाहँदा चाहँदै यस्तो भयो। तर, यस पटक जे भए पनि अर्को पटकदेखि यस्तो हुँदैन भन्नेमा म ढुक्क छु।’

अन्तर्राष्ट्रिय प्रभाव जमाउन सक्ने संस्था एनआरएनएको निर्वाचनलाई यतिबेला नेकपा र कांग्रेसले आगामी उपनिर्वाचनसँग जोडेर हेरेका छन्, जुन एक हिसावले बेकारको कुराजस्तो लाग्छ।

यसअघि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा कांग्रेस निकट मानिने लोकतान्त्रिक समूहको प्यानल नै विजयी भएको थियो। अहिले एनआरएनएमा कुल आचार्यको प्यानललाई लोकतान्त्रिक समूह नाम दिइएको छ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा प्रगतिशील समूह पत्तासाफ भएपछि नेकपाभित्र हलचल मच्चिएको थियो। त्यसैले एनआरएनए निर्वाचनलाई नेकपाले पनि महत्वका साथ हेरेको छ।

हायातमा एनआरएनए प्रतिनिधिहरुबीच चर्चा छ, ‘एनआरएनए निर्वाचन परिणामले उपनिर्वाचन प्रभावित हुनेछ।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .