राजनीति


दोस्रो पुस्ताबारे नेपालको गुनासो : मलाई घचेटेर अगाडि बढाए, पछाडि फर्किँदा त भागिसकेछन्

आफू एक कार्यकाल मात्रै नेतृत्वमा बस्‍ने दाबी
दोस्रो पुस्ताबारे नेपालको गुनासो : मलाई घचेटेर अगाडि बढाए, पछाडि फर्किँदा त भागिसकेछन्

नेपालखबर
भदौ १२, २०७८ शनिबार १६:३०, काठमाडौँ

नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीविरुद्धको निर्णायक लडाइँमा एमालेका दोस्रो पुस्ताका नेताले खुट्टा कमाएर मैदान छाडेको बताएका छन्। 

पेशागत महासंघ नेपाल, बागमती प्रदेशद्वारा शनिबार आयोजित ललितपुर जिल्लास्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो गुनासो गरेका हुन्। 

'ओलीविरुद्धको लडाइँमा अगाडि बढ्नोस् जोसुकैलाई प्रधानमन्त्री बनाए हुन्छ तर केपी ओलीलाई फाल्नै पर्छ भनेका थिए', आफूलाई छाडेका दोस्रो पुस्ताका नेताहरुलाई सम्झिँदै नेपालले भने, 'उनीहरुले भनेपछि ओलीलाई संसदबाटै फाल्न म लागेकै हो। सडकबाट फाल्न नसकिने भएकाले संसदको गतिविधिमा भाग नलिएर बहिष्कार गर्‍यौँ। त्यहीकारण ओलीले सत्ता पनि छाड्नुपर्यो।'

नेपालले ओलीलाई हटाउने कुरामा सहमति जनाएकाहरुले नै खुट्टा कमाएर हिँडेको पनि बताए। 'केपी ओली हटाउने कुरामा सहमति जुटाउँदा केहीले खुट्टा कमाए', दोस्रो पुस्ताका नेताबारे उनले भने, 'ओलीविरुद्धको लडाइँमा मलाई घचेटेर अगाडि बढ भने तर मैले पछाडि हेर्दा त कोही पनि छैन। सबै खुट्टा कमाएर हिँडिसकेछन्।'

एमाले विभाजनलाई उनले एउटा सामान्य घटनाको संज्ञा दिएका छन्। 'एउटा व्यक्तिको राजनीतिक जीवनमा यस्ता घटना परिघटना भइरहन्छन्। केही केही व्यक्तिहरु पार्टी विभाजित हुँदा रमाउँछन्, नाच्छन्,भोज खान्छन्', ओलीतिर लक्षित गर्दै उनले भनेका छन्, 'पार्टी फुटाएर रमाएको त्यही गुट फेरि पार्टीबाट पिलो निस्क्यो हाइसन्चो भइरहेको छ भनिरहेको छ। अझै पनि खिल अझै बाँकी छ भनिरहेको छ। घाँडो पन्छियो भनिरहेका छन्।'

उनले गलत विचार र प्रवृत्तिविरुद्ध जुध्ने सबै ढोका बन्द भएपछि विद्रोह गर्नुपरेको बताए। 'केपी ओलीमा सुधारका कुनै लक्षण नभएपछि, प्रतिगमनबाट पछि हट्ने संकेत नदेखिएपछि विद्रोह गरेका हौँ', उनले भने, 'सहमतिलाई नक्कली सहमतिको जामा पहिर्याउने काम गरेपछि, आफ्नो टाङमुनि छिराउने नियत देखिइसकेपछि हाम्रो सामु कुनै बाटो भएन। प्रतिगमनको बाटोमा नजान पटक पटक आग्रह गर्यौँ। तर नमानेपछि हामीले विद्रोहको बाटो रोजेका हौँ।'

ओलीतिर लक्षित गर्दै उनले एउटा प्रधानमन्त्रीले एउटै कार्यकालमा आफ्नो कुर्सी जान्छ कि भन्ने डरले दुई दुई पटक प्रतिनिधिसभा नै भाँचिदिएको पनि बताए। 

अध्यक्ष नेपालले माथिकाले छाडे पनि आफ्नो साथमा कार्यकर्ता रहेको पनि बताए। 'माथिकाले छाडे के भयो र तल तलका कार्यकर्ता मेरा सहारा हुन्', उनले भने, 'त्यसैले मलाई जोश बढेको छ। दोस्रो पुस्तालाई नेतृत्व प्रदान गर्न अहिले पनि म तयार छु। दोस्रो पुस्ताका आए नेकपा एकीकृत समाजवादीको अध्यक्ष बनाइदिएर म बिदा हुन्छु।'

उनले ओलीविरुद्ध आफूहरुले चलाएको यो अभियान पदको लडाइँ नभएको बताए। उनले केशरजंग रायमाझीको दक्षिणपन्थी कदमविरुद्ध विद्रोह गरेर त्यही पार्टीमा बसेको भए पुष्पलाल पनि सिद्धिने तर्क गरे। 

'पुष्पलालले केशरजंगसँग विद्रोह गरेर नयाँ पार्टी बनाए। हामीले पनि पुष्पलाललाई पनि छाड्यौँ', उनले भने, 'एक कार्यकालभन्दा बढी म पार्टीअको अध्यक्ष पदमा बस्ने छैन। अरु जस्तो नक्कली छैन। एउटा कार्यकाल मात्रै बस्छु, ओली जस्तो होइन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .