ad ad

राजनीति


सुदूरपश्चिममा दुई मन्त्रीका लागि नौ जना आकांक्षी, यस्तो छ समाजवादीको तयारी

सुदूरपश्चिममा दुई मन्त्रीका लागि नौ जना आकांक्षी, यस्तो छ समाजवादीको तयारी

गोकुल जोशी
भदौ २४, २०७८ बिहिबार २२:५, महेन्द्रनगर

सुदूरपश्चिममा रिक्त दुई मन्त्रीका लागि नौ जना आकांक्षी देखिएका छन्। माधव कुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)बाट दुई मन्त्रीका लागि नौ जना सांसदले आकांक्षा देखाएका हुन्। 

सुदूरपश्चिम प्रदेश सभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) विभाजन पछि सरकारमा सहभागी एमालेका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले मंगलवार राजीनामा दिएका थिए।

उनीहरुको राजीनामा पछि ती मन्त्रालय अहिले मुख्यमन्त्री त्रिलोचन भट्टले आफू मातहत राखेका छन्। एमालेको तत्कालीन माधव नेपाल समूहको भागमा रहेको आर्थिक मामिला तथा योजना मन्त्रालय अझै नवगठित एकीकृत समाजवादी पार्टीको भागमा पर्ने छ।

रिक्त आर्थिक मामिला तथा योजना मन्त्रालयमा एकीकृत समाजवादीबाट मन्त्री पदपुर्ति गरिने छ। तर रिक्त एक मन्त्री र एक राज्यमन्त्रीमा एकीकृत समाजवादीका ९ वटै सांसदले इच्छा जाहेर गरेको एक नेताले नेपालखबरलाई जानकारी दिए।

‘९ वटै सांसदले मन्त्रीका लागि इच्छा राखेका छन्। जिम्मेवारी दिए सम्हाल्न तयार छन्’ ती नेताले भने, ‘तर एक पूर्ण मन्त्री र एक राज्यमन्त्री मात्रै राख्न सकिन्छ। त्यसका लागि छलफल भइरहेको छ।’

मन्त्रीको लागि सांसदहरु तारालामा तामाङ्ग, प्रकाश रावल, अमर बहादुर साउँद, कुलवीर चौधरी, माया भट्ट, दुर्गा कामी, माया तामाङ्ग बोहरा, बलबहादुर सोडारी र सुशिला बुढाथोकीले लबिङ्ग गरिरहेका छन्।

तीमध्ये तारालामा तामाङ्ग र प्रकाश रावलमध्ये एक जनाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी पाउन सक्ने सम्भावना रहेको स्रोतको दाबी छ।

‘मन्त्री कस्लाई दिने भन्ने अझै स्पष्ट त भैसकेको छैन। तर उहाँहरु (तारालामा र प्रकाश रावल) मध्ये एक जना पूर्ण मन्त्री पाउनुहुन्छ’ स्रोतले नेपालखबरसँग भन्यो, ‘पार्टी केन्द्रमा पनि यस्तै कुरा भएको छ।’

कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ (क) बाट विजयी तारालामा तामाङ्गले तत्कालीन नेकपा एमालेमा सुदूरपश्चिम प्रदेशको प्रमुख सचेतकको जिम्मेवारी समेत सम्हालिसकेका छन्। माधव नेपाल निकट उनी एमाले कञ्चनपुरको अध्यक्ष पनि थिए। नेकपा एमाले विभाजनपछि तामाङ्गले एकीकृत समाजवादी रोजेका हुन्।

यस्तै मन्त्रीका अर्का प्रमुख दाबेदार सुदूरपश्चिम प्रदेशका पूर्व–उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री प्रकाश रावल पनि हुन। कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ (क) बाट विजयी रावल ठगी मुद्दामा मुछिएर विवादमा आए पछि दुई वर्ष अगाडि मन्त्री पदबाट राजीनामा दिएका थिए। 

स्रोतको दाबी अनुसार आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा महिला सांसदले स्थान पाउने छन्। त्यसो भएको खण्डमा दुर्गा कामी, सुशिला बुढाथोकी, माया तामाङ्ग बोहरामध्ये एक जनाले राज्यमन्त्रीको जिम्मेवारी पाउने छन्।

बैतडीकी सांसद माया भट्टले यसअघि उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी पाएकी थिइन्। गत जेठ १४ गते मुख्यमन्त्री भट्टले मन्त्रिमण्डल पुनर्गठन गर्दा उनलाई हटाइएको थियो। तत्कालीन एमालेको आन्तरिक किचलो पछि ओली समूह सरकारबाट बाहिरिएको थियो। 

विश्वासको मत दिएर सरकार जोगाइ दिएको माधव समूहका ७ सांसदलाई मुख्यमन्त्री भट्टले मन्त्री बनाएका थिए। तीमध्ये अहिले एमाले विभाजनमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश शाह र राज्यमन्त्री अर्चना गहतराजले नेपाललाई साथ दिएनन्। सरकारमा सहभागी उनीहरुले भदौ २२ गते एमालेमै बस्ने निर्णय गर्दै मन्त्री पदबाट राजीनामा दिएका थिए। 

प्रदेश सरकारको मन्त्रिमण्डललाई केही दिनमा पूर्णता दिइने एकीकृत समाजवादीका सांसद तथा भौतिक पूर्वाधार विकासमन्त्री दीर्घ सोडारीले बताए। 

‘हामीले अब मन्त्रालय थप्न पाउदैनौँ। रिक्त मन्त्रालयलाई नै पदपुर्ति गर्ने हो’ उनले नेपालखबरसँग भने, ‘छलफल भइरहेकाले केही दिनभित्र मन्त्रिमण्डलले पूर्णता पाउँछ।’

प्रदेश सभा सदस्यको २० प्रतिशत भन्दा बढी सांसदलाई मन्त्री बनाउन नपाउने व्यवस्था छ। अहिले सुदूरपश्चिममा मुख्यमन्त्री सहित ९ मन्त्री छन्। एकीकृत समाजवादीकी पूर्णा जोशीले आन्तरिक मामिला तथा कानून मन्त्रालय, लाल बहादुर खड्काले सामाजिक विकास मन्त्रालय, दीर्घ सोडारीले भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी पाएका छन्।

यस्तै एकीकृत समाजवादीका दुई जना राज्यमन्त्री (मना कुमारी साउँद र चुनु कुमारी चौधरी) पनि प्रदेश सरकारमा छन्। उता माओवादी केन्द्रकी विनिता देवी चौधरी भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, राज्यमन्त्री मान बहादुर सुनार र मान बहादुर धामीले उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पाएका छन्।

कांग्रेसको ‘च्याप्टर क्लोज’
नेपाली कांग्रेसलाई तत्काल सरकारमा सहभागी नगराइने एकीकृत समाजवादीकी केन्द्रीय सदस्य तथा आन्तरिक मामिला तथा कानूनमन्त्री पूर्णा जोशी बताउँछिन्।

‘माओवादी र समाजवादीको गठबन्धनको सरकार स्पष्ट बहुमत छ। अहिले यही सरकारलाई थप सुदृढ बनाएर लग्छौँ’ उनले भनिन्, ‘त्यसैले कांग्रेसलाई सरकारमा सहभागी गराउदैनौँ।’

केही समय अगाडि केन्द्रको गठबन्धन अनुसार कांग्रेसलाई सरकारमा सहभागी गराउने तयारी थालिएको थियो। ५२ प्रदेश सांसद रहेको सुदूरपश्चिममा एकीकृत समाजवादीका १४, माओवादी केन्द्रका १३, नेपाली कांग्रेसका १२, नेकपा एमालेका ११ (सभामुख सहित), जनता समाजवादी पार्टी र लोकतान्त्रिक जनता पार्टीका १/१ सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .