ad ad

राजनीति


कांग्रेस अधिवेशन  : काठमाडौं महानगरमा शाक्य र रञ्जितको प्रतिस्पर्धा

कांग्रेस अधिवेशन  : काठमाडौं महानगरमा शाक्य र रञ्जितको प्रतिस्पर्धा

केशव सावद
असोज १३, २०७८ बुधबार १३:५७, काठमाडौँ

मुलुकको सबैभन्दा ठूलो महानगर काठमाडौंमा नेपाली कांग्रेसका दुबै पक्ष प्यानलसहित अधिवेशनमा प्रतिष्पर्धा गर्न लागेका छन्।

असोज १६ गते हुन लागेको पालिका अधिवेशनमा संस्थापन र संस्थापन इतर समूह महानगर कार्यसमितिका लागि प्यानलसहित प्रतिष्पर्धा गर्न लागेका हुन्।

काठमाडौंमा बलियो पकड रहेको भनिएको संस्थान इतर समूहले महानगर सभापतिका लागि नीलकाजी शाक्यलाई अघि सारेको छ।

काठमाडौं महानगरपालिका–२८ का वडाअध्यक्षसमेत रहेका शाक्यलाई असोज १२ गते बसेको इतर समूहको बैठकले सभापतिको उम्मेदवार बनाउने निर्णय गरेको थियो।

स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिएका नेता राजुराज जोशीको निवासमा बसेको उक्त बैठकमा जिल्ला सभापति कृष्ण सबुज बानियाँ र दुई जना प्रदेश सांसदहरु उपस्थित थिए।

प्रदेश सांसदद्वय छिरिङ दोर्जे लामा र दिपेन्द्र श्रेष्ठ, महासमिति सदस्य जोशी, जिल्ला सभापति बानियाँलगायत नेताहरु सहभागी उक्त बैठकले वडा अध्यक्ष शाक्यलाई सर्वसम्मत सभापतिको उम्मेदवारका लागि समर्थन गर्ने निर्णय गरेको थियो।

‘आज मिति २०७८÷६÷१२ गते मंगलबारका दिन श्री राजुराज जोशीज्यूको निवासमा ने. का. (नेपाली कांग्रेस) को १४ औं अधिवेशनअन्तर्गत काठमाडौं जिल्ला महानगरपालिकाको अधिवेशन अन्तर्गत कामपा २५ वडाका वडा अध्यक्ष श्री निलकाजी शाक्यज्यूलाई सर्वसम्मत रुपमा सभापतिको उम्मेदवारीका लागि समर्थन स्वरुप हामी उपस्थित भइ छलफलमा सहभागी भयौं,’ बैठकको माइन्युट पुस्तिकामा उल्लेख गरिएको छ।

संस्थापन इतर समूहले शाक्यलाई महानगर सभापतिको उम्मेदवार बनाउने निर्णय गरे पनि उनको प्यानलको पदाधिकारीमा प्रतिष्पर्धा गर्ने उम्मेदवारहरु भने तय गरेको छैन।

यस्तै संस्थापन समूहले महानगर सभापतिको उम्मेदवारमा पार्टीको केन्द्रीय संगठन विभाग सदस्य प्रगतिमान रञ्जितलाई अघि सारेको छ। संस्थापन पक्षले पनि रञ्जितको प्यानलबाट पदाधिकारीमा प्रतिष्पर्धा गर्ने उम्मेदवारहरू तय गरिसकेको छैन।

सभापतिका आकांक्षी रञ्जितले नेपालखबरसँगको कुराकानीमा पदाधिकारीका उम्मेदवारका बारेमा छलफल भइरहेको प्रतिक्रिया दिएका छन्। ‘म सभापतिमा उम्मेदवारी दिँदै छु। टिम बनाउनका लागि साथीहरुसँग सरसल्लाह भइरहेको छ,’ उनले भने, ‘एक्लै बनाउने भन्ने हुँदैन।’​

रञ्जितले महानगरमा सभापति पदमा उम्मेदवारी दिन लागे पनि आफू कुनै समूह विशेषबाट उम्मेदवार भने बन्न नलागेको बताए। ‘संस्थापन–विस्थापन भन्ने होइन। लामो समयदेखि राजनीति गर्दै आएको छु,’ उनले भने, ‘संस्थापनको बिल्ला भइरहेको छैन। नयाँ–पुराना सबै साथीहरुले साथ दिन्छौं भन्नुभएको छ।’

संस्थापन इतर समूहले काठमाडौं महानगरपालिकाका ११ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको प्रतिक्रिया दिएको छ। तर, महानगरको सभापतिका आकांक्षी रञ्जितले सर्वसम्मतको सम्भावना नरहेको जिकिर गरे।

‘सर्वसम्मत कसरी हुन्छ?,’ जिल्ला सभापति बानियाँले ११ वटै पालिकामा सर्वसम्मत नेतृत्व चयनको प्रयास भइरहेको प्रतिक्रिया दिनुभएको छ नि भन्ने प्रश्नमा प्रतिप्रश्न गर्दै रञ्जितले भने, ‘आन्तरिक प्रतिष्पर्धा भएन भने कसरी हुन्छ? साथीभाइको विश्वास जितेर आउँछ नि नेतृत्व।’

केन्द्रीय सदस्य गोपालमान श्रेष्ठको संयोजकत्वमा रहेको संगठन विभागका सदस्य रहेका ५१ वर्षीय रञ्जित महानगरको तरुण दलका संस्थापक अध्यक्ष हुन्। उनी २०५६ सालमा तरुणको काठमाडौं महानगर अध्यक्ष भएका थिए।

२०५९ सालमा सम्पन्न अधिवेशनबाट रञ्जित फेरि तरुण दलको अध्यक्षमा निर्वाचित भएका थिए। उनी काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय सचिव पनि भइसकेका व्यक्ति हुन्।

यस्तै इतर समूहले अघि सारेका सभापतिका उम्मेदवार शाक्य २०३६ सालको विद्यार्थी आन्दोलन, २०३७ सालको जनमत संग्रह, २०४२ सालको सत्याग्रहदेखि २०४६ सालको जनआन्दोलनमा सक्रिय सहभागिता जनाएका नेता हुन्।

उनी २०४३ सालमा पब्लिक युथ क्याम्पसमा स्ववियु सभापति बनेका थिए। शाक्य तरुण दलको केन्द्रीय सदस्य हुँदै अहिले काठमाडौं महानगर वडा २५ को अध्यक्ष छन्।

शाक्यले महानगरको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘लोकतन्त्र र विधिको शासनका पक्षमा मैले साढे चार दशकदेखि यात्रा अविचलित रही कायम राखेको छु। हो, त्यही जप, तपको अग्निपरीक्षाका रुपमा यस उम्मेदवारीलाई लिएको छु।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .