राजनीति


कर्णालीका मुख्यमन्त्री शाहीले आजै राजीनामा दिँदै

कर्णालीका मुख्यमन्त्री शाहीले आजै राजीनामा दिँदै

सागर न्यौपाने
कात्तिक १५, २०७८ सोमबार १४:५१, काठमाडौँ

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा सोमबार दिने भएका छन्। 

नेपाली कांग्रेससँग भएको आलोपालो सरकार चलाउने सहमतिअनुसार उनले राजीनामा दिन लागेको कर्णाली प्रदेशका एक मन्त्रीले नेपालखबरलाई जानकारी दिए।

कांग्रेस-माओवादीबीच पहिलो ६ महिना शाही र बाँकी समय कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने समझदारी थियो।

त्यही सहमति अनुसार २०७८ जेठ २४ गते २ मन्त्रालय लिएर कांग्रेस कर्णाली सरकारमा सहभागी भएको थियो। उक्त सहमति अनुसार माओवादीबाट मुख्यमन्त्री बनेका शाही बाहिरिन लागेका हुन्। 

मुख्यमन्त्री शाहीले गत वैशाख ३ गते विश्वासको मत लिएका थिए। राजीनामा दिनुअघि मुख्यमन्त्री शाहीले अपरान्ह क्याविनेट बैठक बोलाएका छन्।

शाहीले सोमबारको क्याबिनेट लगत्तै राजीनामा घोषणा गर्न लागेको ती मन्त्रीले बताएका छन्। 

‘मुख्यमन्त्रीले आजै राजीनामा दिँदै हुनुहुन्छ,’ ती मन्त्रीले नेपालखबरसँग भने, ‘आज क्याबिनेट पनि छ, त्यसलगत्तै उहाँको राजीनामा आउँछ। अन्तिम अवस्थामा परिस्थितिमा नफेरिए बेलुकासम्म उहाँले राजीनामा घोषणा गर्नुहुन्छ।’

तीन मन्त्री पनि बिदा हुँदै 

अर्कातिर शाही मन्त्रिपरिषद्का ३ मन्त्रीको समेत पदावधि सकिएको छ। 

एमालेका तत्कालीन सांसदहरू प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढा ‘फ्लोर क्रस’ गरेपछि एमालेको कारबाहीमा परेका थिए। 

गत वैशाख ३ ‘फ्लोर क्रस’ गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका एमालेका तत्कालीन तीन सांसदहरुको पद गएको थियो। 

उनीहरू प्रदेशसभा सदस्य नरहेका कारण कात्तिक १५ देखि सरकारबाट बिदा हुनुपर्ने थियो।  

ज्वालाबाहेक अम्मरबहादुर थापा भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री, कुर्मराज शाही भूमि, व्यवस्था, कृषि तथा सहकारी र नन्दसिंह बुढा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री छन्।

शाहीलाई मुख्यमन्त्रीबाट राजीनामा नगराउन नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशले प्रयास गरेको थियो। 

तर, गठबन्धनबीचको सहमति कार्यान्वयनको गर्नुपर्ने अध्यक्ष प्रचण्डको निर्देशनअनुसार शाहीले राजीनामा दिने भएका हुन्।

गठबन्धनबीचको सहमति कार्यान्वयन कर्णालीबाट गर्न लागिएको माओवादी केन्द्र कर्णाली प्रदेशका सचिव रामदीप आचार्यले बताए। 

कर्णाली प्रदेशमा माओवादी केन्द्र, कांग्रेस र नेकपा एकीकृत समाजवादी पार्टीबीचको गठबन्धन सरकार छ।

एकीकृत समाजवादीका कर्णाली प्रदेश इन्चार्ज प्रकाश ज्वालाले सहमति कार्यान्वयन हुने बताए।

‘हामीले यसअघि गरेको सहमति कार्यान्वयन आजैबाट हुन्छ,’ ज्वालाले नेपालखबरसँग भने।

महेन्द्रबहादुर शाहीले राजीनामा दिएपछि कांग्रेसका नेता जीवनबहादुर शाही मुख्यमन्त्री बन्नेछन्। 

कांग्रेसले मुख्यमन्त्री लिएपछि मुख्यमन्त्रालयमा माओवादी केन्द्र र एकीकृत समाजवादीलाई दिने तयारी छ। 

यसअघि राजीनामा दिने नदिने केन्द्रमा बन्ने समझदारीले तय गर्ने माओवादीले जनाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .