नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री रमेश लेखकलाई कञ्चनपुरमा ‘आफ्नो पकड कायमै राख्न सकस’ परेको छ। नेता एनपी साउद र दिवानसिंह विष्ट मिल्दा लेखकलाई आफ्नो वर्चश्व यथावत राख्न सकस परेको हो।
कांग्रेस कञ्चनपुरको सभापतिका लागि संस्थापन पक्षका नेताद्वय रमेश लेखक र एनपी साउदबीच नै प्रतिस्पर्धा हुँदैछ।
पालिका, प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा प्यानल बनाएर चुनावमा उत्रिएका लेखक र साउद जिल्ला अधिवेशनमा पनि भिड्ने भएका हुन्।
लेखक प्यानलबाट कांग्रेस कञ्चनपुरको सभापतिमा पूर्वसचिव पदम बोगटी र साउद प्यानलबाट संविधानसभा सदस्य तथा पूर्वसभापति बहादुरसिंह थापा चुनावी मैदानमा छन्।
केन्द्रमा प्रधानमन्त्री एवम् सभापति शेरबहादुर देउवाका ‘विश्वास पात्र’ मानिने नेताद्वय लेखक र साउद गृहजिल्ला कञ्चनपुरमा भने आ–आफ्नै गुट चलाउँछन्। अहिले साउदलाई संविधान सभा सदस्य दिवानसिंह विष्टले साथ दिइरहेका छन्।
पूर्वमन्त्री साउद संविधानसभा सदस्य विष्टसँग मिलेर लेखकको पकड तोडेर आफ्नो वर्चश्व जमाउने रणनीतिमा सक्रिय छन् भने लेखक आफ्नो वर्चश्व यथावत राख्न योजनामा छन्।
‘एनपी र रमेश दाई दुवै संस्थापन पक्षकै नेता हुन्। तर, आफू बलियो बन्न अहिले अधिवेशनमा तीव्र गुटबन्दीमा लागेका छन्,’ कांग्रेसका एक नेताले भने, ‘रमेश दाइ विरुद्ध अहिले एनपी र दिवान दाइ लागेका छन्। उनीहरुले गठबन्धन नै बनाएका छन्।’
पालिका, प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनमा लेखक र साउद–विष्ट प्यानल बनाएर चुनावमा होमिएका थिए। साउद र विष्ट मिल्दा कांग्रेसको आन्तरिक शक्ति संघर्षमा लेखक कमजोर बनेका छन्।
लेखकको निर्वाचन क्षेत्र नम्बर ३ मा बलियो पकड छ भने साउदको क्षेत्र नम्बर २ मा बलियो पकड छ। यस्तै, निर्वाचन क्षेत्र नम्बर १ मा पौडेल निकट मानिने दिवानसिंह विष्टको पकड बलियो छ।
जिल्ला कार्यसमितिमा निर्णायक बन्ने विष्ट समूह साउदसँग मिलेकोले लेखकलाई आफ्नो प्यानल जिताउन अप्ठ्यारो पर्ने कांग्रेस नेताहरुको अनुमान छ।
‘एनपी र दिवान दाइको सहकार्य जिल्ला अधिवेशनमा पनि निरन्तरता पाउने भएको छ, क्षेत्र नम्बर १ निर्णायक रहन्छ,’ ती नेताले भने, ‘यसो भयो भने रमेश दाइलाई गाह्रो हुन्छ।’
ती नेताका अनुसार क्षेत्र नम्बर १ का ५३० मतदातामध्ये अधिकांश मतदाता नेता विष्ट निकट छन्। एनपी र दिवान मिल्दा लेखकले प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय चुनावमा ‘नमिठो परिणाम’ भोगेका छन्।
प्रदेश क्षेत्रीय र प्रतिनिधि सभा क्षेत्रीय चुनावमा लेखक आफ्नो निर्वाचन क्षेत्र ३ मा मात्रै विजयी भएका थिए। निर्वाचन क्षेत्र नम्बर १ र २ मा लेखकको प्यानल पराजित भएका थिए भने साउद–विष्ट प्यानल विजयी भएको थियो।
पूर्वमन्त्री लेखकले जिल्ला कार्य समितिका लागि आफू निकट प्यानलको घोषणा गरेका छन्। लेखक प्यानलबाट सभापतिमा पदम बोगटी, उपसभापतिमा दिवाकर पाण्डेय, शंकरबहादुर चन्द, सचिवमा सिद्धराज भट्ट, जनकसिंह धामी, सहसचिवमा कविराज भट्ट र पुष्कल चौधरी उम्मेदवार छन् ।
लेखकले सभापतिमा अघि सारेका बोगटी एनपी साउद निकट नेता हुन। तर अहिले जिल्ला अधिवेशनमा बोगटीलाई लेखकले आफ्नो समूहमा तानेका छन्।
यसअघिको जिल्ला अधिवेशनमा बोगटी एनपी प्यानलबाट सभापतिमा चुनाव लडेका थिए। यद्यपी लेखक निकट हरिप्रसाद बोहरासँग उनी पराजित भएका थिए। उनै बोगटी अहिले लेखकको प्यानलबाट सभापतिको उम्मेदवार बनेका हुन्।
लेखक निकट वर्तमान सभापति हरिप्रसाद बोहरा क्षेत्र नम्बर २ बाट महाधिवेशन प्रतिनिधिमा पराजित भएपछि सभापति बन्ने दौडबाट बाहिरिएका छन्।
उता साउद–बिष्टको प्यानलबाट सभापतिका लागि संविधानसभा सदस्य बहादुरसिंह थापालाई अगाडि सारिएको छ। यस्तै, उपसभापतिमा मीन बहादुर सिंह र हरिचन्द्र राना, सचिवमा भीमराज भट्ट र हेमराज ओझा तथा सहसचिवमा नाफुसिंह साउद र हरिप्रसाद अधिकारीलाई प्यानलमा राखिएको छ।
Shares

प्रतिक्रिया