ad ad

राजनीति


जुन रुखको फेदमा बसेर ‘बीपीले कांग्रेसको चुनाव चिह्न कल्पना गरे’

जुन रुखको फेदमा बसेर ‘बीपीले कांग्रेसको चुनाव चिह्न कल्पना गरे’

सिरहा औरहीमा रहेको भालसरीको यो रुख दुई सय वर्ष पुरानो मानिन्छ


केशव सावद
मंसिर १०, २०७८ शुक्रबार १७:३८, काठमाडौँ

अर्थशास्त्रका प्राध्यापक तथा राष्ट्रिय योजना आयोगका सदस्य सुरेन्द्र लाभले मंगलबार राति फेसबुकमा एउटा तस्बिर साझा गरे।

तस्बिरमा फेद नजिकैबाटै हाँगा फैलिएर छहारी दिने बडेमानको रुख देखिन्छ। 

उनका अनुसार झण्डै दुई सय वर्ष पुरानो यो रुख सिरहा जिल्लाको औरही गाउँपालिका–५ डा. राजेशचन्द्र दासको प्रांगणमा छ। लाभले त्यो भालसरीको रुख भएको उल्लेख गरेका छन्।

भालसरी सदाबहार रुख हो, जुन दक्षिण एसिया, दक्षिण–पूर्वी एसिया र उत्तरी अस्ट्रेलियामा पाइन्छ। यसको काठ मूल्यवान् मानिन्छ। 

भालसरीको फल खान सकिन्छ भने पारम्परिक औषधिका रुपमा पनि यसको प्रयोग हुने गर्छ। यसको फूल सेतो र फल पँहेलो हुन्छ। 

तर, यो रुखको परिचय यतिमै सीमित छैन। स्थानीय बासिन्दा नेपालको पुरानो राजनीतिक दल नेपाली कांग्रेसको चुनाव चिह्न यही रुखबाट प्रेरित भएको ठान्छन्। जुन चुनाव चिह्न कांग्रेसले वि.सं. २०१५ देखि हालसम्मका निर्वाचनमा प्रयोग गर्दै आएको छ। 

नेपालको राजनीतिमा कांग्रेस भनेको रुख र रुख भनेको कांग्रेस भन्ने मान्यता नै स्थापित छ। प्राध्यापक लाभले कांग्रेसको चुनाव चिह्न डा. दासको औरहीस्थित घरको प्रांगणमा अवस्थित भालसरीको रुखबाट प्रेरित रहेको दाबी गरेका छन्।  

‘यो सिरहा जिल्लाको औरही पालिका अन्तर्गत डा. राजेशचन्द्र दासजीको प्रांगणमा रहेको भालसरीको लगभग दुई सय वर्ष पुरानो रुख हो,’ उनले फेसबुकमा लेखेका छन्, ‘पारिवारिक सूत्रअनुसार नेपाली कांग्रेसको रुख चिह्न यसै रुखबाट प्रेरित छ।’

जनकपुरको जानकी मेडिकल कलेजमा कार्यरत डा. दास आफ्नो घरको प्रांगणमा रहेको यही रुख हेरेर नै कांग्रेसले २०१५ सालमा पार्टीको चुनाव चिह्न बनाइएको दाबी गर्छन्। 

‘हाम्रै आँगनछेउमा रहेको त्यही रुख हेरेर कांग्रेसका संस्थापक नेताहरुले पार्टीको चुनाव चिह्न बनाएको सुनेको हुँ,’ उनले नेपालखबरसँग भने, ‘रुखको फोटो र चुनाव चिह्न हेर्नोस् न, समान छ।’

सिरहाबाट कांग्रेसका समानुपातिक सांसद पद्मनारायण चौधरी पनि यो भनाइमा सहमत छन्। त्यही भालसरीको रुखको फेदमा बसेर कांग्रेसका संस्थापक नेताहरुले चुनाव चिह्नको परिकल्पना गरेको उनको भनाइ छ। 

‘दास परिवारको घरअगाडि पोखरीको डिलमा भालसरीको रुख छ। त्यही रुखको फेदमा बसेर पार्टीको चुनाव चिह्न परिकल्पना गरेर अगाडि बढाइएको सुनेको हुँ,’ सांसद चौधरीले भने। 

कांग्रेसका तर्फबाट २०७२ सालमा उपराष्ट्रपतिका उम्मेदवार संविधानसभा सदस्य अमियकुमार यादवले पनि दास परिवारको घरको प्रांगणमा रहेको भालसरीको रुखबाट नै चुनाव चिह्न बनाइएको दाबी गरे।

‘नेपाली कांग्रेसका लागि औरही ऐतिहासिक ठाउँ हो। कांग्रेसका संस्थापक सदस्यहरु देवनाथजी र सूर्यनाथजीको घर अगाडि विशाल रुख छ,’ ७६ वर्षीय यादवले नेपालखबरसँग भने, ‘त्यही तल बसेर बीपी बाबुहरुले चुनाव चिह्न कल्पना गर्नुभएको थियो।’ 

उनले त्यसबेला दास परिवारको घरमा कांग्रेसका संस्थापक नेता बीपी कोइरालाको आउजाउ बाक्लै रुपमा आफूले देखेको समेत जानकारी दिए।

‘उहाँहरु (दासबन्धु) पनि नेपाली कांग्रेसका संस्थापक नेतामै पर्नुहुन्छ। उहाँहरुको घरमा बीपी बाबु जानुहुन्थ्यो,’ उनले भने, ‘हामी सानै थियौँ। विद्यार्थी जीवनमा मैले पनि बीपी बाबुसँग संगत गरेको थिएँ।’

रुखमुनि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल। तस्बिर : खिला कार्की

यादव नेपालमा प्रजातन्त्र बहालीपछि सिरहाका पहिलो निर्वाचित सभापति हुन्। उनी राष्ट्रिय सभा सदस्य, संविधान सभा सदस्य हुँदै उपराष्ट्रपति पदमा नन्दबहादुर पुनसँग कांग्रेसका तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए। 

‘नेपाली कांग्रेसको इतिहासको प्रारुप’ नामक पुस्तकका लेखक पुरुषोत्तम बस्नेतचाहिँ कांग्रेसको चुनाव चिह्न सो भालसरीको रुखबाट प्रेरित नभएको दाबी गर्छन्।

कांग्रेसको चुनाव चिह्न र अर्थशास्त्रका प्राध्यापक लाभले सामाजिक सञ्जालमा राखेको रुखको तस्बिरबारे नेपालखबरले राखेको जिज्ञासामा उनले भने, ‘होइन, त्यो होइन। २०१५ सालमा पहिलो निर्वाचन हुने भयो। चुनाव चिह्न छान्न बोलाइयो। पार्टी आफैँले केही चुनाव चिह्नमध्ये रुख छानेको हो।’

तर, गत फागुन १० गते पार्टी कामको सिलसिलामा सिरहा पुगेका कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भने कांग्रेसको चुनाव चिह्न परिकल्पना गरिएको रुख औरहीमा रहेको भन्दै उक्त ठाउँमा पुगे। त्यो ठाउँमा पुगेर उनले भालसरीको रुख पछाडि पर्ने गरी तस्बिरसमेत खिचाए।

पौडेलको तस्बिर मोबाइलको क्यामेरामा कैद गरेका नेपाल प्रेस युनियनका सचिव खिला कार्की भन्छन्, ‘केपी ओलीले पहिलो पटक विघटन गरेको संसद पुनःस्थापना भएको अघिल्लो दिन हामी सिरहामा थियौं। वरिष्ठ नेताले औरहीमा चुनाव चिह्न कल्पना गरिएको रुख छ भन्ने सुनेको स्थानीय नेतालाई सुनाउनुभयो। पछि हामीहरु त्यहाँ पुग्यौं।’

उनका अनुसार नेता पौडेल आफैँले स्थानीय नेताहरुले संस्थापक नेताहरु बीपी कोइराला, कृष्णप्रसाद भट्टराई, गणेशमान सिंहलगायतका नेताहरु औरहीको एक रुखको फेदमा बसेर चुनाव चिह्न परिकल्पना गरेको प्रसंग निकालेका थिए ।

दास परिवारकाे कांग्रेस साइनो 
दास परिवार र कांग्रेसका बीचमा लामो साइनो छ। उपराष्ट्रपति पदका उम्मेदवार यादवका अनुसार उक्त परिवारका सदस्य देवनाथ र सूर्यनाथ कांग्रेसका संस्थापक नेतामा पर्छन्।

दासबन्धु दुवै पहिलो संसदमा कांग्रेसका तर्फबाट सांसद थिए। तत्कालीन राजा महेन्द्रले २०१७ साल पुस १ गते ‘कू’ गरेर पहिलो जननिर्वाचित सरकार विघटन गरेपछि दासबन्धु भारत निर्वासनमा गएका थिए।  

प्राध्यापक लाभका अनुसार सूर्यनाथ बीपी सरकारमा मन्त्री थिए।  

‘देवनाथ र सूर्यनाथ दाइभाइ नै २०१५ सालमा सांसद हुनुहुन्थ्यो। सूर्यनाथ त मन्त्री नै हुनुभयो,’ उनले भने, ‘पछि दरभंगा निर्वासनमा जानुभयो। त्यहाँ पनि उहाँकै घरमा कांग्रेसीहरु बेलाबेला जमघट हुन्थे।’

लामो समय कोइराला परिवारनिकट भएर कांग्रेसको राजनीति गरेका पूर्वमन्त्री जेपी गुप्ता पनि दास परिवारको घरमा बीपी कोइरालाको आवतजावत हुने गरेको बताउँछन्।

देवनाथका छोरा डा. दास पनि आफ्नो पिता कांग्रेस संस्थापकमध्ये एक भएको बताउँछन्।

डा. दासका भाइ सुरेशचन्द्र दास पनि २०५२ सालमा कांग्रेसका तर्फबाट स्वास्थ्य सहायकमन्त्री थिए। उनी २०४८ र २०५१ सालमा सिरहा क्षेत्र नम्बर ३ बाट कांग्रेसका तर्फबाट सांसदमा निर्वाचित भएका थिए।

२०३६ सालको जनमत संग्रहमा बहुदलका पक्षमा सक्रिय पूर्वसहायक मन्त्री दास २०४८ देखि २०५१ सम्म कांग्रेसको महासमिति सदस्य थिए। 

लाभका अनुसार दास परिवार उतिबेला तराईको सबैभन्दा ठूलो जमिन्दार परिवारमा पर्थ्यो। उनले दास परिवारको नाममा त्यो बेला ८४ हजार बिघा जमिन रहेकोसमेत जानकारी दिए। 

‘तराई क्षेत्रको सबैभन्दा ठूलो जमिन्दार हो उहाँहरु। ८४ हजार बिघा जमिन नै थियो रे,’ उनले भने, ‘उहाँ (डा. दास) की हजुरआमालाई त्यति जमिन भएकै कारण चौरासीवती भनिन्थ्यो रे।’

तर, दास परिवार पछिल्लो समय कांग्रेससँग सन्तुष्ट छैन। लाभले फेसबुकमा भालसरीको तस्बिरसँगै थप लेखेका छन्, ‘कुनै समय नेपाली कांग्रेसको गतिविधिको गढ मानिने यो परिवार आज कांग्रेसप्रति असन्तुष्ट देखिए पनि यो रुखको गौरवप्रति सन्तुष्ट देखिन्छ। बधाई छ डा. साहेब!’

डा. दासले पनि नेपालखबरसँगको कुराकानीमा कांग्रेसप्रति सन्तुष्ट रहेको संकेत गरेनन्। उनका अनुसार दास परिवार अहिले कांग्रेसबाट धेरै टाढा भइसकेको छ। उनका भाइ पूर्वसहायकमन्त्री अहिले नेकपा माओवादी केन्द्रका तर्फबाट प्रतिनिधि सभा सदस्य छन्। 

उनी सिरहा–२ बाट २०७४ सालमा सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्षतर्फ सांसदमा विजयी भएका थिए। दास परिवारकै सिदार्थ दास यादव अहिले औरही गाउँपालिका प्रमुख छन्। उनी पनि माओवादी केन्द्रबाटै निर्वाचित भएका हुन्।

परिवार नै कांग्रेस परित्याग गरेर माओवादीतर्फ आकर्षित हुनुको कारणबारे डा. दास भन्छन्, ‘म त फिजिसियन हुँ। २५ वर्ष सरकारी जागिर खाएर राजीनामा दिएर अहिले मेडिकल कलेजमा काम गर्छु। विशेष परिस्थितिमा उहाँहरुले कांग्रेस छाड्नुभयो।’

पूर्वमन्त्री गुप्ता कांग्रेसमा मधेसी मूलका नयाँनयाँ अनुहार आएपछि दास परिवारलाई किनारा लगाइएको दाबी गर्छन्।

‘दासबन्धु बीपीका अत्यन्त विश्वासपात्र हुनुहुन्थ्यो। पछि उहाँका छोरालाई गिरिजाबाबुले पार्टीबाट निकाल्नुभो। परिवारलाई छेउ किनारा लगाएर पूर्वाग्रह साँधियो,’ उनले भने।

कांग्रेस परित्याग गरे पनि दास परिवारले त्यो रुखको हेरचाह गरिरहेकै छ। र, पुरानो पार्टीको पुरानो मिथक बोकेर बुढो भालसरी अझै उभिइरहेकै छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .