ad ad

राजनीति


घनश्याम भुसालले ओलीसँग अनुनय गरेको त्यो दृश्य : हामीले चुनावमा उठेर हार्न पनि नपाउनु?

ओली हलको मजा लिइरहे, ईश्वर पोखरेल मुस्कुराए
घनश्याम भुसालले ओलीसँग अनुनय गरेको त्यो दृश्य : हामीले चुनावमा उठेर हार्न पनि नपाउनु?

फाइल तस्बिर


कृष्ण बहाब
मंसिर १३, २०७८ सोमबार १४:३४, सौराहा (चितवन)

सोमबार बिहान करिब सवा ३ बजे एमाले अध्यक्ष केपी शर्मा ओलीले सौराहास्थित बन्दसत्र हलमा आगामी कार्यकालका पदाधिकारीको नाम प्रस्ताव गरे।  

शनिबारको बन्दसत्रबाट पदाधिकारी र केन्द्रीय सदस्यको नाम छान्ने सर्वाधिकार पाएका ओलीले पदाधिकारीको नाम टुङ्ग्याउनुअघि सर्वसम्मत बनाउन पटक पटक पहल गरेका थिए।

'हलका सबै प्रतिनिधिले एक पटक भीम रावलजीलाई उम्मेदवारी फिर्ता गर्न आग्रह गरौँ', ओलीले यति भनेपछि हलबाट परर्र ताली बज्यो। 

तर पदाधिकारीको नाम प्रस्ताव गर्नुअघि उनै ओलीले अध्यक्षमा आफूसँग भिड्न तयार उपाध्यक्ष भीम रावललाई बोल्ने समय दिए। 

ओलीले रावललाई आफ्ना कुरा राख्न भन्दा पनि अध्यक्षबाट उम्मेदवारी फिर्ता गर्न निर्देशनसहितको समय दिएका थिए। तर,ओलीको उक्त निर्देशनात्मक आदेशलाई रावलले त्यहीँ अस्वीकार गरिदिए। 

करिब २ मिनेट बोल्दै रावलले अध्यक्ष पदमा उठ्ने अडानसहित कुनै हालतमा 'ब्याक' नहुने बताए। 'म यति अगाडि बढिसकेको छु, फर्किन गाह्रो छ। माफ गर्नु होला, म अध्यक्ष पदमा उम्मेदवारी दिन्छु, धन्यवाद!'

रावलले बोलिनसक्दै हलमा होहल्ला सुरु भयो। सर्वसम्मत गर्नैपर्छ, गर्नै पर्छ भन्दै एकाएक हलभित्र नाराबाजी भयो। ओली त्यो हल्लाको 'इन्जोय' गर्दै मुस्कुराइरहे। तर त्यसले रावललाई छोएन, उनी टसमस भएनन्।

हल्ला बढ्दै गएपछि मञ्चको अगाडितर्फ पहिलो लहरमा बसेका उपाध्यक्षका दाबेदार घनश्याम भुसाल सोचमग्न देखिन्थे। हलले हाटहुट गरेर एकलौटी केन्द्रीय कमिटी बनाउँछ कि भन्ने डर भुसालको अनुहारमा स्पस्ट देखिन्थ्यो। 

यसअघि नै हात उठाएर या ध्वनि मतका आधारमा नयाँ नेतृत्व चयन गर्ने कुरा पनि हलभित्र चलिरहेको थियो। हलभित्र मात्र होइन, कार्यलय सचिव शेरबहादुर तामाङले पनि ध्वनि मतका आधारमा नेतृत्व चयन हुनसक्ने बताइसकेका थिए। 

त्यही हल्ला यथार्थ हुने डर मञ्च तलको पहिलो लहरमा बसेका भुसालमा देखियो। टाउको माथिसम्म चस्मा पुर्‍याएका उनी चिउँडोमा हात राखेर सोचमग्न भएर बसिरहेका थिए।

उनीमात्रै होइन, अन्य प्रतिनिधि पनि नयाँ नेतृत्वलाई लिएर सोचमग्न नै थिए, समग्र हलको वातावरण नै अन्यौलपूर्ण देखिन्थ्यो। बहुदलीय विचार अङ्गालेको कम्युनिस्ट पार्टीभित्र अध्यक्ष ओलीले आफ्नै नाम आफैं नयाँ अध्यक्षमा प्रस्ताव गर्न लाग्दै थिए। 
त्यो प्रस्ताव पारित हुने डर भुसाललाई थियो। नेपालखबरले सौराहाकै एक होटलमा आइतवार साँझ भेट्दा नै हल्लाले नेतृत्व छान्ने चिन्ता भुसालले व्यक्त गरेका थिए। हलमा ओली सर्वसम्मत गराउन जोडबल गरिरहँदा निर्वाचन कार्यक्रम स्थगित गरेर निर्वाचन आयोगको टोली बाटो लागिसकेको थियो। 

निर्वाचन कार्यक्रम पनि बिहानसम्म स्थगित भएको अवस्थामा चुनावमा जाने बाटो नै बन्द हुने डर भुसालसहितलाई थियो। त्यहीकारण उनीसहित अन्य नेता पनि अन्योलमा देखिन्थे।

सोचमग्न भुसाल एकाएक उठे। जुरुक्क उठेर उनी मञ्चमा बसिरहेका ओलीतिर अघि बढे। 

त्यसबीचमा सर्वसम्मतका नाममा एकोहोरो हल्ला चलिरहेको थियो। 'केपी ओली अध्यक्ष हो, अध्यक्ष' भन्ने नारा चर्किँदै थियो। त्यहीबेला मञ्चमा उक्लिन थालेको देखेर ओलीको ध्यान भुसालतिर गयो।

भुसाल आफू छेउमा आइपुगेपछि पुगेपछि ओलीले माइक बन्द गरे। माइकको आवाज रोकेपछि उनले भुसाललाई इसाराले नै के भयो भनेर प्रश्न गरे। 

ओलीले यति संकेत गरेपछि महाधिवेशन प्रक्रियाबाट निराश र भावुक भुसाल बोल्न थाले। 'यो के गर्न खोज्या हो? यसरी हुन्छ र ?', उनले बोल्न थाले, 'कहिलेसम्म यसरी हुन्छ?' 

भुसालले यसो भनिरहँदा ओली पनि उनीतिरै टाउको फर्काएर हेरिरहेका थिए।  भुसालले प्रश्न बर्साइरहँदा ओलीले केही बोलेका थिएनन्। उनले भुसाललाई एकोहोरो हेरिरहे मात्रै।

ओलीले नबोल्ने छाँट देखेपछि भुसालले अनुनय गर्न थाले। यसपटक भुसालले हात नै जोडे। ओलीलाई नमस्कार गर्दै भने, 'यसो नगर्नुस्, हामीले पार्टीको विधि बचाउनुपर्छ। यसरी त हुँदैन। कम्तीमा मलाई हार्ने अवसर त दिनुस्। विधि त विधि हो नि, त्यसको अभ्यास गरेर मलाई हार्न चाहिँ दिनुस्।'

भुसालले यति भनिसकेपछि ओलीले आफ्नो दाहिनेतिर बसिरहेका महासचिव इश्वर पोखरेललाई पुलुक्क हेरे। तर ईश्वरले मुसुक्क हाँसेर टारिदिए। 

भुसालको त्यो अनुनयपछि ओलीले माइक अन गरे। 'कमरेडहरु, अब म शान्त रहनुस्। हामीले धेरै प्रयास गर्यौँ तर भीम रावलले उम्मेदवारी फिर्ता लिनु भएन', ओलीले भने, 'यत्रो हललेभन्दा नमानेपछि उहाँको अधिकारको कुरा उठ्न पाउनुहुन्छ।  अब म अघि बाँकी रहेका पदाधिकारीहरूको नाम प्रस्ताव गर्छु।'  

दिक्क
आइतवार साँझ एउटा होटलमा खाना खाने क्रममा एमालेको महाधिवेशनको ताल देखेर आफू दिक्क भएको बताएका थिए।

उनले पदाधिकारी र नयाँ नेतृत्व चयनका लागि ओली र उनका शीर्ष तहका कुनै मान्छेले एक वचन नसोधेको पनि उनले बताएका थिए। बरु ओलीनिकट नेता सूर्य थापाले भेटेर विवाद मिलाउन मध्यस्थता गरिदिन आग्रह गरेको उनले सुनाएका थिए। 

खाना खान पुगेका बेला बेला उनलाई पत्रकारले सोधे, 'दाइ यत्रो समय यता देखिनु भएन, साँझमा त यतै आउनु भएछ नि,' कटाक्षको शैलीमा प्रश्न आएपछि उनी मुस्कुराए।

उनले त्यहीँ खाना खानुअघि नेपालखबरले भुसाललाई प्रश्न गर्यो। 'दसौँ महाधिवेशनको यो स्थिति तपाईँले भोगेको पुराना कुनै महाधिवेशनमा पनि आएको थियो?'

'हुन त सबै महाधिवेशन फरक नै हुन्छन्। त्यसकारण यो पनि फरक छ', भुसालले जवाफ दिएपछि फेरि सोधियो, 'होइन, कमिटी छान्ने अधिकार हलले कुनै अध्यक्षलाई दिएको थियो त यसअघि? यस्तो ताल भनेको क्या!

एकछिन सोच्दै मुसुक्क हाँसेर भुसालले भने, 'यस्तो ताल त होइन, यो त बेताल पो हो त।'

यस्तो बेतालको परिस्थिति अहिलेसम्मकै एमालेको महाधिवेशनमा नदेखिएको भुसालले तर्क गरे। पत्रकारले फेरि सोधे, 'अनि दाइ, ओली पनि सि जिनपिङ जस्तै सर्वसम्मत हुन खोज्या हो कि?' 

उनले त्यसबारे अगाडि भने, 'अध्यक्ष ओलीले दुई छिमेकी नरेन्द्र मोदी र सी जिनपिङ जस्तै हुन खोजे पनि नेपालको अवस्था त्यस्तो छैन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .