ad ad

राजनीति


कांग्रेसमा विरासतमोह : प्रमुख नेताका यी छोराछोरी बने महाधिवेशन प्रतिनिधि

कांग्रेसमा विरासतमोह : प्रमुख नेताका यी छोराछोरी बने महाधिवेशन प्रतिनिधि

कृष्ण सिटौलाका छोरा श्याम, प्रकाशमान सिंहका छोरा प्रभासमान, रामचन्द्र पौडेलकी छोरी संज्ञा, खुमबहादुर खड्काका छोरा अनुराग र विजय गच्छदारका छोरा सुवास


केशव सावद
मंसिर १५, २०७८ बुधबार ७:२२, काठमाडौँ

‘पारिवारिक विरासतले नभई क्षमता र निष्ठाले पार्टी चलाउने’ एजेन्डा बोकेर कांग्रेसको नेतृत्वमा पुगेका थिए सभापति शेरबहादुर देउवा। तर, उनी आफैँ पार्टीमा पारिवारिक विरासत फैलाउन प्रयासरत देखिन्छन्।

सभापति देउवाले श्रीमती डा. आरजु राणालाई गृहजिल्ला डडेल्धुराबाट महाधिवेशन प्रतिनिधि बनाएका छन्। उनलाई डडेल्धुरामा निर्विरोध निर्वाचित गरिएको हो। 

देउवाका भाइ र भतिजा पनि महाधिवेशन प्रतिनिधि भएका छन्। उनका साइँला भाइ लोगबहादुर देउवा कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ मा सम्पन्न प्रतिनिधि सभा क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्। 

सभापति देउवाका भतिजा प्रकाश भने कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा सम्पन्न क्षेत्रीय अधिवेशनबाट महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन्। उनले डा. राणाको सचिवालय सम्हाल्दै आएका छन्। 

१४ औँ महाधिवेशन नजिकिँदै गर्दा देउवा मात्र होइन, नेतृत्वमा आउन नसके सक्रिय राजनीतिबाट बाहिरिने जोखिममा रहेका प्रायः सबैजसो कांग्रेस नेताहरूले श्रीमती, छोराछोरी, भाइभतिजालाई सक्रिय राजनीतिमा ल्याउन खोजिरहेका छन्। 

कांग्रेसको दोस्रो वरियतामा रहेका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि छोरीलाई महाधिवेशन प्रतिनिधि बनाएका छन्। छोरी संज्ञा पोखरेल कास्की निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधिमा विजयी भएकी हुन्। 

पौडेलका छोरा चिन्तन अहिले बेलायतमा छन्। उनी बेलायतस्थित जनसम्पर्क समितिबाट महाधिवेशन प्रतिनिधिमा आउने सम्भावना छ। तर, पौडेलको सचिवालयले चिन्तन महाधिवेशन प्रतिनिधि नआउने दाबी गरेको छ। 

पूर्वमहामन्त्री प्रकाशमान सिंहले पनि सभापति देउवाकै शैलीमा श्रीमती र छोरालाई पार्टीको सक्रिय राजनीतिमा ल्याउन महाधिवेशन प्रतिनिधि बनाएका छन्। काठमाडौं क्षेत्र नम्बर ७ बाट सिंहकी श्रीमती सिर्जना र छोरा प्रभासमान सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन भएका हुन्। 

उपसभापति विजयकुमार गच्छदारले पनि कान्छा छोरा सुवासलाई महाधिवेशन प्रतिनिधि ल्याएका छन्। फेरि उपसभापति बन्ने तयारी गरिरहेको गच्छदारले सुवासलाई मोरङ निर्वाचन क्षेत्र नम्बर ६ बाट महाधिवेशन प्रतिनिधि बनाएका हुन्। 

बेलायतबाट कम्प्युटर इन्जिनियरिङ गरेका ४० वर्षीय सुवासले बाबुको राजनीतिक विरासतलाई अघि बढाउने घोषणा नै गरिसकेका छन्।

१३ औँ महाधिवेशनबाट वैचारिक समूहका नाममा कांग्रेसभित्र छुट्टै समूह चलाउँदै आएका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि छोरालाई सक्रिय राजनीतिमा ल्याउने तयारी गरेका छन्। 

उनले झापा निर्वाचन क्षेत्र नम्बर ३ बाट छोरा श्यामलाई महाधिवेशन प्रतिनिधि बनाएका छन्। इन्जिनियरिङ अध्ययन गरेका श्यामले झापामा सिटौलालाई राजनीतिमा सघाउँदै आएका छन्। 

कांग्रेसको राजनीतिमा छुट्टै प्रभाव छाडेका दिवंगत नेता खुमबहादुर खड्काकी श्रीमती शिला खड्काले पनि छोरा अनुरागलाई महाधिवेशन प्रतिनिधि बनाएकी छन्। कांग्रेस केन्द्रीय सदस्य खड्काले छोरा अनुरागलाई दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट महाधिवेशन प्रतिनिधि बनाएकी हुन्। 

अनुराग सर्वाधिक मतसहित केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका हुन्। उनले खसेको ६ सय ८५ मतमध्ये ४ सय ९७ मत पाएका थिए। उनले बुवाको विरासत बोकेर पार्टी राजनीतिलाई अघि बढाउने संकेत गरिसकेका छन्। 

सहमहामन्त्री डा. प्रकाशशरण महतले श्रीमती बिनालाई महाधिवेशन प्रतिनिधि बनाएका छन्। केन्द्रीय सदस्य डा. रामशरण महतकी श्रीमती रोशना पनि महाधिवेशन प्रतिनिधि बनेकी छन्। 

कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशीकी श्रीमती सपना पनि महाधिवेशन प्रतिनिधि बनेर सक्रिय राजनीतितर्फ आकर्षित भएकी छन्। 

केन्द्रीय सदस्य अर्जुननरसिंह केसीका भाइहरु जगदीश्वरनरसिंह र केदारनरसिंह पनि राजनीतिमा पहिलेदेखि नै सक्रिय छन्।

उसो त कांग्रेसको नेतृत्व अधिकांश समय पारिवारिक विरासत बोकेका नेताहरुकै हातमा रहँदै आएको छ। ७२ वर्ष लामो इतिहास बोकेको पार्टीमा कोइराला परिवारले मात्र करिब पाँच दशक नेतृत्व सम्हालेको इतिहास छ। 

कोइराला परिवारबाट मातृकाप्रसाद कोइरालाले ४ वर्ष, बीपीले २५ वर्ष, गिरिजाप्रसादले १४ वर्ष र सुशीलले ६ वर्ष कांग्रेसको नेतृत्व गरेका थिए। 

यद्यपि, सुवर्णशमशेर राणा, कृष्णप्रसाद भट्टराई भने वरिष्ठताका आधारमा कांग्रेसको नेतृत्व सम्हाल्ने नेतामा पर्छन्। प्रधानमन्त्री शेरबहादुर देउवा पनि वरिष्ठताका आधारमा प्रतिस्पर्धाका माध्यमबाट कांग्रेसको नेतृत्वमा पुगेका हुन्। 

गिरिजाप्रसादको पालामा लगातार २० वर्षसम्म कांग्रेसको नेतृत्वमा कोइराला परिवारको हातमा रहेपछि पार्टीभित्र विरासतको राजनीतिविरुद्ध बलियो मत बन्दै गयो। त्यसैकारण २०७३ मा देउवा सभापति निर्वाचित भए। तर, विरासतको राजनीतिप्रतिको कांग्रेस नेताहरुको मोह भंग हुन सकेको देखिँदैन।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .