राजनीति


ओलीले कांग्रेससँग सहकार्य प्रस्ताव राख्नुका तीन कारण

ओलीले कांग्रेससँग सहकार्य प्रस्ताव राख्नुका तीन कारण

सागर न्यौपाने
मंसिर २४, २०७८ शुक्रबार २२:११, काठमाडौँ

सरकारबाट बाहिरिएको पाँच महिनापछि एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेससँग सहकार्यको प्रस्ताव गरेका छन्।

राष्ट्रिय सभा र स्थानीय चुनाव नजिकिँदै गर्दा कांग्रेसको १४ औँ महाधिवेशन उद्घाटन समारोहमा पुगेका ओलीले सहकार्यको आह्वान गरेका हुन्। 

‘राजतन्त्र फाल्नेदेखि संघीय गणतन्त्र ल्याउनेसम्मको, नागरिक स्वाभिमान बढाउने, स्थापित गर्ने कामसम्मको, देशविकास गर्नेसम्मको महत्वपूर्ण अभिभारा राजनीतिक दलहरुले पुरा गरेका छन्, त्यसमा पनि नेपाली कांग्रेस र एमालेजस्ता प्रमुख र महत्वपूर्ण पार्टीहरु, जसको लामो इतिहास छ, यस उप्रान्त पनि देशको राजनीतिलाई, अर्थतन्त्रलाई, देशको सामाजिक विकासलाई सही बाटोमा लाने अभिभारा यिनै पार्टीलाई छ,’ शुक्रबार शुभकामना मन्तव्यका क्रममा ओलीले भने।

‘यी अभिभारामा एमाले नेपाली कांग्रेससँग सँगसँगै अघि बढ्न तयार छ,’ ओलीले थपे, ‘राष्ट्रियताको प्रश्न, लोकतन्त्रको रक्षा र सम्बद्र्धनको प्रश्न, विकासको प्रश्न, सुशासनको प्रश्न, स्थिरता  र स्थायित्व, सामाजिक न्यायको प्रश्नमा देशलाई अगाडि बढाउन नेकपा एमाले सहकार्य गर्न तयार छ भन्ने कुरा यस महाधिवेशनमा भन्न चाहन्छु।’ 

ओलीले कांग्रेसलाई अरुको नीतिमा नहिँड्न पनि सुझाव दिए। 

‘नेपाली कांग्रेस अरुका नीतिका पछाडि होइन, आफ्ना नीतिमा अरुलाई हिँडाओस्। यस महाधिवेशनले शेरबहादुर प्रधानमन्त्री मात्र होइन सरकारको नेता हुनुस् भन्ने मेरो शुभकामना छ,’ ओलीले देउवालाई भने।

गत असार २८ गते सर्वोच्च अदालतले संसद् विघटन गर्ने ओलीको कदमलाई असंवैधानिक ठहर गर्दै कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो। त्यसयता कांग्रेस नेतृत्वको गठबन्धनले सरकार चलाइरहेको छ। माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनता पार्टी (राजपा) राष्ट्रिय जनमोर्चा गरी पाँच दल सहभागी छन्।

गठबन्धनको सरकारलाई ‘परमादेशको सरकार’ भन्दै आएका ओलीले अचानक कांग्रेससँग सहकार्यको प्रस्ताव गरेका हुन्। 

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, उपेन्द्र यादव, रामचन्द्र पौडेललगायत गठबन्धनका शीर्ष नेताको सामुन्ने ओलीले अब देशलाई अघि बढाउने पार्टी कांग्रेस र एमाले मात्र भएकोले सहकार्य जरुरी भएको बताए। 

ओलीले कांग्रेससँग यस्तो प्रस्ताव किन राखे त?

ओलीले मुख्यगरी सत्तारुढ गठबन्धन फुटाउने नियतले कांग्रेससँग सहकार्यको कुरा उठाएको विश्लेषकहरु बताउँछन्।

शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहाल ओलीको प्रस्तावको पछाडि तीन वटा कारण देख्छन्।

‘पहिलो, अतिथि भएर गएपछि त्यो कार्यक्रममा सकारात्मक कुरा गर्ने प्रचलन छ,’ दाहालले नेपालखबरसँग भने, ‘ओलीले कांग्रेसको मञ्चमा त्यही व्यवहार देखाएका हुन्। देशभरबाट छानिएर आएका कांग्रेसका डेडिकेटेड र भ्यालुएडेड कार्यकर्ताको पक्षमा बोलेर माहौल बनाइदिएका हुन्।’

महाधिवेशनमा बोल्ने कसैले पनि कांग्रेसलाई गाली नगरेको उनले उल्लेख गरे।

‘दोस्रो, ओलीले अघि सारेको सहकार्यको प्रस्ताव गठबन्धनमा फुट पैदा गर्ने हिसाबले आएको छ,’ दाहालले भने, ‘आफ्नो राजनीति अघि बढाउन पनि ओलीले प्रचण्ड–माधव नेपाललाई देउवाबाट टाढा बनाउने प्रयास गर्छन्।’

सत्तारुढ गठबन्धन देउवाको नभई प्रचण्ड–माधवको चाहनामा बनेको दाहालको भनाइ छ। 

केही दिनअघि नेपालखबरसँग कुरा गर्दै एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले यो गठबन्धन धेरै दिन नटिक्ने दाबी गरेका थिए। 

‘तेस्रो, कांग्रेससँग साँच्चै सहकार्य गरेर आफू अनुकूल परिस्थिति बनाउन सकिने ओलीको ठम्याइ छ,’ दाहालले भने, ‘नेकपा एमाले संसदको सबैभन्दा ठूलो पार्टी हो। ठूलो पार्टी बाहिर बसेर साना पार्टीहरुले सत्ता चलाइरहेको हेर्न ओलीले सकेका छैनन्।’

ओलीको प्रस्तावलाई स्वभाविक रुपमा लिँदा कांग्रेसलाई फाइदा हुने पनि दाहालले बताए। 

‘ओलीको सहकार्यको प्रस्तावले प्रचण्ड–नेपालको मनमा चिसो परिरहन्छ र उनीहरु एक हुँदैनन्। देउवालाई कम्युनिस्टबीच विभाजन कायम राख्न यसले सघाउ पुर्याउँछ,’ दाहालले भने।

ओलीको प्रस्तावलाई सकारात्मक रुपमा लिएर संसद् सुचारु गरेर एमसीसी पास गर्नुपर्ने उनले सुझाव दिए। 

तर, देउवाले भने सो प्रस्तावको प्रतिउत्तर दिँदै ओली तानाशाह भएको आरोप लगाए। 

आफूले अबको निर्वाचनमा बहुमत ल्याउने दाबी गरेका देउवाले सम्बोधनमा ओलीलाई चार पटक तानाशाह भनेका थिए। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad