ad ad

राजनीति


मीनेन्द्र रिजाल जस्तै नैतिकता देखाउलान् जीवनबहादुर शाहीले?

भने : पार्टीमा हार्दैमा मुख्यमन्त्री त्याग्नु पर्दैन
मीनेन्द्र रिजाल जस्तै नैतिकता देखाउलान् जीवनबहादुर शाहीले?

फाइल तस्बिर


नेपालखबर
पुस २, २०७८ शुक्रबार १८:१५, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल चौधौं महाधिवेशनमा महामन्त्री पदमा पराजित भए। 

पाँच दलीय गठबन्धनको सरकारमा रक्षा मन्त्री पद सम्हालिरहेका उनको पराजय यति नमिठो भयो कि प्रतिस्पर्धीको दौडमा तेस्रो समेत हुन सकेनन्।

दुईजना महामन्त्रीको दौडमा गगन थापा र विश्वप्रकाश शर्मा सबैभन्दा अगाडि निस्किँदा कांग्रेसभित्र राम्रै प्रभाव भएका रिजाल पाँचौँ बनेका थिए। 

उनीभन्दा जुनियर गगन थापाले दुईतिहाइ अर्थात् ३०२३ मत ल्याउँदा रिजालले केबल ८०९ मत ल्याएका थिए। अर्थात् गगन पहिलो, विश्वप्रकाश शर्मा १९८४ मतसहित दोस्रो, डा. प्रकाशशरण महत १५५६ मतसहित तेस्रो र १३९३ मतसहित प्रदीप पौडेल चौथो हुँदा रिजाल पाँचौमा समेटिए। 

तर रिजालले कांग्रेसको निर्वाचन समितिले अन्तिम परिणाम ल्याउनुअघि नै डा. शेखर कोइराला प्यानलबाट उठेका उनले महामन्त्रीमा नमिठो पराजय भोगेको भन्दै रक्षामन्त्री पदबाट राजीनामा घोषणा गरे। 

बिहीबारै उनले सिंहदरबार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवालाई राजीनामा पत्र थमाए। 

रिजालले राजीनामा दिनुको कारण थियो, कांग्रेसीको मन नजितेका कारण मन्त्रीको पदमा बसिरहनु उचित भएन। उनले बिहीबारै पत्रकार सम्मेलन गरेर रुख छहारीमा आफूले कांग्रेसजनको मन जित्न नसकेको भन्दै सक्रिय राजनीति नै छाड्न सक्ने पनि संकेत गरे। 

उनले आफ्नो राजीनामाबारे व्याख्या गर्दै कांग्रेसजनबाट महामन्त्रीमा अस्वीकृत भएको भन्दै नैतिक रुपमा मन्त्री पदमा बसिरहनु अनुचित हुने बताएका थिए। 

रिजालले महामन्त्रीमा भोगेको जस्तै नियति प्रधानमन्त्री शेरबहादुर देउवानिकट जीवनबहादुर शाहीले पनि ब्यहोरेका छन्। 

देउवा प्यानलबाट पिछडिएको क्षेत्र समूहमा सहमहामन्त्री लडेका शाहीलाई डा. शेखर कोइराला प्यानलका बद्री पाण्डेले पराजित गरेको परिणाम शुक्रबार सानेपाबाट सार्वजनिक भएको छ। 

कर्णाली प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शाहीले पाण्डेसँग २७८ मतको पराजय भोगेका छन्। 

पाण्डेले २४११ मत ल्याउँदै जित दर्ता गराउँदा शाहीले २१३३ मत ल्याउन सफल भए। उता चेतराज बरालले ९९ मत ल्याएको निर्वाचन समितिले जानकारी दिएको छ।

रिजालले महामन्त्रीमा हारेपछि नैतिकता देखाउँदै राजीनामा दिइरहँदा शाहीलाई पनि त्यही नैतिकता देखाउने चुनौती आएको छ। 

कर्णाली प्रदेशमा कांग्रेस-माओवादी र समाजवादीको गठबन्धन सरकारको नेतृत्व गरिरहेका शाहीले अब मुख्यमन्त्रीबाट राजीनामा देलान्? 

राजीनामा दिन्न: मुख्यमन्त्री शाही 

सहमहामन्त्री पदमा हारे पनि आफूले कर्णालीको मुख्यमन्त्री पदबाट राजीनामा दिनुपर्ने कुनै कारण नभएको उनले बताए। 

डा. रिजालले राजीनामा दिनुपर्ने पृष्ठभूमि फरक रहेको भन्दै शाहीले आफू त्यो अवस्थामा नरहेको उल्लेख गरे। 

'माओवादीको गढ मानिने कर्णालीमा पनि म कांग्रेसबाट जनअनुमोदित नेता हो। कांग्रेसको चुनावमा एउटा पार्टीको आन्तरिक प्रतिस्पर्धा मात्रै हो', उनले नेपालखबरसँग भने, 'म प्रतिस्पर्धा गरेको समूहमा विजयी बद्री पाण्डे मेरो भाइ पनि हो। उसले जित्दा म खुसी छु। हामी अब पार्टीमा मिलेर जान्छौँ। तर मैले पार्टीको प्रतिस्पर्धामा हार्दैमा मुख्यमन्त्री छाड्नुपर्ने कुनै कारण छैन।'

शाहीले नेता रिजाललाई सभापति एवम् प्रधानमन्त्री देउवाले विश्वास गरेर रक्षामन्त्री बनाए पनि कांग्रेसको चुनावमा अर्को समूहतिर लाग्दा उनीमाथि नैतिक दबाब पर्नु स्वभाविक भएको बताए। 

'उहाँ अर्को समूहबाट प्रतिस्पर्धामा हुनुहुन्थ्यो। प्रधानमन्त्रीलाई सरकार चलाउन आफूलाई सहज हुने मन्त्रीहरु चाहिन्छ। त्यहीकारण पनि रिजालको राजीनामा आएको होला', उनले भने, 'मेरो मुख्यमन्त्रीको पृष्ठभूमि फरक छ। म गठबन्धन सरकारको नेतृत्वमा छु। म फरक बाटोबाट मुख्यमन्त्रीमा आएँ। कांग्रेसमा हार्दैमा नैतिकताको प्रश्न उठाउनु उचित होइन।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .