ad ad

राजनीति


मतदान सकिएको नौ दिन बित्यो, अझै आएन कांग्रेसको सबै परिणाम

निर्वाचन समिति भन्छ : अरु तीन दिन लाग्न सक्छ
मतदान सकिएको नौ दिन बित्यो, अझै आएन कांग्रेसको सबै परिणाम

फाइल तस्बिर


उजिर कार्की
पुस ५, २०७८ सोमबार १२:५९, काठमाडौँ

नेपाली कांग्रेसको चौधौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि मतदान भएको पनि नौ दिन भएको छ। 

काठमाडौंमा भएको महाधिवेशनअन्तर्गत सभापति, उपसभापति, महामन्त्री, सहमहामन्त्रीसहित १३ पदाधिकारी र ३५ खुलासहित ३९ केन्द्रीय सदस्यको परिणाम आएको छ। तर अझै दुईतिहाइ सदस्यको नतिजा सार्वजनिक हुन बाँकी छ। 

विद्युतीय मतदानमा विश्वास नलागेर पानी ट्यांकीलाई मतपेटिका बनाएर कागजमै मतदान गराएको कांग्रेसको मतगणना अझै केही दिन जारी रहने अवस्था देखिएको हो। 

१३४ केन्द्रीय कार्यसमिति निर्वाचनबाट चुनिनेमा अझै विभिन्न समूहका ८२ जना केन्द्रीय सदस्यको टुंगो लाग्न बाँकी छ। 

हालसम्म पदाधिकारीसहित ३५ खुला केन्द्रीय सदस्य, २ प्रदेशबाट एक महिलासहित ३ केन्द्रीय सदस्य र पिछडिएको क्षेत्रबाट एक जना सदस्य मात्रै निर्वाचित भएका छन्। 

यी मध्ये २ प्रदेशबाट २ जना केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भएका हुन्। प्रदेश २ बाट महिला सदस्यमा चित्रलेखा यादव निर्वाचित भएकी छन्। पिछडिएको क्षेत्रबाट केन्द्रीय सदस्यमा अर्जुन जंगबहादुर सिंह निर्वाचित भएका छन्। 

अहिले ९ जना चुनिने खुला महिला केन्द्रीय सदस्यको मत गणना भइरहेको छ। अझै ६ वटा प्रदेशबाट एक महिलासहित तीनजनाका दरले केन्द्रीय सदस्यको मतगणना हुन बाँकी छ। 

अपांगता र अल्पसंख्यकको एक एक सिटको नतिजा आउन बाँकी छ। चार महिलासहित ९ जना दलित केन्द्रीय सदस्य, ७ महिलासहित १५ जनजाति, ६ महिलासहित १३ खस आर्य, ४ महिलासहित ९ मधेसी, १ महिलासहित मुस्लिम ३, २ महिलासहित ४ थारुको मतगणना गर्न बाँकी छ। 

मतदानमा ४ हजार ६ सय ७९ जनाले मतदान गरेको निर्वाचन समितिले जानकारी दिएको छ।

निर्वाचन समितिका सचिव जगनाथ श्रेष्ठले भने अब बढीमा तीन दिनमा सबै मतपरिणाम आइसक्ने जानकारी दिएका छन्।

कांग्रेसको विधानमा एकजना कोषाध्यक्ष र ३३ जना केन्द्रीय सदस्य सभापतिले मनोनित गर्ने व्यवस्था छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .