ad ad

राजनीति


प्रदेश १ माओवादी : अध्यक्षमा ‘मिक्सो’, धरौटीका छुटेका गगन कोषाध्यक्षमा निर्वाचित

प्रदेश १ माओवादी : अध्यक्षमा ‘मिक्सो’, धरौटीका छुटेका गगन कोषाध्यक्षमा निर्वाचित

अध्यक्ष मिक्सो र काेषाध्यक्ष गगन पुरी


कृष्ण बहाब
पुस ८, २०७८ बिहिबार १९:३५, काठमाडौँ

नेकपा (माओवादी केन्द्र) प्रदेश १ को अध्यक्षमा हर्कबहादुर नेम्बाङ ‘मिक्सो’ निर्वाचित भए। अर्थमन्त्री जनार्दन शर्माका प्रमुख स्वकीय सचिवसमेत रहेका मिक्सोले अध्यक्षका अर्का प्रत्याशी मुक्साहाङ मेन्याङबोलाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन्।

मिक्सो १६९ मत पाएर प्रदेश अध्यक्षमा निर्वाचित भएका हुन्। वर्षमान पुन निकट मानिएका मेन्याङ्बोले जम्मा ६४ मत पाएका थिए। २४० जनाको प्रदेश कमिटीको पदाधिकारीमा प्रचण्ड नजिक रहेका नेताहरुनै विजय भएका छन्।

प्रदेश कमिटी उपाध्यक्षमा मणिकुमार साम्पाङ १११, देवान चाम्लिङ पृथ्वी १२० र शिवकुमार डाँगी ११३ मत पाएर विजयी भए। सचिवमा गणेश उप्रेती १४८, सह–सचिवमा कुमारी राई ११४, सागर किराँती ७३ र ऋषिराम ढुङ्गाना ९५ भोट सहित निर्वाचित भएका हुन्।

‘बालुवाटार काण्ड’ को धरौटीमा रहेका ‘गगन’ कोषाध्यक्ष!
कोषाध्यक्षमा ९३ भोट पाएर झापाका रेवतराज पुरी ‘गगन’ विजयी भएका छन्।

माओवादी केन्द्रका प्रदेश कोषाध्यक्षमा अन्य ३ जना उम्मेदवारलाई पछि पार्दै झापाका रेवतराज पुरी ‘गगन’ कोषाध्यक्षमा निर्वाचित भए। झापाको ‘बालुवाटार काण्ड’ भनेर चिनिने दमकको सरकारी जग्गा हडपेको आरोपमा धरौटीमा छुटेका पुरी ९३ मत ल्याएर कोषाध्यक्षमा निर्वाचित भएका हुन्।

दमकको सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको आरोपमा सम्पत्ति शुद्धीकरण विभागले १२ करोड १३ लाख ७२ हजार १७८.८६ रुपैयाँ बिगो दाबी गर्दै विशेष अदालतमा पुरी लगायतलाई मुद्दा दर्ता गरेको थियो। गत २०७७ माघ २१ मा विभागले विशेष अदालतमा मुद्दा हालेकामा पुरी त्यसको भोलिपल्टै धरौटीमा रिहा भएका थिए।

पुरीसहित ६ जनाविरुद्ध मुद्दा दायर भएको थियो। नेता पुरीकी श्रीमती केशावती पुरी, आफन्त मनमाया पुरी, देवकुमार पुरी, कृष्णकुमार पुरी र संगीता पुरीलाई प्रतिवादी बनाइएको थियो। यो केशमा गगन मात्रै थुनामा थिए।

विशेष अदालतका तत्कालीन न्यायाधिस प्रेमराज कार्की र बालेन्द्र रुपाखेतीको इजलासले पुरीलाई ५ लाख धरौटीमा छोड्न आदेश दिएका थिए। विशेष अदालतको मुद्दा नम्बर ०७७–सिआर–००७५ मुद्दाको प्रारम्भिक सुनुवाइमै धरौटी खुलाएपछि पुरी ५ लाख धरौटी तिरेर रिहा भएका थिए।

सो मुद्दाको पछिल्लो सुनुवाइ २०७८ कार्तिक १२ गते भएको देखिन्छ। न्यायाधीशद्वय अब्दुल अजिज मुसलमान र नित्यानन्द पाण्डेको इजलासले सो मुद्दामा साक्षी बुझ्ने निर्णय गरेको देखिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .