ad ad

राजनीति


प्रदेशको नाम र राजधानी जुराउँदा यी पाँच सांसद किन अनुपस्थित भए?

प्रदेशको नाम र राजधानी जुराउँदा यी पाँच सांसद किन अनुपस्थित भए?

अनुपस्थित सांसदहरु क्रमश: गोविन्द न्यौपाने, डिल्ली उप्रेती, डा.रिना यादव, अनिता यादव र शोभा लामा


शैलेन्द्र महतो
माघ ४, २०७८ मंगलबार १३:८, जनकपुरधाम

स्थायी राजधानी र नाम दिनु प्रदेश सांसदहरुको महत्वपूर्ण जिम्मेवारी थियो। 

प्रदेश सांसद निर्वाचित भएको झण्डै चार वर्षपछि सोमबार प्रदेशसभामा मतदान गरेर प्रदेश २ को नाम 'मधेश प्रदेश' र राजधानी 'जनकपुरधाम' जुराउन सफल भए। 

प्रदेश सभामा हाल कायम १०४ प्रदेशसभा सदस्यमध्ये ९९ जना मात्रै नाम र राजधानी जुराउने मतदानमा सहभागी भए।

तर पाँचजना सांसद अनुपस्थित रहे। यद्यपि दुईतिहाइ बढीले स्थायी राजधानी र नाम पारित भइसकेको छ। 

अनुपस्थित

प्रदेशको स्थायी राजधानी र नाम पारित गर्नुपर्ने महत्वपूर्ण दिनमा नेकपा एकीकृत समाजवादी पार्टीका २, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस र नेकपा एमालेका १, १ जना सांसद अनुपस्थित थिए। 

प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवका अनुसार अनुपस्थित हुने सांसदहरुमा नेकपा (एस) का सांसदद्वय डिल्लीप्रसाद उप्रेती र गोविन्दबहादुर न्यौपाने, जसपा सांसद डा. रीना यादव, कांग्रेस सांसद शोभा लामा र एमाले सांसद अनिता कुमारी यादव छन्। 

सर्लाही निर्वाचन क्षेत्र ३ (क) बाट निर्वाचित नेकपा (एस) का सांसद उप्रेती क्यान्सर पीडित छन्। उनी दिल्लीमा उपचाररत छन्। 

त्यहीकारण उनी मतदानमा भाग लिन नसकेको नेकपा (एस) संसदीय दलका नेता समेत रहेका उद्योग वन पर्यटन तथा वातावरण मन्त्री शत्रुधन महतोले बताए। 

उनका अनुसार अर्का सांसद सप्तरी निर्वाचन क्षेत्र ४ (क) का न्यौपाने छोरो बिरामी भएकाले मतदानमा भाग लिन सकेनन्। 

महोत्तरीबाट जसपाकी समानुपातिक सांसद डा. रीना यादव अस्वस्थताको कारण उपस्थित हुन नसकेको बताइन्। 

'स्थायी राजधानी र नाम जुराउन मतदान गर्न इच्छुक थिएँ। तर, दुई दिनदेखि अस्वस्थ्य छु', उनले भने, 'कोभिड संक्रमणको लक्षणका कारण घरमै उपचार गराइरहेकी छु। त्यसकारण मतदानमा भाग लिन सकिनँ। यद्यपि नाम र राजधानी पारित गर्न सकेकोमा सबै प्रदेशवासीलाई बधाई छ।' 

धनुषाबाट एमाले समानुपातिक सांसद अनिता यादवले पनि आफू एक हप्तादेखि अस्वस्थ्य रहेकाले सहभागी हुन नसकेको बताइन्।

'रुघाखोकीले ग्रसित छु। एक हप्तादेखि काठमाडौंमै बसेर औषधि उपचार गराइरहेकी छु', उनले भनिन्, 'त्यसकारण मतदानमा भाग लिन सकिनँ।'

बाराकी कांग्रेस समानुपातिक सांसद शोभा लामा आमाको उपचारका क्रममा भारतमा छिन्। 

आमाको उपचार गराउन भारत गएको कारण प्रदेशसभाको मतदानमा भाग लिन नसकेको कांग्रेस सचेतक उपेन्द्र कुशवाहाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .