राजनीति


माओवादीले अझै केही दिन सरकार नछाड्ने, एमसीसीबारे पुरानै अडान

माओवादीले अझै केही दिन सरकार नछाड्ने, एमसीसीबारे पुरानै अडान

फाइल तस्बिर


नेपालखबर
फागुन १३, २०७८ शुक्रबार १३:१०, काठमाडौँ

सत्ता साझेदार नेकपा माओवादी केन्द्रले तत्कालै सरकारबाट नबाहिरिने निर्णय गरेको छ। 

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा शुक्रबार मध्यान्ह बसेको केन्द्रीय कार्यालयको विस्तारित छलफलले यस्तो निर्णय लिएको हो। 

गत आइतवार अमेरिकी सहायता सम्झौता एमसीसी टेबल भएपछि गतिरोध देखिएको संसद बैठक पनि आइतवारसम्मलाई स्थगित भएको अवस्थामा माओवादीले तत्कालै सरकार नछाड्ने अडान लिएको हो। 

'माओवादीले अझै केही दिन सरकार नछाड्ने निर्णय लिएको छ। पाँच दलीय गठबन्धनबीच संवादहीनताको अवस्था लामो रहँदैन। फेरि सबै दलसँग संवादमा जुट्छौँ', खुमलटार बैठकमा सहभागी एक नेताले भने, 'बिहीबारदेखि गठबन्धन दलमा संवाद नभए पनि अब छलफल अघि बढाएर एउटा निष्कर्षमा पुग्ने छौँ।'

माओवादीले प्रधानमन्त्रीले बर्खास्त नगरेको अवस्थासम्म सरकारबाट आफ्ना मन्त्रीहरुलाई फिर्ता नबोलाउने पनि जनाएको छ। 

एमसीसीबारेमा पनि पुरानै अडानमा रहने निर्णय माओवादीले गरेको छ। त्यो भनेको सम्झौताका विवादित बुँदाहरु संशोधन या परिमार्जन नभएसम्म विपक्षमै रहिरहने भन्ने हो। 

'एमसीसीबारे यसअघि भएको पार्टी निर्णयबाट बाहिर जान सकिँदैन', ती नेताले भने, 'एमसीसीमा पुरानै सैद्धान्तिक विचारमा कायम रहँदै गठबन्धन जोगाउन अन्तिम प्रयास गर्ने भन्ने कुरा बैठकमा भएको छ।'

तर माओवादीले एमसीसीबारे पुरानै वैचारिक अडान कायम राखे पनि अन्तिम समयसम्म सत्ता गठबन्धन जोगाएर जाने भएको छ।  

अध्यक्ष प्रचण्डकी स्वकीय सचिव गंगा दाहालले पनि एमसीसीबारे पार्टीको पूर्ववत् सैद्धान्तिक धारणामा रहिरहने निर्णय भएको बताइन्। 

'एमसीसीबारे माओवादीको पुरानै सैद्धान्तिक अडान यथावत छ', उनले भनेकी छन्, 'यस्तोमा गठबन्धन बचाउन अन्तिम कोशिश गर्ने समझदारी बैठकमा भएको छ।'

अर्को सत्तारुढ गठबन्धन एकीकृत समाजवादी पार्टीले यसअघि नै संसदमा पेश भएको एमसीसीको विपक्षमा उभिने निर्णय गरिसकेको छ। 

सत्ता गठबन्धनका दुई घटक विपक्षमा उभिने अडानमा बसेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले अहिले प्रमुख प्रतिपक्षी नेकपा एमालेसँग संवादलाई तीव्र बनाइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad